मर्जर पश्चात् यी ५ बैंकको प्रतिस्पर्धी परिवर्तन, को बन्ला नम्बर वान ?

<p>काठमाडौं । मर्जर भएका बैंकहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । २६  वटा बैंकमध्ये यसै साल मात्र मर्ज हुँदै २२ वटा बैंकमा झरेपछि ५ ठूला बैंकहरुबीच प्रतिस्पर्धा रोचक हुने देखिएको हो । २०७९ सालको मर्जरपछि नबिल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एक अर्काका प्रतिस्पर्धी बैंकका रुपमा उदाएका [&hellip;]</p>

काठमाडौं । मर्जर भएका बैंकहरुबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । २६  वटा बैंकमध्ये यसै साल मात्र मर्ज हुँदै २२ वटा बैंकमा झरेपछि ५ ठूला बैंकहरुबीच प्रतिस्पर्धा रोचक हुने देखिएको हो ।

२०७९ सालको मर्जरपछि नबिल बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक एक अर्काका प्रतिस्पर्धी बैंकका रुपमा उदाएका छन् ।

वाणिज्य बैंकहरुमा पछाडि रहेका बैंकहरु मर्ज हुँदै टप फाइभ भित्र पुगेका छन् । मर्जरपश्चात् ठूला बनेका यी बैंकहरुले आगामी दिनमा कस्तो व्यवसाय गर्लान् त्यो भने हेर्न बाँकी नै छ । तर मर्जर पश्चात् भने अबका मुख्य प्रतिस्पर्धी बैंकका रूपमा उनीहरू उदाएका छन् ।

साथै, हिमालयन बैंक र सिभिल बैंक र लक्ष्मी बैंक र सनराइज बैंक मर्जर प्रक्रियामा रहेका छन् । यी बैंक मर्जर पश्चात् भने प्रतिस्पर्धा झनै रोचक बन्ने छ ।

नबिल बैंक

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गत असारमा गाभेर  सबैभन्दा ठूलो बैंकको रूपमा उदाएको थियो । त्यसपछि भएका मर्जहरूले नबिल बैंकको पहिलो स्थान खोसिने सम्भवाना रहेको छ ।

बैंकको चुक्ता पूँजी २२ अर्ब २३ करोड रुपैयाँ रहेको छ । यस्तै, बैंकको जगेडा कोष २७ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । बैंकको कूल निक्षेप ३ खर्ब ३४ अर्ब रुपैयाँ र कर्जा प्रवाह ३ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ । बैंकको २४० वटा शाखा कार्यालय र २७५ वटा एटिएम रहेका छन् ।

कुमारी बैंक 

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसी० बैंक पुस १७ गतेदेखि एकीकृत भएर कुमारी बैंकको नामबाट कारोबार भएको हो । यी दुई मर्जर हुनुअघि अधिकांश सूचकमा पछाडि थिए । तर, मर्जर पश्चात् भने टप फाइभ भित्र परेका छन् ।

कुमारी बैंकको चुक्ता पूँजी २६ अर्ब २३ करोड रुपैयाँ र जगेडा कोष १० अर्ब भन्दा बढी रहेको छ । यस्तै, कुमारी बैंकको कूल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । कुमारी बैंकको शाखा संख्या ३०६, एटीएम संख्या ३४४, एक्स्टेन्सन काउन्टर ४७ वटा र शाखारहित शाखा ६२ वटा पुगेका छन् । साथै कर्मचारीको संख्या ३ हजार २६७ जना रहेका छन् ।

ग्लोबल आइमएई बैंक 

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको गत पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार भएको हो । मर्जरअघि पनि केही सूचकहरूमा नम्बर वान रहेको ग्लोबल आइएमई बैंक मर्जर पश्चात् भने धेरै सूचकमा पहिलो बैंक बनेको छ ।

ग्लोबल आइएमई बैंकको कूल सम्पत्ति ५ खर्ब ५ अर्ब रुपैयाँ र कूल पूँजी ५७ अर्ब रुपैयाँ रहेको छ । साथै बैंकको चुक्ता पुँजी ३५.७७ अर्ब रुपैयाँ र जगेडा कोष २२ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । बैंकको कूल निक्षेप ४ खर्ब १२ अर्ब रुपैयाँ र कूल कर्जा ३ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ ।

ग्लोबल आइएमई बैंकको ३६५ शाखा कार्यालय, ३६७ एटिएम मेसिन, २८६ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेश स्थित सम्पर्क कार्यालय रहेका छन् । बैंकमा ४ हजार ४ सय जना कर्मचारी कार्यरत छन् भने ४० लाखभन्दा बढी ग्राहकलाई सेवा बैंकले दिइरहेको छ ।

प्रभु बैंक 

प्रभु बैंक र सेञ्चुरी बैंकको पुस २६ गतेदेखि एकीकृत कारोबार सुरू भएर प्रभु बैंकको नामबाट कारोबार भएको हो । केही सूचकमा अघि रहेको प्रभु बैंकले पुच्छारमा रहेको सेञ्चुरी बैंकलाई प्राप्ति गरेपश्चात् टप फाइभ भित्र पुगेको छ ।

प्रभु बैंकको कूल सम्पत्ति ३ खर्ब ४० अर्ब रुपैयाँ र कूल पूँजी ३४ अर्ब रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी २३ अर्ब ५२ करोड रुपैयाँ र जगेडा कोष ८ अर्ब ३८ करोड रुपैयाँ रहेको छ ।

बैंकको निक्षेप २ खर्ब ८४ अर्ब रुपैयाँ र कूल कर्जा २ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ । बैंकको शाखा सञ्जाल ३६५ वटा र ३०९ वटा एटिएम मेसिन पुगेको छ । प्रभु बैंकको कर्मचारी संख्या ३ हजार ५५५ जना कर्मचारीले ३० लाख ग्राहकलाई सेवा दिइरहेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक 

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक पुस २७ गते मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार गरिरहेको छ । मर्जर पश्चात् यस बैंकको प्रतिस्पर्धी नै परिवर्तन भएको छ । बैंकले जहिल्यै पनि टप थ्री भित्र रहने लक्ष्य लिएको छ । केही सूचकमा नम्बर वान र अधिकांश सूचकमा दोस्रो र तेस्रो रहेको यस बैंकले आगामी दिनमा झनै बलियो बन्ने देखिन्छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको कूल सम्पत्ति ४ खर्ब ७१ अर्ब रुपैयाँ र कूल पूँजी ५८ अर्ब रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी ३४ अर्ब रुपैयाँ र जगेडा कोष २४ अर्ब रुपैयाँ रहेको छ ।

बैंकको कूल कर्जा ३२९ अर्ब रुपैयाँ र निक्षेप ३०७ अर्ब रुपैयाँ रहेको छ । बैंकको शाखा कार्यालय २९६, एटिएम मेशिन २७९ र एक्सटेन्सन काउन्टर ५९ वटा रहेका छन् । बैंकका ३ हजार ३१५ जना कर्मचारीले नेपालको जनसंख्याको १० प्रतिशत जनसंख्यालाई सेवा दिइरहेको बैंकले जनाएको छ ।

Share News