
काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले धितोपत्र कारोबारका आधारमा १० उत्कृष्ट कम्पनी छनोट गरेको छ । बजार मूल्यका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड पहिलो नम्बरमा परेको छ । सो कम्पनीको बजार पूँजीकरण मूल्य १ खर्ब १४ अर्ब ३० करोड रुपैयाँ छ ।
यस्तै दोस्रोमा नविल बैंक रहेको छ । सो बैंकको ७५ अर्ब ८८ करोड रुपैयाँ बराबरको बजार पूँजीकरण मूल्य छ । तेस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक परेको नेप्सेले जनाएको छ । सो बैंकको ६८ अर्ब रुपैयाँ बराबरको बजार पूँजीकरण मूल्य छ ।चौथोमा स्ट्यान्डर्ड चार्टड बैंक रहेको छ । त्यसको ५५ अर्ब २७ करोड, पाँचौँमा रहेको एभरेष्ट बैंकको ५० अर्ब ६४ करोड ९५ लाख रुपैयाँ बजार पूँजीकरण छ ।

यस्तै हिमालयन बैंकको ४३ अर्ब ८१ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ४१ अर्ब, नेपाल एसबीआई बैंकको ३९ अर्ब ५९ करोड, एनआइसी एसिया बैंकको ३४ अर्ब १३ करोड र एनएमबी बैंकको ३० अर्ब ६० करोड रुपैयाँ बजार पूँजीकरण छ ।
स्टकले यही असोज १२ गतेदेखि असोज १८ गतेसम्मको सेयर मूल्यका आधारमा उत्कृष्ट १० कम्पनी छनोट गरेको हो । सेयर बजारमा गिरावट आए पनि केही कम्पनीको सेयर मूल्य भने तुलनात्मकरुपमा घटेको छैन ।
यस्तै पछिल्लो एक साताको सेयर कारोबारका आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको ४ लाख ६१ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । यस्तै प्रभु बैंक, माछापुछे« बैंक, ग्लोबल आइएमइ बैंक,
एनएमबी बैंक, मेगा बैंक, कुमारी बैंक, जनता बैंक, सिभिल बैंक र एनआइसी एशिया बैंकको सेयर कारोबारमा समेत उत्कृष्ट दश कम्पनीमा पर्न सफल भएका छन् ।
स्टकका अनुसार प्रभु बैंकको ९७८ कित्ता एनएमबी बैंकको ९२७, मेगा बैंकको ८९५ कित्ता, कुमारी बैंकको ७८४, एनआइसी एशिया बैंकको ७७१ कित्ता, नेपाल इन्भेस्टमेन्ट बैंक ७५१ कित्ता, नेपाल लाइफ इन्स्योरेन्सेको ६५५ कित्ता, जनता बैंकको ६५१ कित्ता, सिभिल बैंकको ६०७ कित्ता र स्ट्यान्डर्ड चार्टड बैंकको ५८२ कित्ता सेयर कारोवार भएको छ । रासस