
काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकारविरुद्ध आन्दोलन जारी राख्ने निणर्य गरेको छ । चितवनमा शुक्रबार र शनिबार नाडाका अध्यक्ष धुर्व थापाको अध्यक्षतामा अटोमोवाइल व्यवसायीहरुको बृहत भेलाले यस्तो निर्णय गरको हो ।
सरकारले ८ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप तथा भ्यान र १५० सिसिभन्दा माथिका मोटररसाइकलको आयातमा लगाएको प्रतिबन्ध खुलाए पनि उच्च ब्याजको कारण सहजता आउन नसकेको र व्यवसायीहरु धमाधम पलाएन हुने अवस्था आएकोले व्यवसायीहरुले दोस्राे चरणको आन्दोलनमा जाने निर्णय गरेको नाडाले जनाएको छ ।
नाडाले मिति मङ्गसिर १६ गते पत्रकार सम्मेलन मार्फत प्रथम चरणको आन्दोलन घोषणा गरि मङ्गसिर २२ गते काठमाण्डौ लगायत ७ वटै प्रदेशमा एकै साथ धर्ना कार्यक्रम मार्फत विरोध गरेको थियो ।
भेलाले वार्ता र आन्दोलन दुबैलाई एकैसाथ अघी बढाउने र व्यवसायीहरुले राखेको माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने निर्णय गरेको छ ।
सोहि दिन बसेको नाडाको १३ औं कार्य समितिको बैठकले नाडाको आउँदो ४६ औं वार्षिक साधारण सभा माघ २७ गते काठमाडाैंमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।