काठमाडौं । अबदेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । यसअघि हरेक शुक्रबार बन्द हुँदै आएको सेयर बजार आगामी जेठदेखि भने शुक्रबार पनि खुल्ने भएको हो ।
नेपाल सरकारले हरेक हप्ता दुई दिन सार्वजनिक बिदा दिने भएपछि सेयर कारोबार खुल्ने दिनको परिमार्जन गरिएको हो । सरकारले २०७९ जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यससँगै नेप्सेले पनि आइतबार बिदा दिएर त्यसको साटो शुक्रबार सेयर कारोबार खोल्ने विषयमा छलफल भइरहेको नेप्सेका सीईओ कृष्ण बहादुर कार्कीले बताए ।
‘सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ, त्यसैले सेयर बजार पनि आइतबार बन्द हुन्छ, यसको सट्टा शुक्रबार खोल्छौं,’ नेप्सेका सीईओ कार्कीले बताए ।
हरेक साता दुई दिन बिदा दिने निर्णय गरेको सरकारले कार्यालय समयमा पनि केही परिमार्जन गरेको छ । नयाँ निर्णय अनुसार सरकारले कार्यालय समय बिहान ९ः३० देखि बेलुका ५ः३० बजेसम्म तोकेको छ । हालसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म कार्यालय समय तोकिएको थियो ।
सरकारले कार्यालय समय पनि परिवर्तन गरेसँगै सेयर कारोबारको समय पनि परिमार्जन हुन्छ की भन्नेमा अन्यौलता छ । तर सेयर कारोबार समय परिवर्तन गर्ने विषयमा भने केही पनि छलफल नभएको सीईओ कार्कीले बताए । हाल सेयर बजार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुल्दै आएको छ ।
‘समय परिवर्तन गर्ने विषयमा हालसम्म छलफल भएको छैन, सायद परिवर्तन हुँदैन होला,’ उनले विकासन्युजलाई बताए ।
उनका अनुसार यो नयाँ निर्णय आगामी जेठ १ गतेदेखि नै लागू छ । तर नियामक निकाय धितोपत्र बोर्डले निर्णय गरेपछि मात्रै नेप्सेले कार्यान्वयनमा ल्याउने समेत उनको भनाई छ ।