आईसिएफसी फाइनान्सले ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्ने
काठमाडौं । आईसिएफसी फाइनान्स लिमिटेडले ५० करोड रुपैयाँ बराबरको ऋणपत्र '८ प्रतिशत आईसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर–२०८९' निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । यस सम्बन्धमा बिहीबार कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुई पक्षबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा आईसिएफसी फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडका सीईओ पुष्प शर्माले हस्ताक्षर गरेका छन् । कम्पनीका अनुसार नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्बन्धित नियामक निकायको स्वीकृति प्राप्त भएपछि मात्र ऋणपत्र निष्कासन गरिनेछ । हाल आईसिएफसी फाइनान्सले २१ शाखा कार्यालय र १८ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
स्मार्ट च्वाइस टेक्नोलोजिज पीसीआइ एसएससीको दक्षिण एशिया क्षेत्रीय बोर्ड सदस्यमा चयन
काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एसटीसी) पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्टान्डर्स काउन्सिल (पीसीआइ एसएससी) को दक्षिण एशिया क्षेत्रीय बोर्ड सदस्यमा चयन भएको छ । यस बोर्डमा नेपालबाट चयन हुने एकमात्र संस्था एसटीसी हो । एसटीसीसँगै गुगल, नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया र युरोनेट यूएसए एलएलसी जस्ता भुक्तानी क्षेत्रका ठूला कम्पनीहरूले पनि यस बोर्डमा प्रतिनिधित्व गर्नेछन् । विश्वव्यापी स्तरमा भुक्तानी सुरक्षासम्बन्धी मापदण्ड विकास र प्रवर्द्धन गर्दै आएको पीसीआइ एसससीले डिजिटल भुक्तानीमा देखिएका साइबर तथा सुरक्षा जोखिम न्यूनीकरण गर्न सहयोग पुर्याउँदै आएको छ । भारत–दक्षिण एशियामा पहिलोपटक गठन भएको यस क्षेत्रीय बोर्डमार्फत पीसीआइ एसएससीले डिजिटल भुक्तानी क्षेत्रमा यस क्षेत्रको बढ्दो महत्वलाई प्रतिबिम्बित गरेको छ । एसटीसीले बोर्ड सदस्यका रूपमा भुक्तानी सुरक्षासम्बन्धी चुनौती र अवसरबारे परामर्श दिने, मापदण्ड र कार्यक्रम विकासका लागि सुझाव प्रदान गर्ने तथा दक्षिण एशियाभर पीसीआइ एसससीका मापदण्ड र उत्कृष्ट अभ्यासबारे सचेतना अभिवृद्धि गर्ने भूमिका निर्वाह गर्नेछ । स्मार्ट च्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरेले नेपालबाट यस प्रतिष्ठित मञ्चमा प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय भएको बताए । उनले भने, 'यो सम्मानले नेपाल र दक्षिण एशियामा सुरक्षित डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धतालाई पुष्टि गर्दछ। हामी हाम्रो विशेषज्ञता मार्फत योगदान गर्दै भुक्तानी प्रणालीलाई अझ सबल बनाउन क्षेत्रीय सहकार्यलाई मजबुत बनाउनेछौं ।'
माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँट
काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइतबार आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि कुल १२ लाख ४८ हजार ९०४ कित्ता सेयर निष्कासन गरेको थियो । सो सेयर खरिदका लागि २२ लाख ५ हजार ८७१ जनाले कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसअनुसार २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएका छन् भने ८ हजार २८९ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको हो । त्यसअनुसार १ लाख २४ हजार ८९० जनाले प्रत्येकी १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । बाँडफाँटपछि बाँकी रहेका ४ कित्ता पुनः गोलाप्रथामार्फत वितरण गर्दा ४ जनाले थप १–१ कित्ता पाएका छन् । यसरी कुल १ लाख २४ हजार ८९४ लगानीकर्ताले माबिलुङ्ग इनर्जीको सेयर प्राप्त गरेका छन् ।