गाडीका ९४ ब्राण्ड, रोजाइमा सीमित

काठमाडौं । नेपाली अटोमोबाइल बजारमा पछिल्लो समय ब्रान्डहरूको बाढी नै आएको छ । विशेष गरी विद्युतीय सवारी (ईभी) को आकर्षण बढेसँगै बजारमा नामै नसुनिएका दर्जनौं चिनियाँ र अन्य ब्रान्डहरू भित्रिने क्रम तीव्र छ । तर, यसरी बिना कुनै दीर्घकालीन योजना र पूर्वाधार भित्रिएका सवारीसाधनले गर्दा नेपाली बजार ‘डम्पिङ ग्राउन्ड’ बन्ने खतरा बढेको सरोकारवालाहरूले बताएका छन् । टाटा मोटर्स नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले बजारमा अहिले सीमित संख्यामा मात्रै गाडी ल्याएर बेच्ने र त्यसपछि गायब हुने नाम नचलेका ब्रान्डहरूको संख्या ठूलो रहेको जानकारी दिए ।  उनका अनुसार धेरै ब्रान्ड हुनुलाई उपभोक्ताका लागि विकल्पका रूपमा लिइए पनि यसका बेफाइदाहरू निकै डरलाग्दा छन् । ‘दुई/चार वटा गाडी ल्यायो, बेच्यो अनि भोलि त्यसको स्पेयर पार्ट्स र सर्भिस दिने बेला कम्पनी नै हुँदैन,’ उनले भने, ‘यसले गर्दा ग्राहकको लगानी डुब्नेमात्र होइन, गाडी नै कवाडी हुने अवस्था आउँछ ।’ गुणस्तर र सुरक्षाका मापदण्डहरू नेपालको भौगोलिक अवस्था  अनुसार छन् कि छैनन् भन्ने परीक्षण नै नगरी गाडी भित्रिँदा उपभोक्ताहरू ठगिने जोखिम बढेको छ । आयात निर्देशिकाको अभाव सरकारले गाडी आयातका लागि स्पष्ट मापदण्ड तथा निर्देशिका बनाउन नसक्दा यो समस्या आएको विज्ञहरूको ठहर छ । यातायात मन्त्रालयले निर्देशिकाको ड्राफ्ट तयार पारे पनि त्यसलाई कार्यान्वयनमा ल्याउन ढिलाइ गरिरहेको छ । ‘स्पष्ट निर्देशिका नहुँदा राज्यको विदेशी मुद्रा बाहिरिएको छ, तर त्यसको उत्पादकत्व देखिएको छैन । गाडी डम्प हुनु भनेको देशको पैसा बाहिर फाल्नु सरह हो,’ सीईओ श्रेष्ठले थपे । हाल नाडामा आबद्ध मुख्य २०/२५ वटा ब्रान्डबाहेक अन्य धेरै साना आयातकर्ताहरूले बजारलाई अव्यवस्थित बनाइरहेको उनको दाबी छ । बजारमा स्थापित ब्रान्डहरूले नयाँ मोडल र प्रविधिमार्फत ग्राहकलाई आकर्षित गरिरहेका छन् । विशेषगरी टाटा, बीवाइडी, महेन्द्रा, दीपल, एमजी, प्रोटोन, लिपमोटर सीजी, ओमोडा जेको जे, किया हुन्डाई टोयोटालगायत गाडीहरू ग्राहकहरुको रोजाइमा परेका छन् । बजारमा टाटा मोटर्सले आफ्नो बलियो उपस्थिति कायम राखेको छ । नेपालको अटो बजारमा टाटा जहिले पनि पहिलो वा दोस्रो स्थानमा रहँदै आएको कम्पनीको भनाइ छ । विशेष गरी टाटाका नेक्सन ईभी, टियागो, पञ्च, अल्ट्रोज र एक्सप्रेस–टी जस्ता मोडलहरू नेपाली ग्राहकको पहिलो रोजाइमा परेका छन् । टाटाको सफलताको पछाडि गाडीको फिचर मात्र नभई ग्राहकको विश्वास र मजबुत इकोसिस्टम रहेको सिप्रदीको दाबी छ । बजारमा अहिले बीवाईडीको एटो-२ मोडेललाई ग्राहकले निकै रुचाइरहेको बीवाईडीको आधिकारिक साइमेक्स इंक प्रालिले जनाएको छ । कम्पनीकी सेल्स हेड सन्ध्या श्रेष्ठका अनुसार हालसम्म एटो-२ २५ सय भन्दा बढी विक्री भइसकेको छ । त्यसपछि ग्राहकले बीवाइडी एटो-१ लाई रुचाएको छ । एटो १ वार्षिक १ हजार ५ सय बिक्री भइसकेको श्रेष्ठले जानकारी दिइन् । यस्तै, टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट  प्रालिका अनुसार नेपाली बजारमा अहिले टोयोटा प्राडोको नयाँ भर्सन ‘एलसी २५०’ सर्वाधिक लोकप्रिय रहेको छ । करिब ३ देखि ४ करोड रुपैयाँ मूल्य पर्ने यो गाडी वर्षमा झन्डै १५० वटा बिक्री भइसकेको मार्केटिङ हेड महेन्द्र श्रेष्ठले बताए । उनका अनुसार युरो ६ मापदण्ड कार्यान्वयनका कारण हायस मिनीबस लगायतका केही मोडलहरूको आयातमा केही ढिलाइ भए पनि टोयोटाका पुराना ग्राहकहरू ब्रान्डप्रति नै बफादार रहेको छ । ‘हाम्रा ग्राहकहरू कन्टिन्यु हुनुहुन्छ, पुरानो साटेर नयाँ लिने क्रम चलिरहेको छ,’ उनले भने । पछिल्लो समय अफरोड गाडीका साथै माइलेजका कारण हाइब्रिड गाडीहरूमा पनि ग्राहकको सोधपुछ बढेको उनको भनाइ छ । यसअघि टोयोटाको हाइलक्स र हायस ३०० युनिटसम्म बिक्री हुने गरेकोमा अहिले बजारमा केही सुस्तता देखिएको उनले स्वीकार गरे । यसैगरी, हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक दीपक थपलियाले नेपालमै एसेम्बल हुन थालेका हुन्डाईका गाडीहरूले बजारमा राम्रो प्रतिक्रिया पाएको जानकारी दिए । नेपालमै उत्पादन हुँदा मूल्य केही घटेकाले विशेषगरी लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा यसको आकर्षण बढेको छ । थपलियाका अनुसार हुन्डाईले वार्षिक करिब २ हजार गाडी बिक्री गरिरहेको छ, जसमा नेपालमै बनेका भेन्यु र एक्सटरजस्ता मोडलहरूको हिस्सा ५० प्रतिशत (१ हजार युनिट) रहेको छ । बाँकी १ हजार युनिट भने क्रेटालगायतका मोडलहरू आयात हुने गरेका छन् । महाप्रबन्धक थपलियाले नेपालमा गाडीका ब्रान्डहरू धेरै हुँदा उपभोक्तालाई तत्कालका लागि मूल्यमा फाइदा पुगे पनि दीर्घकालीन रूपमा समस्या हुनसक्ने बताए ।  ‘अहिले नेपालमा धेरै ब्रान्ड छन् । तर, बजारको आकार वार्षिक १२/१४ हजार गाडीमै सीमित छ,’ उनले भने । ब्रान्डहरूबीचको प्रतिस्पर्धाले गाडीको मूल्य २/३ लाखसम्म सस्तो हुनु र ग्राहकले धेरै विकल्प पाउनु सकारात्मक पक्ष भए पनि साना ब्रान्डहरूले बिक्रीपछिको सेवा र पार्टपुर्जा उपलब्ध गराउन नसक्ने जोखिम रहेको उनले औंल्याए । धेरै ब्रान्ड आउँदा पनि सरकारको राजस्वमा खासै वृद्धि नभएको र रोजगारी सिर्जनामा पनि ठूलो प्रभाव नपरेको उनको विश्लेषण छ । बजारमा स्थापित ब्रान्ड नेपालभरि फैलिएको चार्जिङ स्टेसनको सञ्जाल, ब्याट्री रिपेयर सेन्टर र भरपर्दो वर्कशपहरुले गर्दा ग्राहकले ‘पिस अफ माइन्ड’ पाउने गरेका स्थापित ब्रान्डहरुले बताएका छन् । नेपाली अटो बजारलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारले तत्काल आयात निर्देशिका लागू गर्नुपर्नेमा जोड व्यवसायीहरुको छ । उपभोक्ताले पनि गाडी किन्दा ब्रान्डको नाम र चमकधमक मात्र नहेरी, त्यसको दीर्घकालीन सेवा, स्पेयर पार्ट्सको उपलब्धता र कम्पनीको इतिहास बुझ्न जरुरी रहेको उनीहरूको भनाइ छ । सवारी आयातमा कडाइ गर्दै सरकार सरकारले भने सवारी साधनको आयातलाई थप व्यवस्थित र सुरक्षित बनाउन नयाँ आयात नीति ल्याउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले खुला बजार अर्थतन्त्रमा कुनै निश्चित ब्रान्डलाई रोक लगाउन नमिल्ने भए पनि जनस्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर कडा प्राविधिक मापदण्ड तय गर्न लागेको जनाएको छ ।  बजारमा छिटपुट रूपमा गाडी भित्र्याउने र बिक्री गर्ने प्रवृत्तिले नेपाल डम्पिङ साइट बन्न सक्ने जोखिम बढेको भन्दै सरकारले नयाँ निर्देशिका ल्याउन लागेको विभागका प्राविधिक शाखा प्रमुख मणिराम भुसालले जानकारी दिए ।  ‘हामी ब्रान्ड तोक्दैनौं, तर गुणस्तरमा सम्झौता गर्दैनौं’, भुसालले भने, ‘नयाँ नीतिले गुणस्तरीय प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने र ग्राहकले सुपथ मूल्यमा राम्रो सवारी छान्न पाउने वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ ।’ नयाँ निर्देशिकामा हिमाल, पहाड र तराईको भू–बनोट अनुसार चल्न सक्ने र कम दुर्घटना हुने सवारीलाई प्राथमिकता दिइनेछ । यस्तै, आयात गरिने सवारीसाधनको तेस्रो पक्षबाट प्रमाणित गुणस्तर र ल्याब टेस्ट रिपोर्ट अनिवार्य हुनेछ । ईभीको हकमा रोड टेस्ट, ब्याट्री र मोटरको एप्रुभलका साथै पूर्ण भारमा उकालो चढ्न सक्ने क्षमताको विशेष परीक्षण गरिने विभागले जनाएको छ । हाल इन्धनबाट चल्ने सवारीको हकमा युरो–६ मापदण्ड अनिवार्य गरिएको छ । सार्वजनिक यातायातको दर्ता छिट्टै खुल्ने अहिले सार्वजनिक यातायातको नयाँ दर्तामा लगाइएको रोकबारे स्पष्ट पार्दै भुसालले यो व्यवस्था स्थायी नभएको बताए । देशमा आवश्यक पर्ने सवारीको संख्या, गुणस्तर र वैज्ञानिक व्यवस्थापनका लागि हाल अध्ययन भइरहेको र यो अध्ययन सकिएलगत्तै छिट्टै नयाँ दर्ता खुला गरिने प्रमुख भुसालले जानकारी दिए ।  उनका अनुसार दुई/चार महिनामा नयाँ नीति नयाँ आयात निर्देशिका निर्माणका लागि सरोकारवाला, आयातकर्ता र उत्पादकहरूसँग छलफल भइरहेको छ ।  ‘सबै पक्षको अध्ययन गर्नुपर्ने भएकाले नयाँ नीति पूर्ण रूपमा लागू हुन अझै दुई/चार महिना लाग्न सक्छ,’ भुसालले भने ।  नाइमा र नाडाका अनुसार नेपालमा जम्मा ९४ वटा चारपांग्रे गाडीका ब्राण्डहरू रहेका छन् । नेपालमा कुन कम्पनीले कुन ब्राण्ड बेच्छन् ? 

गत वर्षको बजेटअघि ल्याएका गाडी चोभारमै स्टक

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा विद्युतीय सवारी साधन (ईभी) को करको दर परिवर्तन हुने चर्चा नभएपछि चोभार सुक्खा बन्दरगाहमा ईभीको चाप घटेको छ । विगतमा बजेट आउनुअघि कर बढ्ने डरले व्यवसायीहरूले ठूलो संख्यामा गाडी आयात गर्दा बन्दरगाह भरिभराउ गर्ने गरेका थिए । तर, यस वर्ष भने आयातको लय सामान्य देखिएको हो । चालु आर्थिक वर्षको बजेट भाषण हुनुअघि वैशाख महिनामा मात्रै कर बढ्ने चर्चाका कारण ३ हजार युनिटभन्दा बढी ईभी नेपाल भित्रिएका थिए । तर, यसपटक बजारमा करको दर हेरफेर हुने चर्चा नभएकाले आयातमा पोहोरको जस्तो होडबाजी नदेखिएको बन्दरगाहका कर्मचारीहरू बताउँछन् ।  भन्सार विभागको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष ईभी आयातमा करिब १४ प्रतिशतले गिरावट आएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९ हजार ८५७ युनिट ईभी कार आयात भएकोमा चालु आर्थिक वर्षमा त्यो संख्या घटेर ८ हजार ६०७ युनिटमा सीमित भएको छ । चोभार सुक्खा बन्दरगाहको व्यवस्थापन गरिरहेको ट्रान्स नेपाल टी.आर.एस. लोजिपार्क प्राइभेट लिमिटेडका अनुसार गत वर्ष कर बढ्ने आशंकाले व्यवसायीहरूले आवश्यकभन्दा बढी गाडी आयात गरेका थिए । जबकि चोभार सुक्खा बन्दरगाहमा जाम लागे जस्तै गाडीको चाप थियो । हाल चोभार सुक्खा बन्दरगाहमा नयाँ र पुराना गरी दुई किसिमका गाडीहरू रहेका छन् । जसमा एक्जिम अर्थात् भन्सार जाँचपास हुन बाँकी २५० वटा नयाँ गाडीहरू रहेका छन् । डोमेस्टिक अर्थात् भन्सार क्लियर भइसकेका करिब ३०० वटा गाडीहरू पार्किङमा छन् । पुरानो स्टकमा गत वर्षको कर बढ्ने हल्लामा भित्रिएका तर बिक्री हुन बाँकी ६० वटा गाडीहरू अझै पनि बन्दरगाहमा थन्किएका छन् । व्यवसायीहरूले यी गाडीहरू कहिले सोरुममा डिस्प्लेका लागि त कहिले विशेष कार्यक्रमका लागि लैजाने गरेका छन् । चोभार सुक्खा बन्दरगाहको व्यवस्थापन अहिले निजी कम्पनी ट्रान्स नेपाल टीआरएस लजिपार्कले गरिरहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका सूचना अधिकारी हरे कृष्ण मिश्रले बताए । उनका अनुसार नेपाल सरकारसँग पाँच वर्षका लागि भएको सम्झौताअनुसार उक्त कम्पनीले २ करोड ८८ लाख रुपैयाँमा ठेक्का लिएको हो । कम्पनीले बन्दरगाहको मर्मतसम्भार, रंगरोगन र लोडिङ–अनलोडिङको सम्पूर्ण जिम्मेवारी सम्हाल्दै मासिक रूपमा सरकारलाई रकम बुझाउने गर्दछ । व्यापारीहरूलाई आकर्षित गर्न बन्दरगाहले २४ घण्टासम्मको पार्किङ निःशुल्क गरेको छ । त्यसपछिको शुल्क गाडीको आकार हेरेर मूल्य तोकिएको छ । जसमा २० फिटे कन्टेनरको प्रति दिन २२० रुपैयाँ, ४० फिटे कन्टेनरको प्रति दिन २९२ रुपैयाँ तथा गोदाम शुल्क प्रति केजी ९ पैसा (दैनिक) रहेको समितिले जनाएको छ ।  कन्टेनर धेरै दिन राख्दा सिपिङ लाइनलाई अतिरिक्त शुल्क तिर्नुपर्ने भएकाले धेरैजसो आयातकर्ताहरूले सामान गोदाममा सारेर कन्टेनर तुरुन्तै फिर्ता पठाउने गरेको समितिको भनाइ छ ।  अहिले कर घट्न सक्ने वा यथावत रहने अपेक्षाले व्यवसायीहरूले आवश्यक मात्रामा मात्र गाडी ल्याइरहेका छन् । अटो बजारमा यसलाई मन्दीका रूपमा हेरिए पनि अटो व्यवसायी तथा हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका महाप्रबन्धक दीपक थपलियाले भने यसलाई सामान्य अवस्थामा फर्किएको रूपमा टिप्पणी गरे ।  थपलियाले अघिल्लो वर्ष करको दर बढ्ने हल्लाका कारण व्यवसायीहरूले ठुलो परिमाणमा सवारी साधन आयात गरेर स्टक राखेकाले आयात बढी देखिएको बताए ।  उनले भने, ‘भोलिदेखि पेट्रोलको मूल्य बढ्छ भनेपछि आजै पेट्रोल पम्पमा लाइन लागे जस्तै पोहोर पनि कर बढ्ने डरले अनावश्यक रूपमा गाडी भित्र्याइएको थियो । यो वर्ष त्यस्तो त्रास नभएकाले आयात सामान्य देखिएको हो । त्यसैले यसलाई आयात घट्यो भन्नुभन्दा पनि पोहोर अनावश्यक बढेको र अहिले सामान्य भएको बुझ्नुपर्छ ।’ थपलियाले अटो बजारमा करको दरले नै सबैभन्दा ठूलो भूमिका खेल्ने उल्लेख गरे । मिडियाले कर बढ्दै छ भन्ने समाचार लेख्दा व्यापारीहरूले हतारमा अर्डर गर्ने र त्यसले बजारको वास्तविक माग र आपूर्तिको सन्तुलन बिगार्ने उनको तर्क छ । आगामी बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूको अवस्थाबारे बोल्दै उनले अहिले व्यवसायीहरू पर्ख र हेर भन्दा पनि हेर्दै जाऔं भन्ने मनस्थितिमा रहेको बताए । ‘बजेट आउन अब चार दिन मात्र बाँकी छ, बजेटले कस्तो नीति ल्याउँछ, त्यसै अनुसार आयातको निर्णय हुन्छ,’ उनले थपे ।  आगामी बजेट कस्तो हुनुपर्छ भन्ने प्रश्नमा थपलियाले सरकारले देशको राजस्व, उपभोक्ताको क्रयशक्ति र व्यवसायीको लगानी यी तीनवटै पक्षलाई सन्तुलनमा राखेर बजेट ल्याउनुपर्ने सुझाव दिए ।  उनले भने, ‘अपेक्षा त फरक-फरक हुन्छन्, तर बजेट देशको हित हुने खालको हुनुपर्छ । राजस्व पनि उठ्नुपर्यो, उपभोक्ताले पनि किन्न सक्ने हुनुपर्यो र व्यवसायीको खर्च पनि धान्न सक्ने हुनुप¥यो ।’ सरकार अहिले तथ्य र अनुसन्धानमा आधारित भएर निर्णय गर्ने प्रक्रियामा रहेको भन्दै उनले आगामी बजेटले अटो क्षेत्रमा देखिएका अन्यौलता चिर्ने र सबै पक्षलाई समेट्ने विश्वास व्यक्त गरे ।  बजेट भाषणका लागि अब ४ दिन मात्र बाँकी रहँदा अटो व्यवसायीहरू पर्ख र हेरको अवस्थामा छन् । करको दरमा स्थिरता भएमा ईभीको आयात र बिक्रीले आगामी दिनमा पुनः गति लिने विश्वास गरिएको छ ।

कर नबढ्ने चर्चा, आयातका लागि हतारमा छैनन् व्यवसायी

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा करको दर परिवर्तनको चर्चा नभएपछि विद्युतीय कार (ईभी) सूस्त बनेको छ । अटो व्यवसायीहरूका अनुसार यसपालि कर परिवर्तनको चर्चा नभएपछि ईभी आयात सुस्त बनेको हो । गत वर्ष चालु आर्थिक वर्ष बजेट आउनुअघि नै कर बढ्ने चर्चाका कारण वैशाख महिनामा मात्रै ३ हजार युनिटभन्दा बढी ईभी कार आयात गरिएको थियो । ती कारहरू अझै पनि बजारमा पूर्ण रूपमा बिक्री हुन नसकेको उनीहरू बताउँछन् । यसवर्ष भने बजेट अगाडि करको दर परिवर्तन हुने हल्ला नभएपछि थप गाडीहरू आयात नगरेको व्यवसायीहरूको भनाइ छ ।  जसका कारण चालु आर्थिक वर्षको १० महिनामा ईभीको आयात करिब १४ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिमा ९ हजार ८५७ युनिट ईभी कार आयात भएकोमा चालु आर्थिक वर्षमा त्यो संख्या घटेर ८ हजार ६०७ युनिटमा सीमित भएको हो । आगामी आर्थिक वर्षको बजेट आउन अब ५ दिनमात्र बाँकी छ । विगतका वर्षहरूमा बजेटअघि नै गाडी आयात बढाउने प्रवृत्ति रहे पनि यसपटक व्यवसायीहरूले ठूलो स्टक राख्न छाडेका छन् । उनीहरू आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटको पर्खाइमा छन् । अहिले व्यवसायीहरुमाझ गाडी कर नबढ्ने चर्चा छ ।  चालु आर्थिक वर्षको हालसमम्मा ५० किलोवाटसम्मका २ हजार ८४३ युनिट ईभी भित्रिएका छन् भने ५१ देखि १०० किलोवाटसम्मका ५ हजार २५ युनिट अर्थात् सबैभन्दा बढी ईभी भित्रिएका छन् ।  यस्तै, १०१ देखि २०० किलोवाटसम्मका ७२३ युनिट तथा २०१ किलोवाटभन्दा माथिका ९ युनिट ईभी नेपाल भित्रिएका छन् । यसबाहेक चालु आर्थिक वर्षमा ५० किलोवाट क्षमतासम्मका २ युनिट अनएसेम्बल (खुल्ला पार्टपूर्जाका रूपमा) विद्युतीय कार समेत आयात भएको भन्सार विभागले जनाएको छ । चालु आर्थिक वर्षको हालसम्मको अवधिमा कुल २० अर्ब ३२ करोड रुपैयाँ बराबरका ईभी कार नेपाली बजारमा भित्रिएका छन् । यसबाट सरकारले १२ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गरेको जनाइएको छ ।  गाडीमा कर नबढ्नेमा व्यवसायी ढुक्क

अटो बजारमा नयाँ वर्षलक्षित अफर : चारपांग्रेमा गाडी नै उपहार, दुई पांग्रेमा ५ वर्षसम्म निःशुल्क पेट्रोल

काठमाडौं । नयाँ वर्ष २०८३ सुरु हुन लागेसँगै नेपाली अटो बजारमा ग्राहक आकर्षित गर्ने होडबाजी सुरु भएको छ । बजारको सुस्तता तोड्न र नयाँ वर्षलाई उत्साहजनक बनाउन चारपांग्रे र दुईपांग्रे सवारी विक्रेता कम्पनीहरूले नगद छुट, एक्सचेन्ज बोनस, वैदेशिक भ्रमणदेखि निःशुल्क पेट्रोल र गाडी उपहारसम्मका आकर्षक योजनाहरू सार्वजनिक गरेका हुन् ।  चारपांग्रे सवारीतर्फ सबैभन्दा आक्रामक अफर फोर्डले ल्याएको छ । फोर्डको आधिकारिक वितरक जीओ अटोमोबाइल्सले एभरेष्ट, र्‍याप्टर वा रेन्जर जस्ता प्रिमियम गाडी खरिद गर्दा केयी ब्राण्डको ई-क्युट ०२ मोडलको विद्युतीय गाडी (ईभी) उपहार दिने घोषणा गरेको छ । यस्तै, टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ अफरस्वरुप लक्की ड्रमार्फत टाटा आईपीएल हेर्न भारत जाने अवसर, नगद छुट र लाइफटाइम डीसी फास्ट चार्जिङको सुविधा ल्याएको छ । कम्पनीका अनुसार ग्राहकहरूलाई निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर, होम चार्जिङ इन्स्टलेसनजस्ता विशेष सुविधा पनि दिइनेछ । हुण्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुण्डाईसँग शुभ यात्रा २०८३’ अफर ल्याएको छ । जसअन्तर्गत ग्राहकहरूले  हुण्डाई मोडलका गाडीहरूको खरिदमा १ लाख ७५ हजारसम्म नगद छुट, ९६ हजार बोनस र ३ वर्षको वारेन्टी उपलब्ध छ भने एक वर्षका लागि निःशुल्क बीमा र सवारी कर (रोड ट्याक्स) को सुविधा समेत उपलब्ध गराइएको छ । नयाँ वर्षको सुरुवातसँगै नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै कम्पनीले आकर्षक नगद छुट र विभिन्न बोनस सुविधाहरू सहितको यो योजना ल्याएको जनाएको छ । ग्राहकको सहजताका लागि कम्पनीले स्पट एक्सचेन्ज र मूल्यांकनको सुविधा पनि प्रदान गर्नेछ, जसले पुरानो गाडी साटेर नयाँ लिन चाहनेहरूलाई थप मद्दत पुग्ने कम्पनीले जनाएको छ । यस्तै, केयी गाडीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटीले ‘केयी एक्सचेन्ज क्याम्प’ अफरमार्फत होटल दुसित थानीमा एक रातको स्टे प्याकेज र आकर्षक एक्सचेन्ज बोनस दिने भएको छ । कम्पनीले देशभर तीन दिने ‘केयी एक्सचेन्ज क्याम्प’ सञ्चालन गर्ने गर्दै  ग्राहकहरूलाई सहज, आकर्षक तथा प्रतिस्पर्धी मूल्यांकनमार्फत आफ्ना सवारीसाधन स्तरोन्नति (अपग्रेड) गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ ।  यसमा ग्राहकहरूले आफ्ना पुराना सवारी साधन साटेर नयाँ केयी मोडलका गाडी विशेष नयाँ वर्ष अफरसहित खरिद गर्न सक्नेछन् । नेपालमा किफायती तथा मूल्यअनुसार लाभदायी (भ्यालु–फर–मनी) सवारी साधनको बढ्दो मागलाई सम्बोधन गर्दै आधुनिक आवागमन (मोडर्न मोबिलिटी) मा पहुँच सहज बनाउने लक्ष्यसहित अभियान सुरु गरिएको कम्पनीले जनाएको छ ।  ग्राहकहरूले नयाँ वर्ष विशेष नगद लाभ, आकर्षक एक्सचेन्ज बोनस, व्यावसायिक सवारी मूल्यांकन, वित्तीय सुविधा (फाइनान्सिङ), सवारी बीमा सेवा तथा ७ किलोवाट वा ३ किलोवाट क्षमताका चार्जर विकल्प प्राप्त गर्नेछन् । साथै प्रत्येक बुकिङमा जोडीका लागि धुलिखेलस्थित दुसित थानी होटलमा एक रातको निःशुल्क बसाइ प्याकेज प्रदान गरिनेछ । यसैगरी निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसान म्याग्नाइट प्रतिदिन मात्र ९९९ रुपैयाँमा चढ्न सकिने योजना ल्याएको छ । यसमा ग्राहकहरूले यस सिजनमा निसान म्याग्नाइट खरिद गर्दा आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन् । नयाँ वर्ष अफरअन्तर्गत ग्राहकहरूले १ लाख रुपैयाँसम्म नगद छुट, २ लाखसम्म एक्सचेन्ज बोनस, एक वर्षको बीमा तथा चालु आर्थिक वर्षको रोड ट्याक्स प्राप्त गर्नेछन् ।  दुईपांग्रेमा प्रतिस्पर्धाः निःशुल्क पेट्रोलदेखि क्युआर गेमसम्म दुईपांग्रे सवारी वितरकहरूले बढ्दो इन्धनको मूल्यलाई लक्षित गर्दै राहतमूलक योजना ल्याएका छन् । टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले लक्की ड्रमार्फत भाग्यशाली विजेतालाई ५ वर्षसम्म निःशुल्क पेट्रोल उपलब्ध गराउने भएको छ । यस्तै, होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘२०८३ को सपना मेरो होण्डा’ अफर ल्याउँदै स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्म जित्न सकिने र ७ वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा ल्याएको छ । बजाजको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज न्यू इयरको क्यूआर’ अफर मार्फत क्यूआर स्क्यान गरेर गेम खेल्दा स्मार्ट वाच र १ लाखसम्म नगद जित्ने मौका ल्याएको छ ।  यस्तै, हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक सीजी मोटर्सले १ लाखसम्म नगद छुट र उत्ति नै बराबरको एक्सचेन्ज बोनसका साथै सजिलो फाइनान्स सुविधा ल्याएको छ । सीएफमोटोको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ३०० एनके मोडलमा १ लाख ५ हजारको भारी छुटसहित हेल्मेट र हुडी निःशुल्क दिइने कम्पनीले जनाएको छ । इटालियन स्कुटर ब्राण्ड भेस्पा/एप्रिलिया स्कुटरका आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले ४.९९ प्रतिशतको न्यून ब्याजदर र रूपाकोट रिसोर्टमा बस्ने प्याकेजको अफर ल्याइएको छ । सेगवेको आधिकारिक वितरक आइहब प्रालिले पहिलो २५ ग्राहकका लागि ४१ हजारसम्मको ‘अर्ली बर्ड’ डिस्काउन्ट र डिजिटल ट्याब उपहार राखिएको छ ।  यस्तै, यामाहाको आधिकारिक वितरक एमएडब्लूले ‘यामाहा ब्लु फेस्ट’ अफर ल्याउँदै नयाँ हाइ(टेक मोटरसाइकल तथा स्कुटरहरू अवलोकन गर्न दिने भएको छ । यसमा आगन्तुकहरूले आफ्ना हाल चढिरहेका मोटरसाइकल ल्याएर ५० भन्दा बढी व्यवसायिक रिकन्डिसन हाउसहरूको सहयोगमा मूल्यांकन गराउन सक्नेछन् । ग्राहकहरूको पहुँच थप सहज बनाउन यामाहाले सरल र लचिलो फाइनान्सिङ सुविधा पनि उपलब्ध गराएको छ। ग्राहकहरूले नागरिकतामार्फत फाइनान्स सुविधा लिन सक्नेछन् । साथै ४० महिनासम्म विस्तार हुने सस्तो ईएमआई योजनाको लाभ पनि उठाउन सक्नेछन् । फेस्टमा खरिदकर्ताहरूले ५ लाखसम्मको क्यासब्याक अफर पनि पाउने जनाइएको छ । अटो व्यवसायीहरूका अनुसार नयाँ वर्षमा सवारी साधन खरिद गर्दा ग्राहकले अधिकतम लाभ लिन सक्नेछन् । प्रायः सबै कम्पनीले पुराना सवारी साधनसँग नयाँ साट्न चाहनेका लागि स्पट एक्सचेन्ज र उत्कृष्ट मूल्यांकनको सुविधालाई प्राथमिकता दिएका छन् ।  बैंकिङ तरलता र व्यवसायीहरूको प्रतिस्पर्धाका कारण यो समय गाडी वा मोटरसाइकल जोड्न चाहनेका लागि निकै सस्तो र उपयुक्त देखिएको छ । यी सबै योजनाहरू नेपालभर रहेका सम्बन्धित ब्राण्डका आधिकारिक शोरुमहरूमा सीमित अवधिका लागि लागू हुने कम्पनीहरूले जनाएका छन् । 

नेपाली अटो बजारमा जीएफ–७ प्रविधियुक्त इन्जिन आयलको प्रवेश

काठमाडौं । नेपालको लुब्रिकेन्ट बजारलाई विश्वस्तरका नवीनतम मापदण्डसँग जोड्ने उद्देश्यका साथ लक्ष्मी ल्युब आयलले नेपालमै पहिलो पटक आईएलएसएसी जीएफ–७ (ILSAC GF-7) मापदण्डमा आधारित एपीआई एसपी ग्रेडको नयाँ प्यासेन्जर कार इन्जिन आयल रेन्ज सार्वजनिक गरेको छ । नेपालका लागि टोटल इनर्जिजको आधिकारिक वितरक लक्ष्मी ल्युब आयलले हालै आयोजित च्यानल पार्टनर्स मिट २०२६ कार्यक्रममा उक्त लुब्रिकेन्ट सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यससँगै नेपालमा पहिलो पटक जीएफ–७ मापदण्डमा आधारित लुब्रिकेन्ट औपचारिक रूपमा उपलब्ध भएको छ । कार्यक्रममा हाई–पर्फमेन्स रोयल क्रसर १५डब्लू–५० (२.५ लिटर) सेमी–सिन्थेटिक मोटरसाइकल आयल पनि सार्वजनिक गरिएको छ । विशेष गरी रोयल इन्फिल्ड मोटरसाइकललाई लक्षित गरी तयार गरिएको उक्त इन्जिन आयल क्लच प्रोटेक्ट टेक्नोलोजीसहित उपलब्ध रहेको छ, जसले मोटरसाइकलको क्लचको आयु बढाउने कम्पनीले जनाएको छ । देशभरबाट २०० भन्दा बढी च्यानल पार्टनरहरूको सहभागिता रहेको कार्यक्रममा टोटल इनर्जिज मार्केटिङ इन्डिया प्रालिका सीईओ तथा एक्जिक्युटिभ डाइरेक्टर विकेन नजरियान, सिनियर म्यानेजर–एक्सपोर्ट्स प्रविण कुमार तथा लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठसहित कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य आकर्षण टोटल इनर्जिज क्वार्ट्ज जीएफ–७ रेन्ज सार्वजनिक गर्नु थियो । यसअन्तर्गत क्वार्ट्ज ९००० फ्युचर जीएफ–७ ०डब्लू–२० र ५डब्लू–३० लगायतका तीन प्रमुख उत्पादनहरू सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । यी इन्जिन आयलहरू नवीनतम आईएलएसएसी जीएफ–७ मापदण्डअनुसार विकसित गरिएका हुन्, जसलाई विशेष गरी टर्बोचार्ज्ड तथा उच्च इन्धन दक्षता भएका आधुनिक पेट्रोल इन्जिनयुक्त सवारी साधनका लागि डिजाइन गरिएको बताइएको छ । नयाँ फर्मुलेसनले लो–स्पिड प्रि–इग्निसन (एलएसपीआई) विरुद्ध प्रभावकारी सुरक्षा, इन्धन दक्षता सुधार तथा इन्जिन सफाइमा उल्लेखनीय सुधार प्रदान गर्ने कम्पनीको दाबी छ । कार्यक्रममा उत्कृष्ट व्यवसायिक साझेदारहरूलाई पनि सम्मान गरिएको थियो । ‘डिलर अफ द इयर २०२५’ का रूपमा जोरपाटीस्थित शंकर यमुना अटो पार्ट्स, ‘रिटेलर अफ द इयर २०२५’ का रूपमा नक्सालस्थित मोटर मार्ट अटो पार्ट्स तथा ‘बेस्ट ओईएम/फ्लिट अफ द इयर २०२५’ का रूपमा एलआई सर्भिसलाई घोषणा गरिएको छ । डिलर अफ द इयरलाई थाइल्याण्ड भ्रमणको अवसर प्रदान गरिएको भने बेस्ट रिटेलरलाई वासिङ मेसिन पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रमलाई थप आकर्षक बनाउन लक्की ड्रको समेत व्यवस्था गरिएको थियो, जसअन्तर्गत विजेतालाई १९० लिटर क्षमताको फ्रिज प्रदान गरिएको थियो । कम्पनीका अनुसार कार्यक्रम केवल उत्पादन सार्वजनिक गर्ने उद्देश्यमा सीमित नभई देशभर फैलिएको वितरण सञ्जाललाई थप सुदृढ बनाउने रणनीतिक प्लेटफर्मका रूपमा आयोजना गरिएको हो । जीएफ–७ प्रविधियुक्त नयाँ इन्जिन आयल तथा मोटरसाइकल लुब्रिकेन्ट सार्वजनिकसँगै नेपाली अटोमोबाइल प्रयोगकर्ताले आधुनिक इन्जिन प्रविधिका लागि उपयुक्त नेक्स्ट जेनेरेसन लुब्रिकेन्ट प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

चीनको अटो बजार : मूल्य प्रतिस्पर्धाले उद्योगमा ठूलो परिवर्तनको डर उत्पन्न

काठमाडौं । चीनको अटो उद्योगमा तीव्र बन्दै गएको मूल्ययुद्धले विश्वकै सबैभन्दा ठूलो गाडी बजारमा लामो समयदेखि अनुमान गरिएको ठूलो परिवर्तन (सेक-आउट) को डर बढाएको छ । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता बीवाईडीले एक दर्जनभन्दा बढी मोडेलमा नयाँ छुटहरूको घोषणा गरेपछि ठूला गाडी निर्माता कम्पनीहरूका सेयर सोमबार घटे । बीवाईडीको मूल्य कटौतीले यसको सबैभन्दा सस्तो मोडेल सीगल ह्याचब्याक(ब्याट्रीबाट चल्ने) को सुरुवाती मूल्य करिब १० हजार डलरबाट घटाएर ५५ हजार ८०० युआन (७ हजार ७६५ डलर) बनायो । सीनो अटो इनसाइज्ट्सका प्रबन्ध निर्देशक टु लीका अनुसार बीवाईडीको मूल्य कटौती र अन्य घटनाक्रमहरूले कमजोर कम्पनीहरूले मूल्यमा लगातार भइरहेको गिरावट र घाटा धान्न नसक्ने अवस्था आउन सक्ने औंल्याए । उनले नेटा, पोलेस्टरजस्ता पहिले नै संघर्षरत स्टार्टअपहरूलाई दबाबमा पार्न सक्ने बताउँछन् । शुक्रबार ग्रेट वाल मोटर्सका अध्यक्ष वेई जिआनजुनले चेतावनी दिएका थिए कि चीनको अटो उद्योग अस्वस्थ अवस्थामा पुगेको छ, जहाँ मूल्य प्रतिस्पर्धाले कार निर्माता र आपूर्तिकर्ताहरूको नाफामा गहिरो असर पारेको छ । उनले चिनियाँ रियल स्टेट कम्पनी इभरग्रान्डसँग तुलना पनि गरे, जुन ठूलो ऋण संकटपछि गत वर्ष बन्द भयो । 'अहिले अटोमोबाइल उद्योगमा ‘एभरग्रान्ड’ पहिले नै छ तर अझै पतन भएको छैन,' उनले सीना फाइनान्ससँगको अन्तर्वार्ताका क्रममा भने । बजारमा तनावको अर्को संकेतस्वरूप रोयटर्सले रिपोर्ट गरेको छ कि चिनियाँ नियामकहरू 'प्रयोगशाला गाडी' बिक्रीबारे अनुसन्धान गरिरहेका छन्, जुन वास्तवमा नयाँ गाडीहरू हुन् तर ‘जीरो माइल्स’ मा बिक्री गरिन्छन् । एक स्रोतका अनुसार कम्पनीहरू आक्रामक बिक्री लक्ष्य पुरा गर्न यस्तो तरिका अपनाइरहेका छन् । पछिल्लो दशकमा धेरै स्टार्टअप कम्पनीहरू चीनको अटो बजारमा प्रवेश गरेका छन्, मुख्य रूपमा विद्युतीय गाडी (ईभी) क्षेत्रको तीव्र विकासको कारण । तर अहिले बजार अत्यधिक प्रतिस्पर्धी भएको छ र धेरै कम्पनीहरू ठूलो घाटामा चलिरहेका छन् । जाटो डाइनामिक्सको तथ्याङ्कअनुसार चीनमा हाल सक्रिय १६९ गाडी कम्पनीहरूमध्ये आधाभन्दा बढीको बजार हिस्सा ०.१ प्रतिशतभन्दा कम छ । यो अवस्था २०औं शताब्दीको सुरुमा अमेरिकाको अटो उद्योग जस्तै हो, जहाँ फर्डजस्ता ठूला कम्पनीहरूसँग प्रतिस्पर्धा गर्दै सयौं कम्पनीहरू बजारमा आएका थिए, अन्ततः केही उद्योग बन्द भए त केही मर्जरमा गए ।   लीले भनेअनुसार मूल्ययुद्ध करिब तीन वर्षदेखि चलिरहेको छ । सुरुमा ड्राइभर असिस्टेन्ट प्रणालीहरू (जसले केही अवस्थामा स्टेयरिङ र ब्रेकिङ नियन्त्रण गर्छ) जस्ता विशेषताहरूका लागि ग्राहकहरूले बढी मूल्य तिर्थे तर अहिले यी सुविधा बहुसंख्यक कम्पनीहरूले सामान्य मूल्यमै दिन थालेका छन् । गत हप्ता, चीनको राज्य योजना आयोगले चेतावनी दिएको थियो कि केही उद्योगहरूमा प्रतिस्पर्धा अत्यधिक भइसकेको छ, केही कम्पनीहरूले लागतभन्दा सस्तो मूल्यमा गाडी बिक्री गरिरहेका छन्, जसले निष्पक्ष प्रतिस्पर्धा विथोलिरहेको छ । शुक्रबार ग्रेट वालका अध्यक्ष वेई ले भने,  'यो दीर्घकालीन मूल्य युद्धले गाडी आपूर्ति शृंखलालाई असर गरिरहेको छ । कार कम्पनीहरूबाट मूल्य घटाउन दबाब आएपछि केही आपूर्तिकर्ता कम्पनीहरू बन्द हुने खतरा छ ।' 'केही उत्पादनहरू २ लाख २० हजार युआनबाट १ लाख २० हजार युआनसम्म घटाइएको छ । एक लाख युआन घटाएर अझै गुणस्तर कायम राख्न सकिने कुन औद्योगिक उत्पादन हुन्छ ?,’ उनले थपे । चीनको अटो उद्योगमा लामो समयदेखि एकीकरण हुने अनुमान हुँदै आएको भए पनि कम्पनीहरूको संख्या अझै बढिरहेको माइकल जे डुने नामक विश्लेषकले बताए।  'बीवाईडीको मूल्य कटौतीले केही कमजोर कम्पनीहरूलाई बजारबाट हटाउनेछ,’ उनले भने, 'तर यहाँ हरेक पतनसँगै साओमी वा हुवावेजस्ता नयाँ खेलाडीहरू मैदानमा छिर्दै छन् ।’

अटो बजारमा लक्ष्मी इन्टरकन्टिनेन्टलको पृथक परिचय, नेपालमै गाडी बनाएर रच्यो इतिहास

काठमाडौं । नेपालमा हुन्डाईले सन् २०१५ बाट क्रेटाको बिक्री सुरुवात गरेको थियो । उक्त एसयूभीमा गज्जबको डिजाइन, उत्कृष्ट प्रदर्शन, हरेक भूभागमा मज्जाले गुड्न सक्ने र हरेक उमेरका ग्राहकलाई सुहाउने भएकाले यो नेपालमा धेरैको रोजाइ बन्न सफल भयो । नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार क्रेटा १० हजार ग्राहकले किनिसकेका छन् । मिड साइज एसयूभी सेगमेन्टमा क्रेटा सफल हुुँदै एसयूभी सेगमेन्टमा क्रेटाले प्रभावकारी स्थान बनाउन सफल भएको हो । यो पनि भन्ने गरिन्छ कि नेपालमा एसयूभी सेग्मेन्टलाई अगाडि बढाउने काम क्रेटाले नै गरेको हो । लक्ष्मी ग्रुपको प्रतिष्ठित कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले २०६६ सालबाट हुन्डाई कम्पनीका गाडी बिक्री गर्न थालेको थियो । यो ग्रुपले हुन्डाईका गाडी बिक्री गर्न थालेको छोटो समयमै हुन्डाई कम्पनीको आधिकारिक डिलर बन्न सफल बन्यो । अहिले लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईका १२ मोडेलका कार बिक्री गर्दै आइरहेको छ । जसमा स्यान्ट्रो, ग्रान्ड आई टेन एनआईओएस, आई ट्वान्टी, ओरा, भेन्यु, वर्ना, अल न्यु क्रेटा, टक्सन, सान्टा फे, पैलिसेड, आयोनिक इलेक्ट्रिक र कोना इलेक्ट्रिक छन् । नेपालमा हुन्डाईको सान्ट्रोदेखि लिएर आयोनिक फाइभ ईभीसम्मका सबै गाडी निकै रुचाइएको छ । सर्भिस पनि राम्रो भएकाले धेरैको रोजाइमा हुन्डाई पुग्न सफल भएको हो । मेड इन नेपाल एसयूभी हुन्डाईलाई सबैको मनमा राज गराउन सफल लक्ष्मी इन्टरकन्टिनेन्टलले चैत ११ गते (मार्च २४) सोमबार बहुप्रतीक्षित क्रेटा ईभी र क्रेटा आईस (इन्टर्नल कमबस्टन इन्जिन– यी गाडीहरू पेट्रोल, डिजेल वा ग्यासजस्ता इन्धन जलाएर ऊर्जा उत्पन्न गर्छन् र त्यसैबाट इञ्जिन चल्छ ।) लञ्च गर्यो । केही समयअगाडि भारतमा लञ्च भएको क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रहेको छ । क्रेटा ईभी विभिन्न चार भेरियन्टमा उपलब्ध छ । क्रेटा आइस नेपालमै बनेको गाडी हो । यो गाडी विभिन्न ५ भेरियन्टमा उपलब्ध छ । अब क्रेटा आईस नेपालमा आयात गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ । आयातभन्दा नेपालमै बनेको गाडी सस्तो पर्न गएको छ । क्रेटा आईसको सुरुवाती मूल्य ५३ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । लक्ष्मी कन्टिनेन्टलका जनरल म्यानेजर दीपक थपलियाले आयात गरेको भन्दा नेपालमै बनेको गाडी उपभोक्तालाई सस्तो पर्ने बताए । उनले आगामी दिनमा आवश्यकताअनुसार अन्य गाडी पनि बनाउने जानकारी दिए । लक्ष्मी ग्रुपको लगानी र हुन्डाई मोटर कम्पनीसँगको प्राविधिक सहकार्यमा लक्ष्मी मोटर कर्पोरेशन स्थापना गरिएको हो । लक्ष्मी मोटर कर्पोरेशनले यसभन्दा अगाडि सन् २०२४ मा नेपालमा बनेको भेन्यू गाडी सार्वजनिक गरेको थियो । कर्पोरेशनले भेन्यूपछि क्रेटा आइस बनाएको हो । नेपालमा उत्पादन हुने गाडी कोरिया र भारतमा उत्पादित मोडल सरहकै हुने कम्पनीले दावी गर्दै आएको छ । स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, आन्तरिक राजस्वमा वृद्धि, सीप तथा प्रविधि विकास, कुल ग्राहस्थ उत्पादनमा योगदानका साथसाथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारीसाधन उपलब्ध गराउने उद्देश्यले नेपालमा गाडी बनाउन थालिएको जनरल म्यानेजर थपलियाले जानकारी दिए । हुन्डाई एसेम्बल प्लान्ट कोशेढुंगा हुन्डाईको एसेम्बल प्लान्ट नेपालको नवलपरासीमा गत वैशाखदेखि सञ्चालनमा आएको थियो । लक्ष्मी मोटर कर्पोरेसनले २०७६ सालमा ५ अर्ब १० करोड रुपैयाँ लागतमा एसेम्बल उद्योग दर्ता गरे पनि सरकारी नीतिका कारण प्लान्ट सञ्चालनमा आउन सकेको थिएन । सरकारले बजेटमा एसेम्बल उद्योगलाई प्रोत्साहन गर्ने नीति बनाएपछि कर्पोरेसनले प्लान्ट निर्माणको कामलाई अगाडि बढाएको थियो । नेपालमै पाँच भेरियन्टका गाडी (क्रेटा आइस) बन्नुले हुन्डाई एसेम्बल प्लान्ट नेपाली अटो उद्योगमा कोशेढुंगा साबित हुनसक्ने जानकारहरू बताउँछन् । प्लान्ट स्थापनाको पाँच वर्षभित्र वार्षिक २० हजार थान गाडी उत्पादन गर्ने योजनामा लक्ष्मी कर्पोरेसनको रहेको छ । त्यस्तै, प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएपछि भने वार्षिक ५० हजार थानसम्म गाडी उत्पादन गरिने बताइएको छ । विस्तारै नेपालमै कम्पनीले पाट्र्स पनि उत्पादन गर्ने लक्ष्य राखेको छ । अहिले विदेशबाट पार्टस् मगाएर गाडी उत्पादन गरिन्छ । एसेम्बल प्लान्टमा २०० जनाले रोजगारी पाएको थपलिया बताउँछन् । भेन्यूको बिक्री र ग्राहकको प्रतिक्रिया जनरल म्यानेजर थपलिया नेपालमा ५०० वटा भेन्यू गाडी बनेको बताउँछन् । उनका अनुसार ४५० हाराहारीमा भेन्यू गाडी बिक्री भइसकेको छ । थपलियाले आजसम्म कुनै पनि ग्राहककले नेपाल मेड भेन्यूलाई लिएर कुनै गुनासो नगरेको बताए । उनले भने, ‘हामीले ५०० भेन्यू गाडी नेपालमै बनाएका थियौं । जसमध्ये ४५० को हाराहारीमा गाडी बिक्री भइसकेको छ । आजका दिनसम्म यो गाडीको बारेमा कुनै नकारात्मक प्रतिक्रिया पाएका छैनौं । हाम्रा ग्राहक सन्तुष्ट हुनुहुन्छ ।’ पुष्टकारी बिक्रीदेखि सुरु भएको यात्रा सुरुवातकालीन अवस्थामा पुस्टकारी बेच्ने लक्ष्मी ग्रुपले हालसम्म आइपुग्दा आफूलाई निकै परिष्कृत गराएको छ । हाल लक्ष्मी ग्रुपले मिठाइबाहेक अटोमाबोइल, इलेक्ट्रोनिक्स, प्लास्टिक, ट्रेडिङ र स्टिल उत्पादन व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । देशभरि ग्रुपका २० भन्दा धेरै कम्पनी छन् । जसमा करिब २ हजारले रोजगारी पाइरहेका छन् । सुजल फुड प्रालि, लक्ष्मी इन्टरकन्टिनेन्टलको हुन्डाई तथा एमएमएल इसुजु, सुजल डेरी प्रालि, समृद्धि स्टिल्स, सिद्धि लक्ष्मी स्टिल्स, जयमा इन्टरकन्टिनेन्टल, जयमा लक्ष्मी टेक्नो सेन्टरलगायत व्यवसाय लक्ष्मी ग्रुपअन्तर्गत छन् । गरिब किसानको छोराले बनाएको हुन्डाई हुन्डाईको व्यवसाय अटो र निर्माणलगायत धेरै क्षेत्रमा फैलिएको छ । तर, संसारमा यो कम्पनी केबल आफ्नो गाडीको लागि धेरै परिचित छ । हुन्डाईको स्थापना चुङ जु-युङले गरेका थिए, जसलाई लिएर आज दक्षिण कोरियाका हरेक नागरिक गर्व गर्दछन् । हुन्डाई समूहमा ८६ कम्पनी थिए । यसले चिप्सदेखि जहाजसम्म सबै कुरा बनाउँथ्यो । यसैबीच, चुङले अटो क्षेत्रमा सम्भावना देखे र कारको डिजाइनमा काम गर्न थाले । उनी मध्यम वर्गका लागि गाडी बनाउन चाहन्थे । करिब ८ वर्षको कडा परिश्रमपछि कम्पनीले सन् १९७५ मा आफ्नो पहिलो स्व–निर्मित कार पोनी लन्च ग¥यो । यो सस्तो र यसको डिजाइन पनि उत्कृष्ट थियो । पोनी यति सफल भयो कि यसले बजारको ६० प्रतिशत कब्जा ग¥यो । हुन्डाई १९८२ मा बेलायती बजारमा प्रवेश गरेको थियो र पहिलो वर्ष नै कम्पनीले त्यहाँ करिब ३ हजार कार बिक्री गरेको थियो । वर्षमै १ लाख ७० हजार कार बिक्री सन् १९८४ मा कम्पनीले क्यानडामा पोनी २ बिक्री गर्न थाल्यो, जुन राम्रो संख्यामा बिक्री भयो । सन् १९८६ मा कम्पनीले अमेरिकामा एक्सेल कार लन्च गरेको थियो र पहिलो वर्षमै १ लाख ७० हजार कार बिक्री गरेर हलचल मच्चाएको थियो । यो धेरै वर्षको लागि अमेरिकामा सबैभन्दा राम्रो बिक्री कार थियो । आज हुन्डाई विश्वको शीर्ष १०० सबैभन्दा मूल्यवान ब्रान्डहरूमा पर्छ । साथै यो टोयोटा र फक्सवागनपछि उत्पादनको हिसाबले तेस्रो ठूलो अटो कम्पनी हो । कम्पनीको व्यवसाय विश्वका १९३ देशमा फैलिएको छ । पुष्टकारीदेखि कार उत्पादनसम्म, हजारदेखि अर्बौंको यात्रा

अटो बजारमा तहल्का पिटिरहेका दुई महँगा कार : किया ईभी-९ भर्सेज सिट्रोन सी-५

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी नाडा अटो शोमा यतिखेर विद्युतीय गाडीहरूले तहल्का पिटिरहेका छन् । विगतका वर्षहहरूमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको बाहुल्यता हुने नाडा अटो शोमा यस वर्ष भने विद्युतीय गाडीको संख्या बढी छ । नाडाका अनुसार अटो शोमा ८० प्रतिशत विद्युतीय गाडीहरू प्रदर्शनीमा राखिएको छ । हामीले यस वर्षको नाडा अटो शोमा राखिएका दुई महँगा गाडीको विषयमा बुझ्ने प्रयास गरेका छौं । जसमा एउटा गाडी विद्युतीय छ भने अर्को गाडी इन्टर्नल कम्बस्टन इन्जिन (आईसीई) रहेको छ । अहिले सिट्रोन सी ५ एयरक्रस र किया ईभी ९ गाडी अटो शोको आकर्षणका रुपमा रहेका छन् । साँग्रिला मोटर्सले सिट्रोन सी-५ एयरक्रसको बिक्री गरिरहेको छ भने किया ईभी-९ को बिक्री कन्टिनेन्टल ट्रेडिङले गरिरहेको छ । मूल्य फ्रेन्च अटोमोबाइल कम्पनी पीएसए ग्रुप अन्तर्गतको सिट्रोन ब्राण्डले आफ्नो प्रिमियम कार सिट्रोन सी ५ एयरक्रसको नेपाली मूल्य १ करोड ३५ लाख रुपैयाँ निर्धारण गरेको छ । यसैगरी, किया ईभी ९ को मूल्य १ करोड ७९ लाख रुपैयाँ रहेको छ । यी दुई गाडी नाडा अटो शोमा राखिएका आकर्षक र बढी मूल्य पर्ने गाडी हुन् । इन्जिन सिट्रोन सी ५ एयरक्रस आईसीई अन्तर्गत पेट्रोलियम गाडी हो, जसको फ्युल ट्यांक ५३ लिटर क्षमताको रहेको छ । यस गाडीले १८.६ किलोमिटर माइलेज दिन्छ । किया ईभी ९ विद्युतिय गाडी हो । जसको फुल चार्ज हुन १०.५ घण्टा लाग्छ । फास्ट चार्जरबाट २२ मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीको भनाइ छ । कियामा यसमा ७६.१ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ । कियाको अत्याधुनिक ८०० भोल्ट आर्किटेक्चरमा बनेको ईभी–९ले ३५० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । यसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । ग्राउण्ड क्लियरेन्स सिट्रोन सी ५ एयरक्रसको ग्राउण्ड क्लियरेन्स २३० मिलिमिटर रहेको छ । किया ईभी ९ को ग्राउण्ड क्लियरेन्स १९९ मिलिमिटर रहेको छ । सिट क्षमता सिट्रोन सी ५ एयरक्रसमा ५ वटा सिट संख्या रहेको छ भने किया ईभी ९ को सिट संख्या ६ वटा रहेको छ । टायर यी दुवै कारको टायर ट्युवबलेस हो । ईभी–९ एउटा फुल साइज एसयूभी हो । यसको लम्बाई ५०१० एमएम, चौडाई १९८० एमएम र उचाई १७५५ एमएम छ । यसमा ३१०० एमएम लामो ह्वील वेस रहेको छ । सुरक्षा प्रणाली सिट्रोन सी ५ एयरक्रसमा एबीए, ईबीडी, ईएसी र एचएसी सिस्टम रहेको छ । किया ईभी ९ मोबिस आईईबी, एबीएस, ईएससी, एचएसी र एमसीबी सिस्टम रहेको छ । उच्च गति सिट्रोन सी ५ एयरक्रसको उच्च गति १९५ किलोमिटर प्रतिघण्टा रहेको छ । किया ईभी ९ को गति २०० किलोमटिर प्रतिघण्टा रहेको छ ।

अटो बजारमा शाओमीको धमाकेदार ‘इन्ट्री’, लन्च गरेको २७ मिनेटमै ५० हजार अर्डर

एजेन्सी । चिनियाँ स्मार्टफोन निर्माता शाओमीले आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गरेको छ । कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक कार लन्च गरेको २७ मिनेटभित्रै ५० हजार अर्डर प्राप्त गरेको बताएको छ । विश्वव्यापी रूपमा कारको बिक्री घटिरहेका बेला शाओमी विद्युतीय कार लिएर बजारमा प्रवेश गरेको छ, जसले विद्युतीय कार बजारमा नयाँ प्रतिस्पर्धाको संकेत दिएको छ । एक कार्यक्रममा कम्पनीका सिइओ लेई जुनले कम्पनीको स्ट्यान्डर्ड सु सेभेन मोडलको मूल्य २ लाख १५ हजार ९ सय युआन (२९ हजार ८ सय ७२ अमेरिकी डलर) र म्याक्स भर्सनको मूल्य २ लाख ९९ हजार ९ सय युआन हुने बताए । शाओमीले यतिबेला विश्वबजारमा कारको ठूलो हिस्सा ओगटेका टेस्ला र बीवाईडीसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । चीनमा टेस्लाको मोडेल ३ को सुरुवाती मूल्य २ लाख ४५ हजार ९ सय युआन रहेको छ । शाओमीका सिइओ लेई जुनका अनुसार सुसेभेन एकपटक चार्ज गर्दा ७ सय किलोमिटरसम्म दौडन सक्छ । यो टेस्लाको मोडेल ३ भन्दा राम्रो छ, जुन एकपटक चार्ज गर्दा ५ सय ६७ किलोमिटरसम्म दौडन सक्छ । कम्पनीले एसयु सेभेनमा फोन, ल्यापटप र अन्य डिभाइसमा प्रयोग हुने अपरेटिङ सिस्टम प्रयोग गर्नेछ, जसलाई उपभोक्ताले रुचाउने अपेक्षा गरिएको छ । रिसर्च कम्पनी काउन्टरपोइन्टका अनुसार शाओमी विश्वव्यापी रूपमा स्मार्टफोन बेच्ने तेस्रो ठूलो कम्पनी हो । अन्तर्राष्ट्रिय बजारमा यसको हिस्सा १२ प्रतिशत छ । विगत एक वर्षदेखि नै शाओमीले सुसेभेन लन्च गर्ने संकेत दिएको थियो । यसलाई पोर्शको ट्याकन र पानामेरा स्पोर्ट्स कार मोडेलहरूसँग तुलना गरिएको थियो । चुनौती र बढ्दो प्रतिस्पर्धा शाओमीको यो नयाँ कार सरकारी स्वामित्वको बीएआईसी ग्रुपको कारखानामा उत्पादन हुनेछ । यो फ्याक्ट्री बेइजिङमा छ र यस कम्पनीले एक वर्षमा कम्तिमा दुई लाख कार बनाउने लक्ष्य राखेको छ । अटोमेसनसँग सम्बन्धित बिल रुसोले बीबीसीसँग भनेका छन्, ‘कम्पनी अहिलेसम्म जुन स्तरमा पुगेको छ, त्यो आफैंमा ठूलो सफलता हो । तर, सबैभन्दा ठूलो सफलता त्यो हुनेछ जब शाओमी इलेक्ट्रिक कार बजारमा उपभोक्तामाझ आफ्नो स्थान बनाउन सक्षम हुनेछ ।’ यद्यपि, यस प्रविधिको क्षेत्रमा चुनौती भने निकै नै रहेको छ । यस तथ्यबाट पनि स्पष्ट हुन्छ कि आईफोन निर्माता एप्पलले गत महिना इलेक्ट्रिक कारहरू बनाउने आफ्नो योजना रद्द गरेको थियो । शाओमीले आगामी १० वर्षमा इलेक्ट्रिक कार व्यवसायमा १० अर्ब डलर लगानी गर्ने बताएको छ । रिस्टाड इनर्जी नामक रिसर्च कम्पनीसँग आबद्ध अभिषेक मुरलीले भनेका छन्, ‘चीनमा इलेक्ट्रिक कारहरू धेरै परिपक्व छन् र यसले एक स्थिर इकोसिस्टम सिर्जना गरेको छ जसले कार निर्माताहरूलाई धेरै मद्दत गर्दछ ।’ उदाहरणका लागि, यहाँ ब्याट्री आपूर्ति श्रृंखला धेरै बलियो छ र इलेक्ट्रिक कारहरूको बढ्दो माग पूरा गर्न ठूलो चार्जिंग नेटवर्क निर्माण गरिएको छ । शाओमीको पहिलो कार चीनमा यस क्षेत्रमा प्रतिस्पर्धा बढिरहेका बेला लन्च गरिएको हो । हालैका महिनाहरूमा टेस्लाका अर्बपति मालिक एलन मस्कले चीनमा आफ्ना कारको मूल्यमा कयौं हजार डलरले कटौती गरेका छन् । यसको कारण के हो भने विश्वव्यापी रूपमा बिक्री हुने सबैभन्दा ठूलो विद्युतीय कार कम्पनी बीवाईडीले पनि आफ्नो कारको मूल्य घटाएको छ । चीन विद्युतीय कारका लागि विश्वको सबैभन्दा ठूलो बजार हो । सो सन्दर्भमा चीनमा नयाँ प्रतिस्पर्धी शाओमी हो । पछिल्लो साता बीवाईडीले आफ्नो वार्षिक नाफामा नयाँ रेकर्ड कायम गरेको छ । यद्यपि कम्पनीले यो वर्षको अन्त्यतिर यो गति केही सुस्त भएको पनि बताएको छ । त्यस्तै, सांघाईस्थित कार निर्माता कम्पनी नियोले अर्थतन्त्रमा आएको मन्दीका बीच उपभोक्ताले खर्च घटाएको बताएको छ । अर्को साता अमेरिकी इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले पनि जनवरीदेखि मार्चसम्मको बिक्रीको तथ्यांक सार्वजनिक गर्ने भएको छ ।

२०२२ मा विश्व अटो बजारमा आउने उत्कृष्ट ५ कार, यस्तो छ मूल्य

काठमाडौं । अंग्रेजी वर्ष २०२२ आउन अब एक दिन मात्र बाँकी छ । मानिसहरु सन् २०२१ लाई बिदाई गर्दै २०२२ को स्वागत गर्ने पखाईमा छन् । नयाँ वर्षको अवसर पारेर विश्व अटो बजार निकै तात्ने गरेको छ । नयाँ वर्षको अवसर पारेर नयाँ गाडी खरिद गर्नेहरुको चहल पहल पनि निकै बढेको देखिन्छ । कम्पनीहरुले ग्राहकलाई आकर्षण गर्नको लागि स्वरुमहरुमा बिक्री देखि देखाउनकै लागि पनि कन्सेप्ट कार राख्ने गरेका छन् । वर्षेनी गाडी उत्पादक कम्पनीहरुले नयाँ वर्षका लागि उत्कृष्ट कारहरु सार्वजनिक गर्ने गरेका छन् । अहिले पनि २०२२ का लागि नयाँ कारहरु सार्वजनिक भइरहेका छन् । अहिले विश्व अटो बजारमा इलेक्ट्रीक कारको माग र चर्चा पनि बढेको छ । पेट्रोलियम पदार्थबाट चल्ने कारभन्दा इलेक्ट्रिक कार तथा सवारी साधनको चर्चा चुलिँदो छ । मानिसहरु अहिले इलेक्ट्रिक सवारी साधनमै केन्द्रित भएका छन् । हामीले २०२२ का लागि उत्पादन भएका उत्कृष्ट १० इलेक्ट्रिक कारहरुको चर्चा गरेका छौं । यस्ता छन् २०२२ का उत्कृष्ट १० इलेक्ट्रिक कार लुसिड एयर विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण बिक्री केही मात्रामा सुस्त रहेको लुसिडले सन् २०२२ का लागि विद्युतीय नयाँ गाडी बजारमा ल्याउने बताएको छ । कम्पनीले नयाँ विद्युतीय सुडान कार बजारमा ल्याउने प्रतिवद्धा गरेको हो । जसको मूल्य ७७ हजार ४०० अमेरिकी डलर पर्न सक्ने कम्पनीको भनाई छ । यो कारले ४०६ किमी माइलेज दिने कम्पनीको दावी छ । एस्टोन मार्टिन भ्यान्क्विस एस्टोन मार्टिन कार भारतीय अटो बजारमा उपलब्ध छ । कम्पनीले यसको मूल्य मूल्य ४ लाख ५० हजार अमेरिकी डलर तोकेको छ । कम्पनीले नाम पूरानै राखे पनि नयाँ प्रविधि र इक्विपमेन्टहरु राखेर नयाँ गाडीहरु सार्वजनिक गरेको हो । हुण्डाई यूनिक प्रख्यात गाडी उत्पादक कम्पनी हुण्डाईले केही महिना अगाडि मात्रै ‘हुण्डाई यूनिक ५’ विद्युतीय गाडी सार्वजनिक गरेको छ । जसको मूल्य ४० हजार अमेरिकी डलर पर्ने कम्पनीको दावी छ । यो गाडी नेपालमा पनि भित्रिसकेको छ । यसमा २८ किलोवाट लिथियम–वाट पोलिमर ब्याट्रीसहित ८८ किलोवाटको इलेक्ट्रिक मोटर छ । जसलाई एकपटक चार्ज गरेपछि गाडी २५० किलोमीटरसम्म गुडाउन सकिन्छ । सेमी अटोमेटिक ट्रान्समिशन विशेषताको यो गाडीमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा रहेको कम्पनीको भनाई छ । ‘यूनिक’मा एअर ब्याग, ब्लाइन्ड स्पट डिटेक्शन, अटोनोमश डिटेक्शन, लेन चेन्ज असिस्ट, अडप्टिभ क्रुज कन्ट्रोल लगायतका सुरक्षा विशेषता छन् । ड्राइभिङ डाइन्यामिक्सका साथ ‘यूनिक’ लुक्स र पर्फरमेन्समा पनि उत्कृष्ट रहेको कम्पनीले दावी गरेको छ । इन्फिनिटी फ्ल्यागसिप इन्फिनिटी फ्ल्यागसिपले विद्युतीय अटो बजारमा नयाँ भविश्य सिर्जना गर्ने उद्धेश्यका साथ नयाँ इन्फिनिटी सेडान नामक कार सार्वजनिक गर्ने योजना बनाएको छ । सन् २०२२ को सुरुमै यो कार सार्वजनिक गर्ने कम्पनीको तयारी छ । जसको मूल्य ७५ हजार अमेरिकी डलर पर्ने कम्पनीको प्रारम्भिक अनुमान छ । निशान–४०० जेट निशानले पनि नयाँ विद्युतीय गाडी ल्याउने तयारी गरिरहेको छ । निशान–४०० जेट नामक नयाँ कारले विद्युतीय अटो बजारमा नयाँ उत्साह दिने कम्पनीको दावी छ । जसको मूल्य ४० हजार अमेरिकी डलर पर्ने अनुमान गरेको छ । यो कारको १ पटक चार्ज गरेमा ४०० किमि माइलेज दिने कम्पनीको भनाई छ ।  

महिन्द्राको विद्युतीय ट्रियो अटो बजारमा, वार्षिक २ लाख रुपैयाँको पेट्रोल बचाउने

काठमाडौं । महिन्द्र समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक लिमिटेडले ट्रियो नामक लिथियम आयइओन संचालित इलेक्ट्रिक थ्रि ह्विव्लर अटो सार्वजनिक गरेको छ । कम्पनीले यसको मूल्य ८ लाख ४० हजार रुपैयाँ तोकेको छ । कम्पनीको अनुसार महिन्द्रा ट्रियो पुर्ण निर्माण युनिट संरचनाको माध्यमबाट नेपाल आउँदछ । यो गाडी महिन्द्राको भारतको बैंगलरस्थित फ्रयाक्ट्रीमै निर्माण भइरहेको छ । कम्पनीले दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही स्थानमा अटो वितरण गर्न बुकिङ्ग खुला गरेको छ । महिन्द्रको अधिकृत इभी वितरक अग्नि इनर्जिले नेपालमा ट्रियो वितरण गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले पेट्रोलको तुलनामा वार्षिक २ लाख रुपैयाँ बचत गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । ट्रियो ठुलो मात्र नभई विद्युतिय साधन उद्योगकै सबैभन्दा राम्रो २०७३ मिलिलिटर व्हिलबेसको साथ जस्तोसुकै कच्ची सडकमा पनि आरमदायी सवारीको लागि अगाडि अनइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङ्को प्रयोग गरिएको छ । यसमा राम्रो रोक्ने क्षमता भएको हाइड्रोलिक ब्रेक पनि रहेको छ । साथै यसले चार्जको अवस्था, गाडी चलाउने दायर गित ड्राइभ मोड र अन्य विभिन्न सूचनाहरु डिजिटल रुपमा प्रस्तुत गर्दछ ।