सुधारिएको नेप्सेलाई कारोबार रकमको समेत साथ, ह्याङओभरबाट तग्रिँदै लगानीकर्ता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक सुधारको दिशामा फर्किएको छ । सोमबारको शेयर बजारमा ५.७५ अंकको वृद्धिसँगै नेप्से परिसूचक १२६०.१० विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै सेन्सेटिभ र फ्लोट इन्डेक्समा समेत सुधार देखिएको छ । आजको बढेको नेप्से परिसूचकलाई कारोबार रकमले समेत साथ दिएको छ । कुन ४८ करोड १४ लाख ९२ हजार रुपैंया बराबरको कारोबार भएको छ जुन अघिल्लो हप्ताहरुको औसत कारोबार रकम भन्दा बढी हो । परिसूचक र कारोबार रकममा देखिएको सुधारले बजार थप सकारात्मक दिशामा जाने संकेत समेत गर्छ । बिहीबारदेखि नै बजारले सुधार संकेत देखाएको भए पनि धितोपत्र बोर्डले ल्याएको सम्पत्ति शुद्धीकरणससम्बन्धी निर्देशिकाको नाममा आइतबारको बजारमा केही चलखेल भएको थियो, फलस्वरुप बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे थियाे । आजदेखि भने बजार दिनभर स्थिर रह्यो भने अन्तिम घण्टामा सुधारात्मक देखियो । आजको बजारमा अधिकांश स्क्रिपहरुमा लगानीकर्ताले विवेकशील रुपमा कारोबार गरिरहेको देखिएको छ । आज शिवम् सिमेन्टको शेयरमूल्य ९ रुपैंयाले बढेर ६६० रुपैंया पुग्दा ५ करोडभन्दा धेरै कारोबारसहित सर्वाधिक कारोबार हुने कम्पनी बन्न सो कम्पनी सफल भएको छ । जनउत्थान र गणपति माक्रोफाइनान्सका शेयरहरुमा पोजेटिभ सर्किट ब्रेकर लाग्दा मल्टिप्रोपोज फाइनान्समा नेगेटिभ सर्किट लागेको छ । उपसमूहतर्फ होटल, माइक्रोफाइनान्स र अन्य समूह १ प्रतिशत भन्दा धेरै विन्दुले बढ्दा विकास बैंक, जीवन तथा निर्जीवन बीमा र म्युचुअल फण्ड समूहमा झिनो गिरावट देखिएको छ ।
सिटिजन्स म्युचुअल फण्ड-२ मा ५५ करोड ९९ लाख संकलन
काठमाडौँ । सिटिजन्स म्युचुअल फण्ड अन्तरगतको दोश्रो सामुहिक लगानी योजना सिटिजन्स म्युचुअल फण्ड-२ मा ५५ करोड ९९ लाख ५५ हजार ३ सय रुपैयाँ संकलन भएको छ । रु. १० अंकित दरको १० करोड इकाई निष्काशन गरिएकोमा १६ हजार ४ सय २६ वटा दरखास्त फारम बराबर उक्त रकम संकलन भएको हो । सिटिजन्स म्युचुअल फण्ड–२ को जेठ ९ गतेदेखि इकाई निष्काशन तथा बिक्री खुला गरिएकोमा असार ८ गते सो इकाईका लागि आवदेन लिने/दिने कार्य बन्द गरिएको निष्काशन तथा बिक्री प्रबन्धक सिबिआइएल क्यापिटल लिमिटेडले जनाएको छ ।
जनउत्थान लघुवित्तले २० प्रतिशत बोनस शेयर वितरण गर्ने, अधिकृत पूँजी ३० करोड पुर्याउने
काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको आठौँ वार्षिक साधारण सभा असार ३० गते हुने भएको छ । असार ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो । साधारण सभा बुटवल उपमहानगर ९ स्थित होटल न्यू इरामा बिहान ११ बजे हुनेछ । साधारण सभामा सञ्चालक समितिले शिफारिस गरे बमोजिम आव २०७४/०७५ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी २ करोड ८८ लाखको २० प्रतिशतले हुन आउने ५७ लाख ६० हजार बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश गरिने भएको हो । त्यसका लागि कर प्रयोजनार्थ ३ लाख ३ हजार १ सय ५७ रुपैयाँ नगद लाभांश स्वीकृत गरिने छ । त्यसैगरी संस्थाको अधिकृत पूँजी १० करोडबाट बृद्धि गरी ३० करोड पुर्याउने विशेष प्रस्तावका रुपमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ । साथै बोनस शेयर पश्चात कायम हुन आउने चुक्ता पूँजीको ६ करोड ३३ लाख ६० हजारको १ः२ अर्थात १ कित्ता बराबर २ कित्ताको अनुपातमा १२ करोड ६७ लाख २० हजार रुपैयाँको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गरिंदैछ । वार्षिक साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता किताब असार १८ गते बन्द गरिने भएकोले असार १७ गतेसम्म कायम रहेका शेयरधनीहरु सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।