काठमाडौं । थप निष्कासन (एफपीओ) को मूल्य तय भएपछि नेपाल बैंकको सेयर मूल्य निरन्तर गिरावट आएको छ ।बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता ३१७ रुपैयाँमा झरेको छ । सेयर मूल्य घट्दै गएपछि बैंकको एफपीओ पनि बिक्री नहुने संभावना बढेको हो ।

बैंकको एफपीओको मूल्य प्रतिकित्ता २८० रुपैयाँ निर्धारण गरिएको छ । कारोबार रकम भन्दा कम मूल्यमा एफपीओ पाउने भएपछि लगानीकर्ताले धमाधम बैंकको सेयर बेच्न थालेका कारण मूल्यमा निरन्तर गिरावट आएको हो ।
बढी मूल्यको सेयर बिक्री गरेर सस्तोमा एफपीओ किन्नका लागि अहिले कारोबार बढी हुने गरेको छ ।
अहिले किन्ने भन्दा बेच्ने बढी भएपछि यसको असर बैंकको सेयर मूल्यमा परेको हो । आइतबार बैंकको सेयर प्रतिकित्ता ३१७ मा २ करोड ७४ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भएको मध्ये दोस्रो बढी रकम हो ।
गत चैत १२ गते घटेर २९४ रुपैयाँमा झरेको नेपाल बैंकको सेयर त्यसपछि निरन्तर बढेर प्रतिकित्ता ३५४ रुपैयाँ सम्म पुगेको थियो । एफपीओको मूल्य सस्तो भएकाले अझ घट्ने लगानीकर्ताको भनाई छ ।
बैंकको सेयर घट्नुमा एफपीओको मूल्य मुल कारण भएको एक ब्रोकरले बताए । “२८० रुपैयाँमा एफपीओ पाउने भएपछि कसले महंगोमा सेयर किन्छ ?” ती ब्रोकरले भने । पछिल्लो समयमा बैंकको सेयर कारोबार बढी हुदै आएको छ ।
बैंकले पुँजीगत आधार अझ मजवुत बनाउन बैंकले प्रिमियम मूल्यमा बैंकले १ करोड करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । एफपीओबाट ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ प्राप्त हुनेछ ।
१ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्तापुँजीमा र बाँकी संचित कोषमा जम्मा हुनेछ । संचित कोषबाट लगानीकर्ताले वर्षेनी लाभांश पाउने छन् । लगानीकर्ताले ३ अर्ब १८ करोड रुपैयाँ लाभांश पाउने छन् ।
बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।