नबिल बैंकसँग मर्जको हल्लासँगै एनसीसी बैंकको सेयर मूल्यमा उछाल

<p>काठमाडौं । नबिल बैंकसँग मर्ज हुन लागेको हल्ला चलेपछि एनसीसी बैंकको सेयर मूल्यमा उछाल आएको छ । एक महिनायता एनसीसी बैंकको सेयर मूल्य प्रतिकित्ता १२८ रुपैयाँले बढेको छ । एक महिनाअघि प्रतिकित्ता २३६ रुपैयाँमा कारोबार भएको एनसीसी बैंकको सेयर बुधबार प्रतिकित्ता ३६४ रुपैयाँमा कारोबार बन्द भयो । बुधबार मध्यान्न ३८५ रुपैयाँसम्ममा कारोबार भएको थियो जुन [&hellip;]</p>

काठमाडौं । नबिल बैंकसँग मर्ज हुन लागेको हल्ला चलेपछि एनसीसी बैंकको सेयर मूल्यमा उछाल आएको छ । एक महिनायता एनसीसी बैंकको सेयर मूल्य प्रतिकित्ता १२८ रुपैयाँले बढेको छ ।

एक महिनाअघि प्रतिकित्ता २३६ रुपैयाँमा कारोबार भएको एनसीसी बैंकको सेयर बुधबार प्रतिकित्ता ३६४ रुपैयाँमा कारोबार बन्द भयो । बुधबार मध्यान्न ३८५ रुपैयाँसम्ममा कारोबार भएको थियो जुन मूल्य एक महिना पहिलाको तुलनामा ६३ प्रतिशतले बढी हो ।

पछिल्लो समय बैंकले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ ।

नबिल बैंकसँग मर्जको विषयमा छलफल भईरहेको तर यस्तो कुराकानी अहिलेसम्म अनौपचारिकतामा नै सीमित रहेको एनसीसी बैंकका एक उच्च अधिकारीले बताए ।

‘साथीहरुले अनौपचारिक तवरले कुरा गरिरहनु भएको छ । कुराकानी सकारात्मक भएको रिपोर्टिङ गर्नु भएको छ । तर औपचारिक रुपमा सञ्चालक समितिमा छलफल भएको छैन’ उनले भने ।

नबिल र एनसीसी बैंकबीच मर्जको विषयमा नबिल बैंकको व्यवस्थापन तथा सञ्चालक समिति दुबै तहमा छलफल नभएको नबिल बैंकका एक उच्च अधिकारीले नाम नखुलाउने सर्तमा भने । ‘नबिल बैंकले पहिलो पटक मर्जको प्रस्ताव  साधारणसभामा लैजादैछ । ग्लोबल आईएमई बाहेक निजी क्षेत्रका सबै बैंकले नबिलमा मर्ज हुन पाए हुन्थ्यो भने चाहाना राखेका छन् । प्रस्तावहरु आएका छन्’ उनले भने ।

पछिल्लो एक महिनामा नबिल बैंकको सेयर पनि प्रतिकित्ता ९७२ बाट १४८९ रुपैयाँ पुगेकाे छ । बैंकले ३५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । त्यसमा ३३.५ प्रतिशत बोनस सेयर दिने निर्णय सञ्चालक समितिले गरेको छ ।

नबिल रोज्नुको तीन कारण

एनसीसी बैंकले नबिल बैंक तीन कारणले रोजेको छ । पहिलो, नबिल बैंकको व्यवस्थापन राम्रो छ । सम्पत्तिको हिसाबले एनसीसी बैंक धेरै राम्रो छ । मर्ज हुँदा सिनर्जी आउँछ ।

दोस्रो, एनसीसी बैंकको ठूलो समस्या भनेको प्रवद्र्धकहरुबीचको झगडा हो । नबिल जस्तो ठूलो संस्थासँग मर्ज भएको एनसीसी बैंकका प्रवद्र्धकहरुको सेयर हिस्सा सानो हुन्छ । त्यसपछि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सवालदेखि विवाद निकालेर बैंकलाई अप्ठ्यारो पार्ने हैसियत एनसीसी बैंकका प्रवद्र्धकले गुमाउने छन् ।

तेस्रो, एनसीसी बैंकको नेटवर्क धेरै ठूलो छ । एनसीसीसँग मर्ज भएमा नबिल बैंकलाई ग्लोबल आईएमई वा एनआईसी एशिया जस्ता धेरै शाखा भएका बैंकसँग प्रतिस्पर्धा गर्न सजिलो हुन्छ ।

Share News