
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकारले स्वास्थ्य बीमाको दायरामा सबै नेपाली आउन सके स्वास्थ्योपचारमा सहजता हुने बताएका छन् ।
बुधवार नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
उनले पत्रकारहरुको स्वास्थ्य उपचारको लागि स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघबीच समन्वय र सहकार्य गरेर अघि बढ्न सकारात्मक रहेको पनि बताए । मन्त्री खतिवडाले श्रमजीवि पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा यसअघिको बजेटमा ल्याइएको भए पनि अहिलेसम्म कार्यान्वयन नहुनुले चिन्तित बनाएको बताए ।
त्यस्तै, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारको स्वास्थ्य उपचारका लागि अस्पताल छुट्टै अस्पताल बनाएर निःशुल्क स्वास्थ्य सेवा दिनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघले आज स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम एवं प्रभातफेरि कार्यक्रम गरेर ६७औँ स्थापना दिवस मनाएको हो ।