नेशनल सोलारले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । नेशनल सोलार पावर कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरका ७ लाख २४ हजार कित्ताभन्दा बढी साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना बनाएको हो । उक्त आईपीओ निष्काशन गर्नको लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । साथै, एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गतको संस्थागत परामर्श सेवा दिने भएको छ । जसको लागि दुई संस्थाबीच सम्झौता भएको छ । एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ । नेशनल सोलार पावर कम्पनी सौर्य उर्जा मार्फत उर्जा क्षेत्रमा क्रान्ती ल्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । हाल उक्त कम्पनीले नवलपरासी जिल्लाको प्रतापुरमा ५ मेगावाटको सोलार आयोजना सम्पन्न गरी विगत एक वर्षदेखि सञ्चालन गरिरहेको छ । साथै, कम्पनीले सोही क्षेत्रमा थप १० मेगावाटको सोलार आयोजना संचालन गर्नको लागि आवश्यक सम्पूर्ण कार्यहरु अन्तिम चरणमा पुर्याएको छ ।

३ सय बचतकर्ताको फिर्ता भएन बचत

काठमाडौं । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाले करिब ३ सय सेयर सदस्यले बचत गरेको ४ करोड ६१ लाख रुपैयाँ रकम फिर्ता नगरेको पाइएको छ । ती सेयर सदस्यले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा आफूले बचत गरेको रकम पाउनका लागि उजुरी दिएपछि सो खुलासा भएको हो । बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सो सहकारी ७ महिनादेखि बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा पीडितहरूबाट उजुरी सङ्कलन गरेर अनुसन्धान गरी सरकारी वकिल कार्यालयमार्फत शिवशिखर सहकारीविरुद्ध जिल्ला अदालत म्याग्दीमा मुद्दा दर्ता भइसकेको प्रहरी नायब उपरीक्षक मदन कुँवरले बताए । “सहकारी विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको परिपत्रका साथै बेनीका केही बचतकर्ताको उजुरीका आधारमा २०८० असार १७ गतेदेखि अनुसन्धान थालिएको थियो”, उनले भने, “मुुद्दा दर्ता भएको ९० दिनभित्र अनुसन्धानको सबै प्रक्रिया पूरा गरेर सरकारी वकिलमार्फत जिल्ला अदालत म्याग्दीमा मुद्दा अघि बढेको छ ।” भक्तपुरको मध्यपुुरथिमि नगरपालिका–३ कौशलटारमा केन्द्रीय कार्यालय रहेको शिवशिखर सहकारीले बेनीका बचतकर्ताले बचत गरेको साँवा र ब्याज फिर्ता नगरेको गुुनासो गरेका छन् । सहकारीले २०७९ बैशाखमा बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो । सुरुआतमा बचतकर्तालाई आकर्षक ब्याजदरको लोभमा करोडौँ बचत सङ्कलन गरेको सहकारीले ६ महिनाअघि आर्थिक सङ्कटमा रहेको सूचना प्रकाशित गरेर कारोबार बन्द गरेको थियो । बेनीको न्यूरोडमा करिब ६ करोड रुपैयाँमा ७ आना क्षेत्रफलमा रहेको जग्गा र घर खरिद गरेर सहकारीले शाखा सञ्चालन गर्दै आएको थियो । सो सहकारीको बेनी शाखामा १ हजार ४८४ जनाको ६ करोड १० लाख रुपैयाँ बचत रहेकामा २८२ जनाले मात्र उजुरी गरेका हुन् । निक्षेप फिर्ता नगरेको जनाउँदै बेनी नगरपालिकाको न्यायिक समितिमा समेत सहकारी संस्थाविरुद्ध उजुरी पर्ने क्रम बढेको छ ।रासस

सामुदायिक लघुवित्तसँग मर्जर गर्न बिपिडब्लुले डाक्यो विशेष साधारण सभा, १:०८५ स्वाप रेसियो

काठमाडौं । सामुदायिक लघुवित्तसँग मर्जर प्रस्ताव पारित गर्न बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा बोलाएको छ । लघुवित्तको सञ्चालक समितीको असोज १४ गते बसेको बैठकले असोज ३० गते जावलाखेल ललितपुरमा बिहान साढे ११ बजे वार्षिक साधारणसभा बोलाएको हो । लघुवित्तको सभाले सामुदायिक लघुवित्तसँग मर्जर गर्ने सम्झौतापत्र, सहमति पत्र, संयुक्त मर्जर समिति गठन एवम् संयुक्त मर्ज समितिलाई आवश्यक कार्य गर्न अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यस्तै, दुवै लघुवित्तबीचको सेयर स्वाप रेसियो १ः०८५३५ अनुपात अर्थात् १ कित्ता सेयर बराबर ०.८५३५ सेयरलाई पारित गर्नेछ । लघुवित्तले साधारणसभा प्रयोजनार्थ असोज असोज २४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन पाउने छन् ।