नेपाली अटो बजारमा उत्साहको नयाँ सञ्चार, ग्राहकको रोजाइमा ईभी
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको नाइमा मोबिलिटी एक्स्पो- २०२६ केवल सवारी साधनको प्रदर्शनी मात्र नरही यसले सुस्ताएको नेपाली अटोमोबाइल बजारमा प्राण भर्न महत्त्वपूर्ण भूमिका खेलेकाे छ । साथै प्रदर्शनी भविष्यको विद्युतीय मार्गचित्र कोर्नसमेत सफल भयो । यस वर्षको मेलामा ५५ वटा विभिन्न ब्राण्डका सवारीसाधन तथा अन्य उत्पादनहरू प्रदर्शनीमा राखिएका थिए । गत वर्ष ४२ वटा ब्राण्ड सहभागी भएकोमा यस पटक प्रदर्शकहरूको सङ्ख्यामा वृद्धि भएको हो । मेलाको उद्देश्य अनुरूप नै पर्याप्त प्रचार-प्रसार र सन्तोषजनक व्यापार भएको नाइमाले जनाएको छ । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले यस वर्षको नाइमा एक्स्पो विगतको तुलनामा अत्यन्तै सफल र उत्साहजनक भएको बताइन् । मेलाको अन्तिम दिन आइतबार मेलाबारे जानकारी दिँदै उनले यस पटक दर्शकको चाप र व्यावसायिक सहभागिता दुवैमा वृद्धि भएको उल्लेख गरिन् । अध्यक्ष वैद्यले गत वर्षको तुलनामा यस वर्षको प्रदर्शनी थप व्यवस्थित, प्रभावकारी र सफल भएको बताइन् । उनले गत वर्षको एक्स्पोका क्रममा देखिएका कमजोरी तथा चुनौतीलाई सुधार गर्दै यस वर्ष प्रदर्शनीलाई थप आकर्षक र व्यवस्थित बनाइएको जानकारी दिइन् । अपेक्षा र अनुमानभन्दा उत्साहजनक रूपमा अवलोकनकर्ताको उपस्थिति रहेको भन्दै उनले प्रदर्शनीमा राखिएका सवारीसाधन तथा बुकिङप्रति समेत सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताइन् । अध्यक्ष वैद्यले नेपालको अटो बजारमा विद्युतीय सवारीसाधनको प्रभाव र माग निरन्तर बढिरहेको उल्लेख गर्दै यसले समग्र अटो बजारको भविष्य थप उज्ज्वल रहेको संकेत गरेको बताइन् । विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा नेपाली अटो बजार विस्तारको क्रममा रहेको उनको भनाइ छ । प्रदर्शनीमा सवारीसाधनप्रति उपभोक्ताको चासो, नयाँ सवारीसाधनबारे जानकारी लिने उत्सुकता तथा बुकिङ गर्ने क्रमले बजारप्रतिको सकारात्मक मनोविज्ञानलाई प्रतिबिम्बित गरेको उनले बताइन् । नाडाका पूर्वअध्यक्ष ध्रुव थापा पनि यसपटकको एक्स्पो विगतको तुलनामा धेरै व्यवस्थित रहेकाे बताउँछन् । ‘विगतमा केवल हेर्नका लागि मात्र मान्छे आउँथे, तर यसपालि ‘क्वालिटी भिजिटर्स’ आएका छन्,’ उनी भन्छन् । पछिल्लो केही महिनादेखि सुस्ताएको अटो व्यवसायमा यस मेलाले एक प्रकारको नयाँ भाइब्रेसन सिर्जना गरेको छ । उनले आगामी नाडा अटो सोका लागि पनि यसले बलियो जग बसालेको विश्वास व्यक्त गरे । एक्स्पोको केन्द्रविन्दुमा विद्युतीय सवारीसाधन (ईभी) नै रहे। बीवाइडीका सीईओ साहिल श्रेष्ठका अनुसार नेपालमा विद्युतीय सवारीको युग पूर्णतः सुरु भइसकेको छ । बीवाइडीको स्टलमा देखिएको अत्यधिक भीडले पनि नेपाली ग्राहकहरू अब इन्धनबाट ब्याट्रीतर्फ मोडिएको प्रस्ट पार्छ । यस्तै बुझाइ जिओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छाको पनि छ । एमजी कोमेट र विन्ड्सर जस्ता ईभी मोडेलहरूमा ग्राहकको सोधपुछ र बुकिङ उत्साहजनक रह्यो । लिपमोटरका लागि पनि यो मेला कोसेढुङ्गा सावित भयो । सांगिला मोटर्सका जीएम किरण श्रेष्ठका अनुसार ६ दिनको अवधिमा लिपमोटरले २०० भन्दा बढी बुकिङ प्राप्त गर्यो । सेलिब्रिटीहरूमा पनि ईभीको क्रेज उत्तिकै देखियो । नायिका करुणा पाण्डेले टाटा पन्च ईभी बुक गर्दै भनिन्, ‘नेपालको बाटो र वातावरणका लागि ईभी नै उत्तम छ ।’ यस्तै, नाइमाका सदस्य निराकार श्रेष्ठले नाइमा मोबिलिटी एक्स्पो-२०२६ मा अवलोकनकर्ताको सहभागिता र सवारीसाधनको बुकिङ सकारात्मक रहेको बताए । श्रेष्ठले अवलोकनकर्ताहरूको उपस्थिति र विभिन्न ब्रान्डका सवारीसाधनमा भएको बुकिङले एक्स्पोप्रति ग्राहकको आकर्षण बढेको देखाएको बताए । उनले विभिन्न ब्रान्डका प्रतिनिधिहरूसँगको कुराकानीमा पनि बुकिङ तथा अवलोकनकर्ताको अवस्था उत्साहजनक रहेको जानकारी पाएको बताए । हुण्डाईका आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले मेलामा गाडी मात्र होइन, भिजन पनि प्रस्तुत गरिएको बताए । उनका अनुसार हुण्डाईले नेपालमै एसेम्ब्ली प्लान्ट सञ्चालन गरेर आत्मनिर्भरताको मेसेज दिन खोजेको छ । ‘हाम्रो स्टलमा कुनै बाहिरी मोडेल थिएनन् । यो गाडी बेच्ने मात्र होइन, बुझाउने मेला पनि हो,’ थपलियाको भनाइ थियो । हुण्डाईसँग अहिले ५० हजारभन्दा बढी सन्तुष्ट नेपाली ग्राहक रहेकाे उनकाे भनाइ छ । मेलामा दुईपाङ्ग्रे सवारी साधनको पनि उत्तिकै आकर्षण थियो । टिभिएसको आधिकारिक जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक रौनियारले नसोचेको भीड र बुकिङ भएको बताए । अपाचे १६० ४भी युएसडी प्रोजेक्टर जस्ता नयाँ प्रविधि र तत्कालै फाइनान्स तथा एक्सचेन्ज सुविधाले ग्राहकलाई आकर्षित गर्यो । यस्तै, महिन्द्राका क्याविनेट श्रेष्ठले पनि ग्राहकको प्रतिक्रियाबाट आफूहरू उत्साहित भएको बताए । मेला सफल भए पनि पूर्वाधारको समस्या भने टड्कारो देखियो । पार्किङको समस्या र भृकुटीमण्डपको अस्थायी संरचनामा सुधार हुनुपर्ने आवाज व्यवसायीहरूले उठाएका छन । नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाल भन्छन्, ‘सरकारले एउटा अन्तर्राष्ट्रिय स्तरको व्यवस्थित प्रदर्शनी स्थल बनाइदिनुपर्छ ।’ उनका अनुसार नाइमाको उद्देश्य केवल गाडी बेच्नु मात्र थिएन। मेलाको दौरानमा भएका मोबिलिटी संवाद र लर्निङ सेसन मार्फत लगानी, उद्यमशीलता र प्रविधिको बारेमा युवा र विद्यार्थीहरूलाई शिक्षित गराउने प्रयास गरिएको थियो ।
नाइमा मोबिलिटी एक्स्पोः पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकले गरे अवलोकन
काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को दोस्रो संस्करण भृकुटीमण्डपमा सुरु भएको छ । नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजित यस एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । छ दिनसम्म अर्थात् साउन ३१ गतेसम्म सञ्चालन हुने यस मेलामा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताहरूको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक भित्रिएका नयाँ ब्रान्डका साथै विभिन्न मोडलका विद्युतीय कार, ई-स्कुटर र विद्युतीय व्यावसायिक सवारीसाधनहरू मुख्य आकर्षणका रूपमा रहेका छन् । सवारी खरिदलाई सहज बनाउन बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले अवलोकनकर्ताका लागि विशेष अफर र सहुलियतपूर्ण कर्जा सुविधा समेत उपलब्ध गराइरहेका छन् । नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधन किनबेच गर्ने थलो मात्र नभई सम्पूर्ण मोबिलिटी इकोसिस्टमलाई एकै ठाउँमा ल्याउने साझा मञ्च भएको बताइन् । उनले पटक-पटक फेरिने नीतिगत व्यवस्थाले व्यवसायीमा अनिश्चितता सिर्जना गरेकाले नयाँ लगानी भित्रिन समस्या भइरहेको बताइन् । उनले निजी क्षेत्र र सरोकारवालाहरूसँग छलफल गरेरमात्रै नीतिहरू परिवर्तन गर्न सरकारलाई सुझाव दिइन् । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सवारीसाधन बिक्री गरेरमात्रै नहुने र सुरक्षाको क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गर्न व्यवसायीहरूलाई सुझाव दिए । उनले ब्रान्डहरूले बिक्रीपछिको सेवामा ध्यान दिनुपर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई सधैँ राजस्वको स्रोतको रूपमा मात्रै हेरेको गुनासो गरे । उनले अटोमोबाइल क्षेत्रलाई विलासी नभई आवश्यकताको क्षेत्रको रूपमा लिन सुझाव दिए । नेपालमा अटोमोबाइल क्षेत्रमा संसारकै सबैभन्दा उच्च भन्सारदर लागु गरिएको उनले बताए । सबै व्यवसायको लागि स्थिर नीति आवश्यक पर्ने भएकाले विद्युतीय सवारीका लागि पनि स्थिर नीति लिन उनले सुझाव दिए । अध्यक्ष श्रेष्ठले निजी क्षेत्र लगानी गर्न तयार रहेको तर त्यसका लागि सरकारले वातावरण बनाइदिनुपर्ने बताए । त्यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई राजस्व प्रदान गर्ने प्रमुख क्षेत्रमध्ये एक भएकाले सरकारले उच्च प्राथमिकतामा राखेर हेर्नुपर्ने धारणा राखे । उनले यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी अब यातायातको विषय मात्रै नभएर देशको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए । नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको करिब ७ प्रतिशत योगदान रहेको तथ्यांक उनले पेस गरे । ‘यो क्षेत्र बैंकिङ, बिमा, पर्यटन, निर्माण र सूचना प्रविधिजस्ता विविध क्षेत्रसँग अन्तरसम्बन्धित छ । त्यसैले यस क्षेत्रलाई केवल विलासिता वा उपभोगको क्षेत्रका रूपमा नहेरी आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार गर्नुपर्छ,’ उनले भने । पहिलो दिन मंगलबार विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्स्पोको पहिलो दिन मंगलबार इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई) मोबिलाइजिङ फ्युल फर इकोनोमिक ग्रोथ विषयमा छलफल भएको छ । पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्यले प्यानलिस्टका रूपमा सहभागिता जनाएका छन् । मंगलबारको लर्निङ सेसनमा मात्रै तीन सयभन्दा बढीले सहभागिता जनाएका छन् । एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूद्वारा लर्निङ सेसन्स, पोलिसी डाइलग र इन्डस्ट्री इन्टर्याक्सन्सजस्ता कार्यक्रमहरु सञ्चालन हुनेछन् । कार्यक्रममा बेसिक लाइफ सपोर्ट एन्ड इमिडिएट केयर आफ्टर रोड ट्राफिक एक्सिडेन्ट्स विषयमा ग्रान्डी इन्टरनेसलन हस्पिटलका तर्फबाट जानकारीमूलक विशेष प्रस्तुति दिइएको थियो । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् । एक्सपोमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराइरहेका छन् । मेलाको को-स्पोन्सरमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ भने रेडबुल पावर्डबाईका रूपमा रहेको छ । त्यस्तै, बैंकिङ पार्टनरका रूपमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका छन् । मेलाको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका छन् । त्यसैगरी, टेक्नोलोजी पार्टनरमा बोस, एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड, राइड पार्टनरमा पठाओ नेपाल प्राइभेट लिमिटेड, हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड, हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को प्राइभेट लिमिटेड रहेका छन् । नाइमा मोबिलिटी एक्स्पोको को टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, कनेक्टिभिटी पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका छन् ।
नाइमा मोबिलिटी एक्स्पोमा प्रोटोन ईमास ५ को विशेष आकर्षण
काठमाडौं । प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले सार्वजनिक गरेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रोटोन ईमास ५ नाइमा मोबिलिटी एक्स्पो २०२६ को विशेष आकर्षण बनेको जनाएको छ । कम्पनीका अनुसार मंगलबार (साउन २६ गते) देखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा मोबिलिटी एक्स्पोको हल ‘बी’स्थित स्टल ‘एल–६’ मा ईमास ५ अवलोकन तथा बुकिङका लागि राखिएको छ । सार्वजनिक भएसँगै ग्राहक तथा अटोप्रेमीको गाडीप्रति उल्लेख्य चासो देखिएको कम्पनीले जनाएको छ । सेग्मेन्टमै पहिलोपटक रियर–ह्विल–ड्राइभ प्लेटफर्ममा आधारित ईमास ५ मा सन्तुलित तौल वितरण, उत्कृष्ट ड्राइभिङ क्षमता, उच्च स्थायित्व र सहज नियन्त्रणको सुविधा रहेको कम्पनीको दाबी छ । व्यस्त सहरी सडकदेखि राजमार्ग र नेपालको पहाडी सडकसम्म सुरक्षित तथा सहज यात्रा सुनिश्चित गर्ने उद्देश्यले गाडी डिजाइन गरिएको जनाइएको छ । आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको ईमास ५ मा सामान व्यवस्थापनका लागि तीनवटा स्मार्ट स्टोरेज सुविधा छन् । यसमा ७० लिटर क्षमताको अगाडिको स्टोरेज, २८ लिटर क्षमताको सिटमुनिको स्टोरेज तथा २० लिटर क्षमताको सेन्टर कन्सोल स्टोरेज रहेको छ। गाडीमा रियर मल्टी–लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन, ३७५ लिटरको बुट स्पेस, १४।६ इन्चको फ्लोटिङ डिस्प्ले युनिट, ३६९ मिटरको उत्कृष्ट ब्रेकिङ दूरी तथा जी–ट्र्याक्सन कन्ट्रोल सिस्टमजस्ता सुविधा छन् । त्यस्तै, ४.९५ मिटरको टर्निङ रेडियस, सेग्मेन्टमै पहिलो रियर–ह्विल ड्राइभ प्रणाली, ६५ डिग्रीसम्मको फराकिलो डोर ओपनिङ एंगल र बाह्य विद्युतीय उपकरण चलाउन मिल्ने भेहिकल–टु–लोड प्रविधि पनि उपलब्ध छ । ईमास ५ को प्रिमियम भेरियन्टमा ८५ किलोवाट क्षमताको ११–इन–१ इलेक्ट्रिक मोटर तथा पावरट्रेन, ३६० डिग्री क्यामेरालगायतका सुविधा उपलब्ध छन् । प्रोटोन ईमास ५ ‘प्राइम’ र ‘प्रिमियम’ गरी दुई भेरियन्टमा उपलब्ध छ । कम्पनीले प्राइम भेरियन्टको बजार मूल्य ३२ लाख ९९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको ३६ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । नाइमा मोबिलिटी एक्स्पो २०२६ को हल ‘बी’स्थित स्टल ‘एल–६’ मा पुगेर प्रोटोन ईमास ५ को प्रत्यक्ष अनुभव लिन तथा बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।
‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक
काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को अवसर पारेर नयाँ ‘पञ्च ईभी’ र नयाँ ‘टियागो ईभी’ सार्वजनिक गरेको छ । नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले यसलाई विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन् । त्यसैगरी, नयाँ टियागो ईभीको सुरुवाती मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेको छ । एक्स्पोमा यी दुवै गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी सुविधा उपलब्ध गराएको छ । गाडी सार्वजनिक गर्दै सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजनबाबु श्रेष्ठले भने, ‘नेपालमा पछिल्लो प्रविधिसहितका विद्युतीय सवारीसाधन भित्र्याउन हामी प्रतिबद्ध छौं । नयाँ पञ्च ईभी र टियागो ईभी नेपाली बजारमा सार्वजनिक गर्नुले हाम्रो प्रतिबद्धतालाई अझ पुष्टि गरेको छ ।’ दुवै गाडी फरक–फरक ग्राहकको आवश्यकता पूरा गर्ने गरी विकास गरिएको जानकारी उनले दिए । ईभीको नेटवर्क विस्तारसँगै आवश्यक पूर्वाधार निर्माणमा पनि सिप्रदीले जोड दिँदै आएको जनाएको छ । सिप्रदी ट्रेडिङका चीफ अपरेटिङ अफिसर राजेशप्रसाद गिरीले ईभी बिक्रीसँगै सम्बद्ध सेवाको सञ्जाल बिस्तार गरिरहेको प्रष्ट पारे । ‘विद्युतीय सवारीसाधनप्रतिको हाम्रो प्रतिबद्धता गाडी बिक्रीमा मात्र सीमित छैन । ग्राहकलाई ईभीको प्रयोगमा थप विश्वास र सहजता दिलाउन हामी बलियो पूर्वाधार निर्माणमा पनि लगानी गरिरहेका छौं,’ उनले भने, ‘हाल २१ भन्दा बढी ईभी सर्भिस सेन्टर, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा छन् ।’ नयाँ पञ्च ईभी : थप शक्तिशाली र प्रविधियुक्त एसयूभी अत्याधुनिक ‘एक्ट.इभी’ प्लेटफर्ममा आधारित नयाँ पञ्च ईभीमा ३२ किलोवाट हावर्स र ४० किलोवाट हावर क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्, जसले नेपालको बाटोमा गरिएको परीक्षण अनुसार एकपटकको फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिन्छन् । यस मोडलमा १९५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स, बीएनक्याप ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५ सीडीसी फास्ट चार्जिङ, भ्वाइस एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस समावेश गरिएको छ । दैनिक आवतजावतलाई सहज बनाउन ल्याइएको नयाँ टियागो ईभीमा नयाँ लुक्स, आकर्षक रङ, ३६० डिग्री एचडी क्यामेरा प्रणाली, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट र ६ वटा एयरब्याग जस्ता सुरक्षा सुविधाहरू छन्।
नाइमा मोबिलिटी एक्स्पो : सुरुको दिनमै व्यवसायी उत्साहित
काठमाडौं । काठमाडौंको भृकुटीमण्डप यतिबेला सवारीसाधनका सौखिन र आवश्यकता भएका ग्राहकहरूले भरिभराउ छ । नाइमाले आयोजना गरेको नाइमा मोबिलिटी एक्स्पोको दोस्रो संस्करणले छुट्टै रौनक ल्याएको छ । ५५ भन्दा बढी ब्राण्डका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनहरू एउटै छानोमुनि सजिएका छन् । जसलाई अवलोकनकर्ताहरूले सवारी साधनको कुम्भमेलाको संज्ञा दिएका छन् । एक्स्पोको प्रवेशद्वारमै भेटिएका केएमसी कलेजका विद्यार्थी मिसन भट्टराई निकै उत्साहित देखिन्थे । हातमा मोबाइल समात्दै खल्ती एपमार्फत टिकट काटिरहेका उनले ५० प्रतिशत क्यासब्याक पाएकोमा खुसी व्यक्त गरे । ‘हाम्रो लागि यो एउटा ठुलो अवसर हो,’ उनले भने, ‘डिजिटल पेमेन्टबाट सहुलियत पनि पाइने र नयाँ फिचर्सका गाडीहरूका बारेमा बुझ्न पनि पाइने ।’ मिसनजस्तै सयौं विद्यार्थीहरू गाडीका नयाँ प्रविधि, इन्जिनका क्षमता र भित्री बनावट (इन्टेरियर) बुझ्न लाइनमा बसेका देखिन्छन् । उनीहरूका लागि यो मेला केवल प्रदर्शनी मात्र नभएर अटोमोबाइल इन्जिनियरिङ र ट्रेण्ड बुझ्ने एउटा खुल्ला पाठशाला पनि बनेको छ । प्रदर्शनीमा भेटिएका मुकुन्द खड्काका अनुसार अचेल गाडी विलासिता मात्र नभएर मध्यम वर्गीय नेपालीका लागि अपरिहार्य आवश्यकता बनिसकेको छ । सानोठिमीबाट आएका मुकुन्द एउटा उपयुक्त गाडीको खोजीमा छन् । उनी भन्छन्, ‘पहिले गाडी सोखका लागि हुन्थ्यो, अहिले काम र सहजताका लागि अनिवार्य भइसकेको छ ।’ पेट्रोलको बढ्दो मूल्यले आजित भएका ग्राहकहरूका लागि यसपटकको एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी) मुख्य आकर्षण बनेको छ । रामकोटबाट आएका रामेश्वर भट्टले प्रदर्शनीको अधिकांश समय ईभी स्टलहरूमा बिताए । ‘पेट्रोल दिनप्रतिदिन महँगो हुँदैछ । त्यसैले अबको विकल्प भनेकै ईभी हो,’ उनले आफ्नो अनुभव सुनाए । विभिन्न ब्राण्डका गाडीहरूलाई एकै ठाउँमा तुलना गर्न पाउनु यो मेलाको सबैभन्दा सबल पक्ष रहेको उनको ठम्याइ छ । स्कुटर खोज्दै महिला ग्राहक महिला अवलोकनकर्ताहरूको रुचि विशेषगरी दुई पाङ्ग्रे सवारीसाधनमा देखियो । सरिता भट्ट नयाँ स्कुटर किन्ने योजनाका साथ एक्स्पो पुगेकी थिइन् । उनले प्रदर्शनीको सजावट र छुट अफरको प्रशंसा गरिन् । यद्यपि, भृकुटीमण्डप भित्रको अत्यधिक गर्मीले गर्दा केही असजिलो महसुस भएको उनले बताइन् । ‘माहोल एकदम एक्साइटिङ छ, तर भित्र अलि गर्मी छ । आउने साथीहरूले पानीको बोतल र फ्यान बोकेर आउनुभयो भने राम्रो हुन्छ,’ उनले भनिन् । अहिलेको डिजिटल युगमा सबै जानकारी इन्टरनेटमा पाइन्छ भन्ने सोच धेरैमा छ । तर, एक्स्पोमा भेटिएकी आज्ञा भण्डारीको विचार फरक छ । ‘कतिपय कम्पनीका वेबसाइटहरू अपडेट हुँदैनन् । अनलाइनमा सबै फिचर्स बुझ्न गाह्रो हुन्छ,’ उनले भनिन् । उनी आफै विद्यार्थी र कर्मचारी भए पनि गाडीको वास्तविक अवस्था बुझ्न मेलामै आउनु उपयुक्त हुने बताउँछिन् । ‘यहाँ आएर गाडी छाम्न पाइन्छ । भित्र बसेर अनुभव गर्न पाइन्छ र प्रत्यक्ष जानकारी लिन पाइन्छ । त्यसैले वर्षमा एक पटक हुने यस्तो मेला छुटाउनु हुँदैन,’ उनले भनिन् । पहिलो दिन यी ब्राण्ड भए लन्च एक्सपोमा नयाँ गाडीहरू पनि लन्च भएका छन् । जसमा बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इन्कले एकैपटक तीन नयाँ मोडलका गाडीहरू बजारमा ल्याएको छ । कम्पनीले एटो १ को फेसलिफ्ट, एटो २ को ४५ किलोवाट आवर ब्याट्री क्षमता भएको बेस भेरियन्ट र एटो ३ को फेसलिफ्ट संस्करण सार्वजनिक गरेको हो । मूल्यको हिसाबले बीवाईडी एटो १ फेसलिफ्टको डाइनामिक भेरियन्टको ३० लाख ७५ हजार रुपैयाँ र प्रिमियमको ३४ लाख ८० हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी, एटो २ को इसेन्सियल भेरियन्ट ४५ लाख १५ हजार रुपैयाँ र प्रिमियम भेरियन्ट ४८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ । बीवाईडी एटो ३ को एडभान्स भेरियन्टको मूल्य ६२ लाख १० हजार रुपैयाँ र सुपेरियरको ७८ लाख रुपैयाँ राखिएको छ । अर्कोतर्फ चिनियाँ कम्पनी चेरीले आफ्नो नयाँ क्युब्याक ब्रान्डअन्तर्गत क्यु ३ मोडल नेपाली बजारमा भित्र्याएको छ । आधुनिक सहरी जीवनशैलीलाई लक्षित गरी डिजाइन गरिएको यो नयाँ पुस्ताको इलेक्ट्रिक अर्बन क्रसओभरमा ४१.२ किलोवाट क्षमताको ब्याट्री रहेको छ । जसले एकपटकको फुल चार्जमा ४०० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । एक्सपोमा क्यु ३ मोडलको कम्फर्ट भेरियन्टको मूल्य ३० लाख १९ हजार रुपैयाँ र प्रिमियम भेरियन्टको ३२ लाख १९ हजार रुपैयाँ राखिएको छ भने यसको सामान्य एमआरपी ३४ लाख ४९ हजार र ३५ लाख ९९ हजार निर्धारण गरिएको छ । यसैबीच, जापानी अटोमोबाइल ब्रान्ड निसानले पनि मोबिलिटी एक्सपोमा आफ्नो नयाँ पुस्ताको एसयूभी टेकटन सार्वजनिक गरेको छ । नेपालका लागि निसानको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प प्रालिले बजारमा ल्याएको ठूलो आकारको बडी, नयाँ पुस्ताको डिजाइन ल्याङ्ग्वेज र आधुनिक इन्टेरियरसहितको यो टेकटन एसयूभीको मूल्य ५१ लाख २९ हजार तोकिएको छ । यस्तै, नेपालमा टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले दुईवटा मोडल लन्च गरेको छ । जसमा हाइलक्स र र्याभ फोर हाइब्रिड ईभी लन्च गरेको छ । हाइलक्सको मूल्य १ करोड ५५ लाख रुपैयाँ तथा र्याभ फोर हाइब्रिडको २ करोड १३ लाख रुपैयाँ तोकिएको छ । यसैगरी, नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पन्च ईभी फेसलिफ्ट बिक्र सुरू गरेको छ । कम्पनीले पन्च ईभीको ३ भेरियन्ट उपलब्ध गराएको छ । कम्पनीले पन्च ईभी फेसलिफ्टको बेस भेरियन्टको मूल्य ३३ लाख ९९ हजार र टप भेरियन्टको ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । योसँगै बजेटपछि आएको पन्च ईभीको मूल्य ४ लाखसम्मले घटेको छ । यसअघि पन्च ईभी ३७ लाख ९९ हजार र ३९ लाख ९९ हजारमा बिक्री हुँदै आएको थियो । यसैगरी हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमै उत्पादन गरिएको ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन सार्वजनिक गरेको छ । यसको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।भेन्यु एन लाइनको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । एक्स्पोले नेपाली अटोमोबाइल बजारको बदलिँदो स्वरूपलाई झल्काएको छ । विशेष गरी मध्यम वर्गीय परिवारको सवारी सपना र इन्धनको विकल्पमा विद्युतीय ऊर्जाप्रतिको आकर्षण यस पटकको मुख्य सार देखिन्छ । एकातिर नयाँ मोडेलका लक्जरियस कारहरूको चमकधमक छ भने अर्कोतिर सर्वसाधारणका लागि उपयुक्त बजेट र सुविधायुक्त स्कुटर तथा बाइकहरूको लर्को । गर्मी र भीडभाडका बाबजुद भृकुटीमण्डपमा देखिएको यो मोबिलिटीको लहरले नेपालीहरूको क्रयशक्ति र नयाँ प्रविधिप्रतिको मोहलाई प्रस्ट पारेको छ । प्रदर्शनी आजसहित ६ दिन चल्ने जनाइएकाे छ । के भन्छ आयोजक ? एक्स्पोका संयोजक गौरव शारडाले यसलाई नेपालको मोबिलिटी क्षेत्रकै महाकुम्भको संज्ञा दिएका छन् । उनका अनुसार यो प्रदर्शनी हालसम्मकै सबैभन्दा ठूलो अटोमोबाइल एक्स्पो हो । ६ दिनसम्म चल्ने यस मेलामा ४० भन्दा बढी नयाँ सवारी साधनहरू लन्च हुने क्रम जारी रहेकाे शारडाकाे भनाइ छ । जसमा आजमात्रै २० वटा ब्राण्ड लन्च भएका छन् । प्रदर्शनीमा परम्परागत इन्धन, विद्युतीय साधन र हाइब्रिड प्रविधिका दुई पाङ्ग्रे, चार पाङ्ग्रे तथा व्यावसायिक सवारी साधनहरू राखिएका छन् । मनसुनको समयलाई ध्यानमा राखेर प्रदर्शनी स्थललाई पूर्ण रूपमा रेन रेजिस्टेन्स (पानी नछिर्ने) बनाइएको छ । अपाङ्गता भएका व्यक्तिहरूको सहजताका लागि एक्सेसिबल फ्रेन्डली पूर्वाधार र स्वयंसेवकको सहयोगमा ‘गाइडेड भिजिट’ को व्यवस्था गरिएको छ । प्रदर्शनी केवल गाडीको प्रदर्शनीमा मात्र सीमित नभएको शारडाले जानकारी दिए । उनले मेलाको अवधिभर हरेक दिन दिउँसो २ देखि ५ बजेसम्म ‘नेपाल मोबिलिटी संवाद’ सञ्चालन हुने बताए । यसमा नीति निर्माता, उद्योगी र विज्ञहरूले सडक सुरक्षा, फाइनान्स र दिगो मोबिलिटीका बारेमा छलफल गर्नेछन् । यसैगरी, सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरीलाई ग्रान्डी हस्पिटलको प्राविधिक सहयोगमा दुर्घटनापछिको प्राथमिक उपचार र सीपीआरसम्बन्धी तालिमका साथै ईभी दुर्घटना व्यवस्थापन सम्बन्धी विशेष प्रस्तुतिसमेत दिइने उनको भनाइ छ । प्रदर्शनी मंगलबार दिउँसो १ बजेदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । बुधबारदेखि १६ तारिखसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म अवलोकनकर्ताहरूले मेला भ्रमण गर्न सक्नेछन् । पार्किङको सहजताका लागि नेपाल प्रहरीको ब्लु प्याभिलियन मुनिको क्षेत्रलाई थप पार्किङ स्थलका रूपमा व्यवस्थापन गरिएको छ । ग्लोबल आईएमई बैंक मुख्य प्रायोजक रहेको यस एक्स्पोलाई रेडबुल, एनएमबी बैंक, सिद्धार्थ बैंक लगायतका दर्जनौं व्यावसायिक संस्थाहरूले सहयोग गरेका छन् । नाइमाले सबै आम नागरिक, विद्यार्थी र सरोकारवालाहरूलाई एक्स्पो अवलोकन गरी नयाँ प्रविधिबारे जानकारी लिन र यस क्षेत्रको विकासमा सहभागी हुन निम्तो समेत दिएको छ ।
नाइमा मोबिलिटी एक्स्पो अघिल्लो वर्षभन्दा भव्य हुन्छ
साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले दोस्रो संस्करण ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को आयोजना गर्दैछ । अटो व्यवसायी र गाडी प्रेमीहरूले यो एक्स्पोलाई मेला महाकुम्भका रूपमा लिने गरेका छन् । अटोमोबाइल क्षेत्रलाई देशको गतिशीलताको मेरुदण्ड मानिन्छ । गत वर्षदेखि नाइमाले नेपालीमा अटो शो गर्न थालेको हो । नाइमाले पहिलो संस्करणभन्दा दोस्रो संस्करण भव्य, सभ्य र व्यवस्थित हुने दाबी गरेको छ । वास्तवमा यो एक्स्पो अघिल्लो वर्षको तुलनामा कत्तिको भव्य हुनेछ ? ग्राहक र अवलोकनकर्ताले के नयाँ अनुभव गर्न पाउनेछन् ? यिनै विषयमा केन्द्रित रहेर विकासन्युजका नरेन्द्र विष्टले नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालससँग कुराकानी गरेका छन् । नाइमा मोबिलिटी एक्स्पोको यो दोस्रो संस्करण हो । पहिलो संस्करणको सफलतापछि यसपालि तपाईंहरूले के-कस्ता नयाँपन थप्नुभएको छ ? अवलोकनकर्ताहरूले यसपालि के फरक पाउनेछन् ? वास्तवमा पहिलो संस्करण देख्नुभएका अवलोकनकर्ताहरूका लागि यो दोस्रो संस्करण निकै बृहत् र परिष्कृत लाग्नेछ । पोहोरको सिकाइलाई हामीले यसपालि कार्यान्वयनमा ल्याएका छौं । पहिलो कुरा त आकारमै वृद्धि भएको छ । अघिल्लो पटक ४७ वटा स्टलहरू थिए भने यसपालि ५२ वटा स्टलहरू छन् । सहभागी ब्रान्डहरूको संख्या ५५ भन्दा बढी पुगेको छ । र सबैभन्दा उत्साहजनक कुरा त ४० वटा नयाँ मोडलका सवारी साधनहरू यसै एक्स्पोमार्फत पहिलोपटक नेपाली बजारमा लन्च गरिँदैछ । हामीले पूर्वाधार र व्यवस्थापनमा पनि निकै सुधार गरेका छौं । पोहोर पार्किङको केही समस्या देखिएको थियो । त्यसलाई सम्बोधन गर्दै यसपालि ६ दिनै नेपाल पुलिस क्लबको ब्लु प्याभिलियन भित्र व्यवस्थित पार्किङको व्यवस्था मिलाएका छौं । साथै लर्निङ सेसनमा मानिसहरूको निकै रुचि देखिएकाले यसपालि ६४५ जना क्षमताको विशाल अडिटोरियम हलमा विज्ञहरूसँगको अन्तरक्रिया कार्यक्रम राखेका छौं । जहाँ प्रवेश निःशुल्क गरिएको छ । अर्को महत्त्वपूर्ण पक्ष भनेको हामीले यसपालिलाई डिसाबिलिटी फ्रेन्ड्ली बनाउन विशेष अपाङ्गता मैत्री डेस्क र भोलुन्टियरहरूको व्यवस्था गरेका छौं । एक्स्पोलाई व्यवस्थित बनाउन धेरै मिहिनेत देखिन्छ । यसपालिको मुख्य आकर्षण वा भनौं केन्द्रबिन्दु चाहिँ केलाई मान्ने ? एक्स्पोको मुख्य आकर्षण भनेकै ५५ वटा अन्तर्राष्ट्रिय र राष्ट्रिय ब्रान्डहरू एउटै छानामुनि उपलब्ध हुनु हो । यसमा २६ वटा प्यासेन्जर भेहिकल (कार, जीप), १८ वटा दुई पाङ्ग्रे (मोटरसाइकल, स्कुटर) र ८ वटा कमर्सियल भेहिकल (ट्रक, बस) का ब्रान्डहरू छन् । ग्राहकले एउटै ठाउँमा धेरै विकल्पहरू तुलना गर्न पाउनेछन् । ४० वटा नयाँ मोडल लन्च हुनु आफैमा ठुलो कुरा हो । साथै हाम्रा बैंकिङ र इन्स्योरेन्स पार्टनरहरूले दिने विशेष सुविधाहरू पनि आकर्षणका केन्द्र हुन् । स्टलहरूको व्यवस्थापन र डिजाइनमा केही नयाँपन छ कि पुरानै छन् ? हामीले यी स्टलहरूलाई प्रिमियम स्टलका रूपमा परिभाषित गरेका छौं । यसको निश्चित लम्बाई, चौडाई र उचाईको मापदण्ड तोकिएको छ। यी स्टलहरू निकै ओपन र फ्लेक्सिबल छन् । जसले गर्दा धेरै भीडभाड भएको महसुस हुँदैन र अवलोकनकर्ताले गाडीको वरिपरि घुमेर राम्रोसँग अध्ययन गर्न पाउँछन् । भृकुटीमण्डपको पुरै एरिया हामीले बुक गरेका छौं । जसले गर्दा पानी पर्दा पनि नभिज्ने र सबै स्टलमा सहज पहुँच पुग्ने गरी अपाङ्गतामैत्री प्लेटफर्महरू निर्माण गरिएको छ । तपाईंले ४० वटा नयाँ मोडल लन्च हुने भन्नुभयो । के ती सवारी साधनहरू नेपालमै पहिलोपटक देखिने हुन् ? विशेषगरी दुई पाङ्ग्रेमा कस्ता नयाँ उत्पादनहरू छन् ? ४० वटै मोडलहरू नेपाली बजारका लागि बिल्कुलै नयाँ हुन् । यसमा प्यासेन्जर कारदेखि लिएर कमर्सियल र मोटरसाइकलसम्म छन् । कतिपय मोडलहरू त सरप्राइजका रूपमा राखिएका छन् । जुन एक्स्पोकै दिन सार्वजनिक हुनेछन् । दुई पाङ्ग्रेमा पनि नयाँ ईभी स्कुटर र उच्च क्षमताका बाइकहरू प्रदर्शनमा रहनेछन् । नाइमाले स्थापनाकालदेखि नै अटो क्षेत्रलाई कसरी हेरिरहेको छ ? हाम्रो समाजमा अझै पनि गाडीलाई विलासिताको वस्तु मान्ने सोच छ, यसमा तपाईंको धारणा के छ ? सवारीसाधन अब विलासिता होइन, यो एक अत्यावश्यक आवश्यकता हो । हाम्रो नारा नै मोबिलिटी फर अल हो । देशको गतिशीलता जति बढ्छ, आर्थिक गतिविधि त्यति नै तीव्र हुन्छ । गतिशीलताले रोजगारी सिर्जना गर्छ र देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा टेवा पुर्याउँछ । एक वर्षको दौरानमा हामीले के अनुभव गरेको छौं भने अब मानिसहरूले सवारी साधनलाई जीविकोपार्जनको माध्यम र एउटा एसेटका रूपमा बुझ्न थालेका छन् । यो लायबिलिटी होइन । त्यसैले हामीले पूर्वाधार विकास र सहज बैंकिङ कर्जाका लागि बारम्बार आवाज उठाइरहेका छौं । पछिल्लो समय सडकमा विद्युतीय सवारीसाधन (ईभी) को लहर देखिएको छ । नाइमामा आबद्ध कम्पनीहरूले ईभीको मागलाई कसरी सम्बोधन गरिरहेका छन् ? नाइमामा हाल ३६ वटा प्रमुख आयातकर्ता कम्पनीहरू आबद्ध छन् । नेपालमा आयात हुने प्रमुख ईभी, आईसीई (पेट्रोल/डिजेलबाट चल्ने) र हाइब्रिड सवारी साधनका आयातकर्ताहरू हामीसँग हुनुहुन्छ । अहिले सरकारको नीति ईभीमैत्री भएकाले र भन्सारमा केही सहुलियत प्राप्त भएकाले ईभीको आयात बढेको देखिनु स्वाभाविक हो । नाइमाले सधैं इनेबलिंग इन्भायरोमेन्टको वकालत गर्छ । हाम्रा सदस्य कम्पनीहरूसँग सबै प्रकारका अत्याधुनिक प्रविधियुक्त सवारी साधनहरू उपलब्ध छन् । बजारमा अहिले ईभी र परम्परागत इन्जिन गाडीहरूबीच के-कस्तो प्रतिस्पर्धा छ ? ग्राहकले के रोजिरहेका छन् ? यसलाई प्रतिस्पर्धा भन्दा पनि फ्रीडम अफ चोइसका रूपमा हेर्नुपर्छ । ग्राहकले आफ्नो आवश्यकता र भूगोल अनुसार गाडी रोज्न पाउँछन् । कसैलाई लामो दुरी वा अफ-रोडका लागि पेट्रोल/डिजेल गाडी नै चाहिएला, कसैलाई सहरभित्रका लागि ईभी उपयुक्त होला । नाइमाले सधैं ग्राहकलाई बुझेर मात्र निर्णय लिन आग्रह गर्छ । तुलनात्मक रूपमा अहिले ईभी आयातकर्ताहरूको संख्या र उत्साह बढी देखिए पनि हाइब्रिड र पेट्रोल/डिजेल गाडीहरूको आफ्नै महत्त्व र बजार छ । एक्स्पोमा आउने ग्राहकका लागि छुट र फाइनान्सिङका के-कस्ता सुविधाहरू छन् ? एक्स्पो एउटा महोत्सव हो । यहाँ सहभागी ५५ वटै ब्रान्डले स्पेसल अफर सार्वजनिक गर्नेछन् । फाइनान्सिङका लागि यसपालि हामीसँग तीनवटा बैंकिङ पार्टनरहरू छन् । ग्लोबल आइएमई बैंक (को-स्पोन्सर), सिद्धार्थ बैंक र एनएमबी बैंक । गत वर्ष एउटा बैंक मात्र थियो । आवश्यकता महसु्स गरी यसपटक हामीले दुईवटा बैंक थपेका हौं । मानिसहरूले डाउन पेमेन्ट गरेर किस्ताबन्दीमा गाडी किन्न चाहने हुनाले बैंकहरूले त्यहीं तत्कालै परामर्श र प्रक्रिया अगाडि बढाउनेछन् । साथै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स पार्टनरका रूपमा रहेकाले बीमाको काम पनि त्यहीं हुनेछ । अर्को विशेष अफर युनियन पेमार्फत टिकट काट्दा ५० प्रतिशत क्यासब्याक पाइनेछ । पठाओले एक्स्पो आउन र जानका लागि विशेष डिस्काउन्टेड राइड दिने व्यवस्था गरेका छाैं । धेरै मानिसहरू गाडी किन्न एक्स्पो नै कुर्नुहुन्छ । उनीहरूले शोरुममा भन्दा एक्स्पोमा गाडी किन्दा के फाइदा पाउँछन् ? सबैभन्दा ठुलो फाइदा भनेको समयको बचत र तुलना हो । एउटै ठाउँमा दुई घण्टा समय दिँदा तपाईंले बजारका सबै विकल्पहरू देख्न पाउनुहुन्छ । शोरुम-शोरुम धाउनु पर्दैन । अर्को कुरा एक्स्पोमा कम्पनीहरूले दिने अफरहरू शोरुमको भन्दा अझ आकर्षक र तत्काल निर्णय लिन सहयोग गर्ने खालका हुन्छन् । त्यहाँ विज्ञहरूको टिम हुन्छ । जसले तपाईंको आवश्यकता बुझेर सही सल्लाह दिन्छ । नाइमाले अटो व्यवसायीहरूका चुनौतीहरूका बारेमा पनि कुरा उठाइरहेको छ । अहिलेको मुख्य चुनौती के हो ? हाम्रो प्रमुख माग भनेको स्थिर नीति हो । अटो व्यवसायमा ठुलो पुँजी लगानी हुन्छ । यो वर्ष एउटा नीति अर्को वर्ष अर्कै नीति हुँदा लगानी जोखिममा पर्छ । कम्तीमा ५ देखि १० वर्षका लागि पूर्वानुमान योग्य नीति हुनुपर्छ । हामीले यसका लागि अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग निरन्तर छलफल गरिरहेका छौं । अर्को मुद्दा लोन टु भ्यालु रेसियो हो । अहिले ८० प्रतिशतसम्म लोन हुनुपर्छ भन्ने हाम्रो माग छ । मध्यम र न्यून आय भएका मानिसहरूले थोरै डाउन पेमेन्टमा गाडी लिएर त्यसलाई आम्दानीको स्रोत बनाउन सकून् भन्ने हाम्रो चाहना हो । बैंकहरूमा तरलता हुँदाहुँदै पनि कसिलो नीतिका कारण बजार चलायमान हुन सकेको छैन । हामीले सरकारलाई १४ बुँदे मागपत्र पनि बुझाएका छौं । बैंक कर्जा लिने ग्राहकहरूको क्षमता र बजारको अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ? नेपालमा गाडी किनेर त्यसैबाट कमाएर किस्ता तिर्ने एउटा ठुलो जमात छ । त्यसैले गाडी अब एउटा एसेट हो । यद्यपि हाम्रो प्रतिव्यक्ति आय अझै कम भएकाले गाडी किन्ने पहुँच सबैमा नहुन सक्छ । तर नाइमाका सदस्यहरूले सस्तो ह्याचब्याकदेखि महँगो लक्जरी गाडीसम्मका विकल्पहरू दिएकाले ग्राहकको इच्छाअनुसार गाडी छान्न सक्ने अवस्था छ । अहिलेको उपभोक्ताहरू निकै सचेत छन् । नाइमा एक्स्पो सकिनेबित्तिकै नाडाको पनि अटो शो हुँदैछ । के यो दुई संस्थाबीचको टकराव हो कि स्वस्थ प्रतिस्पर्धा ? यसलाई टकरावका रूपमा हेर्नु हुँदैन । हामी एक-अर्काका परिपूरक हौं । नाडाको २८०० भन्दा बढी सदस्य भएको लामो इतिहास छ । नाइमा चाहिँ आयातकर्ता र उत्पादकहरूको विशिष्टीकृत संस्था हो । भृकुटीमण्डपको सीमित क्षेत्रफलका कारण हामीले हाम्रै कतिपय सदस्यहरूलाई पनि स्टल दिन सकेनौं । त्यसैले उद्योगको मागअनुसार हामीले भविष्यमा कमर्सियल भेहिकल वा अन्यका लागि छुट्टै एक्स्पो गर्ने सोच पनि राखेका छौं । एउटै संस्थाले मात्रै यो सबै क्षेत्रको माग धान्न सक्ने अवस्था छैन । त्यसैले यो उद्योगकै हितमा छ । नाडा शो र नाइमा एक्स्पोमा के फरक छ ? नाइमाले आफूलाई कसरी युनिक बनाएको छ ? नाइमा एक्स्पोको मुख्य विशेषता भनेको यो दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको मात्रै शुद्ध प्रदर्शनी हो । यहाँ पार्टपुर्जा वा अन्य सहायक सामग्री भन्दा पनि मुख्य सवारी साधनमै केन्द्रित छ । लर्निङ सेसनलाई निकै महत्त्व दिएका छौं । जहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय एक्सपर्टहरू आउनुहुन्छ । हामीले यसलाई नेपालकै सबैभन्दा व्यवस्थित र बृहत् अटो एक्स्पोका रूपमा प्रमाणित गर्न खोजेका छौं । यसपालिको एक्स्पोमा कति अवलोकनकर्ता आउने र कति कारोबार हुने अपेक्षा छ ? हामीले करिब डेढ लाख अवलोकनकर्ता आउने लक्ष्य राखेका छौं । हामी व्यापारको प्रत्यक्ष ट्र्याक त राख्दैनौं, तर पोहोरको भन्दा बढी बुकिङ हुने र कारोबार हुनेमा हामी विश्वस्त छौं । पोहोर बुकिङ गर्ने ग्राहकहरू क्वालिटी कस्टमर थिए र ती बुकिङहरू वास्तविक व्यापारमा परिणत भए । यसपालि पनि ग्राहकको गुणस्तर र संख्या दुवै बढ्ने अपेक्षा गरेका छाैं । यो एक्स्पोपछि नेपालको अटो बजार कुन दिशामा जाला ? ग्राहकलाई के भन्न चाहनुहुन्छ ? एक्स्पोपछि कुन ब्रान्ड र मोडलमा ग्राहकको बढी रुचि छ भन्ने कुरा सडकमा देखिन थाल्नेछ । यो एक्स्पो व्यापार मात्र होइन, एउटा कम्प्रिहेन्सिभ लर्निङ स्थल हो । ग्राहकले मैले बुझेर, जानेर र सोधेर गाडी किनेँ भन्ने अनुभूति गराउनु नै हाम्रो सफलता हो । म सबैलाई भृकुटीमण्डप आउन र अटोमोबाइलको नयाँ प्रविधिसँग साक्षात्कार गर्न आह्वान गर्दछु ।
नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ गाडी लन्च हुने, ५१ वटा स्टल बुक
काठमाडौं । सवारीसाधनका सौखिन र खरिदकर्ताहरूका लागि प्रतीक्षित ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आगामी साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसिएसन (नाइमा) ले सोमबार (आज) आयोजित पत्रकार सम्मेलनमा एक्स्पोको तयारी र यसका मुख्य आकर्षणहरूबारे विस्तृत जानकारी दिएको हो । नाइमाका अनुसार ६ दिनसम्म चल्ने यस वृहत् प्रदर्शनीमा ५३ भन्दा बढी अन्तर्राष्ट्रिय र स्वदेशी ब्रान्डहरूको सहभागिता रहनेछ । अटोमोबाइल क्षेत्रको यो महाकुम्भमा ४० भन्दा बढी नयाँ सवारीसाधनहरू (दुई पाङ्ग्रे, चार पाङ्ग्रे, व्यावसायिक, विद्युतीय र हाइब्रिड) नेपाली बजारमा पहिलो पटक सार्वजनिक (लन्च) गरिने नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले जानकारी दिइन् । वैद्यले भनिन्, ‘एक वर्षअघि २१ वटा सदस्य कम्पनीबाट सुरु भएको नाइमामा अहिले ३६ वटा कम्पनीहरू आबद्ध भइसकेका छन् । यसले नेपालको अटोमोबाइल क्षेत्रमा बढ्दै गरेको विश्वासलाई झल्काउँछ ।’ टिकट आम्दानीको १० प्रतिशत अनुसन्धानमा खर्च गरिने नाइमाले घोषणा गरेको छ । एक्स्पोबाट संकलित टिकट बिक्रीको कुल रकममध्ये १० प्रतिशत अनुसन्धान फेलोसिपका लागि छुट्याइनेछ । यस रकमबाट मोबिलिटी क्षेत्रमा गरिने अनुसन्धानका प्रतिवेदनहरूलाई नाइमा मोबिलिटी जर्नलमा प्रकाशित गरिनेछ । जसले नेपालको यातायात प्रणालीको विकास र तथ्याङ्क व्यवस्थापनमा ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले नेपालको अटोमोबाइल क्षेत्रले भोगिरहेको नीतिगत र पूर्वाधारजन्य समस्याबारे पनि चर्चा गरिन् । पूर्वाधारले गर्दा प्रदर्शनीमा कठिनाइ हुने गरेको भन्दै नाइमाले अन्तर्राष्ट्रिय स्तरको एक्स्पो सेन्टर निर्माणका लागि सरकारसँग माग गरेको छ । साथै सवारीसाधनमा लाग्ने उच्च कर घटाउन र खुकुलो मौद्रिक नीति (विशेषगरी ८०/२० को लोन रेसियो) का लागि सरकारका विभिन्न मन्त्रालयहरूसँग निरन्तर लबिङ गरिरहेको जानकारी बताएको छ । नाइमाले केवल व्यवसाय मात्र नभई सामाजिक उत्तरदायित्वलाई पनि महत्त्व दिएको छ । नाइमाले १ हजार ६१० जना ट्राफिक प्रहरीलाई क्षमता अभिवृद्धि तालिम दिइसकेको छ भने एक्स्पोको अवधिमा ‘मोबिलिटी संवाद’ जस्ता लर्निङ सेसनहरू सञ्चालन गरिनेछ । यसबाट विद्यार्थी, पेशेवर र आम उपभोक्ताले यातायात क्षेत्रको नयाँ प्रविधि र सडक सुरक्षाबारे जानकारी पाउनेछन् । नाइमाका अनुसार एक्स्पोका लागि ५१ वटा स्टलहरू छुट्याइएकामा पूर्ण रूपमा बुक भइसकेका छन् । माग अत्यधिक भएका कारण केही ब्रान्डहरूलाई स्थान अभावका कारण पाइपलाइनमा राख्नुपरेको छ । यस वर्ष पनि विद्युती सवारीसाधन (ईभी) को विशेष आकर्षण रहने बताइएको छ । नाइमाका अनुसार एक्स्पोमा प्रख्यात फोर-ह्विलर ब्रान्डहरू जस्तै टाटा, बीवाइडी, किया, टोयोटा, हुण्डाई, एमजी, निसान र हाभलका साथै ओमोडा, जेइकु, आयन, र भीजीभीजस्ता नयाँ ब्रान्डका पछिल्ला मोडलहरू प्रदर्शन गरिनेछ । दुई पाङ्ग्रेतर्फ पनि इलेक्ट्रिक स्कुटर र बाइकहरूको ठूलो उपस्थिति रहनेछ । प्युजो, एनआईयु, याडिया, एसर र ग्यारो जस्ता इलेक्ट्रिक ब्रान्डका साथै बजाज, टीभीएस, केटीएम र ट्रायम्फ जस्ता स्थापित ब्रान्डहरूले पनि आफ्ना नयाँ उत्पादनहरू मेलामा राख्ने नाइमाले जनाएको छ । २१ सदस्यबाट सुरु भएको नाइमामा हाल ३६ वटा सदस्य कम्पनीहरू आबद्ध भइसकेका छन् । ‘सबैका लागि मोबिलिटी’ भन्ने मूल नाराका साथ आयोजना हुने यस एक्स्पोले नेपालको अटोमोबाइल उद्योगलाई नयाँ उचाइमा पुर्याउने विश्वास आयोजकले लिएको छ । एक्स्पोको मुख्य प्रायोजक ग्लोबल आईएमई बैंक लिमिटेड रहेको छ भने पावर्ड बाई पार्टनरको रूपमा रेड बुल नेपाल जोडिएको छ । टिकेटिङ पार्टनरको रूपमा आईएमई पे रहेको छ । एक्स्पोको टिकट दर विद्यार्थीका लागि १०० रुपैयाँ र सर्वसाधारणका लागि २०० रुपैयाँ तोकिएको छ ।
सकियो नाइमा मोबिलिटी एक्स्पो (फोटोफिचर)
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ साउन २६ गते सोमबार सफलतापूर्वक सम्पन्न भएको छ । साउन २१ गते सुरु भएको एक्स्पो प्रारम्भिक तालिकाअनुसार साउन २५ गतेसम्म सञ्चालन हुने भनिएको थियो । तर, अवलोकनकर्ताको अत्यधिक उत्साहका कारण एक दिन थप गरिएको नाइमाले जनाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले साउन २१ गते एक्स्पोको उद्घाटन गरेका थिए । ५० अटोमोबाइल ब्राण्डको सहभागिता रहेको एक्स्पोलाई १ लाख १० हजारभन्दा बढीले अवलोकन गरेका छन् । गाडी अवलोकन, नयाँ मोडलबारे जानकारी, सोधपुछ, बुकिङ र खरिदमा सहभागीहरूको उल्लेख्य उपस्थिति देखिएको नाइमाले जनाएको छ । एक्स्पोसम्बन्धी विस्तृत विवरण आगामी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने नाइमाले जानकारी दिएको छ । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज
नाइमा मोबिलिटी एक्स्पो : २ हजार बढी गाडी बुकिङ, ९२ हजारले गरे अवलोकन
काठमाडौं । नाइमा मोबिलिटी एक्स्पोको पाँचौं दिन गाईजात्राको सार्वजनिक बिदा । ८६ वर्षीया बिनासरी आचार्य लौरो टेक्दै विस्तारै भीड छिचोल्दै थिइन् । प्यूठान घर भई हाल बागबजारमा छोरा–बुहारी र नातिनातिनासँग बस्ने उनी गाडी किन्न होइन, केवल रमाइलो हेर्न र मेलाको माहोलमा रमाउन आएकी थिइन् । ‘न गाडी किन्न सक्छु, न हिँड्न सक्छु,’ उनी मुस्कुराउँदै भन्छिन्, ‘यहाँको माहोल राम्रो लाग्यो, सबै कुरा राम्रो छ, रमाइलो हेर्न आएको ।’ बिनासरी जस्ता आगन्तुकले एक्स्पोलाई केवल व्यापारिक मेला मात्र नभएर एउटा सामाजिक उत्सवको रूप लिएका थिए । यस पटकको एक्स्पोलाई ‘ईभीमय’ भन्दा फरक पर्दैन । खासगरी बीवाईडीको स्टलमा मानिसहरूको भीड थामिनसक्नु थियो । कम्पनीले भर्खरै सार्वजनिक गरेको बजेट कार ’एट्टो वान’ हेर्न र बुकिङ गर्न मानिसहरू झुम्मिएका थिए । ‘साढे दुई/तीन वर्षदेखि उपभोक्ताहरूले सानो र गुणस्तरीय बजेट कारको माग गरिरहनुभएको थियो,’ बीवाईडीकीकी प्रबन्ध निर्देशक तथा नाईमाकी बोर्ड सदस्य यमुना श्रेष्ठ भन्छिन्, ‘त्यही माग पूरा भएकाले यति धेरै माया पाएका छौं । पहिला ईभीबारे बुझाउनु पथ्र्यो, आज ग्राहक आफै आएर एट्टो वान नै किन्छु भन्दै दुई मिनेटमै फारम भरेर बुकिङ गर्नुहुन्छ । यो विश्वास हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि हो ।’ एक्स्पोको पाँच दिनमा करिब ६ सय बिवाइडी गाडी बुकिङ हुनुले नै यसको क्रेज प्रस्ट पार्छ । त्यस्तै, एमजी र ओमोडा एन्ड जेकोको स्टलमा पनि उत्तिकै आकर्षण थियो । विशेषगरी जेको जे-फाइभको आकर्षक लुक्स, ग्राउन्ड क्लियरेन्स र पावरले धेरैलाई तानेको थियो । एक्स्पो ईभीमय भए पनि अन्य प्रविधिले पनि आफ्नो दरिलो उपस्थिति देखाएका थिए । टोयोटाले आफ्नो हाइब्रिड प्रविधिको यारिस क्रस र नयाँ लुक्सको ल्यान्ड क्रुजर प्राडो प्रदर्शनमा राखेको थियो । ‘हाइब्रिड टेक्नोलोजीबारे मान्छेमा ठूलो चासो छ । नसोचेको तरिकाले बुकिङ भइरहेको छ,’ टोयोटाका सिनियर म्यानेजर महेन्द्र श्रेष्ठ भन्छन् । उनले एक्स्पो अवधिभर १६/१७ वटा गाडी बुकिङ भएको जानकारी दिए । यसैबीच एउटा फरक र विशेष स्टलले सबैको ध्यान तानेको थियो, एमजीपीएल ग्रुप । विराटनगरमा फ्याक्ट्री रहेको यो कम्पनीले नेपालमै एसेम्बल गरिएका विद्युतीय रिक्सा, पानी ट्याङ्कर, फोहोर उठाउने गाडी र फुड ट्रक जस्ता व्यावसायिक सवारी प्रदर्शनमा राखेको छ । एक्स्पोमा मेगाटेक समूहले प्रदर्शनमा ल्याएका स्वदेशमै बनेका ‘सामुराइ ब्रान्ड’ का ई-रिक्साहरू दर्शकहरूको आकर्षणको केन्द्र बनेका छन् । विभिन्न प्रयोजनका लागि निर्माण गरिएका यी इ-रिक्साहरूले सस्तो, वातावरणमैत्री र बहुउपयोगी सवारीको रूपमा नयाँ सम्भावना देखाएका छन् । मोरङको बुढीगंगास्थित कारखानामा डिजाइनदेखि उत्पादनसम्मको सम्पूर्ण प्रक्रिया नेपालमै हुने यी रिक्साहरू साना व्यवसायी, किसान तथा स्थानीय तहका लागि लक्षित छन् । सामान ढुवानी, तरकारी र मासु बिक्री, फोहोर संकलन, पानी हाल्ने, र यात्रु सेवा जस्ता विविध प्रयोजनका लागि निर्माण गरिएका मोडलहरू एक्स्पोमा प्रदर्शित छन् । १३ मोडलका सामुराइ रिक्साहरू एक्स्पोमा सामुराइ लोड-किङ, भेजी क्लोज, फुडीज, चिकन कार्ट, सुपर प्लस, प्लस, प्लस (बेस), इवा, एक्सट्रीम, पावर प्लस, र भेजी ओपन जस्ता विभिन्न मोडलहरू सार्वजनिक गरिएका छन् । यी इ-रिक्साहरूमा ४ देखि ५ वटा लेड-एसिड ब्याट्री, १०००-१२०० वाट मोटर, तथा ८०० देखि १३८० किलोग्रामसम्मको लोड क्षमता रहेको मेगाटेकले जनाएको छ । कम्पनीका अनुसार पानी ट्यांकर मोडलको मूल्य ९ लाख रुपैयाँ, गार्बेज कार्ट ६ लाख ५० हजार, चिकन कार्ट ५ लाख ५० हजार, स्कूल भ्यान ६ लाख, र भेजी क्लोज ४ लाख ५० हजार तोकिएको छ । ३०० जनालाई रोजगारी दिइरहेको मेगाटेकले हालसम्म ९ सयदेखि १ हजार युनिट रिक्साहरू उत्पादन गरिसकेको र दैनिक १०-१५ युनिट उत्पादन क्षमता रहेको जनाएको छ । ‘हाम्रो उत्पादन तराईमा निकै सफल छ, तर काठमाडौं उपत्यकामा चलाउन अनुमति पाएका छैनौं,’ कम्पनीका सिनियर सेल्स अफिसर शशी रेग्मीले भने, ‘हामी यही एक्स्पोमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं । यदि निश्चित समय र रुटमा अनुमति पाए, यी साधन शहरी व्यवस्थापनका लागि निकै उपयोगी हुनेछन् ।’ विगतका नाडा अटो शोभन्दा फरक यसपटकको नाइमा मोबिलिटी एक्स्पो व्यवस्थापन र आगन्तुकको गुणस्तरका हिसाबले अब्बल देखिएको अवलोकनकर्ताहरू बताउँछन् । विद्यार्थी वा रमितेभन्दा पनि वास्तविक खरिदकर्ताको उपस्थिति बाक्लो रहेको आयोजकको दाबी छ । ‘एक्स्पो सुरु हुनुअघि डर जस्तो थियो तर आज पाँचौं दिनमा आइपुग्दा म ढुक्क छु, सबैले राम्रो व्यापार गरेका छन्,’ नाइमाका आयोजक समिति सदस्य गौरव शारडा भन्छन् । ‘आगन्तुकको चाप र व्यवसायीको आग्रहमा हामीले एक्स्पो एक दिन थप्यौं । यसले नै देखाउँछ कि यो नेपालकै आजसम्मको सबैभन्दा ठूलो र सफल अटोमोबाइल एक्स्पो हो,’ उनले थपे । उनका अनुसार एक्स्पो अवधिभर एक लाखभन्दा बढी अवलोकनकर्ता आउने अनुमान छ, जसले बजारमा सकारात्मक सन्देश प्रवाह गरेको छ । सोमबारसम्म चल्ने नाइमा एक्स्पोमा पाँचौं दिनसम्म आइपुग्दा २ हजारभन्दा बढी सवारीसाधन बुकिङ भएका छन् भने ९२ हजार जनाले एक्स्पो अवलोकन गरिसकेका छन् । नाइमाका अनुसार पहिलो दिन १५ हजार, दोस्रो दिन साढे १३ हजार, तेस्रो दिन साढे १९ हजार, चौथो दिन साढे २१ हजार र आइतबार २२ हजार जनाले एक्स्पोमा सहभागिता जनाएका थिए । आइतबार परेको गाईजात्राको विदाका बाबजुद पनि अवलोकनकर्ताहरूको उत्साहमा कुनै कमी नआएको नाइमाको भनाइ छ । अवलोकनकर्ताहरूले एक्स्पो स्थलमा आफूलाई मनपर्ने दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनबारे जानकारी लिने, सोधपुछ गर्ने, बुकिङ गर्ने र खरिद गर्नेहरूको बाक्लो उपस्थिति रहेको नाइमाले बताएको छ । कार्यालयको काममा व्यस्त रहनेहरूले समेत गाईजात्राको सार्वजनिक बिदाको भरपूर उपयोग गर्दै एक्स्पो अवलोकन गरेका थिए । सर्वसाधारणका साथै वरिष्ठ कलाकार, कूटनीतिक नियोगका कर्मचारी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र व्यवसायीहरूले समेत एक्स्पोमा सहभागिता जनाएका छन् । ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी रहेको यो एक्स्पोले अवलोकनकर्ताहरूलाई एकै छानामुनि विभिन्न सवारीसाधन तुलना गर्ने र छान्ने अवसर प्रदान गरेको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा माज्दा सीएक्स-६० सार्वजनिक, मूल्य १ करोड ५१ लाख
काठमाडौं । नाइमा मोबिलिटी एक्सपो २०२५ मा पारामाउन्ट मोटर्सले माज्दा सीएक्स-६० सार्वजनिक गरेको छ । यो मोडल ‘अल ह्विल ड्राइभ’ सिस्टमसहित नेपाली बजारमा ल्याइएको हो । माज्दा सीएक्स–६० को लम्बाइ ४५५० मिमी, चौडाइ १८४० मिमी र उचाइ १६६० मिमी रहेको छ । यसमा २।५ लिटर क्षमताको इन्जिन प्रयोग गरिएको छ, जसले अधिकतम १८५ बीएचपी पावर र २५० एनएम टर्क उत्पादन गर्छ । गाडीको टप स्पिड १८० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जानकारी दिएको छ । इन्टेरियर डिजाइन प्रिमियम स्तरको छ भने सुरक्षाको दृष्टिकोणले पनि यो गाडी निकै उन्नत छ । माज्दा सीएक्स–६० मा ६ वटा एयरब्याग, भेइकल स्टेबिलिटी कन्ट्रोल ३६० डिग्री क्यामेरा तथा विभिन्न प्रकारका सेन्सरहरू जडान गरिएको छ । कम्पनीले यस एसयूभीको मूल्य १ करोड ५१ लाख रुपैयाँ निर्धारण गरेको छ । नाइमा एक्स्पोबाटै यो गाडी बिक्री गर्न थालेको छ ।
नाइमा मोबिलिटी एक्स्पो एक दिन थप, चार दिनमा ७० हजारले गरे अवलोकन
काठमाडौं । राजधानीमा जारी 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' मा अवलोकनकर्ताहरूको अप्रत्याशित भीड लागेपछि आयोजकले प्रदर्शनीको अवधि एक दिन थप गरेको छ । स्थापनाको छोटो समयमै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) ले आयोजना गरेको पहिलो एक्स्पोमा दर्शकको उत्साहजनक उपस्थितिले नेपालको अटोमोबाइल बजारप्रतिको आकर्षण जीवन्त रहेको संकेत गरेको छ । श्रावण २१ बुधबारदेखि २५ गतेसम्म ५ दिनका लागि तय गरिएको एक्स्पो अब अवलोकनकर्ताहरूको चाप र मागलाई ध्यानमा राख्दै श्रावण २६ गते, सोमबारसम्म सञ्चालन हुने नाइमाले जनाएको छ । आयोजकका अनुसार, शनिबारसम्मका सुरुवाती चार दिनमा मात्रै ६९ हजार ५ सय जनाले एक्स्पो अवलोकन गरिसकेका छन् । नाइमाका अनुसार पहिलो दिन १५ हजार, दोस्रो दिन साढे १३ हजार, तेस्रो दिन साढे १९ हजार र शनिबार मात्रै २१ हजार ५ सय जनाले एक्स्पोमा सहभागिता जनाएका थिए । शनिबार परेको मुसलधारे पानीका बाबजुद पनि अवलोकनकर्ताहरूको उत्साहमा कुनै कमी आएन, बरु सबैभन्दा बढी भीड सोही दिन देखियो, जसले गाडीप्रति आममानिसको चासोलाई स्पष्ट पार्छ । एक्स्पो स्थलमा आफूलाई मनपर्ने दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनबारे जानकारी लिने, सोधपुछ गर्ने, बुकिङ गर्ने र खरिद गर्नेहरूको बाक्लो उपस्थिति रहेको छ । कार्यालयको काममा व्यस्त रहनेहरूले समेत शनिबारको सार्वजनिक बिदाको भरपुर उपयोग गर्दै एक्स्पो अवलोकन गरेका थिए । सर्वसाधारणका साथै वरिष्ठ कलाकार, कूटनीतिक नियोगका कर्मचारी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र व्यवसायीहरूले समेत एक्स्पोमा सहभागिता जनाएका छन्, जसले यसको बृहत् आकर्षणलाई पुष्टि गर्छ । ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी रहेको यो एक्स्पोले अवलोकनकर्ताहरूलाई एकै छानामुनि विभिन्न सवारीसाधन तुलना गर्ने र छान्ने अवसर प्रदान गरेको छ । स्थापनाको केही महिनामै आयोजना गरिएको पहिलो प्रयासमा नै नाइमाले पाएको यो सफलताले आगामी दिनहरूमा नेपालको मोबिलिटी क्षेत्रमा थप योगदान पुर्याउन आयोजकलाई उत्साहित बनाएको छ । अवलोकनकर्ताहरूको अपार माया र समर्थनलाई मध्यनजर गर्दै थपिएको एक दिनले गाडी खरिद गर्न वा जानकारी लिन चाहनेहरूलाई थप सहज हुने आयोजकको विश्वास छ ।
नाइमा मोबिलिटी एक्स्पोमा नयाँ गाडीको आकर्षण र विशेष अफरको होडबाजी
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पो २०२५ मा विद्युतीय सवारीसाधन (ईभी) लाई लिएर विशेष रौनक छाएको छ । एक्स्पोमा विश्व प्रसिद्ध अटोमोबाइल कम्पनीहरूका नयाँ मोडल, अत्याधुनिक प्रविधि र आकर्षक छुटका साथ ग्राहकहरूलाई आकर्षित गर्न प्रतिस्पर्धा गरिरहेका छन् । यही भीडमा बीवाईडी, हुन्डाई, महिन्द्रा, प्रोटोन र ओमोडा जस्ता ब्रान्डहरूले पनि नयाँ गाडी सार्वजनिक गर्नुका साथै विशेष अफरहरू पनि रहेका छन् । बीवाईडीः विश्वकै उत्कृष्ट ह्याचब्याक नेपालमा पहिलो पटक साईमेक्सकी शोरुम म्यानेजर सन्ध्या श्रेष्ठका अनुसार बीवाईडीले यो एक्स्पोलाई लक्षित गरी विश्वकै उत्कृष्ट ह्याचब्याक मध्येको एक मानिने ‘एटो वान’ नेपालमा पहिलो पटक सार्वजनिक गरेको छ । ‘यो गाडी नेपालमा पहिलो पटक आएको हो । ग्राहकहरूको अत्यधिक माग र अनुरोधपछि हामीले नाइमालाई नै सही समय मानेर यो गाडी लन्च गरेका हौं,’ श्रेष्ठले भनिन् । एटो वान दुई भेरियन्टमा उपलब्ध छ जसको मूल्य २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । बीवाईडीको सबैभन्दा ठूलो विशेषता यसको ‘ब्लेड ब्याट्री टेक्नोलोजी’ र ‘ई–प्लेटफर्म ३.०’ हो । यी दुवै विशेषता एटो वानमा उपलब्ध छ । एटो वानको खरिदमा डेढ लाख बराबरको बेनिफिट प्याकेज दिइएको छ । जसमा बीमा, सडक कर, एसेसरिज र पोर्टेबल चार्जर समावेश छन् । त्यस्तै, ७५ लाख पर्ने बीवाईडी सिलमा ‘अर्ली बर्ड बुकिङ’ अफर अन्तर्गत ७२ लाखमा गाडी पाउनुका साथै बीमा, कर र अन्य एसेसरिजहरू पनि उपलब्ध छन् । हुन्डाईः नेपाली सडक सुहाउँदो ‘क्रेटा ईभी’ हुन्डाईका सेल्स इन्चार्ज सुरेश श्रेष्ठले एक्स्पोमा ‘क्रेटा ईभी’ मुख्य आकर्षण बनेको जानकारी दिए । ‘हामीले क्रेटा ईभी, क्रेटा पेट्रोल, भेन्यू, ग्रान्ड आईटेन र आयोनिक फाइभ जस्ता पाँचवटा गाडी राखेका छौं । तर सबैभन्दा बढी माग क्रेटा ईभीको छ,’ उनले भने । क्रेटा ईभी ५१ लाख ९६ हजारबाट सुरु भई ७७ लाख रुपैयाँसम्मको पाँच भेरियन्टमा उपलब्ध छ । यसको सुरुवाती तीन भेरियन्टले एक पटकको चार्जमा ३५० किलोमिटर रेन्ज दिन्छ भने टप दुई भेरियन्टले ४७० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ । श्रेष्ठका अनुसार गाडीमा २०० एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ ।’ ब्याट्रीको आयु लगभग १४–१५ वर्षसम्म रहने दावी उनले गरे । एक्स्पोमा गाडी बुक गर्ने ग्राहकका लागि आकर्षक नगद छुट, एक वर्षको कम्प्रिहेन्सिभ बीमा, सडक कर र लक्की ड्र मार्फत भियतनाम टुरको अवसर जस्ता विभिन्न सुविधा छन् । महिन्द्राः अत्याधुनिक प्रविधिसहितको नयाँ ईभी अग्नि महिन्द्रा ग्रुपका ईभी सेल्स म्यानेजर सागर भट्टराईले एक्स्पोमा तीनवटा नयाँ गाडी लन्च गरेको जानकारी दिए । बीई ६, एक्सईभी नाइन ई र पेट्रोल गाडी एक्सयूभी थ्री एक्स ओ । बीई ६ को मूल्य ५७ देखि ६८ लाखसम्म छ भने एक्सयूभी नाइन ईको मूल्य ६९ देखि ९५ लाखसम्म रहेको छ । यी गाडीहरूमा ‘इन्टेलिजेन्ट एड्याप्टिभ सस्पेन्सन’ जडान गरिएको छ जुन नेपालको खाल्डाखुल्डी बाटोका लागि निकै उपयोगी छ । साथै क्वालकमको स्न्यापड्र्यागन प्रोसेसर, १ हजार ४०० वाटको हार्मन कार्डन स्पिकर, ३६० डिग्री क्यामेरा र गाडी आफै पार्क हुने ‘अटो पार्क’ जस्ता अत्याधुनिक फिचरहरू छन् । टप मोडलले एक पटकको चार्जमा ४५० किलोमिटरको रेन्ज दिने भट्टराईले दावी गरे। नाईमा एक्स्पोमा गाडी बुक गर्नेहरूका लागि भेरियन्टअनुसार २ लाखसम्मको नगद छुटको व्यवस्था गरिएको छ । प्रोटोनः शून्य प्रतिशत ब्याजदरको अनौठो अफर जगदम्बा मोटर्सका सेल्सका सुजन श्रेष्ठले मलेसियन ब्रान्ड प्रोटोनले ‘ई–मास सेभेन’ का दुई भेरियन्ट रहेको जानकारी दिए– प्राइम र प्रिमियम । प्राइमको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ छ भने प्रिमियमको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ रहेको छ । प्राइमले ३४५ किलोमिटर प्रिमियमले ४१० किलोमिटर रेन्ज दिन्छ । गाडी घरको सामान्य चार्जरबाट ६-७ घण्टामा फुल चार्ज हुन्छ भने डीसी फास्ट चार्जरबाट मात्र २० मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । प्रोटोनले एक्स्पोका लागि सबैभन्दा फरक अफर ल्याएको छ । गाडीको कुल मूल्यको ६० प्रतिशत रकममा चार वर्षका लागि शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराइएको छ । साथै ब्याट्रीमा आठ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी दिइएको छ । जुन पहिले १ लाख ६० हजार किलोमिटरमा सीमित थियो । ओमोडाको जेको जे- ५ नाइमा एक्स्पोमा ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन एसयुभी ‘जेको जे–५’ राखेको छ । यो प्रिमियम एसयुभी भेरियन्ट हो । कम्पनीका अनुसार जे–५ लाई एडभेन्चरस यात्राका लागि उपयुक्त हुने गरी रगेड डिजाइनमा तयार पारिएको छ । यसमा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), प्यानोरोमिक सनरुफ, ५४०–डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता सुविधा उपलब्ध छन् । यो एसयुभीमा १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । कम्पनीले एक पटकको फुल चार्जमा यसले ४०२ किलोमिटरको डब्लुएलटीपी प्रमाणित रेन्ज दिने दाबी गरेको छ। सुरक्षाका लागि जेको जे-५ मा लेभल २ एडास अन्तर्गतका विभिन्न फिचरहरू छन् । यसमा फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल र स्वचालित आपतकालीन ब्रेकिङ सहित १९ भन्दा बढी सुरक्षा प्रविधि रहेको जनाइएको छ । एक्स्पोको अवसरमा यो गाडी ग्राहकले ५६ लाख ९९ हजार रुपैयाँमै पाउनेछन् । यो गाडी ६० लाख ९९ हजार रुपैयाँको मूल्यमा सार्वजनिक भएको थियो । नाडा मोबिलिटी एक्स्पो नयाँ गाडीहरूको प्रदर्शनी मात्र नभएर ग्राहकका लागि उत्कृष्ट डिल र अफर प्राप्त गर्ने अवसर पनि बनेको छ । कम्पनीहरूबीचको यो प्रतिस्पर्धाले नेपाली अटोमोबाइल बजारलाई थप प्रतिस्पर्धी र ग्राहकमुखी बनाएको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा विद्युतीय गाडीको लहर, ५ लाखदेखि २० लाखसम्मको छुट
काठमाडौं । नेपाली अटोमोबाइल जगतको सबैभन्दा ठूलो मेला ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ राजधानीको भृकुटीमण्डपमा उत्साहका साथ सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले पहिलो पटक आयोजना गरेको यो एक्स्पोले स्पष्ट संकेत गरेको छ कि अब नेपाली अटो बजार पूर्ण रूपमा विद्युतीय गाडी (ईभी) तर्फ केन्द्रित भएको छ । एक्स्पोको पहिलो दिनमै बुधबार दुई दर्जनभन्दा बढी नयाँ मोडलका सवारीसाधन सार्वजनिक भएका छन् । एक्स्पोमा अधिकांश कम्पनीहरूले नयाँ विद्युतीय मोडलहरू सार्वजनिक गरेका छन् भने केहीले पेट्रोल र हाइब्रिड गाडीका नयाँ संस्करण पनि प्रदर्शन गरेका छन् । ग्राहकहरूलाई आकर्षित गर्न कम्पनीहरूले भारी छुटलगायतका विभिन्न स्किमहरू ल्याएका छन् । कुन ब्राण्डको के छ अफरहरू ? प्रोटोन शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले मलेसियन ब्रान्ड प्रोटोनलाई नेपाली बजारमा भित्राएको छ । चिनियाँ अटोमोबाइल ‘जीली’ सँगको सहकार्यमा निर्मित ‘प्रोटोन ई मास ७’ दुई भेरिएन्टमा सार्वजनिक गरिएको हो । जसमा प्राइम भेरिएन्ट र प्रिमियम भेरिएन्ट रहेका छन् । प्राइम भेरिएन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसमा ४९.५२ किलोवाट ब्याट्री र ३४५ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । प्रिमियम भेरिएन्टको मूल्य ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार यसमा ६०.२२ किलोवाटको ठूलो ब्याट्री र ४१० किलोमिटर रेन्ज दिन्छ । यसमा विश्वकै सबैभन्दा उन्नत मानिएको ‘सर्ट ब्लेड ब्याट्री’ प्रविधि प्रयोग गरिएको कम्पनीले जनाएको छ । एक्स्पो अफरअन्तर्गत ४० प्रतिशत डाउन पेमेन्टमा ४ वर्षसम्म शून्य प्रतिशत ब्याजदरको आकर्षक योजना ल्याइएको छ । साथै ८ वर्षको असीमित किलोमिटर वारेन्टीले ग्राहकलाई थप विश्वस्त पारेको छ । हुन्डाई लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको स्टलमा हालै सार्वजनिक भएको ‘क्रेटा ईभी’ लाई मुख्य आकर्षण बनाएको छ । तर सबैभन्दा ठूलो घोषणा भने नेपालमै एसेम्बल गरिएका गाडीहरूमा केन्द्रित छ । नेपालमा निर्मित गाडीमा कम्पनीले नवलपरासीको रामग्राममा रहेको एसेम्ब्ली प्लान्टमा बनेका भेन्यू र क्रेटा मोडलहरूमा १० वर्षको निःशुल्क सर्भिसिङको अफर दिएको छ । एक्स्पो अवधिभर गाडी बुकिङ गर्ने ग्राहकका लागि विशेष नगद छुट, एक वर्षको निःशुल्क बीमा, सडक करको सुविधा र लक्की ड्रमार्फत एक जनालाई भियतनाम भ्रमणको अवसर प्रदान गरिने कम्पनीले जनाएको छ । जीकर र निशान पायोनियर मोटर कर्पले आफ्नो प्रिमियम ईभी ‘जीकर एक्स’ को मूल्यमा भारी कटौती गरेको छ । ८५ लाख रुपैयाँ पर्ने यो गाडी नाइमा मोबिलिटी एक्स्पो र दशैंको लागि मात्र ७० लाख रुपैयाँमा उपलब्ध गराइएको छ । यो १५ लाखको छुट हो । यसैगरी, एसपीजी अटोमोबाइल्सले जापानिज ब्रान्ड निशानको चर्चित ईभी ‘लिफ’ अहिलेसम्मकै ठूलो छुट दिएको छ । ६५ लाख रुपैयाँ पर्ने यो गाडी एक्स्पो अवधिभर ४५ लाख रुपैयाँमा उपलब्ध गराएको छ । जुन २० लाख रुपैयाँ छुट हो । बीवाइडी चिनियाँ विद्युतीय गाडी बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकले मोबिलिटी एक्स्पोमा आफ्नो नयाँ र बहुप्रतीक्षित ह्याचब्याक ‘एटो वान’ (सिगल) सार्वजनिक गरेको छ । सानो र किफायती गाडी खोज्नेहरूका लागि यो उत्कृष्ट विकल्प बन्न सक्ने कम्पनीले दाबी गरेको छ । यसमा बस भेरिएन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । यसले २३० किमि रेन्ज दिने कम्पनीको दावी छ । यसैगरी, टप भेरिएन्टको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यसको रेन्ज ३०० किमि रहेको कम्पनीले जनाएको छ । फक्सवागन फक्सवागनले पावर र पर्फर्मेन्स रुचाउनेहरूका लागि १.५ लिटर टर्बो इन्जिनसहितको टाइगुन र भर्टुस जिटी सार्वजनिक गरेको छ । यसमा प्रयोग भएको ‘एसीटी टेक्नोलोजी’ ले कम स्पिडमा दुईवटा सिलिन्डर मात्र सक्रिय गराई इन्धन बचत गर्ने कम्पनीको दाबी छ । जसले १ हजार ५ सय सीसीको गाडीमा पनि १२–१३ किमि प्रतिलिटरको माइलेज दिन्छ । ग्रेट वाल मोटर्स जीएमडब्लुले आफ्नो प्रिमियम हाइब्रिड एसयूभी ‘ट्यांक ५००’ लाई मुख्य आकर्षण बनाएको छ । जसको मूल्य २ करोड १५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । साथै विद्युतीय गाडी ‘ओरा ०३’ मा विशेष अफर अन्तर्गत ३९ लाख ९९ रुपैयाँमा उपलब्ध गराइएको छ । जसमा ७ किलोवाटको चार्जर र एक वर्षको बीमा निःशुल्क छ । म्याक्सस प्रिमियम र लग्जरी एमपीभी खोज्नेहरूका लागि म्याक्ससले ‘मिफा ७’ सार्वजनिक गरेको छ । यसको मूल्य १ करोड २५ लाख तोकिएको छ भने एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूलाई २० लाख रुपैयाँ र ई–टेरोन पिकअप बुक गर्नेलाई ५ लाख रुपैयाँ नगद छुट लगायत अन्य विशेष अफरहरू दिएको छ । सात सिट क्षमता भएको यो लक्जरी एमपीभीलाई म्याक्ससको नेपालका लागि आधिकारिक वितरक हिमालय मोट्रक्सले भित्र्याएको हो । एमजी एमजीले आफ्नो नयाँ गाडी ‘आईएम ६’ प्रदर्शनमा राखेको छ । जसको रेन्ज ४५० किलोमिटर छ । यसको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ । साथै कमेट, एमजी ४ र जेडएस ईभीजस्ता मोडेलमा पनि आकर्षक अफरहरू छन् । चेरी (ओमोडा/जेको) चेरीले आफ्नो नयाँ मोडल जेको जे ५ लाई एक्स्पोमा ५६ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य दिएको छ । यो गाडी ६० लाख ९९ हजार रुपैयाँको मूल्यमा सार्वजनिक गरेको थियो । हेनरी बोल्ट्स एक्स्पोमा यो ब्रान्डले आफ्नो नयाँ मोडेल सी प्रो सार्वजनिक गरेको छ । जसमा १ लाख ५० हजार रुपैयाँ छुट छ भने पुरानो मोडेल एचमा २ लाख ५० हजार रुपैयाँको छुट दिइएको छ । फोर्थिङ लक्ष्मी इ-मोबिलिटीले नयाँ ब्रान्ड फोर्थिङको ‘फ्राइडे ईभी’ सार्वजनिक गरेको छ । जसको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो गाडी आजै सार्वजनिक गरिएको हो । सनलङ ब्लू कर्पोरेशन प्रालिले सनलङको १२ र १३ सिटे माइक्रोभ्यान एक्स्पोमा सार्वजनिक गरेको छ । सनलङले दुईवटा माइक्रो ईभी भ्यान यु वान ४७ लाख ४७ हजार रुपैयाँ र यु २ ५१ लाख ५१ हजार रुपैयाँमा विशेष स्किमहरू ल्याएको छ । कामा कामाले आफ्ना ईभी ट्रक र भ्यानमा १० हजारदेखि ५० हजारसम्मको नगद छुट, २ लाखको मूल्य कटौती र एक वर्षको बीमा तथा सडक करको सुविधा दिएको छ । यो गाडीको आधिकारिक वितरक त्रिवेणी ग्रुप हो । लिपमोटर यो ब्रान्डले सी १०, बी १० र टी ०३ जस्ता मोडलहरू प्रदर्शनमा राखेको छ । सी १० को मूल्य ६४ लाख ९९ हजार रुपैयाँ र टी ०३ को मूल्य २७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स हो । क्यारी लक्ष्मी ग्रुप अन्तर्गतको यो ब्रान्डले आफ्ना १५ र १६ सिटे ईभी भ्यानहरू केभिन १ र केभिन २ लाई क्रमशः ५८ लाख ५६ हजाररुपैयाँ र ६३ लाख ६ हजार रुपैयाँको मूल्यमा सार्वजनिक गरेको छ । टोयोटा टोयोटाले ‘यारिस क्रस हाइब्रिड’ र भर्खरै सार्वजनिक गरेको ‘प्राडो एलसी २५०’ लाई मुख्य आकर्षण बनाएको छ । हाइब्रिड गाडीमा ८ लाखसम्म र प्राडोमा ११ लाखसम्मको छुट प्रदान गरिएको युनाइटेड ट्रेडर्स सिन्डिकेटले जनाएको छ । मित्सुबिसी मित्सुबिसीले आफ्ना पजेरो स्पोर्ट, एक्लिप्स क्रस र आउटल्यान्डर जस्ता गाडीहरूमा भारी छुटको व्यवस्था गरेको छ । तर कुनमा कति अफर भनेर खुलाएको छैन । लियोन मोटर्स नेपालका लागि आधिकारिक वितरक हो। केइ यस्तै विद्युतीय गाडी केइले पनि नाइमा मोबिलिटी एक्स्पो अवधिभर ९ लाखसम्मको छुट दिएको छ ।
१४ देखि १९ सिटरको बहुपयोगी व्यावसायिक ईभी नाइमा मोबिलिटी एक्स्पोमा प्रदर्शन
काठमाडौं । शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले विद्युतीय सवारीसाधन (ईभी) क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गर्दै व्यावसायिक विद्युतीय सवारीसाधनहरू पनि उपलब्ध गराउन थालेको छ । अब यसले फारिजन, चेरी वान्डा र किङ लङजस्ता प्रसिद्ध ब्रान्डहरूअन्तर्गत १४ देखि १९ सिटर क्षमताका विद्युतीय भ्यानहरू बजारमा ल्याएको छ । नेपाल हाल संसारमै सबैभन्दा तीव्र गतिमा ईभी अपनाउने देश बनेको छ र निजी सवारी पछिपछि अहिले व्यावसायिक विद्युतीय सवारीहरूमा पनि तीव्र वृद्धि देखिएको छ । फारिजन १९ सिटर ईभी भ्यानको मूल्य ७६ लाख ९० हजार रुपैयाँदेखि सुरु छ । शंकर समूहको जगदम्बा मोटर्सले चीनको जीली अन्तर्गतको ब्रान्ड फारिजनको ईभी ल्याएको हो । यो गाडी लामो दूरी, उकालो बाटो र उच्च भारका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ । गाडी युरोपेली युनियन डब्ल्यूभीटीए प्रमाणित रहेको छ । यसमा १७० किलोवाट इलेक्ट्रिक मोटर रहेको छ जसले शक्तिशाली प्रदर्शन गर्ने कम्पनीले दावी गरेको छ । यसैगरी गाडीमा ८२.८८ किलोवाट लिथियम ब्याट्री रहेको छ । चेरी वान्डा १४ सिटर माइक्रोबसको मूल्य ५६ लाख ५० हजार रुपैयाँ रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम रहेको छ भने ब्याट्री ५३.५८ किलोवाटको रहेको छ । यसले फूल चार्जमा ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ । गाडीको ब्याट्रीमा ५ वर्ष वा ३ लाख किमी वारेन्टी रहेको छ भने मोटरमा ५ वर्ष वा २ लाख किमी वारेन्टी दिइएको छ । यो माइक्रोबस चिनियाँ शीर्ष ब्रान्डहरू चेरी र वान्डाको संयोजनमा बनेको हो र दैनिक सहरभित्रको ओसारपसार तथा व्यावसायिक प्रयोजनका लागि उत्कृष्ट विकल्प हो ।
नाइमा मोबिलिटी एक्स्पोमा राखिएका आकर्षक गाडी (फोटो-फिचर)
काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी, ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित यस एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे । एक्स्पोमा बीवाईडी, एमजी, हुन्डाई, महिन्द्रा, लिपमोटर, एलएस अटो, टोयोटा, स्काईवर्थ, मित्सुबिसी, निसान लगायतका ५० भन्दा बढी अटोमोटिभ ब्रान्डहरूको सहभागिता रहेको छ भने ३५ भन्दा बढी नयाँ सवारीसाधनहरू सार्वजनिक गरिँदैछ । एक्स्पोमा ‘मोबिलिटी : हिजो, आज, भोलि’, ‘वर्कफोर्स डेभलपमेन्ट,’ र ‘सेफ मोबिलिटी’ जस्ता विषयहरूमा गहन प्यानल छलफलहरू पनि आयोजना गरिनेछ । नाइमाले सामाजिक उत्तरदायित्व अन्तर्गत एक्स्पोको टिकट बिक्रीबाट उठेको रकमको ५ प्रतिशत हिस्सा शिक्षा मन्त्रालय र सीटीईभीटीसँगको सहकार्यमा मोबिलिटी क्षेत्रका लागि छात्रवृत्ति र अनुसन्धानमा खर्च गर्ने घोषणा पनि गरेको छ। यो एक्स्पो केवल सवारीसाधनहरूको प्रदर्शनी मात्र नभई नेपालको समग्र मोबिलिटी क्षेत्रको भविष्य, चुनौती र अवसरहरूबारे विमर्श गर्ने एक महत्त्वपूर्ण मञ्च बनेको छ । तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज
नाइमा मोबिलिटी एक्स्पोमा बीवाईडी सिगल सार्वजनिक, मूल्य २८.९५ लाखदेखि सुरु
काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले नयाँ इलेक्ट्रिक ह्याचब्याक 'बीवाईडी सिगल' सार्वजनिक गरेको छ । नाइमा मोबिलिटी एक्स्पोमा कम्पनीले उक्त गाडी सार्वजनिक गर्दै यसको सुरुवाती मूल्य २८.९५ लाख रुपैयाँ तोकेको छ । साइमेक्सका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, सीईओ साजन श्रेष्ठ र ब्राण्ड एम्बेसडर हरिवंश आचार्यले संयुक्त रूपमा गाडीको अनावरण गरे । बीवाईडी सिगल दुई भेरियन्टमा उपलब्ध छस् डाइनामिक र प्रिमियम। डाइनामिक भेरियन्टले एक पटकको फुल चार्जमा २३० किलोमिटर र प्रिमियम भेरियन्टले ३०० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। नवीनतम डिजाइन, आकर्षक मूल्य र दिगोपनलाई एकसाथ समेटेको बीवाईडी सिगलले नेपाली शहरी क्षेत्रका ग्राहकहरूलाई विशेष लक्षित गरेको छ। अन्तर्राष्ट्रिय बजारमा यो गाडीले 'वर्ल्ड कार अवार्ड' जस्ता प्रतिष्ठित पुरस्कार जित्नुका साथै १ मिलियनभन्दा बढी युनिट बिक्री भइसकेको जानकारी कार्यक्रममा दिइएको थियो । कार्यक्रममा बोल्दै ब्राण्ड एम्बेसडर तथा वरिष्ठ कलाकार हरिवंश आचार्यले आफूले साढे दुई वर्षदेखि बीवाईडीको गाडी प्रयोग गरिरहेको र अहिलेसम्म कुनै समस्या नआएको बताए । उनले भने, 'मैले यो गाडीलाई कठिन ठाउँहरूमा पनि लगेको छु, तर यसको प्रदर्शन र विश्वसनीयताले मलाई कहिल्यै निराश पारेन । बीवाईडी फ्याक्ट्रीको भ्रमणपछि म यसको प्रविधि र गुणस्तरप्रति झनै विश्वस्त भएको छु ।' त्यस्तै, कार्यक्रममा उपस्थित अर्का व्यक्तित्व सुदिप गिरीले आफू लामो समयदेखि इलेक्ट्रिक गाडीको प्रयोगकर्ता भएको र बीवाईडीको प्रविधिप्रति विश्वस्त भएर नै यो ब्राण्ड रोजेको बताए । यस्तै, अश्मी श्रेष्ठले बीवाईडी चीनमा नम्बर एक ब्राण्ड भएको र यसको उत्पादन प्रक्रिया र गुणस्तर अन्तर्राष्ट्रिय स्तरको रहेको आफ्नो अनुभव सुनाइन् । उनले भनिन्, 'बीवाईडीले हरेक मूल्य श्रेणीका लागि गाडी उपलब्ध गराएको छ र सिगलको आगमनले ग्राहकलाई थप विकल्प दिएको छ । म सबैलाई ढुक्क भएर बीवाईडी खरिद गर्न आग्रह गर्दछु ।' आकर्षक मूल्य र उत्कृष्ट फिचरहरूका साथ सार्वजनिक भएको बीवाईडी सिगलले नेपाली इलेक्ट्रिक गाडी बजारमा नयाँ तरंग ल्याउने कम्पनीको विश्वास छ।
फोर्थिङ ‘फ्राइडे’ ईभी नेपालमा सार्वजनिक, नाइमा मोबिलिटी एक्स्पोमा विशेष छुट
काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ इलेक्ट्रिक एसयूभी फोर्थिङ ‘फ्राइडे’ बुधबारबाट औपचारिक रूपमा सार्वजनिक भएको छ । डङफेङ ग्रुप अन्तर्गतको यस गाडीलाई नाइमा मोबिलिटी एक्स्पोको अवसर पारेर विशेष लन्चिङ अफरसहित बजारमा ल्याइएको हो । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा सबैभन्दा ठूलो र फराकिलो मानिएको यो गाडीलाई 'बिगर एसयूभी'को रूपमा पनि हेरिएको छ । सन् २००१ देखि नै स्थापित र विश्व बजारमा आफ्नो पहिचान बनाइसकेको फोर्थिङ ब्रान्डको फ्राइडे मोडल अब नेपाली ग्राहकका लागि पनि उपलब्ध भएको हो । फोर्थिङ फ्राइडेले आफूलाई एक लक्जरियस एसयूभीको रूपमा प्रस्तुत गरेको छ । यसमा प्रिमियम फिचरहरू रहेका छन् । यो गाडी नेपालमा उपलब्ध अन्य ईभीहरूमध्ये सबैभन्दा ठूलो ब्याट्री प्याक भएकोमध्ये एक हो । यसमा ६४ किलोवाट आवरको ब्याट्री छ, जसले एक पटकको पूर्ण चार्जमा ४०० किलोमिटरभन्दा बढीको रेन्ज दिने कम्पनीले जनाएको छ । फोर्थिङ फ्राइडे विशेषगरी सहरी र राजमार्गका लागि उपयुक्त भए पनि सामान्य अफरोडका लागि पनि सक्षम रहेको बताइएको छ । यो फोर-ह्विल ड्राइभ नभए पनि नेपालका मध्यम स्तरका कच्ची बाटोहरूमा पनि सहजै चल्न सक्ने कम्पनीको दावी छ । नाइमा मोबिलिटी एक्स्पोको अवसरमा कम्पनीले यस गाडीमा विशेष छुटको घोषणा गरेको छ । सुरुवाती मूल्यबाट ४ लाख रुपैयाँ घटाएर यसको स्टार्टिङ भेरिएन्ट ४८ लाख ९६ हजार रुपैयाँमा उपलब्ध गराइएको छ । यो अफर केवल मोबिलिटी एक्स्पो अवधिभरका लागि मात्र लागू हुनेछ ।
नाइमा मोबिलिटी एक्स्पोमा अर्थमन्त्रीले गरे आधुनिक प्रदर्शनी हल निर्माणको घोषणा
काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी, 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५', बुधबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित यस एक्स्पोको उद्घाटन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरे । उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएको नीतिगत स्थायित्वको मागलाई सरकारले गम्भीरतापूर्वक लिएको र आगामी दिनमा अनावश्यक नीतिगत फेरबदल नगरिने प्रतिबद्धता व्यक्त गरे । समारोहमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रको मागलाई सम्बोधन गर्दै भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रदर्शनी हल निर्माण गर्ने घोषणा गरे । उनले भने, 'यो केवल बजेटमा बोलिएको विषय मात्र होइन, यो कार्यान्वयन हुने विषय हो । ढिलोमा पनि तीन वर्षभित्र भृकुटीमण्डपमा आधुनिक प्रदर्शनी हल निर्माण भइसक्नेछ, जसले निजी क्षेत्रले भोग्दै आएको झन्झटको अन्त्य गर्नेछ ।' उनले सरकार पूर्वाधार विकास, विशेषगरी गुणस्तरीय सडक सञ्जाल विस्तारमा उच्च प्राथमिकताका साथ लागेको बताए । पूर्व-पश्चिम राजमार्गको स्तरोन्नति, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग र उत्तर(दक्षिण करिडोर निर्माणका कामहरू तीव्र गतिमा अघि बढाइएको जानकारी दिए । अर्थमन्त्रीले हालैको बजेट निजी क्षेत्रसँगको बृहत छलफलपछि ल्याइएको र यसले लगानीको वातावरण बनाउन तथा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नमा केन्द्रित रहेको स्पष्ट पारे । 'यो बजेट अर्थमन्त्रीले बनाएको होइन, यो हामी सबैले बनाएको बजेट हो भन्ने अनुभूति निजी क्षेत्रले गरोस् भन्ने हाम्रो चाहना थियो,' उनले भने । नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले स्वागत मन्तव्य राख्दै अटोमोबाइल क्षेत्रले नेपालको अर्थतन्त्र र रोजगारीमा पुर्याएको महत्वपूर्ण योगदानबारे प्रकाश पारिन् । उनका अनुसार यस क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा १२ लाखभन्दा बढीलाई रोजगारी दिएको छ र कुल गार्हस्थ्य उत्पादनमा ७.१३ प्रतिशत योगदान पुर्याएको छ । अध्यक्ष वैद्यले भनिन्, 'अटोमोबाइल क्षेत्रले बारम्बार नीतिगत अस्थिरताको सामना गर्नु परेको छ, जसले लगानीको वातावरणलाई असर गरेको छ। हामी सरकारसँग नीतिगत स्थायित्वको लागि जोडदार माग गर्दछौं ।' उनले भृकुटीमण्डपमा आधुनिक प्रदर्शनी हलको आवश्यकता औंल्याउँदै यसका लागि सरकारसँग आग्रह गरेकी थिइन् । अध्यक्ष वैद्यले नाइमा केवल एउटा संस्था मात्र नभएर एक 'मुभमेन्ट' भएको र यसले नेपालको मोबिलिटी इकोसिस्टमलाई बलियो बनाउने लक्ष्य राखेको बताइन् । एक्स्पोमा ५० भन्दा बढी अटोमोटिभ ब्रान्डहरूको सहभागिता रहेको छ भने ३५ भन्दा बढी नयाँ सवारीसाधनहरू सार्वजनिक गरिँदैछ । एक्स्पोमा 'मोबिलिटी : हिजो, आज, भोलि', 'वर्कफोर्स डेभलपमेन्ट,' र 'सेफ मोबिलिटी' जस्ता विषयहरूमा गहन प्यानल छलफलहरू पनि आयोजना गरिनेछ । नाइमाले सामाजिक उत्तरदायित्व अन्तर्गत एक्स्पोको टिकट बिक्रीबाट उठेको रकमको ५ प्रतिशत हिस्सा शिक्षा मन्त्रालय र सीटीईभीटीसँगको सहकार्यमा मोबिलिटी क्षेत्रका लागि छात्रवृत्ति र अनुसन्धानमा खर्च गर्ने घोषणा पनि गरेको छ। यो एक्स्पो केवल सवारीसाधनहरूको प्रदर्शनी मात्र नभई नेपालको समग्र मोबिलिटी क्षेत्रको भविष्य, चुनौती र अवसरहरूबारे विमर्श गर्ने एक महत्वपूर्ण मञ्च बनेको छ । सरकारको सकारात्मक प्रतिबद्धता र निजी क्षेत्रको उत्साहले आगामी दिनमा यो क्षेत्रले थप गति लिने अपेक्षा गरिएको छ ।
नाइमा मोबिलिटी एक्स्पोमा प्रोटोन ईमास ७ को प्रदर्शनी, जगदम्बा मोटर्सले दियो आकर्षक अफर
काठमाडौं । जगदम्बा मोटर्सले 'नाइमा मोबिलिटी एक्स्पो २०२५' मा प्रोटोन ईमास ७ को प्रदर्शनी गरिरहेको छ । प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले कार्यक्रममा अफरको घोषणा गर्दै देशभर सेवा सञ्जाल विस्तार गर्ने योजना पनि सार्वजनिक गरेको छ । यसअघि मलेसियामा आफ्नो सेग्मेन्टमा नम्बर १ ईभीको मान्यता पाएको प्रोटोन ईमास ७ यस वर्षको सुरुवातमा नेपालमा निर्यात भएर इतिहास रचेको थियो । सन् २०१८ देखि प्रोटोनको आधिकारिक वितरकका रूपमा कार्यरत जगदम्बा मोटर्सले २०२५ भित्रै देशभर १२ वटा सोरूम तथा सेवा केन्द्र विस्तार गर्ने लक्ष्य लिएको छ, जसअन्तर्गत हाल ३ वटा सोरूम सञ्चालनमा छन् । शंकर ग्रुपमार्फत विकसित इभी इकोसिस्टम अन्तर्गत ग्राहकका लागि प्रामाणिक स्पेयर पार्ट्स, आधुनिक डाइग्नोस्टिक उपकरण, प्रमाणित प्राविधिक, चार्जिङ स्टेसन र सरल वारन्टी प्रक्रिया उपलब्ध गराइनेछ। यी सबै सेवाले ग्राहक आवश्यकताको सम्पूर्ण सम्बोधन गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । नाइमा एक्स्पोमा घोषणा गरिएका प्रमुख अफरहरू ०.५ प्रतिशत ब्याजदरमा ४ वर्षको फाइनान्सिङ योजना, जसमा ६० मिनेटभित्र ऋण स्वीकृति ८ वर्षको अनलिमिटेड माइलिज ब्याट्री वारन्टी २.९९ लाख रुपैयाँको नगद छुट, साथै थप लाभहरू पुरानो गाडीमा उच्चतम मूल्यांकनसहित एक्सचेन्ज अफर निःशुल्क अटो प्लस बीमा 'इमास असिस्टेन्ट प्लस' सेवा, जसमा प्रिमियम रोडसाइड सहायता र ह्वाट्सएप ग्राहक सहायता सुविधा