स्कटल्यान्डलाई ३-० ले हराउँदै ब्राजिल समूह विजेता
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० गोलले पराजित गर्दै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ । खेलमा ब्राजिलले सुरुदेखि नै बल नियन्त्रण गर्दै स्कटल्याण्डमाथि दबाब बनाएको थियो । भिनिसियसले खेलको सातौं मिनेटमै गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले पहिलो हाफको अन्त्य हुनुअघि अर्को गोल थपी अग्रता दोब्बर बनाए । म्याथ्युस कुन्हाले ६० औं मिनेटमा गोल गर्दै ब्राजिललाई ३-० को जित दिलाए । समूह चरणका तीनै खेलमा गोल गरेका भिनिसियसले प्रतियोगितामा आफ्नो गोल संख्या चार पुर्याएका छन् । यससँगै उनी फ्रान्सका किलियन एमबाप्पेसँग बराबरीमा पुगेका छन् । प्रतियोगितामा अर्जेन्टिनाका लिओनल मेसी पाँच गोलसहित शीर्ष स्थानमा छन् । यस जितसँगै ब्राजिलले समूह चरण अपराजित रहँदै शीर्ष स्थान सुरक्षित गर्यो । तीन खेलबाट सात अंक जोडेको ब्राजिल नकआउट चरणमा पुगेको छ ।
विश्वकपमा क्रोएसियाको पहिलो जित
काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘एल’को खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । क्यानडाको टोरन्टोमा आज बिहान भएको खेलमा अनुभवी फरवार्ड आन्ते बुडिमिरले गरेको एक मात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीले स्पष्ट अवसर सिर्जना गर्न संघर्ष गरेका थिए । तर दोस्रो हाफको ५४औँ मिनेटमा मार्को पासालिचको उत्कृष्ट ब्याकहिल पासपछि जोसिप स्तानिसिचले दिएको लो क्रसलाई बुडिमिरले गोलमा परिणत गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । खेलको सुरुआती चरणमा पानामाले केही राम्रो अवसर बनाएको थियो । जोसे लुइस रोड्रिगेजको हेडर क्रसबारमा लागेर फर्किएको थियो भने अन्य केही आक्रमण पनि गोलमा परिणत हुन सकेनन् । इङ्ग्ल्यान्डसँग पहिलो खेलमा ४–२ ले पराजित भएको क्रोएसियाका लागि यो जित नकआउट चरणको सम्भावना जीवित राख्न अत्यन्त महत्वपूर्ण रह्यो। अनुभवी कप्तान लुका मोड्रिकले आफ्नो अन्तर्राष्ट्रिय करियरको २००औँ खेल खेल्दै टोलीको मध्यपंक्तिलाई नेतृत्व गरेका थिए । यता लगातार दोस्रो हार बेहोरेको पानामा भने समूह चरणबाट बाहिरिने संघारमा पुगेको छ । अब अन्तिम खेलमा उसलाई जितसहित अन्य नतिजाको समेत भर पर्नुपर्ने अवस्था बनेको छ । यो नतिजापछि समूह ‘एल’मा क्रोएसियाले पहिलो तीन अंक जोड्दै नकआउट यात्राको आशा कायम राखेको छ भने पानामाको स्थिति थप जटिल बनेको छ ।
इंग्ल्यान्ड र घाना बराबरीमा रोकिए
काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इंग्ल्यान्ड र घानाबीचको खेल बराबरीमा टुङ्गिएको छ । समूह ‘एल’अन्तर्गतको आफ्नो दोस्रो खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । दुबैले समान १-१ अंक बाँडे । इंग्ल्यान्डको ग्रुप तालिकाको शीर्ष स्थानमा छ भने घाना दोस्रो स्थानमा छ । पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गरेको थियो भने घानाले पानामालाई १–० गोलले पराजित गरेको थियो ।