गगनको ‘मिसन एकता’
काठमाडौं । नेपाली कांग्रेसभित्र जारी आन्तरिक द्वन्द्वको समाधानका लागि नयाँ पहल सुरु भएको छ । गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापति निर्वाचित भए पनि त्यसलाई लिएर देखिएको गुटगत विवाद अझै साम्य हुन सकेको छैन । विशेष महाधिवेशनको वैधानिकता सर्वोच्च अदालतले समेत पुष्टि गरिसकेको अवस्थामा पार्टीभित्रको असन्तुष्टि भने यथावत रहँदै आएको छ । विवाद समाधानको जिम्मेवारी केन्द्रीय समितिले सभापति थापालाई सुम्पिएपछि उनले आइसब्रेक रणनीतिसहित असन्तुष्ट पक्षसँग संवाद तीव्र पारेको पार्टीका सहमहामन्त्री प्रकाश स्नेहीले जानकारी दिए । शीर्ष नेतृत्वबीच संवाद तीव्र यसक्रममा थापाले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र वरिष्ठ नेता शेखर कोइरालासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । यी दुवै नेता विशेष महाधिवेशनको विपक्षमा उभिएको समूहका प्रमुख अनुहारसमेत हुन् । सभापति थापा र खड्काबीचको यो दोस्रो चरणको वार्ता भएको सभापति निकट सहमहामन्त्री स्नेहीले जानकारी दिए । यसअघि भएको पहिलो भेटपछि खड्काले आफ्ना समूहका नेताहरूलाई ब्रिफिङ गर्दै पार्टी गम्भीर विभाजनको अवस्थातर्फ उन्मुख भएको संकेत गरेका थिए । उनले आधा कांग्रेस नेतृत्वसँग र आधा बाहिर रहेको अवस्थाले पार्टी गुट–उपगुटमा विभाजित भएको निष्कर्स सुनाउँदै नेतृत्वलाई सचेत गराएका थिए । समग्र एकताको अडान खड्काले पार्टी एकता कायम गर्न आफूहरू तयार रहेको स्पष्ट पार्दै नेतृत्वले ठोस राजनीतिक रोडम्याप ल्याउनुपर्ने अडान दोहोर्याएका छन् । ‘टुक्राटुक्रा एकताले होइन, समग्र एकताले मात्रै पार्टी जोगिन्छ’ भन्ने सन्देश उनले सभापति थापासमक्ष राखेको खड्का निकट एक नेताले बताए । यसैबीच शेखर कोइराला समूहले पनि नेतृत्व संरचना, निर्णय प्रक्रियामा समावेशिता र महाधिवेशनपछि बनेका संरचनाको पुनरावलोकन जस्ता मुद्दा अघि सारेको नेता डा. गोविन्द पोखरेलले बताए । पार्टीभित्रको पछिल्लो संवादले कांग्रेस अब निर्णायक मोडमा पुगेको संकेत गरेको नेता पोखरेलले बताए । एकातिर अदालतबाट वैधानिकता पाइसकेको नेतृत्व, अर्कोतर्फ असन्तुष्ट शक्तिशाली समूह यी दुईबीच सन्तुलन मिलाउनु सभापति थापाका लागि सबैभन्दा ठूलो राजनीतिक परीक्षा बन्ने देखिएको उनको भनाइ छ । राजनीतिक विश्लेषक परसुराम घिमिरेका अनुसार अबको केही साताभित्र सभापति थापाले प्रस्तुत गर्ने एकता प्रस्तावले पार्टीको भावी दिशा तय गर्नेछ । ‘एकीकृत कांग्रेस कि औपचारिक विभाजन दुवै सम्भावना खुला छन् र त्यसको केन्द्रमा थापाको रणनीति रहनेछ,’ उनले भने । उपसभापतिको सक्रियता यसबीचमा उपसभापति विश्वप्रकाश शर्माको सक्रियता पनि बढ्दै गएको छ । उनी विभिन्न समूहबीच पुलको भूमिका खेल्ने प्रयासमा देखिएको शर्मा निकट एक नेताले बताए । । शर्मा निकट स्रोतका अनुसार संवाद प्रक्रियाले गति लिएको भए पनि ठोस सहमतिको आधार अझै तयार भइसकेको छैन । नेपाली कांग्रेसभित्रको वर्तमान विवाद केवल नेतृत्व चयनसँग मात्र सीमित नभएकोले सामान्य उपचारवाट कांग्रेसलाई निको नहुने घिमिरेको बुझाइ रहेको छ । यो विवाद पार्टीभित्रको दीर्घकालीन गुटगत राजनीति, नेतृत्व हस्तान्तरणको ढाँचा, र भावी रणनीतिसँग समेत जोडिएको घिमिरेले बताए । विशेष महाधिवेशनमार्फत आएको नेतृत्वलाई संस्थागत गर्ने प्रयास र पुरानो शक्ति संरचनाबीचको टकराव अहिलेको मुख्य समस्या बनेको विश्लेषण उनको छ । घिमिरेका अनुसार राजनीतिक वृत्तमा अहिले तीन सम्भावित परिदृश्य देखिएका छन् । पूर्ण एकता पहिलो परिदृष्य हो । सबै समूह समेट्ने साझा नेतृत्व र संरचना तयार पार्दा कांग्रेस, गगन र लोकतन्त्रलाई फाइदा हुने घिमिरेको ठहर छ । आंशिक सहमति गरेर नियमित महाधिवेशनमा जाने त्यतिखेरसम्म केही विषयमा सहमति गर्ने र शक्ति बाँडफाँटमा असन्तुष्टि जारी राखेर पनि तत्कालको अप्ठ्यारो टार्न सकिन्छ घिमिरेले बताए । तेस्रो परिदृष्य औपचारिक विभाजन र असन्तुष्ट समूह अलग्गिने वा समानान्तर संरचना बनाउने पनि हुन सक्ने घिमिरेले बताए । यीमध्ये कुन दिशा रोज्ने भन्ने कुरा अब सभापति थापाले अघि सार्ने प्रस्ताव र त्यसप्रति असन्तुष्ट पक्षको प्रतिक्रियामा निर्भर रहने उनले बताए । हालको अवस्थामा संवादको सुरुवात सकारात्मक संकेत भए पनि दीर्घकालीन समाधानका लागि स्पष्ट राजनीतिक समझदारी, विश्वास निर्माण र शक्ति बाँडफाँटको पारदर्शी ढाँचा आवश्यक देखिएको कांग्रेसका युवा नेता रविन्द्र घिमिरेले जानकारी दिए ।
नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ । समितिका सचिव दिनेश थापामगरले दिएको जानकारीअनुसार पार्टीको केन्द्रीय अनुशासन समितिको बैठक २०८३ वैशाख ७ गते सोमबार दिउँसो ३ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर ललितपुरमा बस्ने भएको छ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन नेपाली कांग्रेसको माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको बढ्दो मूल्य नियन्त्रण गरी उपभोक्तालाई राहत दिन सरकारसँग माग गरेको छ । पार्टी सभापति गगन कुमार थापाको अध्यक्षतामा बसेको कार्यसम्पादन समितिको बैठकले मूल्य वृद्धिका कारण जनजीवन कष्टकर बनेको ठहर गर्दै तत्काल सरकारी हस्तक्षेपको आवश्यकता औंल्याएको हो । कांग्रेस प्रवक्ता देबराज घिमिरेद्वारा जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा त्यसको प्रत्यक्ष मार नेपाली भान्सा, व्यवसाय, कृषि र पर्यटन क्षेत्रमा परेको उल्लेख गरिएको छ । कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै स्वतः वृद्धि भएको मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिई उपभोक्तालाई फिर्ता गर्ने व्यवस्था मिलाउन माग गरिएको छ । हाल पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार विकास कर औचित्यहीन भइसकेकाले त्यसलाई पूर्ण रूपमा हटाउन कांग्रेसले सरकारलाई आग्रह गरेको छ । निश्चित अवधिका लागि भन्सार, सडक मर्मत दस्तुर, प्रदूषण नियन्त्रण शुल्क र हरित कर जस्ता अतिरिक्त भारहरू हटाउन वा घटाउन माग गरिएको छ । बढ्दो महँगी र यातायात खर्चबाट प्रभावित विद्यार्थीहरूका लागि विशेष सहुलियत कार्यक्रम ल्याउन कांग्रेसले जोड दिएको छ । कांग्रेसले हालको कर संरचनाका कारण नेपाल आयल निगमले महँगोमा इन्धन किनेर सस्तोमा बेच्नुपर्ने विरोधाभासपूर्ण अवस्था सिर्जना भएको जनाएको छ । स्पष्ट कर सहुलियत नीति नहुँदा निगम र उपभोक्ता दुवै मारमा परेको कांग्रेसको ठहर छ । ‘पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढ्दा समग्र उत्पादन र आपूर्ति शृङ्खलामा असर परेको छ, ’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले आफ्नो कर प्रणालीमा लचकता अपनाएर नागरिकलाई महँगीबाट जोगाउनु पर्छ । ’
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत १० गते बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत १० गते मंगलबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा बस्ने जानकारी दिइएको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूको उपस्थिति अनिवार्य गरिएको छ । बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक सुदृढीकरण तथा आगामी रणनीतिबारे छलफल हुने जनाइएको छ ।
नेपाली कांग्रेसको सभापतिबाट गगन थापाले दिए राजीनामा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं-४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही-४ बाट उम्मेदवार बनेका थिए । सो क्षेत्रमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले पराजित गरेका हुन् । चुनावी परिणामअनुसार रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दा दोस्रो स्थानमा रहेको कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिट मात्र प्राप्त गरेको छ । निर्वाचन परिणामपछि नै राजीनामाको तयारीमा रहेका थापालाई पार्टीभित्रका विभिन्न तहका नेताहरूले राजीनामा नदिन सुझाव तथा दबाब दिएका थिए । थापा निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति निर्वाचित भएका थिए । उनले दिएको राजीनामाबारे पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ । बैठक शुक्रबारका लागि बोलाइएको छ ।
बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी विजयी
काठमाडौं । बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार उनी १७ हजार १७३ मत पाउँदै विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत पाए । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हेमराज थापाले ६ हजार ३५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रकाश शाहले तीन ४२८ मत पाए ।
तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी
तेह्रथुम । प्रतिनिधिसभा सदस्यको निर्वानमा तेह्रथुमबाट नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् । सुब्बाले ११ हजार ५६१ मत प्राप्त गर्दै विजयी हासिल गरेको मुख्य निर्वाचन अधिकृत दीलकुमार वर्देवाले जानकारी दिए । उनका अनुसार निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भानुभक्त ढकाललाई ८७९ मतान्तरले पछि पार्दै सुब्बा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । एमालेका केन्द्रीय सचिव ढकालले १० हजार ६८२ मत प्राप्त गरे । प्रतिनिधिसभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको तेह्रथुममा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र कार्कीले ७ हजार ७३७ र श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बूले ५ हजार २०० मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसले साम्बालाई गर्यो ५ लाख सहयोग
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ । यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट तथा एमसीएलमा गम्भीर चोटका कारण हाल साम्बा जटिल शल्यक्रियाको तयारीमा रहेकी छन् । कांग्रेसले विज्ञप्ति जारी गर्दै साम्बाको उपचारमा सहयोग पुर्याउनु सबैको कर्तव्य रहेको बताएको छ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघका अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खाता नं. ३४४०१०१०००११३७ मा पाँच लाख रुपैयाँ जम्मा गरिसकेको जानकारी दिए। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पनि साम्बालाई सबैले साथ दिन जरुरी रहेको बताएका छन् । नेपाली कांग्रेसले खेलकुदलाई मनोरञ्जनबाट माथि उठाई ‘राष्ट्रिय पहिचान’ र ‘राष्ट्र निर्माणमा युवा सहभागिता’ को मेरुदण्ड बनाउनु पर्ने पनि बताएको छ ।
नेपाली कांग्रेसको प्रतीज्ञा पत्र सर्वसम्मत पारित, आज जनकपुरधामबाट सार्वजनिक हुने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तयार पारिएको पार्टीको प्रतीज्ञा पत्र सर्वसम्मत रूपमा पारित गरेको छ । भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमितिको बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि तयार पारिएको उक्त प्रतीज्ञा पत्र अनुमोदन गरेको हो । पारित प्रतीज्ञा पत्र बुधबार (आज) मधेस प्रदेशको ऐतिहासिक तथा सांस्कृतिक नगरी जनकपुरधाममा आयोजना हुने विशेष सभामार्फत सार्वजनिक गरिने पार्टीले जनाएको छ । कांग्रेसले मधेसबाटै चुनावी अभियानलाई औपचारिक गति दिन खोजेको देखिएको छ । प्रतीज्ञा सभा कार्यक्रममा पार्टीका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका शीर्ष नेताहरूको सम्बोधन रहनेछ । उनीहरूले प्रतिज्ञा पत्रका मुख्य प्रतिबद्धता, सुशासन, आर्थिक सुधार, रोजगारी सिर्जना, संघीयताको सुदृढीकरण तथा समावेशी लोकतन्त्रका एजेन्डाबारे धारणा राख्ने कार्यक्रम छ । कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार जनकपुरधाममा आयोजना हुने यो सभा केवल चुनावी औपचारिकता नभई मधेसको स्वाभिमान, सामाजिक सद्भाव, पहिचान र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरका रूपमा लिइएको छ । मधेस आन्दोलनपछिको राजनीतिक सन्दर्भलाई ध्यानमा राख्दै कांग्रेसले मधेसमा आफ्नो उपस्थितिलाई अझ सशक्त बनाउने रणनीति अघि सारेको बुझिएको छ । पार्टी स्रोतका अनुसार प्रतिज्ञा पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्यमा सुधार, कृषि आधुनिकीकरण, युवा रोजगारी तथा आर्थिक वृद्धिदर उकास्ने कार्यक्रमहरूलाई प्राथमिकता दिइएको छ । आगामी निर्वाचनलाई निर्णायक मोडका रूपमा लिँदै कांग्रेसले प्रतिज्ञा पत्रमार्फत मतदातासँग प्रत्यक्ष प्रतिबद्धता जनाउन खोजेको जनाएको छ । जनकपुरबाट सुरु हुने यो अभियानले तराई–मधेस क्षेत्रमा चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने राजनीतिक विश्लेषकहरूको आंकलन छ ।
सर्लाहीका चार वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश, लोसपाका ३ केन्द्रीय सदस्यसहित ५०० जना भोलि प्रवेश गर्ने
काठमाडौं । सर्लाही जिल्लाको गोडैता नगरपालिकाका चार जना वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गोडैता नगरपालिका वडा नम्बर १ का अध्यक्ष सुजित महतो, वडा नम्बर २ का अध्यक्ष अजयप्रसाद शाह, वडा नम्बर ५ का अध्यक्ष प्रकाश गुप्ता र वडा नम्बर ११ का अध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गरेको कांग्रेस नेता रघु कार्कीले जानकारी दिए । कांग्रेस सभापति गगनकुमार थापाले उनीहरूलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरे । सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन् । कार्कीका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका ३ केन्द्रीय सदस्यसहित ५०० नेता कार्यकर्ता भोलि (बिहीवार) पार्टी प्रवेश गर्दैछन् । गत स्थानीय तह निर्वाचनमा वडा नम्बर १ र २ का अध्यक्ष नेकपाबाट निर्वाचित भएका थिए भने वडा नम्बर ५ का अध्यक्ष जनता समाजवादी पार्टी र वडा नम्बर ११ का अध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका थिए । फरक–फरक दलबाट निर्वाचित वडाध्यक्षहरू एकैसाथ कांग्रेस प्रवेश गरेपछि सर्लाहीको स्थानीय राजनीति थप रोचक बनेको कार्कीले जानकारी दिए ।
अझै सुरु भएन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति अझै सुरु हुन सकेको छैन । पार्टी केन्द्रीय कार्यालय, सानेपामा आज अपरान्ह १ बजे बस्ने भनिएको बैठक बस्न नसकेको हो । विशेष महाधिवेशनपछि पहिलोपटक सानेपामा बैठक बस्न लागेको हो । ‘बैठक अबको केही समयपछि बस्ने तयारी भइरहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । आजको बैठकमा विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूका साथै सातै प्रदेशका कार्यसमिति सभापतिहरूलाई पनि सहभागी गराइने भएको छ । आजको बैठकमा पार्टीको आगामी राजनीतिक कार्यदिशा र संगठनात्मक संरचनाबारे छलफल हुने पार्टी प्रवक्ता चालिसेले जानकारी दिए । पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएको थियो । सोही कार्यसमितिका पदाधिकारीहरूले आज औपचारिक रूपमा पदभार ग्रहण गर्ने कार्यक्रम पनि तय गरिएको छ । विशेष महाधिवेशनपछि यसअघि केन्द्रीय कार्यसमिति बैठकहरू कुपन्डोल र नयाँ बानेश्वरस्थित विभिन्न स्थानमा बसेका थिए । तर आजको बैठक भने पार्टीको केन्द्रीय कार्यालयमै बस्न लागेको हो ।
नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा
काठमाडौं । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । पार्टीको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन भएपछि उनले राजीनामा दिएका हुन् । उनका अनुसार नयाँ नेतृत्व चयन भएसँगै संगठनात्मक पुनर्संरचनाको प्रक्रियाअन्तर्गत पौडेलले मुख्य सचिवको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन् । उनले आफ्नो कार्यकालमा पार्टी संगठन मजबुत बनाउन भूमिका खेलेको नेताहरूले बताएका छन् । पौडेलले आफूले राजीनामा दिएको स्वीकार गर्दै अब आफू निर्वाचनमा पार्टीलाई जिताउन होमिने बताए । उनले भने, ‘काठमाडौं ७ का पार्टी उम्मेदवारलाई जिताउन लाग्नेछु ।’ विशेष महाधिवेशनमार्फत गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि केन्द्रीय कार्यालयदेखि विभागीय संरचनासम्म परिवर्तनको क्रम सुरु भएको छ । यही क्रममा मुख्यसचिव पौडेलको राजीनामा आएको हो । पौडेलले भने निर्वाचनमा खटिन राजीनामा दिएको दाबी गरेका छन् ।
नेपाली कांग्रेसले माघ १६ मा निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो घोषणापत्र माघ १६ गतेसम्म सार्वजनिक गर्ने योजना बनाएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले घोषणापत्रमा देशको समग्र विकास, जनजीवन सुधार र सामाजिक न्याय सुनिश्चित गर्ने व्यापक योजना समेटिने जानकारी दिए । घोषणापत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण, युवा तथा महिला सशक्तिकरण र सामाजिक समावेशीकरणजस्ता क्षेत्रलाई विशेष प्राथमिकता दिइने चालिसेले बताए । प्रवक्ता चालिसेका अनुसार पार्टीले आर्थिक सुधार, निजी क्षेत्रको प्रोत्साहन, गरिबी निवारण र दिगो विकासका कार्यक्रमसमेत समावेश गरिनेछ । पार्टीले आफ्नो घोषणापत्रमार्फत आगामी पाँच वर्षका लागि राष्ट्रिय विकास, सुशासन र जनअधिकार सुनिश्चित गर्ने प्रतिवद्धता जनाउने छ । चालिसेका अनुसार यस पटकको घोषणापत्र चुनावी नीतिलाई मात्र नभई आगामी सरकार सञ्चालनका रणनीतिलाई पनि स्पष्ट पार्ने उद्देश्यले तयार पारिँदैछ ।
निर्वाचन आयोग पुगेका नेपाली कांग्रेसका नेताहरू के भन्छन् ?
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई असर गर्ने कुनै निर्णय गर्न नहुने बताएका छन् । शुक्रवार नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्न आयोगमा पुगेका सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले यस्तो बताएका हुन् । उनीहरूले आयोगले संविधान, राजनीतिक दलसम्बन्धि ऐन, नेपाली कांग्रेसको विधान र आफूहरूले उपलब्ध गराएको कागजातको आधारमा नै निर्णय गर्ने विश्वास गरे । कांग्रेसको आधिकारिकता आफूहरूले पाउने र छुट्टिएर गएकाहरू पनि मूलधारमा नै फर्किने नेताहरूको विश्वास छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले निर्वाचन हुने की नहुने आशंका भइरहेको बेलामा थप जटिल परिस्थिति उत्पन्न हुनेगरी निर्णय गर्न नहुने बताए । सिन्धुपाल्चोकमा आफूहरूले चुनावी सभा समेत थालेको उनको भनाइ छ । यस्तो स्थितिमा आयोगले संविधान विपरीत, कांग्रेसको विधान विपरीत निर्णय गरेमा देशमा निर्वाचनको प्रक्रिया नै बिथोलिने उनले बताए । निर्वाचन बिथोलिएमा त्यसको जिम्मेवारी आयोगले लिनुपर्ने उनको भनाइ छ । कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पनि निर्वाचन आयोगले कानून नियम, संविधान र विधानअनुसार आफूहरुको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले कांग्रेस विभाजनलाई रोक्न अन्तिमसम्म प्रयास गरेपनि असफल भएको बताए । विभाजनले निर्वाचनसँगै देशको राजनीतिमा पनि ठूलो असर पर्ने उनको भनाइ छ । नेपाली कांग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङले कांग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा नै रहेको बताए । उनले प्रतिनिधि सभाको निर्वाचनको लागी माघ ६ गते मनोनयनको लागि देउवाले नै टिकट बाँड्ने दाबी गरे । उनले शनिबारबाट नै सभापति देउवाले टिकट बाँड्न सुरु गर्ने जानकारी दिए । उनले गगन थापा, विश्वप्रकाश शर्माहरूले अर्को पार्टी गठन नगरेकोले उहाँहरू पनि देउवाको हातबाट टिकट लिएर चुनाव लड्न जाने दाबीसमेत गरे । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला लगायतका नेताहरू पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग गएका थिए । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्नसक्ने विश्लेषकहरूले बताएका छन् । आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्नसक्ने सम्भावना छ ।
नेपाली कांग्रेसको सभापतिमा थापा निर्वाचित, भने- कसैको शिर निहुरिन दिने छैन
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिए । ‘सभापति पदमा थापाको मात्रै उम्मेदवारी भएकाले उहाँ निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु,’ निर्वाचन परिणाम सुनाउँदै संयोजक केसीले भने । थापाले आफूलाई जिम्मेवारी सुम्पने नेता तथा कार्यकताको शिर निहुरिने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरे । सभापति पदमा निर्वाचित भएपछि विशेष महाधिवशेनस्थलमा नेता तथा कार्यकर्ता, शुभेच्छुकलाई सम्बोधन गर्दै उनले पार्टी सदस्यलाई कांग्रेस भएकामा गौरव गर्ने पार्टी बनाउने दृढता व्यक्त गरे । ‘जुन विश्वासका साथ सभापतिको जिम्मेवारी सुम्पिनुभएको छ, तपाईँहरु कसैको पनि शिर निहुरिने अवस्था आउने दिने छैन । नेपाली कांग्रेस पार्टीको शान राख्छु । यो पार्टीमा लाग्ने तमाम साथीहरुले नेपाली कांग्रेस भएकामा गौरव गर्ने बनाउँछु । नागरिकलाई अप्ठयारो अवस्थामा कांग्रेस छ भन्ने काम पार्टीले गर्नेछ,’ नवनिर्वाचित सभापति थापाले भने । उनले नेपाली कांग्रेसको विशेष महाधिवेशन कांग्रेसको इतिहासमा मात्रै नभई आधुनिक नेपालको इतिहासमा भुइँ तहका कार्यकर्ताले गरेको सबैभन्दा ठूलो हस्तक्षेप भएको उल्लेख गरे । सभापति थापाले भने, ‘भुइँ तहका कार्यकर्ता भनेको जनताको प्रतिनिधि हो, नागरिक हो । नागरिकले दलभित्र गरेको हस्तक्षेप हो ।’ नेपाली कांग्रेस कुनै हालतमा नफुटेको जनाउँदै उनले वैधानिक रुपमा विशेष महाधिवेशन गर्दा पार्टी फुट्यो भन्ने प्रश्नै नउठ्ने बताए ।
नेपाली कांग्रेस विभाजनको संघारमा, पद बाँडफाँड र शक्ति सन्तुलनमा जुटेन सहमति
काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको दोस्रो विशेष महाधिवेशनले पार्टीलाई संगठनात्मक सुधार र राजनीतिक पुनर्जागरणतर्फ डोर्याउने अपेक्षा गरिएको थियो । तर महाधिवेशनको औपचारिक प्रक्रियासँगै पार्टीभित्र लुकेर रहेको असन्तुष्टि, शक्ति संघर्ष र गुटगत प्रतिस्पर्धा सतहमा आउँदा कांग्रेस विभाजनको सँघारमा पुगेको आकलन हुन थालेको छ । महाधिवेशनअघि देखिएको ‘विभाजनको डर’ अहिले क्रमशः यथार्थतर्फ उन्मुख हुँदै गएको देखिन्छ । पार्टीभित्र हाल औपचारिक तथा अनौपचारिक रूपमा चलिरहेका त्रिपक्षीय वार्ताहरू निर्णायक मोडमा पुगेका छन् । तर ती वार्तामा पद बाँडफाँट, शक्ति सन्तुलन र नेतृत्व संरचनाका विषयमा सहमति जुट्न नसकेपछि कांग्रेस फुटको जोखिममा फस्दै गएको विश्लेषक पर्शुराम घिमिरेको भनाइ छ । दोस्रो विशेष महाधिवेशनको मूल उद्देश्य पार्टीको विधान संशोधन गर्दै समयसापेक्ष संगठन निर्माण गर्नु थियो । संघीयता, समावेशिता, आन्तरिक लोकतन्त्र र नेतृत्व हस्तान्तरणका विषयमा स्पष्ट संरचना बनाउने अपेक्षा गरिएको थियो । तर महाधिवेशन सुरु भएदेखि नै नीति र सिद्धान्तभन्दा बढी नेतृत्व, पद र शक्ति सन्तुलन केन्द्रमा रह्यो । महाधिवेशनले पार्टीको वर्तमान कार्यसमिति विघटन गरी नयाँ संरचना बनाउने बाटो खोल्ने निर्णय गरेसँगै गुटगत संघर्ष झनै चर्किएको हो । विशेषगरी सभापति शेरबहादुर देउवा पक्ष, संस्थापन इतर समूह र वरिष्ठ नेता डाक्टर शेखर कोइराला पक्षीय नेताहरूबीच अविश्वास गहिरिँदै जाँदा पार्टी विभाजनको सङ्घारमा पुग्न लागेको घिमिरेको ठहर छ । त्रिपक्षीय वार्ता: समाधानको प्रयास कि समय टार्ने उपाय ? काँग्रेसभित्रको संकट समाधान गर्न भन्दै शीर्ष नेताहरूबीच त्रिपक्षीय वार्ता सुरु गरिएको थियो । वार्तामा सभापति देउवा समूह, महामन्त्रीद्वय गगन थापा-विश्वप्रकाश शर्मा नेतृत्व, नेता कोइरालाको अर्को समूह सहभागी थिए । वार्ताको औपचारिक उद्देश्य पार्टी एकता जोगाउनु, साझा सहमति बनाउनु र महाधिवेशनलाई निष्कर्षमा पुर्याउनु हो । तर व्यवहारमा वार्ता पद बाँडफाँडमै सीमित भएको आरोप पार्टीभित्रैबाट उठिरहेको छ । नेतृत्व संरचना कस्तो हुने, सभापतिको अधिकार कति रहने, महामन्त्री र उपसभापतिको भूमिका के हुने भन्ने विषयमा सहमति जुट्न सकेको छैन । सहमहामन्त्री बद्री पाण्डेका अनुसार वार्तामा नीति र सिद्धान्तभन्दा बढी कसले कति पाउने भन्ने विषय हाबी भयो । यही कारण सहमति सम्भव देखिँदैन । शक्ति सन्तुलनको गणित र गुटगत स्वार्थ नेपाली कांग्रेस लामो समयदेखि गुटको राजनीतिबाट मुक्त हुन सकेको छैन । देउवा समूह संगठन र संसदीय संरचनामा बलियो पकड बनाइराख्न चाहन्छ भने महामन्त्री थापा समूह नेतृत्व परिवर्तन र आन्तरिक लोकतन्त्रको पक्षमा उभिएको छ। तेस्रो धारका नेताहरू भने आफू निर्णायक शक्ति बनेर लाभ लिने रणनीतिमा देखिन्छन् । शक्ति सन्तुलनको यही गणितले पार्टीलाई निर्णय विहीन अवस्थामा पुर्याएको छ । कसैले पनि आफ्नो शक्ति गुमाउन नचाहँदा समझदारीको ढोका बन्द हुँदै गएको छ। यसले पार्टीलाई २०५९ सालको विभाजनको स्मृति दिलाएको छ, जसको घाउ अझै पुरिन सकेको छैन । विभाजनको संकेत: संगठन तहसम्म फैलिँदै असन्तुष्टि काँग्रेसभित्रको संकट अब शीर्ष नेताहरूमा मात्र सीमित छैन। जिल्ला, प्रदेशसम्म असन्तुष्टि फैलिँदै गएको छ । पार्टी नेतृत्वले स्पष्ट दिशा नदिँदा कार्यकर्ता अन्योलमा परेका छन्। 'यदि केन्द्रमै सहमति भएन भने हामी कसरी चुनावमा जान सक्छौं ?' भन्ने प्रश्न कार्यकर्ताहरूको छ । गुल्मीका नेता डा. दामोदर भुसाल भन्छन् विशेष महाधिवेशन पछि निकास भन्दा निराशा बढ्ने भयो । चुनावी जोखिम र लोकतान्त्रिक भूमिकामा असर आगामी निर्वाचनको सन्दर्भमा कांग्रेस विभाजन भए त्यसको प्रत्यक्ष असर चुनावी नतिजामा पर्ने निश्चित देखिन्छ। सत्तारूढ वा प्रतिपक्ष जुनसुकै अवस्थामा भए पनि कांग्रेसको कमजोर भूमिकाले समग्र लोकतान्त्रिक प्रणालीमा असर पार्ने राजनीतिक विश्लेषक घिमिरे बताउँछन् । कांग्रेस कमजोर हुँदा कम राजनीतिक अनुभव भएका शक्तिहरू बलियो हुने मात्र होइन, संसद् र सडक दुवैमा सन्तुलन बिग्रने खतरा रहने घिमिरेको बुझाइ छ । घिमिरे भन्छन्, 'इतिहासले देखाइसकेको छ कांग्रेस कमजोर हुँदा मुलुक राजनीतिक अस्थिरतामा फस्ने गरेको छ ।' वर्तमान संकट समाधान गर्ने जिम्मेवारी कांग्रेस नेतृत्वकै काँधमा छ । पद र शक्ति भन्दा माथि उठेर पार्टी, लोकतन्त्र र देशको हित सोच्न नसके विभाजन अपरिहार्य बन्ने संकेत देखिएको छ। यद्यपि अझै पनि संवादको ढोका पूर्ण रूपमा बन्द भइसकेको छैन । सहमहामन्त्री पाण्डे अन्तिम क्षणमा सहमति जुट्न सक्ने आशा व्यक्त गर्छन्। तर समय घर्किँदै जाँदा त्यो आशा क्षीण हुँदै गएको छ। यदि त्रिपक्षीय वार्ता निष्कर्ष विहीन रह्यो भने कांग्रेस औपचारिक विभाजनतर्फ जाने सम्भावना प्रबल हुनेछ । इतिहास दोहोर्याउने कि पाठ सिक्ने ? नेपाली कांग्रेस अहिले इतिहासको अर्को निर्णायक मोडमा उभिएको छ। यसले विगतका गल्ती दोहोर्याउने कि त्यसबाट पाठ सिकेर एकताबद्ध हुने भन्ने प्रश्न खुला छ। पद बाँडफाँट र शक्ति सन्तुलनमा अड्किएर पार्टी टुक्रिने हो भने त्यसको मूल्य कांग्रेसले मात्र होइन, मुलुकले नै चुकाउनुपर्नेछ । अब कांग्रेसका अहिले देखिएका तीनवटै समूहले निर्णय गर्नुपर्ने समय आएको छ, व्यक्तिगत स्वार्थ कि संस्थागत भविष्य ? यही निर्णयले कांग्रेसको आगामी भविष्यको सङ्केत गर्नेछ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशन : बन्दसत्र भोलि बिहान ८ बजे
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र सोमबार (भोलि) बिहान ८ बजेबाट सुरु हुने भएको छ । विशेष महाधिवेशन पक्षधर नेता मनोजमणि आचार्यले बन्दसत्र भोलि बिहान ८ बजेबाट प्रारम्भ हुने जानकारी दिए । उनले बन्दसत्रमा सहभागी प्रतिनिधिहरूलाई समयमै उपस्थित हुन अनुरोधसमेत गरेका छन् । महाधिवेशनस्थलमै हुने बन्दसत्रमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठनात्मक संरचना तथा भावी कार्यदिशाबारे छलफल हुने जनाइएको छ । विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र मतभेद र बहस जारी रहेका बेला सुरु हुन लागेको बन्दसत्रलाई महत्त्वपूर्ण मानिएको छ । बन्दसत्रका निर्णयहरूले पार्टीको आगामी रणनीति र आन्तरिक राजनीतिमा निर्णायक प्रभाव पार्ने नेताहरूको अपेक्षा छ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नाम दर्ता प्रक्रिया जारी, ४९.३४ प्रतिशतले गरे नाम दर्ता
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा अहिलेसम्म कुल उम्मेदवारमध्ये ४९.३४ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । नेता रामप्रसाद अधिकारीले महाधिवेशनस्थलमा नाम दर्ता गर्ने प्रक्रिया निरन्तर जारी रहेको जानकारी दिए । नाम दर्ता प्रक्रिया बिहानैदेखि सभ्य र व्यवस्थित रूपमा सञ्चालन भइरहेको उनको भनाइ छ । कांग्रेसको चौधौं महाधिवेशनमा ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिहरू रहेका थिए । विशेष महाधिवेशनमा चौधौं महाधिवेशनका प्रतिनिधिहरू नै प्रतिनिधि रहेका छन् ।