काठमाडौं । तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षका लागि ल्याएको बजेट अर्थमन्त्री विष्णुप्रसाद पौडेलले करिब १० प्रतिशतले घटाएका छन् ।
बजेट ल्याएपछि गत भदौ तेस्रो साता संविधानले नै अर्थमन्त्री बन्न अयोग्य बनाएपछि बाहिरिएका डा. खतिवडाले चालु आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बराबरको बजेट ल्याएका थिए । अर्थमन्त्री पौडेलले बजेटको मध्यावधी समीक्षा गर्दै कुल विनियोजित बजेटमा ९.१९ प्रतिशतले घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान पेश गरेका छन् ।
कुल बजेटमध्ये चालुतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान अर्थमन्त्रालयको छ । बजेट सार्वजनिक गर्दा चालुतर्फ ९ खर्ब ४८ अर्ब ९४ करोड रुपैयाँ खर्च हुने भनिएको थियो ।
यस्तै, पुँजीगततर्फ २ खर्ब ८३ अर्ब ४ करोड रुपैयाँ बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक गरिएको छ । बजेट ल्याउँदा ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ पुँजीगत बजेट खर्च हुने अनुमान पेश गरिएको थियो ।
वित्तीय व्यवस्थातर्फ १ खर्ब ४६ अर्ब ८६ करोड रुपैयाँ बजेट खर्च हुने संशोधित अनुमान सार्वजनिक गरिएको छ । बजेट सार्वजनिक गर्दा वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ खर्च हुने भनिएको थियो । सरकारले लिएको ऋण तिर्नको लागि वित्तीय व्यवस्थातर्फ बजेट विनियोजन गरेर राख्ने गरिएको छ ।
बजेटको संशोधित अनुमान गर्दा प्रतिनिधिसभा सदस्य निर्वाचन खर्च, कोभिड–१९ विरुद्धको खोप खर्च, अनिवार्य नगद दायित्व, पूर्व सहमती दिइएका ठूला आयोजनाको संभावित दायित्वलाई मध्यनजर गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन गर्ने निर्णय गरेका छन् ।