काठमाडौं । मर्जर तथा गाभिने प्रक्रियामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले माफी मागेको छ ।
साथै नेप्सेले के कति कारणले सेयर कारोबार भएको हो भन्नेबारे अनुसन्धान समेत अघि बढाएको छ । रिलायन्स लाइफ इन्स्योरेन्सको त्रुटिवश नेप्सेमा कारोबार हुन गएको भन्दै अनुसन्धान गरेको हो ।
रिलायन्स लाइफ सानिमा लाइफ इन्स्योरेन्ससँग मर्जर गर्नेभएपछि कारोबार बन्द रहेको छ । दुवै कम्पनीबीच गत असार २९ गते मर्जरको सम्झौता भएको थियो । नेप्सेमा दुवै कम्पनीको सेयर कारोबार रोक्का छ । तर शुक्रबार कारोबारको समयमा टप गेनरमा रिलायन्सको नाम देखिएपछि कारोबार भएको अनुमान गरिएको छ ।
कम्पनीको १६ वटा कारोबारमा २ लाख २४ हजार १ सय २६ रुपैयाँ बराबरको ६ सय १० कित्ता सेयर कारोबार भएको थियो । तर, १२ बजे भन्दा अघि नै कम्पनीको कारोबार पुनः रोक्का गरेको हो ।
‘गाभ्ने तथा गाभिने प्रक्रियामा रहेको रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको कारोबार हुन गएको देखिएकोले यस सम्बन्धमा के कसो भएको हो ? भन्ने विषयमा नेप्सेले उक्त कम्पनीको कारोबार तत्काल बन्द गरी अनुसन्धान बढाएको छ,’ नेप्सेले भनेको छ । यसबाट लगानीकर्तामा पर्न गएको असुविधाप्रति नेप्से क्षमाप्रार्थी रहेको जनाएको छ ।