महालक्ष्मी विकास बैंकको विभिन्न क्षेत्रका सामाजिक कार्यक्रमहरू सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न क्षेत्रका सामाजिक कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण र सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास तथा दोस्रो त्रैमासमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको हो । बैंकले यस क्रममा जेष्ठ नागरिक चौतारी, ठेचो, ललितपुरलाई सुदूरपश्चिम प्रदेशको हुम्ला जिल्लाका जेष्ठ नागरिकहरूको पूर्ण स्वास्थ्य परीक्षण सहित स्वास्थ्य शिविर सञ्चालन गर्न तथा नसर्ने रोगको रोकथाम सम्बन्धी कार्यशाला सञ्चालनमा आर्थिक सहयोग गरेको छ । त्यसैगरी, आन्दोलनको क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त सातदोबाटोलाई दैनिक प्रशासनिक कार्य गर्न ५ थान कम्प्युटर सेट र ५ थान टेबल उपलब्ध गराएको छ । साथै हुम्ला जिल्लाको सिमकोटदेखि ४४ कोष दक्षिण पूर्वको अदानचुली गाउँपालिका वडा नं. १ का ६५ घरधुरीका दलित समुदाय, विपन्न वर्गका मानिस, अनाथ बालबालिका, एकल महिला र पुरुषलाई खाद्यान्न पुर्याउने गरी एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र, सिमकोट, हुम्लालाई आर्थिक सहयोग प्रदान गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले बागलुङ्ग जिल्लाका भुकृटी माध्यमिक विद्यालय र श्री सल्यान सुखौरा माध्यमिक विद्यालय, झापाका श्री पृथ्वी माध्यमिक विद्यालय र श्री अरनिको माध्यमिक विद्यालय तथा श्री गणेशसुर्य आधारभूत विद्यालयमा आधुनिक शौचालय निर्माण गर्न विभिन्न रोटरी क्लबहरूसँगको सहकार्यमा आर्थिक सहयोग गरेको छ । त्यसैगरी, बालकुमारी आधारभूत विद्यालय, सैंबु, ललितपुरमा अध्ययरत १८० जना विद्यार्थीलाई जाडोबाट बच्न १८० थान न्यानो कपडा वितरण गरिएको छ । गोरखा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई मुनलाईट सोसाइटी नेपाल, गोरखाको सहकार्यमा शैक्षिक सामग्रीहरू वितरण गरिएको  छ। बैंकले गर्दै आएका यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमहरूले समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । पुस ६ गते बसेको कोषको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई कुल १३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । कोषले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीहरूलाई वितरण गरिने कोषले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने भएको छ । यसका लागि बैंक र  फ्लोरिकल्चर एसोसिएशन नेपालबीच हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार, बैंकले पुष्प व्यवसायी वा कृषकहरु लक्षित विशेष हरितगृह कर्जा प्रवाह गर्ने भएको हो ।  साथै, फ्लोरिकल्चर एसोसिएशन नेपालले आफ्नो सदस्यहरुलाई बैंकको कृषि कर्जा योजनाको बारेमा जानकारी प्रदान गर्नेछ ।  यसबाट व्यवसायी तथा कृषकहरुको पुष्प उत्पादन र उत्पादकत्व वृद्धि, हरितगृह प्रविधिहरुको प्रवद्र्धन, गुणस्तरीय पूर्वाधार विकास र सेवा अभिवृद्धिमा सहयोग पुग्नेछ । साथै यस सहकार्यले जलवायु अनुकुलन अभ्यास, दिगो व्यवसाय र आधुनिक प्रविधिलाई आत्मसाथ गर्न पुष्प व्यवसायी तथा कृषकलाई उत्प्रेरित गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।  बैंक र एसोसिएशन बीचको सहकार्यले हरितगृह प्रविधिमा लगानी गर्न पुष्प व्यवसायी तथा उद्यमीहरुलाई लक्षित गरी वित्तीय पहुँच विस्तारको साथै फुल उत्पादन तथा अलंकारिक बोटबिरुवाको उत्पादन र उत्पादकत्व वृद्धि हुने विश्वास रहेको छ ।  ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।