महानगरपालिका भित्रका सहकारीको १ खर्बको कारोबार, ५० प्रतिशतले बुझाउँदैनन् विवरण

काठमाडौं । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सहकारीमध्ये ५० प्रतिशतले मात्रै वार्षिक विवरण पेस गर्ने गरेका छन् । हाल कामपामा १ हजार ९५३ सहकारी सञ्चालनमा छन् । जसमध्ये ९५५ ले मात्रै नियमितरूपमा वर्षिक विवरण पेस गरेका कामपाले जनाएको छ । कामपा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले सञ्चालनमा रहेका ५० प्रतिशतले मात्रै विवरण पेस गर्ने गरेकाले विवरण पेस नगर्नेका लागि अनुगमन गरी कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिए । “अब नियमित अनुगमन गर्ने र अनुगमनका क्रममा विवरण नबुझाउनेलाई नियमित काम कारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्ने तयारी गरेका छौँ”, उनले भने । प्रमुख त्रिपाठीका अनुसार विवरण पेस गर्नका लागि विभागले दिएको पटकपटकको सूचनालाई बेवास्ता गरेपछि अनुगमन गरी कारबाही गर्ने तयारी गरिएको हो । “नियमानुसार प्रत्येक सहकारीले एक वर्षभरि के गरे र के गर्दैछन् भन्ने विषयमा जानकारी गराउनुपर्ने हुन्छ”, उनले भने, “कामपाको भित्री वडामा सहकारीको सङ्ख्या बढी रहेकाले उक्त स्थानमा समस्या बढी देखिएका छन् ।” हाल कामपामा सहकारी संस्थाको वार्षिक १ खर्ब रुपैयाँको कारोबार रहेको अनुमान गरिएको प्रमुख त्रिपाठीले बताए । उनका अनुसार सहकारीले ठगी गरेको उजुरी पनि प्रशस्तै आउने गरेका छन् । पाँच वर्षको अवधिमा कामपाका २२४ सहकारीमा ६ हजार उजुरी परेको प्रमुख त्रिपाठीले बताए । “यसरी उजुरी गर्नेमा बचतकर्ता र सर्वसाधारण रहेका छन्”, उनले भने, “उजुरीहरुमा सहकारीले भाडा नतिरेको, बचत रकम फिर्ता नगरेको, केहीले कमचारीलाई तलब नदिएको लगायत छन् ।” संवैधानिक व्यवस्थाअनुसार वि.सं २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन र अनुगमन गर्नुपर्ने व्यवस्था छ । सहकारी स्थानीय तहलाई हस्तान्तरण हुनुअघि विसं २०७४ मा नै कामपाले सहकारी ऐन जारी गरिसकेको थियो । कामपामा सोही ऐनअनुरुप सहकारी सञ्चालन भइरहेका छन् ।

एक सहकारीले भन्यो – ‘ललितपुरका राकेश शाक्यसँग होसियार रहनु’

काठमाडौं । मानसरोवर कृषि सहकारी संस्थाले ललितपुरका राकेश शाक्यसँग होसियार रहन आग्रह गरेको छ । सहकारी संस्थाले पूर्व कर्मचारी ललितपुर महानगरपालिका ११ का राकेश शाक्यसँग होसियार रहन आग्रह गरेको हो । शाक्य गैरकानुनी क्रियाकलाप र जानाजान ठगीमा संलग्न रहेकाले मानसरोवर कृषि सहकारीको कुनै कागजपत्र, चेकबुक वा मुद्दती बचत रसिद ल्याएर कारोबार गर्न खोजेको खण्डमा कारोबार नगर्न आग्रह गरेको हो । सहकारीका अनुसार ललितपुर महानगरपालिका ११ घर भई हाल गोदावरी नगरपालिका १० बस्ने शाक्य वि.सं. २०७६ साउन १ गतेका दिन प्रबन्धक पदमा नियुक्त भए । उनले वि.सं. २०७७ भदौ १ गतेदेखि स्वेच्छाले संस्थाको जागिर छाडेका थिए । संस्था छाडेर जाँदा आफ्नो जिम्मेवारीमा संस्थाको चलअचल सम्पत्ति बुझाई, हरहिसाब फरफारक गरेर जानुपर्ने हो । तर, उल्टै कृषि विकास बैंकको चापागाउँ शाखामा रहेको यस संस्थाको बैंक खातामा दस्तखत चल्ने सञ्चालकहरुले दस्तखत गरिसकेको चेक नं. १२९८४७०१ चोरेर लगी ४६ लाख ५० हजार रुपैयाँको चेक काटेर त्यसलाई बाउन्स गराए । त्यस्तै, उनले संस्था सञ्चालक समितिका सदस्यहरुलाई कालोसूचीमा राख्न सम्बन्धित निकायमा निवेदन समेत दर्ता गराए । खाता सञ्चालनमा प्रयोग हुने दस्तखत वि.सं. २०७७ असोज ३० गते नै परिवर्तन भइसकेको थियो । तर, शाक्यले वि.सं. २०७९ चैत १३ गतेको मितिमा चेक काटेर त्यसलाई बाउन्स गराएर संस्थालाई बदनाम गराउने, दुःख दिने र आफूले गैरकानुनी लाभ लिने नियत रहेको संस्थाको आरोप लगाएको छ । त्यसैले शाक्यले आगामी दिनमा पनि यस्ता गैरकानुनी क्रियाकलाप गर्न सक्ने भएकाले संस्थासँग कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्था, सहकारी संघ र संस्थाका सेयर सदस्यहरुलाई सजग रहन आग्रह गरेको हो । साथै, संस्थासँग लिएको ऋणको साँवा ब्याज भुक्तानी गर्न र हिनामिना गरेको रकमको हिसाब एक हप्ताभित्र बुझाउन भनेको छ । अन्यथा संस्थालाई पुर्याएको हानिनोक्सानी उपर कानुनी कारवाही अघि बढाउने सहकारीले चेतनावनी दिएको छ ।

‘वित्तीय क्षेत्रको स्वनियमनमा संस्थागत नैतिक अभ्यास अपरिहार्य’

काठमाडौं । बैंकिङ क्षेत्रमा अपनाउन थालिएको विनियमन (डिरेगुलेसन)को अभ्यास र बढ्दो सूचना प्रविधिको कारण बैंकिङ क्षेत्रका नैतिक अभ्यास अपरिहार्य बन्दै गएको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् । शुक्रबार मोर्गन इन्टरनेसनल कलेजले आयोजना गरेको ‘इथिकल बैंकिङ’ विषयक सेमिनारमा राष्ट्र बैंकका उपनिर्देशक डा. गुणराज भट्टले अबको बैकिङ प्रणाली नियम कानूनभन्दा बढी नैतिक अभ्यासबाट निर्देशित हुनुपर्ने बताए । काठमाडौंको बसुन्धारामा रहेको मोर्गन इन्टरनेसनल कलेजले नियमित श्रृङ्खला अन्तर्गत शुक्रबार बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा सेमिनार आयोजना गरेको हो । ‘बैंकले सर्वसाधारणको निक्षेपमा व्यवसाय गर्ने भएकाले अन्य संस्थाभन्दा बढी बैंकिङ क्षेत्रमै नैतिक अभ्यास आवश्यक पर्छ । सर्वसाधारणले पनि बैंक तथा वित्तीय संस्थाको नैतिक अभ्यासकै आधारमा मूल्याङ्कन गरेका हुन्छन्’, डा. भट्टले भने । राष्ट्र बैंकका अर्का उपनिर्देशक रामशरण पोखरेलले बैंक तथा वित्तीय संस्थालाई स्वनियमनमा ल्याउन वित्तीय संस्थामा हुने नैतिक अभ्यासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘बैंक तथा वित्तीय संस्थालाई पारदर्शी र जवाफदेही बनाउन राष्ट्र बैंकले निरन्तर काम गरिरहेको छ । अबको दिनमा बैंक तथा वित्तीय संस्थाहरु स्वनियमनमा रहनुपर्छ । त्यसलाई संस्था भित्रको नैतिक अभ्यासले सघाउँछ’, पोखरेलले भने । मोर्गन इन्टरनेसनल कलेजले विद्यार्थीहरुलाई बैंकिङ क्षेत्रको असल अभ्यास र आगामी दिनमा बैंक तथा वित्तीय क्षेत्रले ध्यान दिनुपर्ने विषयमा जानकारी गराउने उद्देश्यले सेमिनार आयोजना गरेको क्याम्पस प्रमुख डा. दीपेन्द्र भण्डारीले बताए । ‘विद्यार्थीहरुलाई व्यवहारिकरुपमै सक्षम बनाउनका लागि सेमिनारहरुले सहयोग गर्ने भएकाले नियमितरुपमा आयोजना गरिरहन्छौं । स्रोत व्यक्तिहरुको अनुभव विद्यार्थीलाई सुनाउँदा ज्ञान हासिल गर्न सक्छन् । सोही उद्देश्यका लागि सेमिनार आयोजना गरिएको हो’, डा. भण्डारीले भने । सेमिनारमा कलेजका स्नातक तहका विद्यार्थी, अध्यापक एवं कर्मचारीहरुको सहभागिता थियो ।