सिंहदबारमा बिनोदबहादुर कुँवर आतंकः मन्त्रालयहरुलाई बजेटका लागि धमाधम पत्र

<p>काठमाडौं । अर्थ मन्त्रालय यतिबेला धमाधम बजेट निर्माणमा जुटिरहेको छ । सबै मन्त्रालयहरुलाई बजेटको सिलिङ उपलब्ध गराईसकिएको छ र मन्त्रालयहरुले पनि सिलिङ अनुसार एकसरो कार्यक्रम तयार पारेर बुझाईसकेका छन् । ठिक यतिबेला प्रधानमन्त्री कार्यालयबाट सबै जसो मन्त्रालय धमाधम पत्र पठाईँदैछ । हरेक पत्रमा हस्ताक्षर गरेका छन् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव बिनोदबहादुर कुँवरले । प्रवक्ताको [&hellip;]</p>

काठमाडौं । अर्थ मन्त्रालय यतिबेला धमाधम बजेट निर्माणमा जुटिरहेको छ । सबै मन्त्रालयहरुलाई बजेटको सिलिङ उपलब्ध गराईसकिएको छ र मन्त्रालयहरुले पनि सिलिङ अनुसार एकसरो कार्यक्रम तयार पारेर बुझाईसकेका छन् । ठिक यतिबेला प्रधानमन्त्री कार्यालयबाट सबै जसो मन्त्रालय धमाधम पत्र पठाईँदैछ । हरेक पत्रमा हस्ताक्षर गरेका छन् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सहसचिव बिनोदबहादुर कुँवरले ।

प्रवक्ताको समेत जिम्मेवारी सम्हालिरहेका कुँवरले अधिकांश मन्त्रालयहरुलाई पत्र लेखेर बजेटमा योजना समावेश गरिदिन निर्देशन दिने गरेका छन् । केहि समय अघि मात्रै राष्ट्रिय योजना आयोगलाई पत्र लेखेर झापा जिल्लाका लागि आयोजना समावेश गर्न निर्देशन दिएपछि कुँवर विवादमा तानिएका थिए । कुँवरले लेखेको पत्रबारे अनभिज्ञता प्रकट गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले विज्ञप्ति निकालेका थिए । प्रधानमन्त्रीसँग सल्लाह नै नगरि सचिवालयले बजेट मागिएको पत्र पठाएको उनले बताएका थिए । ओली आफैंले पनि त्यसमा अनभिज्ञता प्रकट गर्दै दुःख व्यक्त गरेका थिए ।

तर अझैपनि त्यसरी पत्र पठाउने क्रम रोकिएको छैन् । उनै कुँवरले बजेट पारिदिन सिफारिस गरेर लेखिएको पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दर्ता भएको छ । कुँवरले हस्ताक्षर गरेर बैशाख २९ गते संघीयलाई पत्र पठाएका छन् । जुन पत्र संघीय मामिला मन्त्रालयमा बैशाख ३१ गते दर्ता भएको छ ।मन्त्रालयको दर्ता चलानी शाखामा १८९२१ नम्बरमा दर्ता भएको पत्रमा मोरङ निर्वाचन क्षेत्र नम्बर ४ का लागि बजेट विनियोजना गर्न भनिएको छ ।

खासमा मोरङ क्षेत्र न. ४ का प्रतिनिधी सभा सदस्य अमनलाल मोदीले बजेट माग्दै प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका रहेछन् । उनले योजनाहरु समेटिएको २ पृष्ठ लामो निवेदन प्रधानमन्त्री कार्यालयमा पेश गरेका रहेछन् । मोदीले पेश गरेको निवेदन अनुसार बजेट विनियोजन गर्न भन्दै प्रधानमन्त्री कार्यालयका प्रवक्ता कुँवरले संघीय मामिला मन्त्रालयलाई पत्र लेखेका हुन् ।

पत्रमा सांसद मोदीलाई बोधार्थ गरिएको छ । त्यस्तै पत्र शहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय, उर्जा मन्त्रालय, अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालयलाई समेत पठाएका छन् । ‘प्रधानमन्त्री कार्यालयबाट बजेट पारिदिन भनेर लेखेर पठाईका दर्जनौं पत्र एकै दिन आउने गरेका छन्, हाम्रो काम दर्ता गर्ने हो’, एक मन्त्रालयका दर्ता फाँटका कर्मचारीले नाम नबताउने सर्तमा भने । उनले यतिबेला प्रधानमन्त्री कार्यालयबाट बजेट पारिदिन भन्दै आउने पत्रहरुले मन्त्रालयमा आतंकै मच्चाएको आरोप पनि लगाए । ‘प्रधानमन्त्री कार्यालयबाटै पत्र लेखेर बजेट पारिदिन भनेपछि दबाव त परिहाल्छ नी’, एक मन्त्रालयका सहसचिवले भने । उनले बिनोदबहादुर कुँवरले सिंहदरबारमा आतंकै मच्चाएको आरोप पनि लगाए । ‘यो त आतंकै जस्तो भयो, प्रधानमन्त्री कार्यालयबाट बजेटका लागि पत्र आउनु दुर्भाग्य नै हो’, उनले भने ।

Share News