काठमाडौं । सरकारले बजेट मार्फत सत्तारुढ नेकपा एमालेसँग निकट मानिने व्यवसायिक घराना यति ग्रुपलाई ५४ रुपैयाँभन्दा बढी छुट दिलाउने नीतिगत व्यवस्था गरेको छ ।
आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटले यति ग्रुपलाई ५४ लाख ७८ हजार रुपैयाँ छुट हुने नीतिगत व्यवस्था गरेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा गरेको एक नीतिगत व्यवस्थाले यति ग्रुप कम्तिमा पनि सो बराबरको छुट पाउनको लागि योग्य भएको छ ।
‘सरकारी र सरकारी स्वामित्वका निकायको घर, गोदाम वा जग्गा भाडामा लिई व्यवसाय गरेका व्यवसायीहरुले निषेधाज्ञा अवधिको भुक्तानी गर्नुपर्ने भाडामा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाइनेछ,’ आगामी आर्थिक वर्षको लागि अर्थमन्त्री पौडेलले सार्वजनिक गरेको बजेट वक्तव्यको बुँदा नम्बर ६२ मा उल्लेख छ ।
बजेटमा गरिएको सो व्यवस्थाबाट नेपाल ट्रष्टको सम्पत्ति भाडामा लिएर व्यवसाय गरिरहेको यति ग्रुपलाई प्रत्येक्ष फाइदा पुग्ने देखिएको छ । यति ग्रुपले निषेधाज्ञाको समय (बैशाख १६ गतेदेखि जेठ ३० गतेसम्मको साढे १ महिनाको अवधिमा) गोकर्ण फरेष्ट रिसोर्टको भाडा वापत २२ लाख ८१ हजार ५ सय, दरबारमार्गको जग्गाको भाडा वापत २८ लाख १२ हजार ५ सय र काठमाडौंकै ताहाचलको जग्गा भाडा वापत ३ लाख ८४ हजार गरी ५४ लाख ७८हजार रुपैयाँ छुट पाउने भएको हो ।

नेपाल ट्रष्टले गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्टले चर्चेको २ हजार ७ सय ९२ रोपनी जग्गा साविकको एलएम सुभिर ब्रदर्स (नेपाल) प्रालिलाई भाडामा दिएको छ । ट्रष्टले सन् २०२२ सम्म बार्षिक ३ लाख १२ हजार अमेरिकी डलर भाडामा दिएको हो । सो रकम आजको अमेरिकी डलरको विनिमय दर प्रतिडलर ११७ रुपैयाँका दरले बार्षिक ३ करोड ६५ लाख ४ हजार रुपैयाँ हुन आउँछ । यस्तो रकमबाट साढे १ महिनाको भाडा छुट हुँदा २२ लाख ८१ हजार ५ सय रुपैयाँ छुट हुने देखिन्छ । गोकर्ण फरेष्ट रिसोर्ट यति ग्रुपले संचालन गरिरहेको छ ।

यति ग्रुप अन्तरगतै कम्पनी थामसेर्कु ट्रेकिङ प्रालिले काठमाडौंको दरबारमार्गमा ट्रष्टको नाममा रहेको १ रोपनी १४ आना जग्गा भाडामा लिएर व्यवसायिक भवन बनाएर प्रयोग गरिरहेको छ । सो जग्गाको भाडा विसं २०७८ देखि २०८१ सालसम्म बार्षिक ४ करोड ५० लाख रुपैयाँमा सम्झौता भएको छ । सो जग्गाको भाडा वापत यति ग्रुप अन्तरगतको कम्पनी थामसेर्कुले मासिक ३७ लाख ५० हजार रुपैयाँ तिर्ने गरेको सम्झौताबाट देखिन्छ । यो मासिक भाडामा निषेधाज्ञाको अवधि (साढे १ महिना) छुट हुँदा थामसेर्कुले २८ लाख १२ हजार ५ सय रुपैयाँ छुट पाउने छ ।

थामसेर्कुले नेपाल ट्रष्टकै स्वामित्वमा रहेको काठमाडौंको ताहाचलस्थित सोल्टी आउटर कम्प्लेक्स रहेको ४ रोपनी ४ आना जग्गा अहिले वार्षिक ६१ लाख ४४ हजार रुपैयाँ तिर्ने गरी भाडामा लिएको छ । थामसेर्कुले सो जग्गाको भाडा वापत साढे १ महिनाको ५० प्रतिशत छुट पाउँदा ३ लाख ८४ हजार रुपैयाँ छुट पाउनेछ ।
स्वर्गी राजा विरेन्द्र र उनको परिवारको सम्पत्ति नेपाल ट्रष्ट अन्तरगत ल्याइएको छ । सो सम्पत्ति नै नेपाल ट्रष्टले विभिन्न कम्पनीहरुलाई भाडामा दिएको हो । भाडा वापत नेपाल ट्रष्टले वार्षिक १२ करोड २१ लाख ५१ हजार रुपैयाँ लिने गरेको थियो । सरकारले बजेटमा गरेको व्यवस्था कै कारण नेपाल ट्रष्टको आम्दानी कम्तिमा पनि ७६ लाख ३४ हजार रुपैयाँभन्दा बढी गुम्ने देखिएको छ ।