
बाँके । सनी सेक्यूरिटिजले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्य र जिल्ला प्रहरी कार्यालय, बाँकेको समन्वयमा एकदिने सेयर तालिम सम्पन्न भएको छ ।
गत शनिबार बिहान ७ देखि ११ बजेसम्म सम्पन्न तालिममा बाँके जिल्लामा सेवारत प्रहरी जवान तथा अधिकृतहरू गरी ६२ जनाको सहभागिता थियो।
तालिममा विशेष गरी सेयर बजारको परिचय, डिम्याट खाता खोल्ने र आइपिओ मार्फत लगानी गर्ने, कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, सेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा नेपालमा अनलाईन शेयर कारोबारको महत्त्वलगायत जानकारी गराइएको थियो ।
साइन्टिफिक विजनेश हव प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले आर्थिक र वित्तीय क्षेत्रसम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप दिन तालिमको आयोजना भएको जानकारी दिए ।
तालिममा दोस्रो बजार र सेयर मूल्य निर्धारण, परिसुचक र सर्किट ब्रेक, लाभांश र हकप्रद सेयर, बुक क्लोज र मूल्य समायोजनबारे विशेष जानकारी गराइएको थियो ।