
एजेन्सी । आईफोन निर्माता कम्पनी एप्पल इंकको बजार मूल्य बढेर १० खर्ब अमेरिकी डलर पुगेको छ । विश्वको अगुवा प्रविधि कम्पनी एप्पलको बजार पुँजीकरण बढ्नुमा सेयर मूल्य मुल कारण रहेको छ ।
एप्पलको सेयर मूल्य बढेर २०७ डलर कटेको छ । यो हालसम्मको सबैभन्दा बढी मूल्य हो । एप्पलको नाफा ३० प्रतिशत बढेको छ । उसको नाफा बढेर ११ अर्ब ५० करोड डलर पुगेको छ । एप्पलको आम्दानी १७ प्रतितश बढेर ५३ अर्ब ३० करोड डलर पुगेको भारतको फाइनान्सियल एक्सप्रेसले बताएको छ ।गत जुनसम्म एप्पलले ४१ करोड ३० लाख थान आईफोन बिक्री गरेको छ ।
४२ वर्ष पुरानो एप्पल बुधबार अमेरिकाको सर्वधिक महंगो कम्पनी भएको हो । चीन सरकार स्वामित्वको पेट्रोचाइनाको रेकर्डलाई एप्पलले तोडेको फाइनान्सियल एक्प्रेसले जनाएको छ । पेट्रो चाइनाले सन् २००७ मा साधारण सेयर (आईपीओ) निष्कासन गरेपछि उसको बजार पुँजीकरण १० खर्ब १ अर्ब डलर नाघेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
एप्पलको १ अर्ब डलरबाट १० खर्ब डलरको यात्रा
सन् १९८० मा एप्पलको बजार पुँजीकरण १ अर्ब डलर थियो । सोही वर्षको डिसेम्बरमा एप्पलको सेयर नासाडकमा कारोबारका लागि सुचिकृत भएको थियो । सन् २००७ मा एप्पलको बजार पुँजीकरण १ खर्ब डलर पुगेको थियो । ११ वर्षको अवधिमा एप्पलको सम्पत्ति ९ खर्ब डलर बढेको छ । र, अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी एप्पल भएको छ ।