नबिल सस्टेनेबल बैंकिङ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै
काठमाडौं । नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश गरेको छ । यसको अवसरमा यही असार १५ देखि २१ गतेसम्म बैंकले ‘नबिल ग्रीन विक’ मनाउन लागिएको जनाएको छ । नबिल ग्रीन विकमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषयमा केन्द्रित कार्यक्रम आयोजना गरिनेछन् । साताव्यापी सञ्चालन हुने नबिल ग्रीन विकअन्तर्गत आयोजना हुने वेबिनार शृङ्खलामा नबिल बैंकका विज्ञसहित जिआइजेड नेपाल, सिम्पल इनर्जी प्रालि, विवाइडी, सिजी मोटर्सलगायतका प्रतिनिधिका साथै वातावरण, समाज तथा सुशासनसँग सम्बन्धित विज्ञ तथा कृषि क्षेत्रका जानकारहरु सहभागी हुनेछन् । उक्त कार्यक्रमले सोलार रुफटप सोलुसन, विद्युतीय सवारी साधन र दिगो कृषिका साथै वातावरण, समाज र शासनमा लगानीका विषयमा छलफल तथा ज्ञान आदानप्रदानमार्फत एकअर्कालाई जोड्ने उद्देश्य लिएको छ । नबिल बैंकले नेपालको दिगो विकास लक्ष्य (एसडिजी) लाई आत्मसात गर्दै आफ्नो कारोवारमा वातावरण, समाज र सुशासनसँग सम्बन्धित सिद्धान्त अंगिकार गर्दै आएको र बैंकको रणनीतिमा दिगोपन एक मुख्य आधार बनेको बैंकको भनाइ छ । बैंकका अनुसार नबिल बैंकले आफूलाई बैंकिङमा मात्रै सीमित नराखी वातावरण संरक्षण, सामाजिक समावेशीकरण, मानव अधिकारको संरक्षण तथा नैतिक सुशासनको अभ्यासमा पनि आफूलाई केन्द्रित गर्दै आएको छ । जसमा कार्बन फुटप्रिन्ट घटाउने, उत्तरदायी लगानीलाई प्रवद्र्धन गर्ने र वित्तीय साक्षरता विस्तार गर्ने कार्यमा आफूलाई केन्द्रित गर्दै आएको छ । बैंकले आर्थिक वृद्धिसँगै दीर्घकालीन सामाजिक र वातावरणीय मूल्य सृजनामा काम गर्दै आएको जनाएको छ ।
कृषि कर्जा सुरक्षण योजनाबारे सरोकारवाला सुझाव लिँदै अन्तर्क्रिया सम्पन्न
काठमाडौं । युएनडीपीको सहकार्यमा निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको 'एग्री सीजीएस प्रोडक्ट्स डिजाइन स्टेकहोल्डर्स फिडब्याक' विषयक आधा दिने अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको रोयल सिङ्गी होटलमा सम्पन्न कार्यक्रममा कोषका पदाधिकारी, विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, कर्जा विभागका विभागीय प्रमुखलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । अर्थतन्त्रको दिगो विकासका लागि कृषि क्षेत्रमा संस्थागत कर्जाको पहुँच विस्तार गर्न र सो क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम न्यूनीकरण गरी लगानी बढाउन नयाँ कृषि कर्जा सुरक्षण योजना तर्जुमा गर्ने विषयमा सरोकारवालाको राय–सुझाव लिन यो अन्तर्क्रिया आयोजना गरिएको हो । कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कार्यक्रममा प्रस्तावित कृषि कर्जा सुरक्षण योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै, वर्तमान अवस्था र तत्काल विस्तार गर्नुपर्ने क्षेत्रबारे जानकारी गराएका थिए । सहभागीहरुले सुरक्षण शुल्क र क्षतिपूर्ति दाबीको प्रतिशत निर्धारण अन्तर्राष्ट्रिय असल अभ्यासअनुसार वैज्ञानिक रुपमा गर्नुपर्ने सुझावसमेत दिएका थिए । कृषि क्षेत्रमा संस्थागत कर्जा प्रवाह बढाउँदै वित्तीय पहुँच विस्तारमा सघाउन युएनडीपीले प्राविधिक सहयोग गरिरहेको कोषले जनाएको छ ।
सिटिजन्स सदाबहार योजना शुक्रबारदेखि देखि सार्वजनिक निष्कासनमा
काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने खुलामुखी योजना ‘सिटिजन्स सदाबहार योजना’ आगामी शुक्रबार (असार १३ गते)देखि सार्वजनिक निष्कासनमा आउन लागेको छ । यो योजनाको कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड रहेको छ भने योजना व्यवस्थापक तथा डिपोजिटरी सिटिजन्स क्यापिटल लिमिटेड हो । योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँ अंकित मूल्यमा ५ करोड इकाई निष्कासन हुनेछ । जसमध्ये ७५ लाख इकाई (१५ प्रतिशत) सिटिजन्स बैंकलाई सुरक्षित राखिनेछ र बाँकी ४ करोड २५ लाख इकाई सर्वसाधारणका लागि सार्वजनिक निष्कासन हुनेछ । सार्वजनिक निष्कासनमा न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । निष्कासन छिटोमा असार १७ गते र ढिलोमा असार २७ गतेसम्म खुला रहनेछ । यदि थप गरिएको बिक्री अवधिभर कम्तीमा २ करोड ५० लाख इकाईका लागि आवेदन नपरेमा योजना खारेज हुने र आवेदकको रकम फिर्ता गरिने व्यवस्था गरिएको छ । तर मागभन्दा बढी आवेदन परेमा २५ प्रतिशत इकाई थप गरी अधिकतम ६ करोड २५ लाख इकाईसम्म बाँडफाँड गरिनेछ । योजना खुलामुखी भएकाले यसको परिपक्व अवधि तय हुनेछैन । बाँडफाँड भएको ३ महिनापछि इकाईको खरीद–बिक्री सुरु गर्न सकिनेछ । साथै, यो धितोपत्र दोस्रो बजारमा सूचीकरण नहुने भए पनि अधिकृत वितरकमार्फत कारोबार गर्ने व्यवस्था मिलाइएको छ ।