बुटवल पावरको लाभांशसँगै एफपीओ जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । बुटवल पावर कम्पनीको लाभांश र एफपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको ३१औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश र एफपीओ जारी गर्ने दुबै प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश पाउने छन् । उक्त लाभांश कम्पनीले नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर सेयरधनीहरुलाई सक्दो छिटो वितरण गर्ने बताएको छ । साथै, सो सभाले कम्पनीको प्रतिसेयर एक सय रुपैयाँ दरका एक करोड कित्ता शेयरहरु प्रचलित ऐन नियम बमोजिम प्रिमियम मुल्यमा थप सार्वजनिक निष्काशन गर्ने प्रस्तावलाई पारित गरेको छ । सो प्रयोजनका लागि कम्पनीको हालको जारी पुँजी ३ अर्ब ४० करोड ९० लाख रुपैयाँलाई बढाई ४ अर्ब ४० करोड ९० लाख रुपैयाँ पुर्याउने विशेष प्रस्ताव समेत पारित गरेको छ । कम्पनीले सञ्चालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा सञ्चालन भैरहेका छन् । साथै, सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सञ्चालित ४ मेगावाट को खुदी जलविद्युत केन्द्र र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत केन्द्रको सञ्चालन सुचारु रुपमा हुँदै आएको छ । खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत प्राधिकरणमा गएको छ । लमजुङ जिल्ला स्थित ३० मे.वा. को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ बैशाख २७ देखि संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणवाट निर्माण हुनु पर्ने खुदी सबस्टेशन तथा प्रशारण लाईन निर्माणमा ढिलाई भएका कारण आयोजनाले बैकल्पिक प्रशारण लाईन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गरिएको छ । प्राधिकरणले यस आयोजनाबाट उत्पादित हुने विद्युत पूर्णरुपमा नलिएका कारण सो आयोजनाको आम्दानीमा प्रत्यक्ष असर पर्न गएको कम्पनीले जानकारी गराएको छ । ३७.६ मेगावाटको कावेली ए जलविद्युत आयोजनाको स्थानीय रुपमा वित्तिय लगानी जुटाएर निर्माण कार्य पुनः प्रारम्भ भई सन्तोषजनक रुपले कार्य प्रगति अगाडि बढीरहेको छ । यस आयोजनाको निर्माण कार्य २०८१ साल चैत्र मसान्तसम्म सम्पन्न गरी विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ । तीन चिनियाँ लगानी कर्ताहरुसंगको संयुक्त लगानीमा मस्र्याङदी नदीमा निर्माणको चरणमा रहेका आयोजनाहरुमा १३५ मेगावाटको मनाङ मस्र्याङदी जलविद्युत आयोजना, १३९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङदी जलविद्युत आयोजना र ३२७ मेगावाटको माथिल्लो मस्र्याङदी दोश्रो जलविद्युत आयोजना क्यासकेड अवधारणामा (कुल जम्मा ६०१ मेगावाट) अगाडि बढाउने क्रममा छन् । मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको कार्य सम्पन्न गरि यस आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्षको चैत्र भित्रै शुरु गर्ने योजना रहेको छ । त्यस्तै, ७.९ मेगावाटको चिनोखोला जलविद्युत आयोजना पनि निर्माण तयारीको चरणमा रहेको छ । १७३.४७ मेगावाट क्षमताको अर्ध जलाशययुक्त मुगु कर्णाली जलविद्युत आयोजना अध्ययनकै क्रममा रहेको छ ।

छिमेक लघुवित्तको १५ प्रतिशत लाभांश पारित

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत लाभांश पारित भएको छ । आइतबार सम्पन्न संस्थाको २२औं वार्षिक साधारण सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७९/८० को नाफाबाट १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो । काठमाडौंंको मध्य वानेश्वरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले हालसम्ममा ६९ जिल्लामा १९७ वटा शाखा मार्फत कुल ४ लाख १९ हजार बढी महिला सदस्यहरुलाई लघुवित्त कार्यक्रम मार्फत सेवा दिइरहेको छ । २०५८ सालमा स्थापना भएको यस संस्थाले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब २ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । प्रस्तावित लाभांश पारितसँगै संस्थाको चुक्ता पुँजी बढेर २ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ ।

अरुण भ्याली हाइड्रोपावरको साधारणसभा सम्पन्न

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको २६ औं बार्षिक साधारणसभा आईतबार कम्पनीका अध्यक्ष जीवन राज शाक्यको अध्यक्षतामा सम्पन्न भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्स सम्पन्न साधारण सभाले आ.ब. २०७९/८० को प्रयोजनको लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ। यस कम्पनीले कोशी प्रदेशको संखुवासभा जिल्लामा बहने पिलुवाखोलामा निर्माण गरिएको ३.० मेगावाट क्षमताको पिलुवाखोला साना जलविद्युत आयोजना कम्पनीले निर्माण गरेको पहिलो आयोजना हो। यस आयोजनले विक्रम सम्वत् २०६० साल आश्विन १ गतेदेखि व्यवसायिक उत्पादन गरिरहेको छ । यस आयोजनाबाट उत्पादित विद्युतले नेपालका पूर्वी पहाडी जिल्लाहरुलाई लोडसेडिङ्ग मुक्त बनाउन ठुलो योगदान गरि रहेको छ। त्यसै गरि यस कम्पनीले ताप्लेजुङ्ग, पाँचथर सिमाना भएर बहने काबेली खोलामा ९.९४ मेगोवाट क्षमता भएको काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि २०७८ साल चैत्र १२ गते देखि व्यवसायिक उत्पादन सुरु गरेको छ । जलविद्युत आयोजनाहरुको विकास र निर्माण गर्दै जाने कम्पनीको उद्धेश्य रहेको र हाल कम्पनीसँग निर्माण आयोजना नरहेकोले कम्पनीले साहायक कम्पनी मार्फत आयोजना निर्माण गर्ने निर्णय गरि पिके हाइड्रोपावरमा ५१ प्रतिशत संस्थापक सेयरमा लगानी गरि ओखलढुङ्गा र रामेछाप जिल्ला भएर बहने लिखु खोलामा ३० मे.वा. क्षमताको लिखु खोला जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरेको छ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई हकप्रद निष्काशनका लागि अघि बढेको छ। बोर्डले भखरै मात्र अरुण भ्यालीलाई १:१ को अनुपातमा शत प्रतिशत हकप्रद सेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । अरुण भ्यालीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता बराबरको सेयर निष्काशन गर्ने छ । सेयर निष्काशनको काम मुक्तिनाथ क्यापिटलले गरिरहेको छ।