काठमाडाैं । प्रतिनिधिसभा संसदबाट आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट (विनियोजन विधेयक) पारित भएको छ। सभामुख अग्नि सापकोटाले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको हाे।
गत जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए। जसमा ९ खर्ब ४८ अर्ब चालु खर्चका लागि छुट्याइएको छ। त्यस्तै पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब छुट्याइएको छ।
विभिन्न सांसदहरुले गरेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। आगामी आर्थिक बर्षको बजेटको विभिन्न मन्त्रालयत शीर्षकमाथि सांसदहरुले २६ वटा खर्च कटौती प्रस्ताव गरेका थिए । सबै खर्च कटौतीसम्बन्धी प्रस्तावहरु सदनमा निणयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत भएका हुन् ।
बजेटले आगामी आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ। बुधबार बजेटमाथि उठेका प्रश्नहरुको प्रधानमन्त्री केपीशर्मा ओलीले नै जवाफ दिएका छन्।