
काठमाडाैं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंककाे ७९ लाख कित्ता सेयर लिलामीमा अाउने भएपछि सेयर मूल्य घटेकाे छ । बिहीबार यस बैंककाे सेयर मूल्य प्रतिकित्ता २०३ रूपैयाँसम्म झरेकाे छ । बुधबार २०९ रूपैयाँमा काराेबार बन्द भएकाे यस बैंककाे सेयर बिहीबार २०४ रूपैयाँमा झरेर बन्द भयाे ।
यस बैंकले केही महिनाअघि जारी गरेकाे हकप्रद सेयर मध्ये ७९ लाख कित्ता सेयर बिक्री भएकाे छैन । बैंकले उक्त सेयर सार्वजनिक रूपमा बढाबढ मूल्यमा बेच्ने पर्नेछ ।
७९ लाख कित्ता मध्ये प्रवर्द्धक सेयर मात्र ६५ लाख कित्ता छ । एनबी समूहले ३५ लाख कित्ता सेयर किन्न नसकेपछि र निर्मल प्रधानले १० लाख कित्ता सेयर नकिनेपछि ठूलाे मात्रामा प्रवर्द्धक सेयर बिक्री नभएकाे बैंकले जनाएकाे छ ।
त्यस्तै, एपेक्स डेभलपमेन्ट बैंकबाट एसीसीमा मर्ज भएका प्रवर्द्धक सेयरधनी मध्ये धेरैले हकप्रद सेयरमा पैसा नहालेकाे बतार्इकाे छ ।
साधारण सेयरतर्फ पनि १४ लाख भन्दा बढी कित्ता बिक्री भएकाे छैन ।
सेयर बजारमा मन्दी अाएकाे बेलामा ७९ लाख कित्ता लिलामीमा अाउँदा सेयर मूल्य अझै घट्ने विश्लेषण गरिएकाे छ । गत असारमा बैंककाे सेयर मूल्य १७१ रूपैयाँसम्म झरेकाे थियाे ।
सेयर बजारमा गिरावट अाएकाे अवस्थामा प्रिमियम अाम्दानी कम हुने विश्लेषणका अाधारमा बैंकले नबिकेकाे सेयर लिलामीमा राख्न ढिलार्इ गरेकाे छ । तर उक्त सेयर बिक्री गरेपछि मात्र प्रस्तावित बाेनस जाेडेर पुँजी ८ अर्ब पुग्ने भएकाेले छिटाेभन्दा छिटाे सेयर लिलामीमा राख्नु पर्ने बैंककाे वाध्यता छ ।
नबिकेकाे सेयर लिलामी नगरी बैंकले हकप्रद सेयर भर्नेकाे सेयर नेप्सेमा सूचिकरण गरिसकेकाे छ । सूचिकरणपछि बैंककाे चुक्ता पुँजी ६ अर्ब २२ कराेड रूपैयाँ भएकाे छ । नेप्सेले भने बैंककाे चुक्ता पुँजी ७ अर्ब १ कराेड भएकाे भनि गलत विवरण वेवसाइटमा राखेकाे छ ।
गत वर्षकाे नाफाबाट करिव ५० कराेड र मर्जसँगै जम्मा भएकाे ९९ कराेड प्रिमियम वितरण गरेर चुक्ता पुँजी ८ अर्ब पुर्याउने बैंककाे याेजना छ । बैंकले गत दुर्इ अार्थिक वर्षकाे साधारणसभा गर्न सकेकाे छैन ।