
काठमाडौं । पछिल्लो समय निरन्तर उकालो लागेको बजार मंगलबार करेक्सन तर्फ लागेको छ । नयाँ वर्षयता ११८८ अंकमा रहेको नेप्से दुई सातासम्म निरन्तर बढेर १३१४ अंकसम्म पुगेको थियो । तर मंगलबार दोहोरो अंकले घटेर १२९८.६० अंकमा झरेको छ । जुन यस वर्ष यताकै पहिलो दिन दोहोरो अंकले घटेको हो । सोमबारको तुलनामा मंगलबारको बजारमा ११.७० अंकको गिरावट आएको छ ।
केही सातायता बजारको गतिविधि ‘शंकास्पद’ थियो । सो अवधिमा कहिले वाणिज्य बैंकमात्रै एक्कासी उचालिन्थे भने कहिले बीमा कम्पनीहरु । जस्ताेकि गत बिहीबार वाणिज्य बैंंक समूहको उपसूचक बढेको थियो भने आइतबार बीमा समूहको उपसूचकमा वृद्धि देखिएको थियो । यी कम्पनीका लगानीकर्ताहरुले नाफा बुक गर्न खोज्दा बजारमा पालैपालो परिसूचकमा उतारचढाव देखिएको हाे ।
बजार अनिश्चित हुन्छ । अनिश्चित बजारकाे जाेखिम घटाउने प्रयास मात्रै लगानीकर्ताले गर्ने हाे । आधारभूत र प्राविधिक विश्लेषणहरु त्यस्तै अनिश्चितता कम गर्ने औजार मात्रै हुन् न कि याे नै बजारकाे भविश्यद्रष्टा । तर प्राविधिक विश्लेषणका केही औजारहरुकाे हवाला दिँदै नेप्से २५०० अंक पुग्छ, ३००० पुग्छ भन्नु तथ्याङ्ककाे गलत ब्याख्याबाहेक केही हाेइन ।
तेस्राे त्रैमासमा चलायमान देखिएकाे शेयर बजारले केही सकारात्मक सूचक भने देखाउँछ । खासगरी बजारमा रहेका स्क्रिपहरुकाे मूल्यमा क्रता र विक्रेताबीच तीव्र बार्गेनिङ भएकाे अवस्था देखिन्छ । यस्तो प्रवृतिले बजार परिपक्व भएको संकेत भने गर्छ । तर बजारमा आर्थिक गतिविधिले गर्दा अब बजार बढेर ३०००/४००० पुग्छ भन्ने हल्ला छ, जुन गलत हल्ला हो त्यसले आम लगानीकर्तामा असर पुर्याउने देखिन्छ । किनभने यसअघिको बजारमा कहिले कुन समूहको उपसूचक कहिले कुन समूहको उपसूचक मात्रै घट्ने भइरहेको थियो । जसले लगानीकर्ताहरुको व्यक्तिगत पोर्टफोलियोमा घटबढ देखाएको थियो ।
तर आज परिसूचक सहित कारोबार रकममा पनि गिरावट देखिएको छ । परिसूचक दोहोरो अंकले घटेको बजारमा कूल ९५ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । जबकी पछिल्लो समय बजारमा अर्बौ बढीको कारोबार भएको थियो । हिजो सोमबार तीव्र उतारचढाव भएको बजारमा पनि एक अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
दुई सातायताको बजारको गतिविधि हेर्दा बजार परिपक्व भएको छ । बजारमा त्यस्ता नयाँ लगानीकर्ताहरु पनि थपिएका छैनन् जसले आजको भोलिनै बजारलाई निरन्तर उकास्न सक्ने प्रवृति छैन । त्यसैले, बजारमा लगानी गर्ने विवेकशील लगानीकर्ताले बजारको फैलिएको हल्लाको पछि लागेर भन्दा पनि बजारको गतिविधिलाई नियालेर लगानी गर्दा उपयुक्त हुने देखिन्छ । बजार बढेर यति पुग्छ उति पुग्छ भन्नु भन्दा पनि बजारका आधारभूत पक्षलाई विश्लेषण गरेर लगानी गर्दा फाइदा हुने देखिन्छ ।
बीमा समितिले आइतबार मात्रै जारी गरेको निर्देशनले पनि बजारमा काम गरेको छैन । समितिको निर्देशनले बढ्नु पर्ने निर्जीवन बीमा समूहको सूचक मंगलबार २०५ अंकले घटेको छ । त्यस्तै, जीवन बीमा समूहको सूचक २०१ अंकले ओरालो लागेको छ । यसरी नीतिकाे प्रभाव बजारमा परेकाे नदेखिनु भने बजारकाे परिपक्वतामा कमी हुनु हाे ।
बजारकाे क्षेत्रगत अवस्था, कम्पनीकाे समग्र अवस्था र बजारकाे गतिलाइ अध्ययन गरेर लगानी निर्णय लिनु अहिलेकाे आवश्यकता हाे । अन्यथा बजार हल्लाकाे भरमा उचालिँदा बजारले धाेका दिने खतरा मात्रै हाेइन, हरियाे बजारमै पनि पाेर्टफाेलियाे हेरेर टाउकाेमा हात राख्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।