ग्रीन डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, ८.४६ प्रतिशत लाभांश पारित
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको १३ औँ वार्षिक साधारण सभा पोखरा–८, सिटि स्क्वायर व्याङ्क्वेटमा सम्पन्न भएको छ । सभाले आ.व. २०८१/८२ को अन्त्यमा कायम चुक्ता पुँजीको ८.०३९६ प्रतिशत बोनस सेयर र ०.४२३१४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश गरी कुल ८.४६२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सहित सम्पूर्ण प्रस्ताव सर्वसम्मत पारित गरेको छ । सभाको अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष गणेश कुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रम सञ्चालन प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी सचिव हरि बहादुर बुढाथोकीले गरे । पूर्व सञ्चालक विश्व मोहन अधिकारी र मनोविज्ञान श्रेष्ठले बैंकको उपलब्धि र आगामी वर्षका लागि प्रतिफल वृद्धि सम्बन्धी सुझाव दिएका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतले वित्तीय पहुँचबाट बञ्चित समुदायलाई सेवा पुर्याउने, डिजिटल उपकरण बढाउने, दिगो लगानी प्रवद्र्धन गर्ने र हरित बैंकिङ तथा सामाजिक उत्तरदायित्वमार्फत समुदायसँग गहिरो सम्बन्ध कायम गर्ने प्रतिबद्धता व्यक्त गरे । सञ्चालक कृष्ण शंकर श्रेष्ठले सभामा उपस्थित सम्पूर्ण अतिथि र सेयरधनीलाई धन्यवाद ज्ञापन गरे ।
महालक्ष्मी विकास बैंकले 'महालक्ष्मी माघ महोत्सव' सञ्चालन गर्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवर्द्धन र ग्राहक सुविधा अभिवृद्धिका लागि 'महालक्ष्मी माघ महोत्सव' सञ्चालन गर्ने भएको छ । बैंकले प्रत्येक वर्षको माघ महिनालाई डिजिटल कारोबार प्रवर्द्धन महिना घोषणा गरेको छ । हाल बैंकको दैनिक कुल कारोबारमा डिजिटल कारोबारको हिस्सेदारी औसतमा ८० प्रतिशत रहेको छ । यसलाई अझ बढावा दिन बैंकले 'महालक्ष्मी स्मार्ट साथी' मोबाइल एपमार्फत विभिन्न आकर्षक सुविधा थप गरेको छ। ग्राहकहरूले एपमार्फत मुद्धती खाता खोल्दा व्यक्तिगत मुद्धतीमा प्रदान हुने ब्याजदर भन्दा ०.२५ प्रतिशत बढी ब्याज पाउने छन् । साथै, भर्चुअल र साधारण क्रेडिट कार्डको वार्षिक शुल्कमा १०० प्रतिशत छुट, डेबिट कार्ड जारी र मोबाइल बैंकिङ दर्ता गर्दा १०० प्रतिशत छुट प्राप्त हुनेछ । ग्राहकहरूले मोबाइल एपबाट फार्मेसी बिल भुक्तानी गर्दा बिल रकमको २० प्रतिशत वा २०० रूपैयाँसम्म क्यासब्याक पाउनेछन् । अडियो मार्फत भुक्तानी पुष्टि गर्ने 'कोइली' सेवा दर्ता गर्दा कुनै शुल्क लाग्ने छैन । यो अभियान २०८२ साल माघ महिनाका लागि मात्र लागू हुनेछ । बैंकले यस अभियानमार्फत डिजिटल बैंकिङ पहुँच विस्तार, नगद रहित कारोबार बढाउने र प्रत्यक्ष बैंक उपस्थितिको आवश्यकता न्यून गर्ने उद्देश्य राखेको छ । 'सबल बैंक, सफल सहकार्य'को नारासहित बैंकले देशभर १०३ शाखा कार्यालय र करिब ८ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । यस अघि बैंकले भारतीय भुक्तानी सेवा प्रदायक जस्तै फोनपे, भिमपे, यु.पि.आई र गुगलपे मार्फत क्युआर कोड भुक्तानी सुविधा पनि उपलब्ध गराइसकेको छ ।
इन्फिनिटी लघुवित्तको ९औं साधारण सभा सम्पन्न, सञ्चालक समिति निर्विरोध निर्वाचित
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९औं वार्षिक साधारण सभा बुधबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटस्थित सहमति संस्थान, विजय चोकमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णु कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न साधारण सभामा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले सभा सञ्चालन गर्दै उपस्थित सञ्चालक, अतिथि तथा सेयरधनीहरूलाई स्वागत गरेका थिए । सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्विजिसनसम्बन्धी प्रस्तावहरू पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिएको छ। यसैगरी, निर्वाचन अधिकृत कृष्ण प्रसाद खनालका अनुसार आगामी कार्यकालका लागि विष्णु कुमार घिमिरे, रामकृष्ण डंगोल, रमेश कर्मचार्य तथा शशी तिमल्सिनालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरिएको छ। सभाको अन्त्यमा उपस्थित सम्पूर्ण सञ्चालक, अतिथि तथा सेयरधनीहरूप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी संस्थाले दिएको छ।