काठमाडौं । काठमाडौंका होटलहरूले थापाथली लगायत विभिन्न क्षेत्रबाट हटाइएका सुकुम्बासीहरूलाई आश्रय दिन तयार रहेको बताएका छन् ।
होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष टीआर भण्डारी (शंकर)ले थापाथली लगायत विभिन्न जोखिमयुक्त क्षेत्रबाट सरकारले उद्धार गरेका सुकुम्बासी नागरिकहरूको सुरक्षित व्यवस्थापनमा सरकारसँग सहकार्य गर्न महासंघ तयार रहेको बताए ।
उनका अनुसार काठमाडौं उपत्यकाभित्र रहेका महासंघमा आबद्ध होटलहरूमार्फत आवश्यक समन्वय गरी करिब एक हजार जनासम्म नागरिकलाई अस्थायी रूपमा सुरक्षित आश्रयस्थल (बसोबास) उपलब्ध गराउन सकिने व्यवस्था मिलाउन महासंघ सक्षम छ।
उद्धार गरिएका व्यक्तिहरूको सम्मान, सुरक्षा र आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै व्यवस्थित रूपमा आवास उपलब्ध गराउने प्रतिबद्धता महासंघले जनाएको छ ।
यस कार्यका लागि सम्बन्धित सरकारी निकायहरूसँग आवश्यक समन्वय, व्यवस्थापन तथा सहकार्य गर्न महासंघ तत्पर रहेको अध्यक्ष भण्डारीले बताए ।