सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै
काठमाडौं । सहकारी अपचलनसम्बन्धी कथामा आधारित चलचित्र ‘महाभोज’ यही जेठ ३० गतेदेखि देशभर प्रदर्शन हुनेभएको छ । निर्देशक दिनेस राउतका अनुसार यसअघि यही जेठ १५ गते प्रदर्शन गर्ने निर्णयसहित प्रचारप्रसार भए पनि सहकारीसम्बद्ध सङ्घ/संस्था र पीडितको नाममा सहर कन्द्रित विरोध कार्यक्रम हुन थालेपछि रोकिएको सो चलचित्र जेठ ३० गते प्रदर्शन हुने भएको हो । सहकारी पीडितको आन्दोलनका कारण मुलुकमा असहज परिस्थिति सिर्जना भइरहेको अवस्थामा सोही विषयमा निर्माण गरिएको चलचित्र प्रदर्शन गर्दा थप समस्या आउन सक्ने विश्लेषणसहित निर्माण समूह, वितरक र प्रदर्शकसँगको छलफलपछि नयाँ मिति तय गरिएको चलचित्रका निर्देशक राउतले स्पष्ट गरे । 'देशको बदलिदो अवस्थाका कारण केही दिनलाई प्रदर्शन रोक्दै नयाँ मिति घोषणा गरेका हौँ । चलचित्र हेर्न आउने दर्शकको सुरक्षालाई ख्याल गरी उक्त कदम उठाउन बाध्य भएका थियौँ । यद्यपि पछिल्लो केही दिनको अवस्था हेरेपछि हामी चलचित्र प्रदर्शन गर्न सक्ने अवस्थामा छौँ, महाभोज चलचित्र यही जेठ ३० गतेदेखि प्रदर्शन हन्छ', उनले भने । सो चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले अभिनय गरेका छन् । सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताका विषयवस्तुलाई सशक्त रूपमा उठाइएको चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । उक्त चलचित्रलाई ‘क्लकवर्क क्रियसन’ र ‘पिक्चर फ्रेम’ ले संयुक्त रूपमा निर्माण गरेको हो । रासस
बेष्ट फाइनान्स नेपाल पे कार्डमा आवद्ध, एनसीएचएलसँग प्रिन्सिपल मेम्बरसिप सम्झौता
काठमाडौं । बेष्ट फाइनान्स लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस एनसीएस तथा नेपाल पे कार्ड को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्डको पूर्वाधार तयार भएसँगै, एनसीएचएलले बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त प्रणालीमा आवद्ध हुन आग्रह गरेको थियो । सोही अनुरूप बेष्ट फाइनान्सले नेपाल पे कार्ड इस्यु र अक्वायर गर्ने प्रक्रियामा अग्रसरता देखाएको हो । नेपाल पे कार्ड पूर्वाधारको व्यावसायिक सञ्चालन (कमर्सियल रोलआउट) पश्चात बेष्ट फाइनान्सले आफ्ना ग्राहकहरूलाई नेपाल पे कार्ड सेवा प्रदान गर्न सक्नेछ । एनपीएस एनसीएस प्रणालीले विभिन्न कार्ड स्विचहरूबीच अन्तरसंयोजन सुनिश्चित गर्दै, डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्टका लागि एकीकृत कार्ड स्विचको रूपमा काम गर्नेछ । यसको कार्यान्वयन पश्चात कार्ड कारोबार लागत घटाउने, डाटा स्थानीयकरण सुनिश्चित गर्ने तथा डिजिटल इकोसिस्टममा नवीनतम प्रविधिको विकास र प्रवर्द्धन हुने विश्वास लिइएको छ । बेष्ट फाइनान्सको यस कदमले डिजिटल कारोबारलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।