
एजेन्सी । अलिबाबा ग्रुपका संस्थापक ज्याकमालाई पछि पार्दै भारतका पेट्रोकेमिकल्स र टेलिकम व्यवसायी मुकेश अम्बानी एसियाको सबैभन्दा धनी व्यक्ति भएका छन् ।
रिलायन्स इन्डष्ट्रिज लिमिटेडको सेयर मूल्य बढेपछि उनी एसियाको धनीमा सुचिकृत भएका हुन् । शुक्रबार रिलायन्सको सेयर मूल्य १.६ प्रतिशत बढेर प्रतिकित्ता १ हजार ९९ भारु पुगेको छ । साेही दिन उनकाे कुल सम्पत्ति ४४ अर्ब ३० करोड डलर पुगेको छ ।
ब्लुम्बर्ग बिलिनियर इन्डिेक्सका अनुसार अलिबाबाका ज्याकमाको सम्पत्ति ४४ अर्ब डलर मात्र छ । ज्याकमालाई एसियाको धनी हुन रिलायन्सको ई कमर्शले रोकेको भारतको फाइनान्सियल एक्सप्रेसले आफनो अनलाइन संस्करणमा लेखेको छ । फाइनान्सियल एक्प्रेसकाअनुसार यो वर्ष अम्बानीले ४ अर्ब डलर सम्पत्ति बढाएका छन् । ज्याकमाको यो वर्ष सम्पत्ति १ अर्ब ४० करोड डलर घटेको छ ।
रिलायन्सले पेट्रोकेमिकल्सलको क्षमता दोब्बर बढाएको छ । मुकेसले मोवाइल सेवा कम्पनी जिओ इन्फोकम लिमिटेड पनि सञ्चालनमा ल्याएका छन् । धनाढ्य अम्बानीले अघिल्लो महिना मोबाइल सेवाको ग्राहक बढाएर २१ करोड ५० लाख पुर्याउने योजना सर्वाजनिक गरेका थिए । धिरुभाई अम्बानीको निधनपछि मुकेश र भाइ अनिल सन् २००५ मा छुट्टिएका थिए ।