‘वित्तीय क्षेत्रको स्वनियमनमा संस्थागत नैतिक अभ्यास अपरिहार्य’

काठमाडौं । बैंकिङ क्षेत्रमा अपनाउन थालिएको विनियमन (डिरेगुलेसन)को अभ्यास र बढ्दो सूचना प्रविधिको कारण बैंकिङ क्षेत्रका नैतिक अभ्यास अपरिहार्य बन्दै गएको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् । शुक्रबार मोर्गन इन्टरनेसनल कलेजले आयोजना गरेको ‘इथिकल बैंकिङ’ विषयक सेमिनारमा राष्ट्र बैंकका उपनिर्देशक डा. गुणराज भट्टले अबको बैकिङ प्रणाली नियम कानूनभन्दा बढी नैतिक अभ्यासबाट निर्देशित हुनुपर्ने बताए । काठमाडौंको बसुन्धारामा रहेको मोर्गन इन्टरनेसनल कलेजले नियमित श्रृङ्खला अन्तर्गत शुक्रबार बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा सेमिनार आयोजना गरेको हो । ‘बैंकले सर्वसाधारणको निक्षेपमा व्यवसाय गर्ने भएकाले अन्य संस्थाभन्दा बढी बैंकिङ क्षेत्रमै नैतिक अभ्यास आवश्यक पर्छ । सर्वसाधारणले पनि बैंक तथा वित्तीय संस्थाको नैतिक अभ्यासकै आधारमा मूल्याङ्कन गरेका हुन्छन्’, डा. भट्टले भने । राष्ट्र बैंकका अर्का उपनिर्देशक रामशरण पोखरेलले बैंक तथा वित्तीय संस्थालाई स्वनियमनमा ल्याउन वित्तीय संस्थामा हुने नैतिक अभ्यासले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । ‘बैंक तथा वित्तीय संस्थालाई पारदर्शी र जवाफदेही बनाउन राष्ट्र बैंकले निरन्तर काम गरिरहेको छ । अबको दिनमा बैंक तथा वित्तीय संस्थाहरु स्वनियमनमा रहनुपर्छ । त्यसलाई संस्था भित्रको नैतिक अभ्यासले सघाउँछ’, पोखरेलले भने । मोर्गन इन्टरनेसनल कलेजले विद्यार्थीहरुलाई बैंकिङ क्षेत्रको असल अभ्यास र आगामी दिनमा बैंक तथा वित्तीय क्षेत्रले ध्यान दिनुपर्ने विषयमा जानकारी गराउने उद्देश्यले सेमिनार आयोजना गरेको क्याम्पस प्रमुख डा. दीपेन्द्र भण्डारीले बताए । ‘विद्यार्थीहरुलाई व्यवहारिकरुपमै सक्षम बनाउनका लागि सेमिनारहरुले सहयोग गर्ने भएकाले नियमितरुपमा आयोजना गरिरहन्छौं । स्रोत व्यक्तिहरुको अनुभव विद्यार्थीलाई सुनाउँदा ज्ञान हासिल गर्न सक्छन् । सोही उद्देश्यका लागि सेमिनार आयोजना गरिएको हो’, डा. भण्डारीले भने । सेमिनारमा कलेजका स्नातक तहका विद्यार्थी, अध्यापक एवं कर्मचारीहरुको सहभागिता थियो ।

सहकारीलाई सुत्केरी व्यथा लागेको छ, अप्रेसन गर्नुपर्ने हुनसक्छ : रजिस्ट्रार घिमिरे

काठमाडौं । सहकारी विभागका रजिस्ट्रार नमराज घिमिरेले अहिले सहकारीलाई सुत्केरी व्यथा लागेको टिप्पणी गरेका छन् । सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले तयार गर्ने प्रतिवेदनमा सुझाव दिनका लागि शुक्रबार आयोजना गरिएको कार्यक्रममा रजिस्ट्रार घिमिरेले सहकारीलाई व्यवस्थित गर्नका लागि कठोर निर्णय लिनुपर्ने बताएका हुन् । ‘सहकारीलाई सुत्केरी व्यथा लागेको छ, यो प्रशव व्यथा जटिल छ । अपरेशन गर्नुपर्ने अवस्था हुनसक्छ’, घिमिरेले भने । सहकारी क्षेत्रमा गम्भीर सुधारको आवश्यकता रहेको र त्यसका लागि कठोर निर्णय गर्नु पर्ने उनले बताए । ‘सहकारी सापटीको लागि हो, ऋणको लागि हो । सापटीमा धितो हुँदैन र करोडौं ऋण पनि हुँदैन । सहकारीबाट सापटी लिएर गर्जो टार्ने हो व्यवसाय गर्ने होइन’, घिमिरेले भने । सहकारीमा अहिलेको जस्तो अवस्था आउनुमा को कति जिम्मेवार छन् ?सञ्चालकबाट के कति गल्ती भयो ? नियामकको के कति कमजोरी भयो ? भन्ने विषयको खोजी गरिनुपर्ने उनले बताए । ‘सहकारीमा यस्तो अवस्था आउन हुँदैनथ्यो । सहकारीका बचतकर्ता र सञ्चालकबाट पनि आन्दोलन गर्ने अवस्था आउनु हुन्थेन । यसको सिद्धान्तले यस्तो परिकल्पना गरेको पनि छैन । सहकारीलाई कुन भूमिकामा राख्नुपर्छ भन्ने ढंगबाट काम गर्नु पर्नेछ’, घिमिरेले भने । सहकारीका नियामकहरु पुनरावलोकनको लागि सोचिरहेको र यस विषयमा सुझाव माग गरिरहेको उनले बताए ।

एक वर्षमा १२ अर्बको विद्युतीय गाडी आयात, कहाँ-कहाँबाट आउँछन् गाडी ?

काठमाडौं । एक वर्षको अवधिमा नेपालमा चार हजारभन्दा बढी विद्युतीय गाडी आयात भएको छ । जसका लागि नेपालले करीब १२ अर्ब रुपैयाँ खर्चिएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९र८० को तथ्यांक अनुसार, एक वर्षमा ११ अर्ब ८४ करोड ८५ लाख ५ हजार रुपैयाँ बराबरको चार हजार ५० वटा विद्युतीय गाडी आयात भएको छ। उक्त विद्युतीय गाडी आयातबाट सरकारले तीन अर्ब ३० करोड ८४ लाख ८७ हजार रुपैयाँ बराबर राजश्व संकलन गरेको छ । विभागको तथ्यांकअनुसार, असार महिनामा मात्रै एक सय ८० वटा विद्युतीय गाडी नेपाल भित्रिएको छ । विभागले सार्वजनिक गरेको असार महिनासम्मको तथ्यांकअनुसार विद्युतीय गाडीको आयात बढेको देखिन्छ । सरकारले जेठ १५ गते चालु आर्थिक वर्ष २०८०र०८१ को बजेट सार्वजनिक गर्नु अगाडि उल्लेख्य मात्रामा विद्युतीय गाडी भित्रिएको थियो । गत जेठ महिनासम्म विभिन्न भन्सार नाका हुँदै तीन हजार आठ सय ७० गाडी नेपाल आएको थियो । त्यसबेला ११ अर्ब २३ करोड ७३ लाख ९२ हजार रुपैयाँको गाडी बढी आयात भएको भन्सार विभागको तथ्यांक छ । जसबाट ती अर्ब ५१  लाख १८ हजारभन्दा बढी रुपैयाँ राजश्व संकलन भएको थियो । विभागको तथ्यांकअनुसार असार महिनामा सबैभन्दा धेरै विद्युतीय गाडीहरू भारतबाट भित्रिएका छन् । भारतबाट ५० किलोवाटका दुई हजार एक सय ८६ वटा गाडी र  १०० वाटका ९१ वटा गाडी नेपाल भित्रिएका हुन् । भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरू चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट असारमा १०० किलोवाट क्षमताका १२ सय २१ वटा र ५१ देखि १०० किलोवाटसम्मका १४३ वटा गाडी आयात भएका छन् । असारसम्ममा चीनबाटै २०१ देखि ३०० किलोवाट क्षमताका दुई वटा विद्युतीय सवारी आयात भएका छन् । दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताको तीन सय ४० र इन्डोनोसियाबाट ११ वटा गाडी आयात भएका छन् । यस्तै, दक्षिण कोरियाबाट १०० देखि २०० किलोबाट क्षमताका पाँच वटा, बेलायतबाट पाँच वटा विद्युतीय गाडीहरू नेपाल भित्रिएका हुन । युकेबाट १०१ देखि २०० किलोवाट क्षमताका पाँच वटा र बेलायतबाटै २०१ देखि ३०० किलोवाट क्षमताका दुई वटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । पछिल्लो समय भारबाट टाटाको विद्युतीय गाडी नेक्सन, टिगोर इभी र महिन्द्राका गाडीहरू आयात भएका छन् । यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडीहरू आयात हुने गरेको छ ।