अन्ततः छिमेक लघुवित्तले पायो ४० प्रतिशत लाभांश वितरण गर्ने स्वीकृति

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ४० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आवको मुनाफाबाट चुक्ता पुँजीको १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव संस्थाको संचालक समितिको २१२औं बैठकले गरेको हो । संस्थाले उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकमा पेस गरेको थियो । तर राष्ट्र बैंकले २०७५ पुस १९ गते पठाएको पत्र अनुसार संस्थालाई सो मात्राको लाभांश वितरण गर्न अस्विकृत गरेको थियो । त्यसपछि संस्थाले राष्ट्र बैंकको विशेष निरिक्षणबाट औंल्याईएका समस्याहरु सुधार गरी पुनः राष्ट्र बैंकमा प्रस्तावित लाभांश समेत वितरण गर्ने स्वीकृतीको माग गरेको थियो । सोही अनुसार राष्ट्र बैंकले अन्तत २०७६ वैशाख १ गते संस्थालाई सो मात्राको लाभांश वितरण गर्न स्वीकृति दिएको हो । साथै, उक्त प्रस्तावित बोनस र नगद लाभांश आगामी वार्षिक साधारणसभाले पारित गर्नु पर्ने छ । संस्थाको साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

नबिलले बिहीबारदेखि १ अर्ब २० करोडको म्युचुअल फण्ड बिक्री गर्दै, एक हजारमै लगानी गर्न सकिने

काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेड-नबिल इन्भेष्टले आगामी बिहीबार अर्थात बैशाख ५ गतेदेखि नबिल ब्यालेन्स फण्ड २ को इकाई बिक्री गर्ने भएको छ । नबिल इन्भेष्टले आफ्नो तेश्रो योजना नबिल ब्यालेन्स फण्ड २ को १० रुपैयाँ दरका १२ करोड इकाई सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । इच्छुक लगानीकर्ता(व्यक्ति तथा संस्था)ले यस योजनामा न्युनतम एक हजारदेखि १२ करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताले वैशाख ५ गतेदेखि छिटोमा वैशाख ९ गते भित्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले अन्य धितोपत्र बिक्री गरेजस्तै गरी आफ्नो सी आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगइन गरी अनलाईन आवेदन गर्न सक्ने छन् । यो एक बन्दमुखी योजना हो जसको आकार एक अर्ब २० करोड रुपैयाँ रहेको छ । जसको अवधि १० वर्षको रहेको छ । नबिल इन्भेष्टमेण्ट बैंकिंगले यस अघि नबिल ब्यालेन्स फण्ड १ र नबिल इक्विटी फण्ड सञ्चालनमा ल्याइसकेको छ । नबिल ब्यालेन्स फण्ड २को मूख्य उद्देश्य प्रचलित सामूहिक लगानी कोष नियमावली एवं निर्देशिकाको अधिनमा रही इकाई बिक्रीबाट उठेको वा संकलन भएको रकमलाई विविध क्षेत्र र उपकरणहरुमा जोखिम न्युनीकरण गर्दै लगानी गरी सोबाट आर्जन भएको मुनाफा इकाई धनीहरुलाई वितरण गर्नु रहेको संस्थाले जनाएको छ । त्यस्तै, योजनाको इकाईहरु नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत गरी कारोबार र तरलताको व्यवस्था मिलाईने छ । जस अनुरुप अन्य प्रकारका धितोपत्र सरह योजनाको अवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद बिक्री गर्न सकिने छ । साथै, नबिल बैंक तथा नबिल इन्भेष्टले बीज पुँजीको रुपमा योजनाको १५ प्रतिशत रकम लगानी गर्ने निर्णय गरिसकेको छ ।

नेप्से परिसूचक तीन महिना यताकै उच्च अंकमा, ८२ करोडको सेयर कारोबार

काठमाडौं । बुधबारको नेप्से परिसूचक तीन महिना यताकै उच्च अंकमा पुगेको छ । सो दिन नेप्से ४.९९ अंकले बढेर १२१७.०४ अंकमा पुगेको छ । गत पुस ११ गते बुधबार नेप्से १२१६ अंकमा रहेको थियो । त्यसपछि उतारचढाव स्थितिमा देखिएको नेप्से आज(बैशाख ४ गते) सो भन्दा एक अंकले बढेर उच्च अंकमा पुगेको छ । त्यस्तै, कारोबार रकममा पनि उल्लेख्य सुधार भइरहेको छ । बुधबारको बजारमा कूल ८२ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब ८ करोड रुपैयाँ बढी हो । मंगलबारको बजारमा नेप्से ७४ करोड २७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बजारमा स्थायी लेखा नम्बर(प्यान) लागु भएदेखि सेयर कारोबारमा वृद्धि भइरहेको छ । साथै, नयाँ वर्ष लागेसँगै सेयर बजारले पनि नयाँ गति लिँदै गइरहेको छ । बुधबार पनि मंगलबारको जस्तै वाणिज्य बैंकको बढी कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी एनएमबि बैंकको ७ करोड २६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।