
काठमाडौं । एक महिनायता एनआईसी एशिया बैंकको सेयर मूल्य निरन्तर बढ्दै गएको छ । सेयर मूल्य बढेसंगै कारोबार रकममा पनि वृद्धि भएको छ । गत साउन २७ गते प्रतिकित्ता ३०४ रुपैयाँमा सेयर कारोबार भएकोमा असोज ७ सम्म आइपुग्दा बढेर ४४० रुपैयाँ पुगेको छ । एक महिनाको अवधिमा एनआईसी एसियाका लगानीकर्ताले १३६ रुपैयाँ कमाएका छन् ।
आइतबार मात्रै एनआईसी एसियालेको ७ करोड ४ लाख ६२ हजार रुपैयाँमा १ लाख ६१ हजार ६९३ कित्ता सेयर किनबेच भएको छ ।
एनआईसी एशियाको व्यवसाय वृद्धिले लगानीकर्ताको विश्वास बढाएको बैंकका सञ्चार अधिकृत सुधीर पाण्डे बताउँछन् । निक्षेप, कर्जा लगानी र वासलातको आकारका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक एनआईसी एसिया भएको उनको दाबी छ । निक्षेप र लगानीको आकारमा भएको वृद्धिले आगामी दिनमा राम्रो प्रतिफल दिने आधार तयार पारेकाले लगानीकर्ता लोभिएको तर्क पाण्डेको छ ।
उनका अनुसार बैंकले हालसम्म १ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप परिचालन गरी १ खर्ब ३४ अर्ब रुपैया कर्जा लगानी गरेको छ । एनआईसी एशियाले आगामी तीन आर्थिक वर्ष अवधिमा १५ अर्ब रुपैयाँ खुद नाफा गर्ने योजना सार्वजनिक गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब १९ करोड रुपैयाँ मात्र खुद नाफा गरेको थियाे ।
बैंकले गत वर्ष, चालू आर्थिक वर्ष र आगामी आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बोनस सेयर र नगद लाभांश दुबै दिने जानकारी दिएको छ । तीन वर्षको अवधिमा निक्षेप ३ खर्ब ५० अर्ब, कर्जा लगानी २ खर्ब ५८ अर्ब, पुँजी बजारमा लगानी ४६ अर्ब पुर्याउने जनाएको छ ।
आइतबार सेयर बजार २.६ अंकले बढ्याे
सेयर बजार सामान्य बढे पनि ६९ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकिङ, जलविद्युत, व्यापार र होटल समूहको सेयर मूल्य बढेको छ भने बीमा, लघुवित्त र उत्पादनको घटेको छ । आइतबार साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र प्रभु बैंकका लगानीकर्ताले पनि कमाएका छन् ।