सामाजिक सुरक्षा कोषलाई दिन्छु भनेको रकम दिएन सरकारले, चाँडाे दिन कोषले गर्यो पत्राचार

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ता र रोजगारदातालाई दिन्छु भनेको रकम दिएको छैन । चालु आर्थिक वर्षको बजेटमा लकडाउन अवधिभरको लागि योगदानकर्ता र रोजगारदाताले कोषमा बुझाउनु पर्ने रकम सरकारले दिने भनिएको थियो । सरकारले कोषलाई दिनुपर्ने रकम उपलब्ध नगराएकोले अर्थमन्त्रालयमा पत्राचार गरिएको कोषका प्रवक्ता विबेक पन्थीले जानकारी दिए । कोषले असार तेस्रो साता नै मन्त्रालयमा पत्राचार गरेको हो । ‘सरकारले चालु आर्थिक वर्षको बजेटको बुदा नम्बर ५७ मा कोषमा योगदानकर्ता र रोजगारदाताले लकडाउन अवधिभरको बुझाउनु पर्ने रकम छुट दिएर सरकारले नै जम्मा गरिदिने भनिएको थियो, चैत महिनाको रकम प्राप्त भएको छ, बैशाखदेखि असारसम्मको रकम नआएकोले उपलब्ध गराइदिन पत्राचार गरेका छौं,’ प्रवक्ता पन्थीले भने । कोषमा १२ हजार ५ सय रोजगारदाता र १ लाख ६८ हजार ८ सय ७७ जना योगदाताकर्ता आवद्ध छन् । रोजगारदाताले कामदार कर्मचारीलाई दिनुपर्ने तलबको २० प्रतिशत र कामदार कर्मचारी (योगदानकर्ता) ले ११ प्रतिशतका दरले गरी तलबको ३१ प्रतिशत रकम मासिक रुपमा कोषमा जम्मा गर्नुपर्छ । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न भन्दै चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको थियो । लकडाउन सुरु भएको केही समयपछि मन्त्रिपरिषदले निर्णय गर्दै चैत महिनामा कोषमा जम्मा पार्नुपर्ने रकम सरकारले नै दिने निर्णय गरेको थियो । त्यसपछि जेठ १५ मा आएको चालु आर्थिक वर्षको बजेटमा लकडाउन अवधिभरको लागि कोषमा जम्मा गर्नुपर्ने रकम (योगदानकर्ता र रोजगारदाता दुबैको) सरकारले जम्मा गरिदिने भनिएको थियो । सरकारले चैत महिनामा कोषमा जम्मा गर्नुपर्ने रकम १८ करोड ६६ हजार रुपैयाँ कोषलाई उपलब्ध गराइसकेको छ । बैशाख, जेठ र असार महिनामा कोषमा जम्मा गर्नुपर्ने ९३ करोड रुपैयाँ प्राप्त नभएकोले कोषले अर्थमन्त्रालयमा पत्राचार गरेको हो । सरकारले साउन ६ गतेदेखि लकडाउन पूर्णरुपमा हटाएको कारण साउनदेखिको रकम भने योगदानकर्ता र रोजगारदाताले नै बुझाउनु पर्नेछ । सरकारले साउनभरमा पनि बैशाख, जेठ र असार महिनाको रकम उपलब्ध नगराएमा पनि साउनको रकम बुझाउन कुनै समस्या नहुने कोषको भनाइ छ । ‘साउन महिना भर्खर सुरु भएको छ, कोषमा बुझाउनु पर्ने रकम उपलब्ध गराइदिन अर्थमन्त्रालयमा पत्राचार गरिसकेका छौं, साउनभरीमा रकम आउन सक्छ, केही गरी आएन भने पनि साउनको रकम रोजगारदाताले कोषमा बुझाउन कुनै समस्या हुदैन, सरकारले दिनुपर्ने रकम अहिले नदिए पनि पछि दिन्छ नै,’ प्रवक्ता पन्थीले भने ।

सानिमा बैंकको स्वतन्त्र संचालकमा बलराम पराजुली

काठमाडौं । सानिमा बैंकको स्वतन्त्र संचालकमा बलराम पराजुली नियुक्त भएका छन् । साउन ६ गते बसेको बैंक संचालक समितिको बैठकले पराजुलीलाई आगामी ४ वर्षको लागि स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । यससँगै उनले आगामी चार वर्षसम्म यस बैंकमा रहेका आफ्नो पदको जिम्मेवारी सम्हाल्ने छन् ।

लगानी बोर्डको सीईओकाे लागि ५ जनाको नाम सिफारिस, को–को परे ?

काठमाडौं । नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)को लागि ६ जनाको नाम  सिफारिस गरिएको छ । अर्थ मन्त्रालयले राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको संयोजकत्वमा गठन गरेको उपसमितिले १२ जना आवेदकहरुमध्ये ६ जनाको नाम छनोट गरी सिफारिस गरेको हो । सो पदका लागि १२ जनाको आवेदन परेकामध्ये ती ६ जनाको नाम अर्थमन्त्री डा. युवराज खतिवडा संयोजक रहेकाे समिति समक्ष सिफारिस भएको बताइएको छ । स्रोतका अनुसार लगानी बोर्डको सीईओको लागि राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवाली, राष्ट्रिय याेजना आयाेगका सदस्य सुशिल भट्ट , विद्युत नियमन आयोगका पूर्व सदस्य रामकृष्ण खतिवडा, पूर्वसहसचिव लक्ष्मीविलास कोइराला  र लगानी प्राधिकरण प्रदेश १ का प्रमुख कार्यकारी अधिकृत सरोज कोइरालाको नाम छनोट गरी सिफारिस भएको हाे । अर्थमन्त्री डा‍. युवराज खतिवडा संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा‍.डा पुष्प कँडेल र अर्थशास्त्री प्रा.डा गोविन्द नेपाल सदस्य रहेको छनौट समितिले उनीहरूमध्ये ३ जनाको नाम सर्टलिस्ट गरी नियुक्तिका लागि मन्त्रिपरिषदमा पेश गर्नेछ। सिफारिस भएका तीनजनामध्येबाट एकजनालाई मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको सीईओमा नियुक्त गर्नेछ ।