काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले ल्याएको आ.व. २०७८/०७९ को बजेटले निर्माण क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका छन् ।
मंगलबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष सिंले आ.व. २०७८÷०७९ को बजेट निर्माण उद्योग अनुकुल भएको बताए । निर्माण क्षेत्रको हरेक विलमा कट्टी गरी राखेको धरौटी रकम बैंक ग्यारेन्टीका आधारमा दिनका लागि आग्रह गरिएको भएपनि ५० प्रतिशत रकम दिने भनिएकोमा सरकारको यो कदम सकारात्मक भएको उनले बताए ।
अध्यक्ष सिंले बजेट कार्यान्वयन गर्न भन्दापनि जनता रिझाउन ल्याएको हो कि भन्ने आशंका गर्ने ठाउँपनि धेरै भएको बताए । कार्यान्वयनको पक्ष भने निकै चुनौती रहेको उनको भनाई छ ।
निर्यात व्यवसायी महासंघका महासचिव अमृत खड्काले पनि बजेट निर्यात क्षेत्रको लागि सकारात्मक रहेको बताए । उत्पादनमुलक उद्योगहरुले निर्यात गर्दा आयकर दर घटाउनु स्वागतयोग्य भएको उनी बताउँछन् । यसले निर्यात व्यवसायमा संलग्न व्यवसायीमा उत्साह प्रदान गरेको उनको भनाई छ ।
काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने आफुहरुको प्रस्ताव सरकारले स्वीकार गरेको उनले बताए । निर्यातका लागि भएका नीतिगत अप्ठ्याराहरुलाई भने यस वर्षको बजेटबाट पनि हट्न नसकेको खड्काले बताए । निर्यात बढाउनका लागि बहुराष्ट्रिय कम्पनीहरुलाई देशमा आर्कषित गर्न सक्नुपर्नेमा उनको जोड छ ।
नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष राजेशकाजि श्रेष्ठले बजेट कार्यान्वयनका लागि समयसिमा नै तोकिदिनुपर्ने बताए । घोषणा गरिएको बजेट कार्यान्वयनका लागि कति बेला के गर्ने भन्ने स्पष्ट व्यवस्था हुनुपर्नेमा उनको जोड छ । समयमा बजेट कार्यान्वयन गर्ने सम्बन्धित निकायलाई सम्मान र बजेट कार्यान्वयन नगर्नेलाई सजाय र कारबाही गरियो भने बजेटको स्वत्ः कार्यान्वयन हुने उनको भनाई छ ।