अब सबै बैंकको मोबाइल बैंकिङ्गबाट नेपालपेको क्यूआर स्क्यान गर्न सकिने

काठमाडौं । अब सबै वाणिज्य बैंकहरुको मोबाइल बैंकिङ्ग एपबाट नेपाल पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ग्राहकहरूले अब जुनसुकै वाणिज्य बैंकहरूको मोबाइल बैंकिङ प्रयोग गरी नेपालपे क्यूआर स्क्यान गरी मर्चेन्टलाई भुक्तानी गर्न सक्ने भएका हुन् । त्यसैगरी अधिकांश विकास बैंकहरु, फाइनान्स कम्पनीहरू, वालेटहरू र कनेक्ट आईपीएस मोबाइल एपबाट पनि नेपालपे क्यूआर स्क्यान गरी मर्चेन्टलाई तुरुन्तै भुक्तानी गर्न सकिन्छ । नेपालपे क्यूआरबाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले क्यूआर स्क्यान गर्न अप्सनमा गई नेपालपे लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ । नेपालक्यूआरमा अन्तरआबद्धता कायम गर्न यस उपलब्धीलाई एक महत्वपूर्ण कोशेढुङ्गाको रुपमा लिइएको छ र यसबाट क्यूआर भुक्तानीमा वृद्धि हुने पनि अपेक्षा गरिएको छ । नेपालपे क्यूआर नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल-क्युआर स्ट्याण्डर्डको पूर्वधार हो, क्यूआर स्कीमको रुपमा समेत पनि उपलब्ध रहेको उक्त नेपालपे क्यूआरमा मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआवद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले मर्चेन्ट लेभलमा एग्रिगेटेड क्यूआर पनि उपलब्ध गराइरहेका छन् र हालै नेपालपे क्यूआर र स्मार्ट क्यूआरबीच नेटवर्क स्तरको अन्तरआबद्धता कायम भइसकेको छ । बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्यूआरमा करिब ४ लाख मर्चेन्टहरु आवद्ध गरिसकेका छन् । मर्चेन्ट र व्यवसायीहरुले नेपालपे क्यूआरमा आबद्ध भई ग्राहकहरुबाट क्यूआर मार्फत भुक्तानी प्राप्त गर्नका लागि आफ्नो सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्न सक्छन् । भौतिक रुपमा क्यूआर स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्यूआर इन्टिग्रेट गरी वा इ-कमर्श पोर्टलमा क्यूआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ । धेरै जसो बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत नेपालपे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । हालै भ्वाइसमा आधारित क्यूआर नोटिफिकेशन पनि केहि बैंक वित्तीय संस्थाहरुले थालनी गरिसकेका छन् ।

एकैपटक ९ जना संस्थापकले नेशनल माइक्रोफाइनान्स लघुवित्त छाड्दै

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका संस्थापकले सेयर बिक्री गर्ने भएका छन् । लघुवित्तका विभिन्न ९ जना संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको ६४ हजार ४४२ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । संस्थापक सेयरधनी भिम बहादुर कुँवरको नाममा रहेको ७ हजार ३ सय कित्ता, महेन्द्र प्रसाद चुडालको ५ हजार कित्ता, कमल बहादुर बस्नेतको ७ हजार कित्ता, लक्ष्मी प्रसाद सिटौलाको १६ हजार ५११ कित्ता र टठ बहादुर पाण्डेको १ हजार ८३७ कित्ता सेयर बिक्रीमा राखिएको हो । त्यस्तै, डिक बहादुर पाण्डेको ५ हजार कित्ता, तारा देवि गुरुङ्गको ३ हजार ७९४ कित्ता, कृष्ण प्रसाद खरेलको १० हजार कित्ता र तोशिल कुमार दाहालको ८ हजार कित्ता सेयर बिक्री गर्ने लघुवित्तले जनाएको छ । लघुवित्तले बिक्री गर्न लागेको सेयरको मूल्य तोकिएको छैन । लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापकहरुले ३५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ । यदि सो अवधिमा संस्थापकहरुले आवेदन नदिएको खण्डमा सर्वसाधारण लगानीकर्तालाइ बिक्री खुला गरिने लघुवित्तले बताएको छ ।

आरएसडिसी लघुवित्तको ९ प्रतिशत सेयर सर्वसाधारणमा परिणत, दोस्रो बजारमा कारोबार हुने

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ । लघुवित्तले संस्थापक सेयर संरचनालाई ५१ प्रतिशतमा झार्ने बताएको छ । लघुवित्तका अनुसार संस्थापक सेयरधनीको ६० प्रतिशत सेयर स्वामित्व रहेको छ । उक्त सेयर स्वामित्वतबाट ९ प्रतिशत सेयर सर्वसाधारण सेयरमा परिणत गरी संस्थापकको ५१ प्रतिशत स्वामित्व कायम गर्ने भएको हो । संस्थापक संरचनालाई ५१ प्रतिशत कामय गर्ने भएकाले इच्छुक संस्थापकले सर्वसाधारणमा परिवर्तन गर्ने वा नगर्ने जानकारी गराउन लघुवित्तले आग्रह गरेको छ । संस्थापक सेयरलाई सर्वसाधारण गर्न इच्छुक नभएमा ३५ दिनभित्र जानकारी गराउन संस्थापक सेयरधनीहरुलाई लघुवित्तले आग्रह गरेको हो । यदि उक्त अवधिमा जानकारी नगराए कानून बमोजिम सर्वसाधारण समूहमा परिवर्तन गरिने लघुवित्तले जनाएको छ । उक्त सेयर सर्वसाधारण्मा परिणत भएपछि लघुवित्तको सेयर संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहको कायम हुनेछ । सर्वसाधारण सेयरमा परिवर्तन भएपछि उक्त सेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।