हाइटीलाई पाखा लगाउँदै विश्वकपमा ब्राजिलको पहिलो जित दर्ता
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा ब्राजिलले सानदार जित दर्ता गरेको छ । फिलाडेल्फिया स्टेडियममा भएको एकपक्षीय खेलमा ब्राजिलले हाइटीमाथि रोमाञ्चक र फराकिलो जित निकाल्दै प्रतियोगितामा स्पष्ट ३ अंक जोडेको हो । पहिलो खेलमा मोरक्कोसँग १-१ को निराशाजनक बराबरीमा रोकिएको ब्राजिल यस खेलमा भने सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको थियो । खेलको सुरुवाती मिनेटदेखि नै हाइटीको रक्षापंक्तिलाई दबाबमा राखेको ब्राजिलका लागि २३औँ मिनेटमा म्याथ्युज कुन्हाले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । उत्कृष्ट लयमा देखिएका कुन्हाले पुनः खेलको ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा ब्राजिलका स्टार फरवार्ड भिनिसियस जुनियरले गोल थपेपछि टोली पहिलो हाफमै ३-० को बलियो स्थितिमा पुगेको थियो । दोस्रो हाफमा हाइटीले ब्राजिलको बलियो आक्रमणलाई रोक्ने प्रयास गरे पनि सफल हुन सकेन। ब्राजिलले रक्षापंक्ति र मिडफिल्डमा पूर्ण नियन्त्रण राख्दै हाइटीलाई पुनरागमनको कुनै मौका दिएन । यो जितसँगै समूह ‘सी’मा ब्राजिलले नकआउट चरणको सम्भावनालाई बलियो बनाएको छ भने पहिलो खेलको बराबरीको दबाबलाई समेत पन्छाएको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका म्याथ्युज कुन्हा प्लेयर अफ दि म्याच चुनिए ।
पहिलो हाफमै हाइटीविरुद्ध ब्राजिलको तीन गोल
काठमाडौं । फिलाडेल्फिया स्टेडियममा जारी फिफा विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गतको खेलमा ब्राजिलले हाइटीविरुद्ध शानदार प्रदर्शन गर्दै पहिलो हाफमै ३-० को बलियो अग्रता बनाएको छ । पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरीमा रोकिएको ब्राजिल यस खेलमा भने सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत भयो । खेलको २३औँ मिनेटमा म्याथ्युज कुन्हाले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए । उत्कृष्ट लयमा देखिएका कुन्हाले पुनः खेलको ३६औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा स्टार फरवार्ड भिनिसियस जुनियरले गोल थपेपछि ब्राजिलले पहिलो हाफमै ३ गोलको अग्रता लिन सफल भएको हो ।
स्कटल्यान्डविरुद्ध मोरक्कोको कठिन जित
काठमाडौं । विश्वकपको समूह ‘सी’ अन्तर्गत भएको खेलमा मोरक्कोले स्कटल्यान्डलाई १-० ले हराएको छ । स्कटल्यान्डले खेल सुरु भएको केवल ७१ सेकेन्डमै पहिलो गोल खान खाएको थियो । इस्माइल साइबारीले गोल गरेपछि मोरक्कोले अग्रता लिएको थियो । मोरक्कोले खेलभर उत्कृष्ट प्रदर्शन गरेपनि स्कटल्यान्डलाई भने पूर्ण रूपमा दबाबमा राख्न सकेन । पहिलो खेलमा ब्राजिललाई रोकेको मोरक्कोले दोस्रो खेलमा जित निकाल्दै ४ अंक बनाएको छ । बोस्टन स्टेडियममा भएको खेलमा जितसँगै मोरक्कोले नकआउट सम्भावना बलियो बनाएको छ । स्क्टल्यान्डको भने ३ अंक रहेको छ ।