‘कुवाँकै पानी पिएर जुनी बित्ने भो’

<p>गलकोट । बागलुङको ढोरपाटन नगरपालिका–९ नवीगाउँकी ६८ वर्षीया इन्द्रकला विकको जीवन कुवाकै पानीमा निर्भर छ । बर्खामा खोल्साखोलीमा फुटेको मूल र हिउँदमा उत्तरगङ्गाको पानी पिउँदै आएका नवीगाउँका स्थानीयवासीको घरमा धारो ल्याउने सपना अझै पूरा हुनसकेको छैन । “कुवाकै पानी लिन जाँदाजाँदै वर्षौं बितिसक्यो”, इन्द्रकलाले भने, “खानेपानीको धारो घरमै ल्याउने सपना यो चोलामा पूरा नहोलाजस्तो छ [&hellip;]</p>

गलकोट । बागलुङको ढोरपाटन नगरपालिका–९ नवीगाउँकी ६८ वर्षीया इन्द्रकला विकको जीवन कुवाकै पानीमा निर्भर छ । बर्खामा खोल्साखोलीमा फुटेको मूल र हिउँदमा उत्तरगङ्गाको पानी पिउँदै आएका नवीगाउँका स्थानीयवासीको घरमा धारो ल्याउने सपना अझै पूरा हुनसकेको छैन ।

“कुवाकै पानी लिन जाँदाजाँदै वर्षौं बितिसक्यो”, इन्द्रकलाले भने, “खानेपानीको धारो घरमै ल्याउने सपना यो चोलामा पूरा नहोलाजस्तो छ ।” कुवाकै पानी ल्याउँदा–ल्याउँदै हैरानी खेपेका त्यहाँका जनताले घरमै धारोको पानी थाप्ने झिनो आशा भने बाँकी नै छ । उमेरले बुढेसकाल लागिसकेका सोही गाउँका हुमबहादुर विकले आठ–दश वर्षदेखि खानेपानीका लागि नापजाँच गरे पनि हालसम्म कुवाकै पानीमा निर्भर हुनुपरेको गुनासो गरे ।
“गाउँमा धेरैपटक खानेपानी ल्याउन प्रयास भए पनि दुर्गम गाउँमा खर्च धेरै लाग्ने भएका कारण कुवाकै पानी खाँदैछौं”, हुमबहादुरले भने, “बर्खामास त घर नजिकै मूल फुट्छ र खान्छौं, हिउँदमा त उत्तरगङ्गाकै पानीको भर पर्नुपर्ने हुन्छ ।” पुस, माघमा अत्यधिक हिउँ पर्ने कारण घुम्ती बसाइँसराइ गरी ढोरपाटन नगरपालिका–८ तल्लो बोबाङमा समेत बस्दै आएका नवीगाउँवासीको अधिकांश बसाइ भने गाउँमै हुन्छ ।

दलित बस्तीको नवी गाउँका ६ सय घरमा एउटै खानेपानीको धारो नभएको ढोरपाटन जनवादी आधारभूत विद्यालयका प्रधानध्यापक देवबहादुर सुनारले जानकारी दिए । सुनारका अनुसार, केही व्यक्तिले क्षमताले भ्याएमा मुलबाट पाइपमा घरमा धारो ल्याए पनि अन्यले कुवाकै पानी प्रयोग गर्दै आएका हुन् । विद्यालयमा समेत खानेपानी पु¥याउन नसकिएको प्रधानध्यापक सुनारको भनाई छ ।

जिल्लाको अधिकांश क्षेत्रमा खानेपानीको पहुँच पुगे पनि बागलुङको पश्चिमक्षेत्रका विकट गाउँमा खानेपानी पुग्न सकेको छैन । हिमपातका कारण बसाइँसराइ गरी तल्लो बोबाङ झर्दा छिटफुट खानेपानीको धारो प्रयोग गर्ने भए पनि नवीमा बस्दा कुवामै पानी ल्याउन जानुपर्ने बाध्यता रहेको नवीवासीको गुनासो छ ।

पशु तथा सरसफाइका लागि खोलानालाको पानी ठिकै भए पनि पिउनका लागि भने समस्या हुने गरेको घरमाथिको कुवामा लुगा धुन आउनुभएकी दिलकुमारी विकले दुखेसो गरे । “कहिले कुवा धमिलो भएको हुन्छ”, दिलकुमारीले भने, “जन्मेदेखि यस्तै पानी पिउँदै आएका छौं, घरमै धारो आए कति सहज हुन्थ्यो होला ।”

नवीगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालनको तयारीमा रहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए । “नवीगाउँमा खानेपानीको निकै समस्या भएको हामीले महसुस गर्दै आएका छौं”, नगरप्रमुख नेपालीले भने । गण्डकी प्रदेश सरकारले प्रदेशका सबै घरमा ‘एक घर, एक धारा’को अभियान सञ्चालन गर्दै आएका कारण धेरै विकट बस्ती यसै कार्यक्रममा समावेश हुनेछन् । नवीगाउँमा खानेपानी पुर्याउन नेवाःसँग सम्झौता भइसकेको छ । एक–दुई वर्षमा नवीगाउँमा एक घर एक धारा जडान भइसक्ने नगरपालिकाले जनाएको छ । रासस

Share News