‘दजर्नौं ठाउँमा सयौं रोपनी जग्गा र ४१ वटा कम्पनीमा लगानी छ, प्रतिस्पर्धीको कारण समस्यामा परेँ’

काठमाडौं । तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिका अध्यक्ष केदार शर्माले आफू प्रतिस्पर्धीको कारण समस्यामा परेको बयान दिएका छन् । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति समक्ष बयान दिँदै उनले आफू बचतकर्ताभन्दा पनि प्रतिस्पर्धीको कारण समस्यामा परेको बयान दिएका हुन् । उनले आफूँसँग ४१ वटा कम्पनी र विभिन्न सहरमा पनि सयौं रोपनी जग्गा रहेकोले जेलमुक्त हुनेबित्तिकै बचतकर्ताको बचत फिर्ता गर्न सकिने धारणा राखेका हुन् । उनले नेपालभरि शिवशिखर बहुउद्देश्यीय सहकारीका २६ वटा डिपार्टमेन्ट स्टोर, डरेलधुरामा लालिगुराँसको फुलबाट तेल उत्पादन गर्ने प्लान्ट, सोही स्थानमा फ्रेस भेजिटेवलको कोल्डस्टोर, कञ्चनपुरको बेलौरीमा खाद्यान्न संकलन केन्द्र रहेको बयान दिएका छन् । यस्तै, उनले तुल्सीपुर दाङमा सुठो प्रशोधन प्लान्ट, धादिङको गल्छिमा १८ रोपनी जग्गामा निर्माणाधीन मल्टी च्याम्बर कोल्ड स्टोर, भक्तपुर जिल्लामा ८ रोपनी १० आना, कोहलपुरमा साढे चार बिगाह जग्गा रहेको पनि जानकारी गराएका छन् । तुलसी बहुउद्देश्यीय सहकारीको झापा, गौरादह नजिक साढे चार विधामा राईस, चिउरा, मुरें, ब्रिकेट प्लान्ट रहेको बताउँदै झापाकै दमक बजारमा ६ तल्लाको तुलसी भवन, विराटनगर नेताचोकमा एक विगाहमा दाल प्लान्ट, उदयपुर गाईघाटमा ५ तल्लाको भवन, उदयपुरकै खाँबुमा ८६ रोपनीमा मल्टी फार्म रहेको बयान दिएका छन् । यस्तो छ उनको बयान आफ्नो नाम सहित तीन पुस्ता र परिवारका सदस्यहरूको विवरण खुलाउनुहोस्। परिवारका सदस्य हाल को कहाँ हुनुहुन्छ ? खुलाइदिनुहोस् । मेरो बाजे रवीलाल शर्मा, बुबा रत्नाखर शर्मा, आमा मनकुमारी शर्मा, मेरो नाम केदारनाथ शर्मा, मेरो श्रीमती गिता शर्मा हो । छोरा काल्स शर्मा र छोरी केनिया शर्मा पढाईको सिलसिलामा भारत, लखनाउमा बस्दै आएका छन् । मेरो स्थायी ठेगाना जिल्ला बाँके, कोहलपुर नगरपालिका वडा नं. ०३ कोहलपुर, हाल जिल्ला काठमाडौ, का.म.पा. वडा नं. ०४ सुकेधारा हो । बाँके जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र प्राप्त गरेको छु । ना.प्र.नं. २१७३९/ बाँके हो । हाल म सहकारी ठगी मुद्दामा नख्खु कारागार कार्यालयमा छु । तपाईंको शारीरिक अवस्था कस्तो छ ? सोधिएका प्रश्नको उत्तर दिन सक्नुहुन्छ ? मेरो शारीरिक अवस्था ठिक छ सोधिएका प्रश्नको जवाफ दिन सक्छु । तपाईं आवद्ध रहेका र सञ्चालकको भूमिकामा रहेको सहकारी संस्थाहरूको नाम, ठेगाना र अन्य कुनै विवरण भए सो समेत खुलाउनुहोस् । सम्बद्ध कुनै कागजात भए पेस गर्नुहोस् । २०७६ सालसम्म शिवशिवर बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष थिएँ । हाल म तुलसी बहुउद्देश्यीय सहकारी संस्थाको निलम्बित अध्यक्ष हुँ । तुलसी बहुउद्देश्यीय सहकारी संस्था जिल्ला मोरङ्, बिराटनगर मुख्य कार्यालय रही सेवा केन्द्र झापा दमक, उदयपुर गाईघाट, सिराहा गोलबजारमा रहेका छन् । त्यस्तै शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था मुख्य कार्यालय जिल्ला भक्तपुर, कौशलटारमा रही नेपालभर ३६ वटा शाखा कार्यालयहरू रहेका छन् । सहकारी ऐन र प्रचलित कानून बमोजिम सहकारी सञ्चालन गर्नु भएको छ/थियो ? डिभिजन सहकारी कार्यालयका सेवानिवृत्त कर्मचारी हरी बशिस्टलाई कानूनी सल्लाकारको रूपमा राखेका थियौं । मलाई सहकारीमा संलग्न उहाँले नै गाउनुभएको हो । सम्पूर्ण कानूनी पाटो उहाँले भनेअनुसार हुने भएकोले सहकारी ऐन र प्रचलित कानून बमोजिम नै सहकारी सञ्चालन गरेका थियौ भन्ने लाग्थ्यो । अहिले कानुनअनुसार नभएको देखियो । सहकारी संस्था सञ्चालन बाहेक अन्य कुनै पेशा वा व्यवसाय पनि छ ? म २०५२ सालदेखि व्यापारमा आवद्ध थिएँ । कोहलपुरमा ढकाल किराना स्टोर स्थापना गरेको थिएँ । २०५८ मा काठमाडौं आई शान्तिनगरमा ओम शिव स्टोर, होलसेल पसल सञ्चालनमा ल्याएँ । २०६१ सालमा गोरखा टोबाको इन्डष्ट्री, नेपालगञ्जमा गोरखा टी ईन्डष्ट्री अर्जुनधारामा मुख्य कार्यालय काठमाडौंमा रहने गरी सञ्चालन गरेको थिएँ । तपाईं मुख्य सञ्चालक रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाको सञ्चालक समितिमा को-को हुनुहुन्छ हुनुहुन्थ्यो ? म २०७६ सालसम्म शिवशिखर कृषी सहकारी संस्था लि.मा अध्यक्ष थिएँ । शिवशिखर कृषी सहकारी संस्था लि. र शिखरदीप सहकारी संस्था लि. मर्ज भएपश्चात् शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लि. नामकरण भई सोही संस्थामा म स्वयं अध्यक्ष थिएँ र २०७६ सालमा सधारणसभा गरी अध्यक्ष शुशिल बानियाँलाई बनाएका थियौं । त्यसैगरी उपाध्यक्ष भोजराज पौडेल, सचिव तेजबहादुर तामाङ, सदस्य पुस्कर मल्ल, अमिष राजभण्डारी, राजु साखकर्मी रहेका थिए । २०७५ सालदेखि म आवद्ध भएको तुलसी बहुउद्देश्यीय सहकारी संस्था लि. मा म अध्यक्ष, उपाध्याक्ष अमिता गौतम, सचिव सविना न्यौपाने, सदस्यहरू छविलाल वि.क. बन्टी अधिकारी थिए । अन्य पदाधिकारीको नाम हाल मलाई याद भएन । सहकारीको बैठकमा हरी बशिस्ट जानु हुन्थ्यो, सबै कुरा उहाँलाई नै थाहा छ । हाल उक्त संस्थाहरू संचालनमा छन् छैन् ? उक्त संस्था समस्यामा पर्नुको कारण के हो ? हाल उक्त संस्थाहरू सञ्चालनमा छैनन् । समस्यामा पर्नुको कारण यी संस्थाहरू विगत १०/१५ वर्षदेखि सञ्चालनमा रहेका सहकारी हुन् । २ लाख २५ हजार भन्दा बढी शेयर सदस्य रहेको संस्थामा नेपालमा कोभिड आएपश्चात् काठमाडौंमा रहेका गैतमश्री र देउराली सहकारीमा समस्या आएपछि नेपालमा सहकारीमा बचत गर्दा होसियारी अपनाउने भन्ने नेपाल सरकारको आधिकारिक विज्ञापन नेपाल विज्ञापन बोर्डले विभिन्न मिडियाहरुबाट प्रकाशन गरेपछि धेरै बचतकर्ताहरूले एकै पटक बचत रकम फिर्ता माग्न आउँदा हाम्रो सहकारीले रकम फिर्ता दिन सकेन। बजारमा गरेका लगानी उठाउन नपाउँदा यो समस्या देखिएको हो । सञ्चालक समितिका सदस्यमध्ये तपाईंको आफ्नो परिवार वा नातागोताका व्यक्ति को-को हुनुहुन्छ/हुनुहुन्थ्यो ? सञ्चालक समितिका सदस्यमा मेरो परिवार तथा नातागोता कोही पनी छैनन्, थिएनन् । अन्य कुनै सहकारीमा सञ्चालक समितिको सदस्य रहेको व्यक्ति तपाईंं अध्यक्ष रहेको सहकारीको संचालक समितिमा पनि छन् वा छैनन् थिए वा थिएनन् ? यदि थिए भने, उक्त कुरा कानुनसम्मत् हो, होइन ? खुलाइदिनुहोस् । २०७४ सालको ऐन नबन्दासम्म दुवै सहकारीमा म अध्यक्ष थिएँ । १ वर्षभित्र एउटा मात्र कायम गर्ने सुचना भएपछि आर्थिक वर्ष २०७५/०७६ को वार्षिक साधारणसभापछि मैले शिवशिखर बहुउद्देश्यीय सहकारी छोडी तुलसी बहुउद्देश्यीय सहकारी संस्थामा मात्र अध्यक्ष रहेको थिएँ । तेजबहादुर तामाङ कल्याण उपकार सहकारीमा सञ्चालकमा रहेको कुरा अनुसन्धानको क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोबाट जानकारी पाएको थिएँ । अन्य कुनै पनि छैनन् । सहकारी संस्थाको सञ्चालक समिति साधारण सभाबाट चयन हुनुपर्नेमा तपाईंले सञ्चालकमा नाम राखिदिएका कारण कानूनी उल्झनमा आउनु परेको भन्ने गुनासो समितिमा आएको छ । यसबारे तपाईंको भनाई के छ ? विगतमा सहकारी राम्ररी चल्दा कर्मचारीहरूबाट सञ्चालक समितिमा बस्न तछाडमछाड हुने गथ्र्यो तर संस्था समस्यामा परेपछि उहाँहरूले त्यस्तो भनाई राख्नु भएको हो । सञ्चालकहरू कर्मचारी पनि रहेका छन् वा छैनन् ? व्यवस्थापक वा कर्मचारी छनौट गर्दा के-कस्तो विधि र पद्धति अपनाउने गर्नु भएको छ/थियो ? हाम्रो सहकारीमा कर्मचारी नै सञ्चालक समितिका सदस्य हुने गथ्र्यो । विगत १५/१८ वर्ष मसँग कर्मचारीको रूपमा काम गरेका कर्मचारीलाई मैले विश्वास गर्न सक्ने भएकाले मैले उनीहरूलाई नै संस्थाको सञ्चालक राखेको थिएँ । तर, सञ्चालक भएपछि उनीहरूको कर्मचारीको भूमिका रहँदैनथ्यो । सहकारी संस्थाका सदस्य बाहेक व्यक्तिको बचत जम्मा गर्ने वा त्यस्ता व्यक्तिलाई ऋण वा कर्जा प्रवाह गर्ने गरिएको छ वा छैन/थियो वा थिएन ? देशैभरी २ लाख २५ हजार सेयर सदस्य र ८६ हजार ऋणीहरू छन् । सहकारी संस्थाका सेयर सदस्य बाहेकका व्यक्तिलाई सेयर सदस्य बनाएर मात्र ऋण वा कर्जा प्रवाह गर्ने गरिएको थियो । सेयर सदस्य बनाउँदा तोकिएको कार्यक्षेत्रमा बसोवास भएका व्यक्तिलाई मात्र सदस्य बनाउनु भयो वा अन्य जोसुकैलाई पनि बनाउनु भएको छ/थियो ? तुलसीको कार्यक्षेत्र नेपालभरी नै रहेको हुँदा कार्यक्षेत्रको समस्या आएन । शिवशिखरको कोशी. र मधेश प्रदेशबाहेकको कार्यक्षेत्र भएको हुँदा कार्यक्षेत्रभिका मात्र सदस्य बनाइएको थियो । सहकारी संस्थाको सम्पत्ति कहाँ-कहाँ के कुल स्वरूपमा छ ? छ भने आवश्यक कागज प्रमाण समेत पेश गर्नुहोस् । नेपालभरी शिवशिखर बहुउद्देश्यीय सहकारीका २६ वटा डिपार्टमेन्ट स्टोर, डरेलधुरामा लालिगुराँसको फुलबाट तेल उत्पादन गर्ने प्लान्ट, सोही स्थानमा फ्रेस भेजिटेवलको कोल्डस्टोर, कञ्चनपुरको बेलौरीमा खाद्यान्न संकलन केन्द्र छ । डिपार्टमेन्ट स्टोरको विभिन्न स्थानमा जम्मा १३ वटा भवन रोका छन्, तुल्सीपुर दाङमा सुठो प्रशोधन प्लान्ट, धादिङको गल्छिमा १८ रोपनी जग्गामा मल्टी च्याम्बर कोल्ड स्टोर बन्दै थियो, भक्तपुर जिल्लामा ८ रोपनी १० आना, कोहलपुरमा साढे चार बिगाह जग्गा रहेको छ । तुलसी बहुउद्देश्यीय सहकारीको झापा, गौरादह नजिक साढ़े चार विधामा राईस, चिउरा, मुरें, ब्रिकेट प्लान्ट रहेको छ र झापाकै दमक बजारमा ६ तल्लाको तुलसी भवन, विराटनगर नेताचोकमा एक विगाहमा दाल प्लान्ट, उदयपुर गाईघाटमा ५ तल्लाको भवन, उदयपुरकै खाँबुमा ८६ रोपनीमा मल्टी फार्म रहेका छन् । तुलसी बहुउद्देश्यीय सहकारीको बचत १४५ करोड, ११२ करोड आफ्नै निजी सम्पत्ति, ३० करोड ऋण प्रवाह गरेको र सहकारी बैंकबाट लिएको ऋण साढे ७ करोड छ । शिवशिखर बहुउद्देश्यीय सहकारीको बचत ९४७ करोड, २२५ करोड आफ्नै निजी सम्पत्ति, ७२२ करोड ऋण प्रवाह गरेको र १० करोड सहकारी बैकबाट लिएको ऋण लिएको छ । मसँग सम्बन्धित १८ वटा उत्पादन कम्पनी र २३ वटा ट्रेडिङ कम्पनी गरी जम्मा ४१ वटा कम्पनीहरू रहेका छन् । अन्तरसहकारी कारोबार गर्नु भएको छ ? छ भने कुन-कुन संस्थासँग खुलाउनुहोस् । गाउँका साना सहकारीहरूले शिवशीखरमा बचत खाता खोलेर रकम जम्मा गर्ने गरेका थिए । हामीले अरुकोमा रकम राखेका थिएनौं । तपाईंले म शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लि.को अध्यक्ष तथा सो सहकारीको लगानीमा संचालित शिखर दीप एग्रो प्रा.लि.को एकल संस्थापक सञ्चालक रहेको हुँदा चितवनमा व्यापार व्यवसायका लागि घरजग्गा आवश्यक रहेको बताई मेरो घरको छ करोड मूल्य गरी संस्थाका कर्मचारी शिव शर्मालाई अख्तियारी दिई मेरो खातामा रकम जम्मा गरेको भन्ने भौचर देखाई मेरो घर समेत रजिष्ट्रेसन पारित गराई लिई उक्त रकम मेरो खातामा जम्मा नगराई ठगी गरेको भन्ने समेत व्यहोराको शान्ता अधिकारीको निवेदन यस समितिमा प्राप्त भएको छ ? निजलाई रकम जम्मा गरेको भनी झुक्याई किन ठगी गर्नुभएको हो ? निवेदक शान्ता अधिकारीका पति भोजराज पौडेल शिवशिखरका उपाध्यक्ष हुन् । शिवशिखर सहकारी संस्थाबाट उहाँले लिएको ऋण गितानगर, नारायणघाटको जग्गा बेची तिर्न सहमति गरी उक्त जग्गा शिखरदीप एग्रो प्रा. लि. को नाममा पास गरी, निजको शिवशिखर संस्थाबाट लिएको ऋण चुक्ता गरी बाँकी रकम शिखरदीप एग्रो प्रा.लि ले एकान्टपेयी चेकमार्फत निजलाई पेमेन्ट गरेको हो। उहाँको श्रीमान् हाल फरार हुनुहुन्छ । सहकारी संस्थाबाट उक्त कम्पनीमा के कति रकम लगानी गर्नुभएको छ ? सहकारीका लगानी रहेका अन्य के-कति कम्पनी रहेका छन् ? खुलाई दिनुहोस् । मेरा ४१ वटा कम्पनी मध्ये ९ वटा कम्पनीमा ऋण लगानी रहेको छ । ३०० करोड बराबरको लगानीमा ब्याज जोडेर हाल ४३४ करोड बराबरको रकम मैले तिर्न बाँकी छ । तपाईंको स्वामित्वमा गोरखा टि एण्ड कफी इन्डस्ट्रिज, फोर स्टार ग्रुप, गोरखा सोप एण्ड केमिकल इन्डस्ट्रिज, गोर्खा गोल्डेन ट्रेड, गोर्खा बेभरेज, गोर्खा स्पाइस एण्ड फुड प्रोडक्ट, शिखर मेसिनरी एण्ड अटोमोबाइल, नटराज एग्रो, तुलसी मोटर पम्प इन्डस्ट्री, तुलसी कृषि अनुसन्धान केन्द्र, गार्डेन मार्ट, शिबशिखर इन्भेष्टमेन्ट उपकार मिडिया ग्रुप, उपकार गार्मेन्ट, शिखर मिनरल वाटर एण्ड वेभरेज, उपकार आयल इन्डस्ट्रिज, हिमालयन कन्स्ट्रक्सन एण्ड मल्टी सोलुसन, उपकार लाइफ इन्सोरेन्स कम्पनी, उपकार जेनेरल इन्सोरेन्स कम्पनी, तुलसी फुड इन्डस्ट्रिज, नटराज फुड इन्डस्ट्रिज, शिखर ग्रुप सेक्युरिटी सर्भिस, उपकार फाउण्डेसन, उपकार अगरबत्ती उद्योग, तुलसी माहुरी फार्म, तुलसी कफी उद्योग, तुलसी काउ फार्म एण्ड डेरी, उपकार एक्सपोर्ट इम्पोर्ट शिखर प्रेस, न्यूज अखवार मिडिया, युरोप ओभरसिज स्टडिज कन्सल्टेन्सी, शिखर स्पाइस फुड एण्ड इन्डस्ट्रिज, शिव शिखर एग्रो, शिखर दीप फुड इन्डस्ट्रिज, शिखर अर्गनाइजेसन, शिखर दीप एग्रो समेतका के–कति कम्पनीहरू रहेका छन् ? ति कम्पनीमा लगानी गर्ने तपाइको आर्थिक स्रोत के हो ? यी सबै शिशिखर र तुलसी सहकारी संस्थाले आफैले स्थापना गरेका व्यापार हुन् । म सहकारीमा आवद्ध हुनुभन्दा अगाडी ९ वडा कम्पनीहरू रहेका थिए । जसमध्ये २ वटा मेनुफेक्चर र अरु ट्रेडिङ कम्पनी रहेका थिए । बाँकी कम्पनीहरू २०६५ सालपछि सोलिएको थियो । सहकारीलाई इस्पोर्ट एक्सपोर्ट र ब्राण्डिङ्ग गर्न अनुमति नभएकोले काम गर्नका लागि प्रा.लि.हरू खोलिएका हुन् । तर, सहकारी र प्रा. लि. कम्पनीहरू सँग सँगै लगेर काम गरेको हो । त्यसरी सहकारीबाट कम्पनीमा लगानी गर्न मिल्छ त ? कानुनमा नमिल्ने रहेछ तर बहुउद्देश्यीय बनाएपछि मिल्छ कि भनी गरेको हो । कानुनले मिल्दैन भन्ने थाहा भएको भए हामी त्यसो गर्ने थिएनौं । तपाईं अध्यक्ष रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्था लि.को कूल निक्षेप १ अर्ब ६५ करोड ६५ लाख ९३ हजार रहेकोमा संस्थाको ऋण तथा लगानी भएको भनी लेखांकन भएको रकम १ अर्ब ४८ करोड ६८ लाख ५० हजारलाई कूल निक्षेपबाट घटाँउदा देखिने अन्तर रकम १६ करोड ९७ लाख ४२ हजार केदारनाथ शर्माले संस्थाको हिसाब एवं वित्तीय विवरणमा प्रविष्ट नगरी सोझै अपचलन गरेको देखिन्छ, किन गर्नु भएको हो ? उक्त विषय २०८० सालको साधारण सभाको प्रतिवेदनमा उल्लेख भएको छ । यस विषयमा मलाई जानकारी भएन र मैले अपचलन गरेको पनि होईन । तपाईंले आफ्नो नाममा भएको विभिन्न ९ वटा कम्पनीहरू तुलसी राइस एण्ड चिउरा उद्योगमा ३६ करोड ५५ लाख ६४ हजार गार्डेन मार्टलाई २७ करोड ९२ लाख २१ हजार तुलासी अनुसन्धान केन्द्रमा ४ करोड ३ लाख ४४ हजार गोरखा टि एन्ड कफी उद्योगमा २ करोड १५ लाख ७८ हजार र तुलसी मोटर प्रा.ली. मा २४ करोड ५ लाख ५७ हजार लगायतका अन्य कम्पनीहरूमा समेत ऋण दिएको देखिन्छ ? सहकारी मूल्य मान्यता र कानुनले यसो गर्न मिल्छ ? माथी उल्लिखित कम्पनीहरूमध्ये गोरखा टि एण्ड कफी गद्योगमा ऋण लगानी गरेको हो र अन्य कम्पनीहरू सहकारी संस्था अन्तर्गतका कम्पनीहरू हुन् तर सहकारी संस्थाले मालसामानआयात गर्न र प्रान्डिङ्ग गर्न कानुनसम्मत नभएको हुँदा मेरो नाममा कम्पनी दर्ता गरी सामान आयात गरी सोही संस्थालाई दिएको हो । कुनै सहकारी संस्थाले आफ्ना १५ गुणाभन्दा बढी बचत जम्मा गर्न नपाउने व्यवस्था सहकारी ऐनमा रहेता पनि संस्थाले १७.६ गुणा बढी बचत किन जम्मा गर्नुभएको हो ? शेयर पुँजीको १५ प्रतिशतको सीमाभित्रै छ भन्ने मलाई लाग्छ । संस्थाका सदस्यहरूबाट ठूलो मात्रामा बचत रकम जम्मा गरेको र सोमा ब्याज समेत लेखांकन भएकोले सो बचत रकमको श्रोत खुल्ने कागजात र संस्थाको उक्त दायित्वको औचित्य कसरी पुष्टी गर्नुहुन्छ ? बचतकर्ताले रकम जम्मा गर्दाका बखत पेस गरेका कागजातहरूमा आफैं स्रोत खुलाएर ल्याएको कागजातहरू कार्यालयमा राख्ने गरेका छौं तर त्यसको भेरीफाई गर्ने गरेका थिएनौं । सदस्यहरूलाई (कम्पनी समेत) दिइएको कूल ऋण रकमको ८९.९८४ जति ऋण रकम ठूला ऋणीहरूलाई दिनु भएको छ । यो कानुनसम्मत छ त ? अन्दाजी ९० प्रतिशत ऋण ठूला ऋणीहरूलाई दिन नमिल्ने थियो । मलाई त्यसो भएको छैन भन्ने लागेको थियो, यस्तो देखिन्छ भने यो गलत भयो । एकै ऋणी शिखरदीप एग्रो प्रा. लि. लाई २५ वटा फाइल खडा गरी जम्मा ऋण रकमको ४० प्रतिशत ३ अर्ब ३३ करोड २१ लाख बराबरको ऋण रकम के उद्देश्यले दिइएको हो ? साथै सो ऋणको हाल अवस्था के कस्तो छ ऋणीले साँवा र ब्याज समय समयमा तिरी रहेको छ कि छैन ? संस्थाले गरेको व्यापारलाई अगाडि बढाउनका लागि ऋण रकम दिएको थियो । संस्था बन्द नभएसम्म साँवा र ब्याज तिरिरहेको थियो । गार्डेन मार्ट प्रा.लिलाई  ७१ करोड ८१ लाख र शिखर ओर्गनाइजेसन लि. लाई रु. ५७ करोड १२ लाख गरी जम्मा रकम १ अर्ब २८ करोड ९४ लाख के उद्देश्यले दिइएको हो ? साथै सो ऋणको हाल अवस्था के कस्तो छ ऋणीले साँवा र व्याज समय-समयमा तिरीरहेको छ कि छैन ? पटक-पटक गरी ऋण प्रवाह भएको थियो। संस्था बन्द नभएसम्म साँवा र ब्याज तिरी रहेका थियौं । ब्याज रकम पूँजिकृत गर्नु भएको छ कि छैन ? ब्याज रकम पूंजिकृत गरको छैन । बैंक मौज्दात ९३ लाख ९१ हजार रुपैयाँ बराबरको देखिएता पनि सोको प्रमाणित कागजात किन नभेटिएको ? सिस्टममा ९३ लाख ९१ हजार रुपैयाँ बराबरको देखिएता पनि केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्ने कममा हेर्दा २६ करोड बराबारको रकम देखिएको थियो । सहकारी सम्बन्धी वा कुनै फौजदारी कसुरमा थुना वा कैदमा पर्नु भएको छ वा छैन ? परेको भए हाल उक्त मुद्दा के कुन अवस्थामा छ ? म सहकारी ठगी मुद्दामा नख्खु कारागारमा छु । हाल १६ ओटा जिल्लामा सहकारी ठगी र काठमाडौं उपत्यकामा सहकारी ठगी सम्बन्धी कसुरमा संगठित अपराध मुद्दा चलिरहेको छ । विद्यमान अवस्थामा तपाईंको सहकारीको समस्या समाधान गर्न सक्नुहुन्छ ? के कुन प्रबन्ध भयो भने समाधान सहज हुन्छ ? यस्तो समस्या समाधान गर्न सकिन्छ । बचतकर्ताले भन्दा प्रतिष्पर्धीहरूले गर्दा समस्या बढेको हो । कारागारभित्र बसेर समस्याको समाधान गर्न सकिँदैन । म बाहिर निस्कन पाए र सुरक्षाको प्रबन्ध भएमा १ वर्षभित्र समस्या समाधान गर्न सक्छु । हाम्रो एउटा कुनै कम्पनी बेचेर मात्र पनि सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिएर सहकारी पुनः सञ्चालन गर्न सक्छु । तपाईं मुख्य सञ्चालक रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्था लि. र शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिको समस्या समाधान गर्न तपाई, तपाईको परिवार सरकार, कर्जा लिएको बैले के-के गर्नु पर्ला ? मैले पैसा कमाउनको लागि मात्र सहकारी स्थापना गरेको होइन । तर व्यापार गर्नका लागि सहकारीलाई गाउँ-गाउँ पुयाएको थिएँ । बैकले मेरा केही उद्योगहरू एनपीए गरेको छ, ती उद्योगहरू केही समय दिएर सञ्चालन गर्न दिनुपर्ने, म सम्पूर्ण समस्याहरू समाधान गर्न सक्ने हर प्रयासहरू गर्न तयार छु । तपाईको थप भन्नु केही छ ? सबै सहकारी नराम्रा छैनन् । राम्रा सहकारीलाई चलाउन दिनुपर्छ ।

यसरी बचाउन सकिन्छ सहकारीको सुन्दरता

नेपालको संविधानले सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बाका रूपमा चित्रण गरेको छ । समुदायमा हुने स–सानो वित्तीय कारोबारलाई एकीकृत गरी सर्वसाधारणको जीवनस्तर माथि उकास्ने नीतिअनुरूप अगाडि सारिएको तर, सहकारी क्षेत्र, खासगरी बचत तथा ऋण सहकारीले पछिल्लो समय केही समस्याहरूको सामना गरिरहेको छ । सहकारी ऐनले यस क्षेत्रमा स्वनियमनको परिकल्पना गरेको छ । नेपालको संविधानले सहकारीलाई समाजवाद उन्मुख अर्थतन्त्रका रूपमा परिभाषित गरेको छ । त्यो लक्ष्य पुरा गर्न सहकारी क्षेत्र प्रभावकारी माध्यम पनि बन्न सक्छ । सहकारीहरू समुदायमा आधारित हुने भएकोले समाजको उत्थान र आर्थिक विकासका लागि प्रभावकारी मोडल बन्न सक्छ । सदस्यहरूको आर्थिक हितको लागि काम गर्नुपर्ने संस्था सहकारी हो । अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा सहकारीहरु प्रजातन्त्रिक हुन्छन् । तर पछिल्लो समय वित्तीय सहकारीमा देखिएका विचलनले यसको सुन्दरता जोगाउने जोखिम सिर्जना भएको छ । विषय प्रवेश सहकारी क्षेत्र सामाजिक र आर्थिक विकासको महत्वपूर्ण साधन हो । सहकारी क्षेत्रले विशेषगरि कमजोर आर्थिक वर्गको जीवनस्तर उकास्न, सामूहिक प्रयासलाई बलियो बनाउँदै, आत्मनिर्भरता र आर्थिक समृद्धिको मार्ग देखाउने काम गर्छ । पछिल्लो समय अर्थतन्त्रमा देखिएको केही सुस्सताका कारण सहकारी क्षेत्र पनि त्यसको प्रत्यक्ष मारमा प¥यो । विभिन्न चुनौती र जोखिमहरू यस क्षेत्रले सामना गर्नुप¥यो । सहकारी सञ्चालनमा देखिएको अपारदर्शिता, आर्थिक अनियमितता, वित्तीय व्यवस्थापनको कमी र सहकारीका सदस्यहरूको सक्रिय सहभागिताको अभावका कारण सहकारी क्षेत्रले केही विचलनहरु देखा परेको छ । पछिल्लो समय सहकारीको अस्तित्व र यसको प्रभावकारितामाथि पनि प्रश्न उठिरहेको छ । यी विविध समस्याहरूबाट बाहिर निस्कनुपर्ने आजको आवश्यकता हो । जुन सामुहिक प्रयास, समन्वय र सहकार्यले मात्रै सम्भव छ । सहकारीलाई यसको मूल्य, मान्यता र सिद्धान्तमा परिचालित गराई पुनरुत्थान गर्नुपर्ने आजको आवश्यकता हो । वित्तीय सहकारीलाई वित्तीय रूपमा पारदर्शी, संरचनात्मक रूपमा सुधार, व्यवस्थापकीय क्षमता अभिवृद्धि तथा प्रभावकारी नियमन गरेर यो क्षेत्रलाई अगाडि बढाउनुपर्ने जरूरी छ । सहकारीको वर्तमान समस्या अहिले सहकारी क्षेत्रमा केही समस्या देखा परेका छन् । यो समस्या आउन सक्ने सम्भावना पहिलेदेखि नै थियो । वित्तीय कारोबार जोखिमयुक्त नै हुन्छ । त्यो जोखिम आउन नदिनका लागि प्रभावकारी नियमन तथा सुपरिवेक्षण चाहिन्छ । जुन सहकारी क्षेत्रमा हुन सकेको थिएन । सहकारीमा कसले सुपरिवेक्षण गर्ने भन्ने अन्योलता पनि थियो । सहकारी सिद्धान्त अनुरुप स्वः नियमनमा पनि बसेनन् । कतिपय सहकारी सञ्चालकहरूले ठूलो संख्यामा शाखा विस्तार गरेर बचत संकलन गरे । वित्तीय साधनको प्रयोग सही ठाउँमा भएन । परिणामस्वरुप सहकारीमा तरलताको समस्या देखा पर्यो । निक्षेपकर्ताले निक्षेप फिर्ता पाउन नसक्ने अवस्था आयो । सहकारी कारोबार सानोस्तर तथा समूहबीच हुनुपर्ने मान्यता भएपनि केही व्यक्ति तथा समूहले गलत नियतका साथ ठूलो स्तरमा सहकारी सञ्चालन गरे तर सही ढंगले व्यवस्थापन गर्न सकेनन् । ती संस्थाहरू स्वनियमनमा बस्न सकेनन् । वित्तीय कारोवार आउन सक्ने जोखिमको पहिचान र तिनीहरुको व्यवस्थापन गर्न असफल भए । ठूलो स्केलमा वित्तीय कारोबार गरेर सदस्य बढाउने उद्देश्यमा लागेर आफ्नो स्वार्थअनुसार सहकारीलाई परिचालन गरियो । यहीबीचमा अर्थतन्त्रमा पनि सुस्तता सिर्जना भयो । घरजग्गा क्षेत्र त्यसको मारमा प¥यो । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दै गयो । घरजग्गामा लगानी गरेका सहकारीहरूले निक्षेप फिर्ता गर्न सकेनन् । सोही कारण वित्तीय अनुशासनमा नबसेका र केही महत्वकांक्षी भएर सञ्चालन भएका सहकारीहरु समस्यामा परे । अहिलेको मुख्य समस्या भनेको कर्जा असूली हुन नसक्नु र तरलता अभाव हो । अहिले अधिकांश वित्तीय सहकारी संस्थामा तरलताको समस्या छ । निक्षेप संकलन गरेर गलत ठाउँमा लगानी गरेका तर भनेको समय कर्जा असूली नहुँदा तरलताको अभाव भएको र बचतकर्ताहरुलाई बचत फिर्ता गर्न नसकेको अवस्था हो । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव हुँदा नियामक नेपाल राष्ट्र्र बैंकले पैसा दिने व्यवस्था भएजस्तै सहकारीमा पनि त्यो व्यवस्था भएको भए अहिलेको जस्तो समस्या नआउन सक्थ्यो । तर, त्यो व्यवस्था सहकारीको लागि छैन । अधिकांश सहकारीहरु तरलताको व्यवस्थापन गर्न नसकेरै समस्यामा परेका छन् । सहकारीहरूका सदस्यहरुले पनि आफ्नो वित्तीय व्यवस्थापन सही ढंगले गर्नुपथ्र्यो । लामो समय वित्तीय क्षेत्रमा काम गरेको, अनुभव भएको तथा वित्तीय जानकारी भएको व्यक्तिले पनि सहकारीमा ठूलो रकम जम्मा गरेको देखिन्छ । उहाँहरूले सहकारीको प्रवृति बुझ्नुपथ्र्यो । प्रभावकारी नियमन र सुपरीवेक्षण नभएका र स्वनियमनमा सञ्चालित सहकारीमा त्यति ठूलो रकम जम्मा गर्दा जोखिम हुन सक्ने कुरा बुझ्नु पर्दथ्यो । वित्तीय जोखिम व्यवस्थापन गर्न व्यक्ति पनि होसियार हुनुपर्छ । अधिकांश समस्या सहरी क्षेत्रका सहकारी संस्थामा देखिएको छ । सहरी क्षेत्रमा त बैंक तथा वित्तीय संस्थाहरू पनि जताततै छन् । बैंक तथा वित्तीय संस्थाको शाखाहरु पाइँलापिच्छे छन् । ती नियमन र सुपरीवेक्षणमा रहेका बैंक तथा वित्तीय संस्था छन् भन्ने जान्दाजान्दै सहकारीमा ठूलो पैसा जम्मा गर्नु आफैमा पनि गल्ति हो । विकल्प हुँदा हुँदै, जोखिम भएको थाहा पाउँदा पाउँदै पनि ठूलो रकम जम्मा गर्नु सही काम थिएन । आफूसँग भएको सबै रकम अझ एउटै सहकारीमा लगेर राख्नु भनेको बचतकर्ताको पनि कमजोरी देखिन्छ । उनीहरुले त्यस्तो नगरिदिएको भए यो समस्या यति ठूलोस्तरमा आउने थिएन । सहकारी सञ्चालकले पनि आफ्नो दायित्व बुझ्नु भएन । सहकारीको मर्म बुझ्नु भएन । सहकारीको माध्यमबाट आफ्नो महत्वाकांक्षा पुरा गर्ने काम गरेको देखिन्छ । सहकारीको वित्तीय जोखिमलाई नजरअन्दाज गरे । वित्तीय कारोवारमा देखिने कर्जा, ब्याजदर र तरलताको जोखिमलाई नजरअन्दाज गरे । लगानी भएको कर्जा सुरक्षित छ कि छैन ? असुल हुन्छ कि हुँदैन भन्ने विषय बुझ्नुपर्छ । तर, धेरैले छोटो समयमै उच्च प्रतिफल पाउने हिसाबले घरजग्गामा लगानी गरे । घरजग्गाको मूल्य सधैं बढ्छ भन्ने हुँदैन । मूल्य एउटा उचाइमा पुगेपछि खरिदकर्ताले पनि खरिद गर्ने क्षमता नै राख्दैनन् । क्षमता नराखे पछि माग नै सिर्जना नहुन सक्छ । त्यस कारणले पनि अहिले घरजग्गाको मूल्य घटेको छ । वर्तमान समस्याबाट पाठ सिकेर अब अगाडि बढ्न आवश्यक छ । समस्या सतहमा आइसकेको छ । यो समस्याको समाधान गर्ने चुनौती सहकारी सञ्चालक र सरकारमाथि पनि छ । सहकारीमा नियमन सहकारी क्षेत्रमा कमजोर नियमन भएकै कारण वर्तमान समस्या सिर्जना भएको हो । लोभ गर्ने मान्छेको प्रवृति हो । वित्तीय क्षेत्रमा नियमन प्रभावकारी हुनुपर्छ । विश्वव्यापी रूपमै वित्तीय क्षेत्रमा कडा नियमन हुन्छ । गलत प्रवृति विकास हुन नदिनका लागि पनि कडा नियमन आवश्यक पर्छ । बजार अर्थतन्त्रमा बजारमा सरकारको हस्तक्षेप कम हुनुपर्ने आवाज उठेपनि वित्तीय क्षेत्र जोखिमयुक्त हुने भएकोले नियामकले कडा नियमन तथा सुपरिवेक्षण गर्नुपर्ने हुन्छ । वित्तीय बजार विश्वासको भरमा चल्छ । यो क्षेत्रमा वित्तीय अपचलन हुने सम्भावना बढी हुन्छ । सहकारी सञ्चालन गर्ने भनेको समुदायमा हो । सहकारीको सिद्धान्त पनि अवलम्बन नगर्ने, बैंक तथा वित्तीय संस्था जस्तै ढंगले कारोबार गर्ने र त्यसमै बचतकर्ताले पनि विश्वास गर्ने परिपाटीले गर्दा अहिले समस्या आएको र्हो । नेपाल राष्ट्र बैंकको नियमनभित्र रहेका बैंक तथा वित्तीय संस्थालाई विश्वास नगरेर सहकारी संस्थाहरुको विश्वास गर्दै ठूलो रकम सहकारीमा जम्मा गर्दा पनि यो समस्या देखा परेको हो । बिना नियमन वित्तीय कारोबार गर्ने हो भने सानो स्तरमा निश्चित क्षेत्र र समुदायमा भित्र हुनुपर्छ । समुदाय तथा सदस्यहरुबाट नियन्त्रित हुनुपर्छ । सदस्यले हेर्न सक्ने हुनुपर्छ । तर, ठूलो रकममा कारोबार गर्दा वास्तवमा अनुमति नै लिनुपर्छ । नियमन पनि दह्रो चाहिन्छ । तर, आकारमा ठूलो हुने तर बलियो नियमन नहुँदा नै बचत तथा ऋण सहकारीहरुमा वर्तमान समस्या सिर्जना भएको हो । पछिल्लो समय सहकारीको प्रभावकारी नियमनका लागि दोस्रो तहको नियामक स्थापना गर्ने विषयले पनि प्राथमिकता पाएको छ । लामो समयदेखि दोस्रो तहको नियामक (एसटीआई)को विषयमा बहस हुँदै आएपनि यस पटक भने वित्तीय सहकारी प्राधीकरण बनाउने गरी ऐनको मस्यौदा नै बनिसकेको छ । सहकारीको लागि प्रभावकारी स्वायत्त निकाय चाहिन्छ । स्वतन्त्र नियामक निकाय बन्नका लागि वित्तीय रूपमा पनि स्वतन्त्र हुनुपर्छ । नेपाल सरकारसँग बजेटका लागि भर पर्नुपर्ने अवस्था हुनु हुँदैन । उसले आफ्नो कार्यसम्पादन आफ्नै बजेटबाट गर्न सक्नुपर्छ । जस्तै, नेपाल राष्ट्र बैंकले बजेटका लागि सरकारको भर पर्नु पर्दैन । उसले आफ्नो बजेट आफैं बनाउँछ । दोस्रो तह नियामकको वित्तीय स्रोत के हो ? यो विषयमा प्रष्ट हुनुपर्छ । अहिले संचालनमा रहेको राष्ट्रिय सहकारी बैंकलाई वित्तीय सहकारीहरुको नियामक र सुपरीवेक्षण गर्ने निकायको रुपमा बनाउन सकिन्छ । यसको लागि विद्यमान सहकारी ऐनमा संशोधन गर्दा पनि हुन्छ । अहिले यति धेरै सहकारी छन् । सानो सहकारीलाई छोडेर ठूलो सहकारीको नियमन गर्ने हो भनेपनि सयौको संख्यामा सहकारीहरु सो नियामकको नियमनभित्र पर्न सक्छन् । ती सहकारीहरुकोे नियमन गर्नका लागि पनि ठूलो संख्यामा कर्मचारी चाहिन्छ, स्रोत साधन चाहिन्छ । वित्तीय स्रोत चाहिन्छ । त्यसैले अब यस विषयमा पनि बहस गर्न आवश्यक छ । एसटीआई सञ्चालनका लागि कि नियमन सुपरीवेक्षण गरेबापत शुल्क उठाउनु प¥यो, कि सरकारले बजेट दिनु पर्ने हुन्छ । सरकारले बजेट दिएर एसटीआई सञ्चालन हुने अवस्था बन्यो भने फेरि स्वतन्त्र संस्था नबन्न सक्छ । सो संस्थाका कर्मचारीले स्वतन्त्र ढंगले काम गर्न सक्ने वातावरण नबन्न सक्छ । वित्तीय स्रोतमा स्वतन्त्र बन्न सकिएन भने फेरि नियामक आफंैले बदमासी गर्ने अवस्था आउन सक्छ । नियामकले नै सहकारीबाट फाइदा लिने अवस्था सिर्जना हुन सक्छ । यो पक्षलाई ध्यान दिनुपर्छ । संस्था स्थापना गरेर मात्रै हुँदैन त्यसको वित्तीय स्रोतको विषय सबैभन्दा महत्वपूर्ण पक्ष हो । अहिले स्वतन्त्र रूपमा काम गरेर आफैं वित्तीय स्रोत जुटाइरहेका नियामक नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डबाट पनि एसटीआईले पाठ सिक्न सक्छ । अहिले सरकारले ठूला सहकारीको नियमन राष्ट्र बैंकले पनि गर्न सक्ने कानूनी व्यवस्था गरेको छ । अब सहकारी क्षेत्रको छुट्टै नियामक ल्याउने हो भने ठूला सहकारीलाई नेपाल राष्ट्र बैंकको नियमनभित्र ल्याउन आवश्यक छैन । एउटै काम दुइटा नियामकलाई दिनु उचित पनि हुँदैन । सहकारी विभागको आग्रहमा राष्ट्र बैंकले नियमन गर्न सक्ने कानूनी व्यवस्था छ । राष्ट्र बैंकको नियमनभित्र रहन सुरुमा राष्ट्र बैंकबाटै लाइसेन्स लिनुप¥यो । सहकारीले त राष्ट्र बैंकबाट लाइसेन्स लिएका छैनन् । लाइसेन्स लिनका लागि पनि कानूनी व्यवस्था हुनुपर्छ । सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बा भनिएको छ । जुन क्षेत्रमा स्वनियमन हुनुपर्ने मान्यता छ । लाइसेन्स लिने हो भने स्वतन्त्रता गुम्न सक्छ । फेरि ‘फिट एण्ड प्रोपर टेष्ट’ पनि हुन्छ । उसले लाइसेन्स दिन्छ कि दिँदैन । तर, सहकारी संस्थाहरुको प्रकृति नितान्त फरक हुन्छ । सहकारी प्रजातान्त्रिक संस्था हुन् । सय/सय रुपैयाँ सेयर उठाएर चल्ने संस्था हुन् । इच्छा लाग्यो भने जुनसुकै वेला पनि सहकारीको शेयर लिएर सदस्य बन्न सकिन्छ। सहकारीको आफ्नै सुन्दरता छ । लाइसेन्स लिने अभ्यास ‘कम्पनी कल्चर’ हो । कम्पनीहरु नाफामा आधारित हुन्छन् । तर, सहकारीहरू सदस्यको हितमा काम गर्छन् । राष्ट्र बैंकको नियमनमा आउने हो भने सहकारीको ‘ब्यूटी’ हराउन सक्छ । अर्को महत्वपूर्ण विषय राष्ट्र बैंकले सहकारीको नियमन गर्न थाल्यो भने फेरि अहिलेका बैंक तथा वित्तीय संस्थाको नियमन छायामा पर्न सक्छ । बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकको ध्यान कम जान सक्छ । ९२ प्रतिशत बढी हिस्सा बोकेको बैंक तथा वित्तीय क्षेत्रलाई समेट्ने कि सहकारीलाई हेर्ने भन्ने विषय पनि आउन सक्छ । कर्पोरेट कल्चरले बढी नाफा खोज्छ । सहकारीको उद्देश्य नाफा पनि होइन । सहकारी सदस्यको सेवाका लागि हुनु पर्ने हो । कसको सेयर कति प्रतिशत छ भन्ने कुरा सहकारीले प्राथमिकतामा राख्दैन । बैंक तथा वित्तीय संस्थामा सेयर हिस्साअनुसारको हैसियत हुन्छ । सहकारीमा सबै सदस्यको समान सहभागिता हुन्छ । त्यसैले राष्ट्र बैंकलाई नियमन गर्न दियो भने सहकारीको ब्यूटी मर्ने होकि भन्ने चिन्ता पनि हुन सक्छ । अहिले पनि राम्रो अभ्यास गरिरहेका सहकारी पनि छन् । सहकारीको मूल्य मान्यता र सिद्धान्तअनुरुप काम भएका पनि छन् । सबै ठाउँमा सहकारी चाहिन्छ भन्ने पनि हुँदैन । समुदायमा आधारित सहकारी राम्रोसँग चलिरहेका छन् । सहकारी व्यावसायिकभन्दा पनि समुदाय र सदस्यको हितका लागि काम गर्दा प्रभावकारी हुन्छ । सहकारी नचाहिने भन्ने होइन । तर, सहकारीले सबै काम गर्न सक्दैन। समुदायलाई जोड्नका लागि सहकारी चाहिन्छ । निष्कर्ष सहकारी क्षेत्रमा वर्तमान समस्या सिर्जना गरेको पनि यसका हर्ताकर्ताले नै हो । अब यो समस्याको समाधानका लागि पनि सबैको सहकार्य चाहिन्छ । विगतका गल्ति र कमी कमजोरी पहिचान गरेर समाधानको बाटोमा लाग्यो भने अहिलेको समस्या समाधान हुन्छ । साना सहकारीहरूले पसल–पसल तथा घर–घरमा गएर बचत संकलन गर्नु राम्रो मोडल हो । त्यो काम बैंक तथा वित्तीय संस्थाले गर्न सक्दैनन् । सहकारीमा रहेको सुन्दर पक्षलाई जोगाउनु पर्दछ । त्यसैले अब सबैको समन्वयमा साना बचतकर्ताको बचत फिर्ताको उपाय खोज्नुपर्छ । रकम हिनामिनाको विषयमा सरकारले कारवाहीको प्रक्रिया पनि अगाडि बढाइरहेको छ । सहकारीमा अहिलेसम्म भएको कर्जा लगानी उठाउनुपर्छ । कर्जा उठाउँदै बचत कर्ताको रकम फिर्ता गर्नुपर्छ । यसको लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई थप प्रभावकारी बनाउनु पर्छ । सहकारीको रकम अपचलन गर्ने जिम्मेवार व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउनु पर्दछ । उनीहरुको सम्पति बेचविखन गरेर पनि बचत कर्ताको रकम फिर्ता गर्नुपर्दछ । समस्याग्रस्त संस्थालाई कसरी सुधारको बाटोमा लैजाने भन्ने विषयमा बैंक तथा वित्तीय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकबाट पनि केही अनुभव लिन सकिन्छ । एउटा स्तर भन्दा माथिको वित्तीय सहकारीको नियमन र सुपरीवेक्षणको व्यवस्था गर्नुपर्दछ । वित्तीय सहकारीलाई निश्चित स्तर भन्दा ठूलो हुन दिनु पनि हुदैन । बचतकर्ताहरुले पनि विद्यमान वित्तीय प्रणाली बुझेर आफ्नो वित्तीय व्यवस्थापन गर्नुपर्दछ । लगानी विविधिकरण गर्नुपर्छ । सबै अण्डालाई एउटै डालोमा राख्नु वित्तीय रूपमा राम्रो मानिदैन । (लेखक राष्ट्रिय योजना आयोगका सदस्य तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् । सीजेएन स्मारिकाबाट)

३६औं एसिक सम्मेलन काठमाडौंमा, नवप्रवर्तन र आर्थिक उत्थानमा जोड

काठमाडौं । एसियाली देशका सुरक्षण संस्थाहरु (एसिक)को ३६औं अन्तरराष्ट्रिय सम्मेलन काठमाडौंमा शुरु भएको छ । निक्षेप तथा कर्जा सुरक्षण कोषले आयोजना गरेको उक्त सम्मेलनको शुक्रबार साँझ उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका छन् । मन्त्री पौडेलले अर्थतन्त्रको विकास र विस्तारको लागि कर्जा प्रवाह हुन आवश्यक रहेको बताए । उनले निक्षप तथा कर्जा सुरक्षण कोषको कारण नवप्रवर्तन र स्टार्टअप कर्जालाई सहज भएको बताएका छन् । ‘नवप्रवर्तन र स्टार्टअप कर्जाको प्रवद्र्धनको लागि निक्षेप तथा कर्जा सुरक्षण कोषले महत्वपूणर् भूमिका खेलेको छ,’ उनले भने । उनले सर्वसाधरणको निक्षेपको सुरक्षणको लागि कोषले प्रभावकारी भूमिका खेलेको समेत उल्लेख गरे । उनले अन्वेषणमार्फत नवप्रवर्तनमा जोड दिने उद्देश्यका साथ सम्मेलनको आयोजना भएको भन्दै खुशी व्यक्त गरे । मन्त्री पौडेलले अन्तरनिकाय सूचना आदान प्रदान गर्न एवम् साना व्यवसायीलाई वित्तीय पहूँच पुर्याउन कोषले महत्वपूणर् भूमिका निर्वाह गर्दै आएको बताए । ‘बचतकर्ताको मनोबल बढाउन सुरक्षण बिना सम्भव हुँदैन’, उनले भने, ‘कर्जा सुरक्षण कोषले पर्याप्त धितो राख्न नसक्नेलाई पनि कर्जा लिन प्रोत्साहन गरिरहेको छ । यसले अर्थतन्त्रलाई सहज बनाउन भूमिका खेलेको छ ।’ उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘कुनै बैंकमा समस्या आइहाल्यो भने पनि त्यसमाथि हस्तक्षेप गरेर परिस्थिति नियन्त्रणमा लिनसक्ने गरी निक्षेप बीमा योजनालाई परिस्कृत गर्न आवश्यक भएको’ औंल्याएका छन् । उनले निक्षेपकर्ताको सुरक्षण गर्ने हैसियत कोषले राख्नुपर्ने बताए । साथै, पछिल्लो समय कोषको क्षमता बढ्दै गएको बताए । उनले एसियाली मुलुकका साना नवप्रवर्तनकारी सस्थाहरुका लागि इननोभेसनलाई आधार मानेर प्रवाह हुने कर्जाको महत्व निकै उच्च रहेको बताए । उनले निजी क्षेत्रको कर्जा प्रवाहमा सहजिकरण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषले ठूलो सहयोग पुगेको बताए । पछिल्ला अन्तरराष्ट्रिय वित्तीय संकटहरुका बेलामा समेत नेपालको बैंकिङ प्रणाली सबल हुनुलाई यहाँको निक्षेप तथा कर्जा सुरक्षणको नीतिले ठूलो सहायता पुर्याएको थियो । गभर्नर अधिकारीले नेपालमा केन्द्रिय बैंकले लामो समयदेखि लघुवित्त कार्यक्रमलाई प्राथमिकतासाथ अघि बढाएको र यसले सामाजिक न्याय तथा वित्तीय पहूँच विस्तार गर्न उल्लेख्य सहयोग पुगेको स्मरण गरे। उक्त कार्यक्रमको प्रभावकारीतामा निक्षेप तथा कर्जा सुरक्षण कोषको भूमिकाको उनले प्रशंसा गरे ।“पछिल्लो समय कोषको क्षमता बढ्दै गएको छ” उनले भने, “आगामी दिनमा कोषको क्षमता अझै बढ्दै जान्छ भन्ने मलाई विश्वास छ ।” निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद घिमिरेले कोषले हालसम्म १४ खर्ब ३० अर्ब रुपैयाँ बराबरको निक्षेप र २ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको कर्जा सुरक्षण गरेको जानकारी दिए । उनले सम्मेलनले नवप्रवर्तनमा जोड दिएको बताए । ‘आफ्नो नायाँ सोचलाई पनि धितोमा राखेर कर्जा प्रवाह गर्नसकिन्छ भन्ने सन्देश यो सम्मेलनमार्फत दिनेछौं,’ उनले भने । कोषको निक्षेप सुरक्षण विभाग प्रमुख विक्रान्त आचार्यले सम्मेलनमा आर्थिक वृद्धिलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने बारेका छलफलफल गर्ने बताए । उनले सम्मेलनमा २० वटा एसियाली मुलुक तथा संस्थाबाट करीब १४० जना सहभागी हुँदै छन् । सम्मेलनको औपचारिक शत्रहरु शनिबारबाट सुरु हुने छ । चार दिनसम्म चल्ने उक्त सम्मेलन आगामी सोमबार सकिने छ ।