नागरिक लगानी कोषको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । कोषको २५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता २०९०.४० रुपैयाँ कायम हुने गरी कोषको मूल्य समायोजन गरेको हो । सोमबार कोषको सेयर प्रतिकित्ता २६१३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कोषले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । यससँगै मंगलबार कोषको कारोबार समायोजित मूल्यका आधारमा हुनेछ ।

समता घरेलु लघुवित्तले एफपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो । ृउक्त सम्झौतापत्रमा समता घरेलु लघुवित्तका प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् । संस्थाले तीन करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँ बराबरको तीन लाख ३२ हजार ८५६ किता सेयर निष्काशन गर्न लागेको हो । मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो । लघुवित्तको २०७९ चैत मसान्तसम्मको अधिकृत पुँजी ५० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पुँजी ४२ करोड ७४ लाख रुपैयाँ छ । त्यसैगरी कर्जा लगानी ३ अर्ब १० करोड छ । संस्थाले हाल ६१ वटा शाखाबाट कुल ६२ हजार ग्राहकहरुलाई सेवा दिई रहेको छ ।

शर्माद्धारा सहकारीको १२ अर्ब २३ करोड हिनामिना, ४३ वटा कम्पनीमा ऋण लगानी

काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था र श्री तुलसी बहुमुखी सहकारी संस्थाको रकम हिनामिना गरेका केदारनाथ शर्मा पक्राउ परेका छन् । शर्माले दुई संस्थाको गरी कूल १२ अर्ब २३ करोड ५१ लाख ८३ हजार ५८५ रुपैयाँ हिनामिना गरेको पाइएपछि केन्द्रिय अनुसन्धानर ब्यूरो (सीआईबी) ले उनलाई बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ बाट पक्राउ गरेको हो । सीआईबीका अनुसार शर्माले शिवशिखर बहुउद्देश्यीय सहकारीको १० अर्ब ७७ करोड ७६ लाख ३७ हजार ५२६ रुपैयाँ र श्री तुलसी बहुमुखी सहकारीबाट एक अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९९१ रुपैयाँ हिनामिना गरेका छन् । प्रचलित सहकारी ऐन र नियमावली विपरित सहकारी संस्थाबाट आफू र आफ्ना नजिकका व्यक्तिहरुको नाममा सञ्चालित ४३ वटा विभिन्न कम्पनीहरुमा ऋण लगानी गरी उक्त रकमको साँवा व्याजसमेत सहकारी संस्थामा फिर्ता नगरेको पाइएको छ । त्यस्तै, शर्माले सहकारी संस्थामा रहेको निक्षेप रकमबाट आफु र आफ्ना नजिकका व्यक्तिहरुको नाममा जग्गा जमिन, सवारीसाधन खरिद गरी सर्वसाधारणको बचत रकम दुरुपयोग गरी सहकारी संस्थालाई नोक्सानी पुर्याएको भन्दै सीआईबीले उनलाई पक्राउ गरेको हो । शर्मा शिवशिखर बहुउद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष र मोरङको विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष तथा शिखर अर्गनाईजेशनका सञ्चालक हुन् ।