काठमाडौं । अर्थमन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माणलाई तिब्रता दिएको छ । अर्थमन्त्री विष्णु पौडेल सहभागी भएको समेत गरेर ५ टोलीले बेग्लाबेग्लै काम गरिरहेका छन् ।
अर्थमन्त्रालयका अनुसार मन्त्रालयका विभिन्न ५ महाशाखा प्रमुख संलग्न रहेको बजेट लेखन टोली बनाइएको छ । सो टोलीको संयोजक आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारी वहन गरिरहेका सहसचिव डा. रामप्रसाद घिमिरे छन् । सदस्यहरुमा बजेट तथा कार्यक्रम महाशाखाको प्रमुखको जिम्मेवारी बहन गरिरहेका सहसचिव धनिराम शर्मा, वैदेशिक सहायता महाशाखाका प्रमुखको जिम्मेवारी वहन गरिरहेका सहसचिव श्रीकृष्ण नेपाल, राजस्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी वहन गरिरहेका सहसचिव रामेश्वर दंगाल र योजना, मूल्यांकन तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी वहन गरिरहेका सहसचिव सुमन दाहाल छन् ।
बजेटमा राजस्वको विषयमा उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मी, नागरिक समाज, बुद्धिजिबी, नागरिक लगायत सबै सरोकारवालासँग परामर्श गर्नको लागि नेपाल राजस्व परामर्श समिति गठन गरिएको छ । सो समितिको सभापति महेश दाहाल छन् । दाहाल नेतृत्वको समितिले देशका विभिन्न स्थानमा सार्वजनिक कार्यक्रम तथा अन्य सबै विकल्पबाट राजस्व सम्बन्धी सुझाव संकलन गरिरहेको छ ।
बजेट निर्माणका लागि अर्थसचिव शिशिर ढुंगाना र राजस्व सचिव रामशरण पुडासैनीले पनि सक्रियता जनाइरहेका छन् । दुवै सचिवले सबै मन्त्रालय, आयोग, निकाय जस्ता सरोकारवालाबाट बजेटमा समावेश गरिनु पर्ने कार्यक्रम र बजेट रकमबारे छलफल र समन्वय गरिरहेका छन् । यस्तै, बजेटमा समावेश गरिनु पर्ने कार्यक्रम र योजना बारे विभिन्न सरोकारवालाले ल्याएका सुझाव र योजनाहरुलाई पनि सचिवद्वयले संकलन गरिरहेका मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
आगामी आर्थिक वर्षको बजेट निर्माण कार्यमा अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ पनि सक्रिय भएका छन् । डा. श्रेष्ठले नीतिगत सुझाव संकलन गरी आवश्यक विश्लेषण सहित बजेट निर्माणमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । उनले नेपालको अर्थतन्त्रलाई कसरी अगाडि बढाउने, कोभिड-१९ महामारी लगायतका कारणले समस्यामा परेका उद्योगी, व्यवसायी, श्रमिक तथा अन्य सरोकारवालाको माग कसरी सम्बोधन गर्ने भन्ने जस्ता नीतिगत विषयमा काम गरिरहेका मन्त्रालयले स्रोतले जानकारी दियो ।
बजेट निर्माणका लागि अर्थमन्त्री पौडेल बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म मन्त्रालयमै आएका काम गरिरहेका छन् । केही दिनअघि सम्पन्न सत्तारुढ नेकपा एमाले संसदीय दलको बैठकमा अर्थमन्त्री पौडेलले सबै सांसदहरुलाई आफ्नो क्षेत्रमा संचालन गर्नुपर्ने योजना र बजेटका बारेमा लिखित सुझाव दिन आग्रह गरेका थिए । मन्त्री पौडेलको सो आग्रह अनुसार सांसदहरुबाट प्राप्त सुझाव, योजना तथा बजेटका बारेमा उनले समन्वय गरिरहेका छन् ।
यस्तै, मन्त्री पौडल बाम घोषणापत्रमा उल्लेख गरिएका विषय तथा गत वर्षहरुका बजेटमा समावेश गरिएका राष्ट्रिय महत्वका, राम्रा र लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिनको लागि थप गृहकार्य गरिरहेका छन् ।