काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारीलाई प्रदान गर्दै आएको पेन्सन प्रणाली फेरिने बताएका छन् । निवृत्तिभरण कोष सम्बन्धी अर्थ समितिमा भएको बैठकमा मन्त्री खतिवडाले पेन्सनको मोडेल फेर्ने कार्य योजना प्रस्तुत गरेका हुन् ।
विकासमा लगाउनु पर्ने अर्बौ रकम कटौती गरेर पेन्सन बाढ्नुपर्ने दिन अब सकिने खतिवडाले बताए । हाल पेन्सनकाे शीर्षकमा वार्षिक ५३ अर्ब रुपैयाँ सरकारले खर्च गरिरहेको छ । वि.सं २०६४/६५ तिर यो ६ अर्ब रहेको थियो । अबको १० वर्षपछि यो रकम बढेर १ खर्ब पुग्ने अर्थ मन्त्रालयले अनुमान गरेको छ ।
यसरी पेन्सनको नामको राज्यलाई धेरै आर्थिक भार पार्न नहुने मन्त्री खतिवडाको भनाई छ । अब नयाँ भर्ना हुने कर्मचारीका लागि योगदानमा आधारित पेन्सनको व्यवस्था गरिनेछ । जसमा कर्मचारीको ६ प्रतिशत र सरकारको ६ प्रतिशत गरेर कोषमा जम्मा गरिनेछ । ६० वर्ष पुगेका कर्मचारीलाई सोही कोषबाट पेन्सन सुविधा प्रदान गरिनेछ ।