नेप्सेमा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत, बिहीबारदेखि किनबेच गर्न पाइने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार मात्रै नेपाल वेयरहाउजिङ्ग कम्पनी, चिर्ख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ सूचीकृत भएको हो । यससँगै यी तीन वटै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । बुधबार सूचीकृत भएको कम्पनीको सेयर बिहीबार अर्थात पुस ५ गतेदेखि कारोबारमा आउने छ । जसमध्ये नेपाल वेयरहाउजिङ्ग कम्पनीको ६८ लाख ७५ हजार कित्ता साधारण सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि न्यूनतम ९३.०४ रुपैयाँ र अधिकतम २७९.१२ रुपैयाँ ओपनिङ्ग रेञ्ज दिएको छ । उक्त रेञ्जको आधारमा कम्पनीको सेयर बिहीबारदेखि कारोबारमा आउने छ । कम्पनीको नेप्से सिम्बोल भने ‘एनडब्लुसीएल’ रहेको छ । त्यस्तै, नेप्से सिम्बोल ‘सीकेएचएल’ रहेको चिर्ख्वा हाइड्रोपावरको ४० लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि न्यूनतम १००.०१ र अधिकतम ३००.३ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको छ । यससँगै बिहीबार कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ । त्यसैगरी, भिजन लुम्बिनी उर्जा कम्पनीको एक करोड ९१ लाख २५ हजार कित्ता आईपीओ दोश्रो बजारमा सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम १२१.७८ र अधिकतम ३६५.३४ रुपैयाँ तोकिदिएको छ । यससँगै कम्पनीले नेप्से सिम्बोल ‘भीएलयूसीएल’को नामबाट बिहीबारदेखि सेयर किनबेच गर्ने छ । यी तीन वटै कम्पनीले हालै सर्वसाधारणमा आईपीओ जारी गरेका हुन् । जुन सूचीकृत भएपछि दोश्रो बजारबाट किनबेच गर्न पाइने व्यवस्था छ ।
लाभांश पारित गर्न शिवम् सिमेन्टले डाक्यो साधारण सभा
काठमाडौं । शिवम् सिमेन्टले आगामी पुस २७ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले सो दिन बिहान ९ बजे काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा आफ्नो आठौं वार्षिक साधारण सभा डाकेको हो । सभामा कम्पनीले लाभांश प्रस्ताव लैजाँदै छ । जसअनुसार सभाले कम्पनीको १४.२७ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्दै छ । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी पुस १९ गते एक दिन बुक क्लोज गर्दै छ । यससँगै पुस १८ गतेसम्म कायम सेयरधनीले मात्रै प्रस्तावित उक्त लाभांश पारित भएपछि पाउने छन् ।
१ अर्ब २० करोड बचत फिर्ता गर्न नसकेपछि कान्तिभैरव सहकारीमा पीडितको धर्ना
काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता धर्नामा उत्रेका छन् । सहकारीले दुई वर्षदेखि मागेजति बचत फिर्ता गर्न नसकेपछि धर्नामा उत्रन बाध्य भएको सहकारी पीडित सङ्घर्ष समितिले जनाएको छ । समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार सहकारीमा ७ हजार ७ सयभन्दा बढी बचतकर्ता छन् । सहकारीमा बचतकर्ताको १ अर्ब २० करोड ८० लाख ४८० रुपैयाँ रहेको उनले जानकारी दिए । समितिले सहकारी विभाग नयाँबानेश्वरमा सञ्चालक समितिसँग गरेको बैठकका क्रममा ६० करोड रुपैयाँ ऋण विना धितो लगानी गरेको सुनाएका थिए । त्यसमध्ये धेरै रकम सञ्चालकले आफन्तका नाममा प्रवाह गरेका छन् । ६ करोड रुपैयाँ मात्र धितो राखेर लगानी गरेको पाइएको समितिका सदस्य राजेशकुमार विष्टले सुनाए । सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ भने गत असोजसम्म सङ्घर्ष समितिमा बसेकालाई लाख रुपैयाँ र साधारण बचतकर्तालाई हजार रुपैयाँका दरले पैसा बाँडिएको बताउँछन् । धर्नापछि आजै भएको बैठकमा पनि सङ्घर्ष समितिका नेतामात्र सहभागी भएर अरुलाई नराखिएको उनले सुनाए । वाग्मती प्रदेशसभा सदस्य बिमल ठकुरीको सहजीकरणमा आजको बैठक भएको जनाइएको छ । यससम्बन्धमा प्रदेशसभा सदस्य ठकुरीको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । ६ महिनाअघिदेखि नै सहकारीका सञ्चालक, कर्मचारी कार्यालय आउन छोडेका छन् । सहकारी बन्द भएको छैन भन्ने देखाउनकै लागि मात्र कार्यालय खोल्ने कर्मचारी पठाएर कार्यालय खोल्ने गरिएको पीडित लकबहादुर तामाङले जानकारी दिए । दैनिक जाँदा पनि कर्मचारी, सञ्चालक नभेटिने तर कार्यालयको मूल ढोकामात्र खुल्ने गरेको उनले बताए । सहकारीमा बचत गरेर समस्या परेका बेला गर्जो टार्ने आशा गरेका पीडित भने दैनिक सहकारीको कार्यालय पुगेर निराश हुँदै फर्कने गरेका छन् । सहकारीले पैसा फिर्ता नगरेपछि धेरै बचतकर्ताले बिरामी भएका बेला उपचार गर्न पनि पाएका छैनन् । सहकारीका कर्मचारी राजकुमार श्रेष्ठले ७० लाख रुपैयाँ ऋण लिएको भेटिएको सङ्घर्ष समितिका अध्यक्ष सुवास श्रेष्ठले बताए । बचतकर्ताको बचत फिर्ता गर्न नसकेको सहकारीका सञ्चालक राधेश्याम श्रेष्ठ भने अहिले विदेश गएका छन् । उनी अष्ट्रेलियाबाट फर्केर सहकारीको बचत फिर्ता गर्न नसकेर समस्या भएपछि अमेरिका गएको समितिले जनाएको छ । सहकारीका सञ्चालक र धेरै कर्मचारी एउटै टोल गोकर्णेश्वर नगरपालिका वडा नं. ४ चौताराका रहेको पीडित बचतकर्ताको भनाइ छ ।रासस