
काठमाडौं । हिमालयन बैंकसँग एकीकृत कारोबारको तयारीमा रहेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल बाहिरिने भएका छन् । सिभिल बैंक हिमालयनमा गाभिएपछि सीईओ पोखरेल स्वेच्छिक अवकास सुविधा (भिआरएस) मा बाहिरिने भएका हुन् ।
यसअघि उनी हिमालयन बैंकको वरिष्ठ डीसीईओ बन्ने सहमति थियो । पछिल्लो समय कर्मचारी समायोजनामा कुरा नमिलेपछि उनी भिआरएस सुविधामा बाहिरिने भएका हुन् ।
सिभिल बैंक सञ्चालक समिति सदस्य अम्बिर बोगटीका अनुसार उनी भिआरएस सुविधामा बाहिरिने निर्णय पनि भइसकेको छ । सीईओ पोखरेल बाहिरिए पछि सिभिल बैंकको कर्मचारीको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सचिन जंग रायमाझीको नेतृत्वमा हिमालयन बैंकमा जानेछ । हिमालयन बैंकमा उनी चौथो वरियता पाउनेछन् ।
हाल सीईओ पोखरले मातृ शोकमा परेको कारणले पनि दुई बैंकबीच एकीकृत कारोबार सरेको हो । हिमालयन बैंकमा जाँदा एक तह घट्नु पर्ने भन्दै सिभिल बैंकका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गरेका हुन् । सिभिल बैंकका कर्मचारी युनियनका महासचिव निराजन केसीले एक तह घटुवा हुने गरी कर्मचारी समायोजन गर्न लागिएको विरोधमा २ घण्टा पेन डाउन गरिएको बताए ।
‘व्यवस्थापनबाट एक तह पद घट्ने इमेल आयो, सुरुमा समान हैसियतमा हुने कुरा थियो, अहिले एक्कासी आएर पद घटाउन मिल्दैन, हामी यसको विरोध गर्छौं,’ उनले भने ।
यद्यपि, सञ्चालक बोगटीले भने सिभिल बैंकमा कर्मचारीको जुन पद छ हिमालयन बैंकमा पनि त्यही पद कायम हुने बताएका छन् । त्यसमा कुनै कम्प्रोमाइज नभएको उनी बताउँछन् । ‘सिभिल बैंकमा एसिस्टेन्ट पद ४ वटा छन् भने हिमालयनले ५ वटा बनाएको छ, हाम्रो ४ वटा पोस्ट हिमालयन बैंकमा पनि त्यहि हुन्छ,’ उनले भने ।
१० गते एकीकृत कारोबारकाे तयारी
हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार फागुन १० गते गर्ने निर्णय भएको छ । यसअघि माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी भएपनि केही प्राविधिक कारणले एकीकृत कारोकार रोकिएको थियो । अब एकीकृत कारोबार फागुन १० गते गर्ने निर्णय भएको सञ्चालक बोगटीले बताए ।
‘हामीलाई अहिले समस्या आएको छ, हिमालयन बैंकका सीईओको बुवा र सिभिल बैंकका सीईओ पोखरेलको आमाको निधन भएको हुँदा समस्या भएको छ, त्यसैले नै एकीकृत कारोबार मिति सार्नु परेको हो, राष्ट्र बैंकमा अन्तिम स्वीकृति पाइसकेका छौं, स्वीकृति पाएको १ महिनाभित्र एकीकृत कारोबार गर्नुपर्छ, ढिलोमा फागनु दोस्रो साता सातामा एकीकृत कारोबार हुन्छ, हामीले फागुन १० गते एकीकृत कारोबार गर्ने निर्णय गरेका छौं,’ उनले भने ।
उनका अनुसार नेपाल राष्ट बैंकले फागुन १६ गतेसम्म एकीकृत कारोबार गर्न निर्देशन दिएको छ ।
हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रारम्भिक सम्झौता हुँदा मर्जरपश्चात् पनि हिमालयन बैंकको सञ्चालक समिति कायम रहने सहमति भएको छ ।
साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सम्झौता अनुसार हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुने भएको छ ।