एचआईडीसीएलको सेयर मूल्य अक्सनमा भन्दा दोस्रो बजारमा सस्तो

<p>काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसिएल) ले भदौ २० गतेदेखि संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँमा २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता सेयर बिक्री गर्ने भएको हो । गोप्य शिलबन्दी बोलपत्र मार्फत् बिक्री गरेपनि कम्पनीको सोही प्रकृतिको सेयर दोस्रो बजारमा प्रतिकित्ता १ सय रुपैयाँ [&hellip;]</p>

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसिएल) ले भदौ २० गतेदेखि संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँमा २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

गोप्य शिलबन्दी बोलपत्र मार्फत् बिक्री गरेपनि कम्पनीको सोही प्रकृतिको सेयर दोस्रो बजारमा प्रतिकित्ता १ सय रुपैयाँ भन्दाकम मूल्यमा कारोबार भइरहेको छ । दोस्रो बजारमा कम्पनीको सेयर कारोबार अक्सन सेयर भन्दा कम भएपछि बिक्री नहुन सक्ने सेयर जानकारहरु बताउँछन् । दोस्रो बजारमा कम्पनीको सेयर मूल्य १ सय रुपैयाँ भन्दा कम भएका बेलामा बिक्री गर्न नहुने एक लगानीकर्ताले विकासन्युजसँग बताए ।

बिहीबार कम्पनीको १ लाख २० हजार २५४ कित्ता सेयर खरिद बिक्री हुँदा १ करोड २० लाख १९ हजार ४५१ रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको उक्त सेयर न्यूनतम प्रतिकित्ता ९८ रुपैयाँदेखि १ सय रुपैयाँमा कारोबार भएको हो । बिहीबार कम्पनीको संस्थापक सेयर खरिदकर्ताले न्यूनतम ९६.७० रुपैयाँ सम्म मूल्य राखेर २ सय कित्ता अर्डर गरेका थिए ।

कम्पनीको सेयर मूल्य यसअघि हिजो बुधबार प्रतिकित्ता ९८.२० रुपैयाँ थियो भने आज १.८० रुपैयाँ बढेर प्रतिकित्ता १ सय रुपैयाँ छ । कम्पनीको सेयर मूल्य अधिकतम ११५.२० रुपैयाँ पुगेको छ भने न्यूनतम ९६.५० रुपैयाँसम्म झरेको छ ।

दोस्रो बजारमा लगानीकर्ताले अक्सन मूल्यभन्दा कम मूल्यमा सेयर खरिद गर्न पाइरहँदा गोप्य शिलबन्दी बोलपत्रको सेयर बिक्री नहुने आँकलन गरिएको छ । कम्पनीले सेयर मूल्य घटेको बेलामा अक्सनमा सेयर बिक्री गर्न नहुने सुझाव लगानीकर्ता डमरु बल्लव घिमिरेकाे छ ।

यसअघि कम्पनीले गत साउन १५ गतेदेखि साउन २९ गतेसम्म २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो । सो समयमा कम्पनीको ४६ लाख ४ हजार ९८५ कित्ता सेयर मात्रै बिक्री भएको थियो । यस्तै, गत असार ५ गतेदेखि १९ गतेसम्म ३ करोड ३० लाख संस्थापक सेयर लिलामी गर्दा ५१ लाख ९० हजार ५२० कित्ता मात्रै बिक्री भएको थियो ।

कम्पनीले हालसम्म गरी ४ पटक सेयर लिलामीमा राखेको हो । तर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण कम देखिएपछि बिक्री गर्न हम्मेहम्मे परिरहेको छ । ग्लोबल आइएमई क्यापिटलका सीईओ पारसमणी ढकालले १ सय रुपैयाँ भन्दा कम मूल्यमा अक्सन गर्न नमिल्ने बताए । सेयर बिक्री गर्नुपर्ने बाध्यता रहेकाले बिक्रीमा राखिएको उनको भनाइ छ । दोस्रो बजारमा सेयर मूल्य कम भएपनि धेरै कित्ता खरिद गर्न नमिल्ने उनको तर्क छ ।

‘मार्केटमा धेरै कित्ता पाइँदैन्, अलिअलि कित्ता मात्रै खरिद गर्न मिल्छ, दोस्रो बजारमा खरिद गर्दा शुल्क पनि तिर्नुपर्छ,’ उनले भने, ‘एक सय रुपैयाँभन्दा कम मूल्यमा अक्सन गर्न मिल्दैन तर बजारमा कम मूल्यमा कारोबार भइरहेको छ ।’ कम्पनीको संस्थापक सेयर हालै मात्र दोस्रो बजारमा कारोबारमा आएको हो । कम्पनीको हकप्रद सेयर (अक्सन प्रमोटर) गत शुक्रबारदेखि मात्रै कारोबारमा आएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका–२०७४ को दफा १५ को उपदफा ३ को ‘ख’ मा सेयर बिक्री गर्नु पर्दा अंकित मूल्यमा बढाबढ गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, सोही दफाको ‘ग’ मा हकप्रद सेयर लिलाम बढाबढबाट बिक्री गर्ने सम्बन्धी सूचना बिक्री खुला हुनुभन्दा कम्तिमा ७ दिन अगाडि कुनै दुईवटा राष्ट्रिय स्तरको पत्रिकामा प्रकाशन गर्नु पर्ने उल्लेख गरिएको छ । साेही कारण कम्पनीलाई दाेस्राे बजारमा सेयर मूल्य कम भएपनि अक्सनमा बिक्री गर्नु पर्ने बाध्यता भएकाे हाे ।

Share News