काठमाडौं । लामो समयपछि सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । निरन्तर घटीरहेको नेप्से परिसूचक आइतबार भने ९५.४६ अंकले बढेर २४२०.९१ बिन्दुमा पुगेको छ । जुन प्रतिशतको आधारमा ४.११ प्रतिशतले बढी हो ।
बजारमा परिसूचकसँगै सेयर कारोबार रकम पनि ५६.१७ प्रतिशतले बढेको छ । अघिल्लो कारोबारमा १ अर्ब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा आइतबार २ अर्ब ५३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएका छन् ।
जसमध्ये सबैभन्दा बढी सानिमा बैंकको प्रमोटर सेयर किनबेच भएको छ । बैंकको एकैदिन २२ करोड रुपैयाँ बराबरको संस्थापक सेयर खरिद बिक्री भएको हो । र, उक्त सेयरको मूल्य प्रतिकित्ता १८५ रुपैयाँ छ ।
त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा शिवम् सिमेन्ट रहेको छ । कम्पनीको एकैदिन ११ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ९६२.९० रुपैयाँमा भएको हो ।
त्यस्तै, कारोबार खुलेदेखि बढेको बजारमा अधिकांश कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । नेष्ठो लघुवित्त र साल्ट ट्रेडिङ्ग कर्पोरेसन बाहेक कारोबारमा आएका सबै कम्पनीको सेयर मूल्य बढेको छ ।
सेयर मूल्य बढ्नेमध्ये २७ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा पनि १० वटा कम्पनीको ठ्याक्कै १० प्रतिशतले सेयर मूल्य बढेको छ भने बाँकीको १० प्रतिशत हाराहारीले मूल्यमा वृद्धि भएको छ । सेयर मूल्य १० प्रतिशतले बढ्नेमा नेशनल हाइड्रो पावर कम्पनी, वेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, मञ्जुश्री फाइनान्स, खानीखोला हाइड्रोपावर कम्पनी, घलेम्दी हाइड्रो, यूनिभर्सल पावर कम्पनी र हिमाल दोलखा हाइड्रो पावर कम्पनी छ ।
त्यस्तै, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, ग्रीन भेन्चर्स, पोखरा फाइनान्स, आँखुखोला जलविद्युत कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, बरुण हाइड्रोपावर कम्पनी, सिंगटी हाइड्रो इनर्जी, यूनाईटेड मोदी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, अपि पावर कम्पनी, अरुण काबेली पावर, गुराँस फाइनान्स र सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.५ प्रतिशतभन्दा बढीले बढेको छ ।
त्यस्तै, कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह ४३४.३७ अंकले बढेको छ भने सबैभन्दा कम बढ्नेमा म्युचुअल फण्ड समूह रहेको छ । सो समूह ०.३१ अंकले बढ्न सफल भएको छ ।