काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आइतबार (आज)देखि चितवनको भरतपुरमा भव्य रूपमा सुरु भएको छ ।
संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका वरिष्ठ नेताहरू महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्न भरतपुर पुगिरहँदा रास्वपाका सांसद अमरेशकुमार सिंह भने समारोहमा अनुपस्थित भएका छन् ।
पार्टीको यति ठूलो आन्तरिक उत्सवमा उनको अनुपस्थितिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
सांसद सिंहले हालै प्रतिनिधिसभा बैठकमा आफ्नै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए । संसदमा बजेटका प्राथमिकताहरूमाथि महत्त्वपूर्ण छलफल भइरहँदा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लगायतका जिम्मेवार मन्त्रीहरू उपस्थित नभएको भन्दै उनले संसदमा आक्रोश व्यक्त गरेका थिए।
सरकारको क्रमभंगताको नारा व्यावहारिक रूपमा नदेखिएको र विगतमा स्वतन्त्र रहँदा आफूले उठाउँदै आएका एजेन्डाहरूलाई पार्टीभित्र पर्याप्त स्थान नदिइएको भन्दै उनी रुष्ट बनेका हुन् ।
विगतमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को कट्टर समर्थक रहेका सिंहको दृष्टिकोणमा अचेल ठूलो परिवर्तन आएको छ ।
गत वर्ष जनकपुरधाममा भएको रास्वपाको चुनावी सभामा ‘बालेन प्रधानमन्त्री नभए आत्मदाह गर्छु’ सम्मको अभिव्यक्ति दिएका सिंहले अहिले भने बालेनको कार्यशैलीप्रति कडा कटाक्ष गरेका छन् । सरकार चलाउनु र महानगर चलाउनु एउटै नभएको टिप्पणी गर्दै उनले भनेका थिए, ‘सरकार चलाउनु महानगर चलाउनुजस्तो सजिलो काम होइन ।’
सांसद सिंहको असन्तुष्टि केन्द्रमा मात्र सीमित नभएर तल्लो तहसम्म पुगेको छ । विशेष गरी मधेस प्रदेशको जलेश्वर र सर्लाही क्षेत्रमा रास्वपाका स्थानीय कार्यकर्ता र अमरेश सिंहका समर्थकहरूबीच विवाद बढ्दै गएको छ । सिंहविरुद्ध नाराबाजीसमेत भएको छ।