
काठमाडौं । प्रजातन्त्रको अवसरमा नेपाली कांग्रेसले शुभकामना व्यक्त गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना शन्देशमार्फत नेपालीहरुमा शुभकामना व्यक्त गरेका हुन् ।
‘फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिनका अवसरमा म समस्त नेपाली दिदिबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, सभापति देउवाद्वारा जारी शन्देशमा भनिएको छ ।
२००७ को कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको सभापति देउवाले बताएका छन् । ००७ सालको आन्दोलनले राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रसस्त गरेको सभापति देउवाले बताएका छन्।
‘मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार पनि सो दिनले निर्माण ग¥यो’, सभापति देउवाले शुभकामना सन्देशमा भनेका छन् । समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ को परिवर्तन र ०६२/६३ को आन्दोलन मार्फत संघीयता र गणतन्त्र सम्मको यात्राको जननी त्यही फागुन ७ को क्रान्ति भएको सभापति देउवाले बताएका छन् ।
‘नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समुन्नतिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न राष्ट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु’, देउवाले शन्देशमा भनेका छन् ।
साथै उनले शन्देशमार्फत देशमा लोकतन्त्र स्थापनाको लागि जीवन उत्सर्ग गरेका शहीदहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।