
फाइल फोटो
काठमाडौं । साझा यातायातले चीनबाट ल्याएको ३७ थान विद्युतीय बस सञ्चालनमा नआउँदै थन्किएको छ । गत कात्तिकको अन्तिम साता चीनबाट काठमाडौं आइपुगेका साढे ५५ करोड रुपैयाँ बराबरका उक्त बस हाल पार्किङमै थन्किएको हो ।
पर्याप्त चार्जिङ स्टेशन नहुँदा विद्युतीय बस सञ्चालनमा नआएको साझा यातायातका सञ्चालक समिति सदस्य भुषण तुलाधरले जानकारी दिए । ‘निजी कम्पनीले सञ्चालनमा ल्याएका चार्जिङ स्टेशनबाट हाम्रा गाडीहरु चार्ज भएनन्, हामीसँग पर्याप्त संख्यामा चार्जिङ स्टेशन छैनन्, त्यसैले काठमाडौं उपत्यकाका लागि भनेर खरिद गरिएको बसहरु पार्किङमै थन्कियो,’ उनले भने ।
उनले चार्जिङ स्टेशनका लागि आवश्यक पर्ने जग्गा दिलाउन सरकारसँग आग्रह गरिरहेको समेत बताए ।
‘हामीले गत वर्ष नै विद्युतीय बसको चार्जिङ स्टेसन राख्ने जग्गा उपलब्ध गराउन सरकारलाई आग्रह गर्दै पत्राचार गरेको थियौं, बस ल्याउने प्रक्रिया सुरु गर्दौगर्दा जग्गा पनि पाइन्छ भन्ने थियो,’ उनले भने- ‘सरकारको आश्वासन अनुसार हामीले विद्युतीय बस खरिद प्रक्रिया थालेका थियौं, बस आइसक्यो तर जग्गा अझै पाइएन ।’
साझालाई चार्जिङ स्टेशनका लागि आवश्यक पर्ने जग्गा छिट्टै दिलाउने आश्वासन सरकारबाट पाइएको भन्दै उनले छिट्टै काठमाडौं उपत्यकामा साझाले ४० वटा विद्युतीय बस सञ्चालन गर्ने उनले बताए । बसहरु परीक्षणकै क्रममा रहेको र परीक्षण भएर आएपछि रुट अनुमति लिने प्रक्रिया थालिने उनले बताए । उनका अनुसार नयाँ बिजुली बसहरु अहिले चलिरहेकै रुटमा सञ्चालन गर्ने योजना छ ।
संस्थाले २०७७ को असोज २२ गते चीनको सिएचटीसी किनविङ (नानजिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो । सीएचटीसीएचओसँग साझाले प्रतिबस डेढ करोड रुपैयाँ मूल्यमा किनेको हो । साझाले ४० वटा बसमा करिब ६१ करोड रुपैयाँ खर्च गरेको छ ।
पेट्रोलियम पदार्थका सवारीसाधन जस्तो वातावरण प्रदूषण नगर्ने बसमा ध्वनिको प्रदूषण पनि अरूभन्दा कम रहेको छ । बसमा थकाइ भाइब्रेसन पनि कम रहन्छ ।
हाल खरिद भएका बस पाँच वर्षसम्म मर्मत गर्ने निर्माता कम्पनीसँगको सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार साझाले ४० विद्युतीय बस र २० चार्जरका लागि ३७ लाख ३८ हजार अमेरिकी डलर, आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार तथा स्पेयर पार्टका लागि ६ करोड ७३ लाख ६५ हजार रुपैयाँ थप प्रदान गरेको छ । उक्त बसहरु २६ सिट रहेको र क्षमता प्रतिघण्टा एक सय ६१ किलोवाट रहेको छ भने एकपटक फूल चार्ज गर्दा दुई सय किलोमिटर चल्ने जनाईएको छ ।
अरू सामान्य बसभन्दा विद्युतीय बस होचो र सानो हुँदा अपाङ्तामैत्रीसमेत रहेका छन् । होचो लो-फ्लोर रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्विलचेयर राख्नका लागि पनि स्थान राखिएको छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी दिने र अरू सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ ।
तीन वटा बसलाई २ चार्जिङ स्टेशन
साझाले काठमाडौं उपत्यकामा हाल सञ्चालनमा रहेका तीन वटा विद्युतीय बसलाई २ वटा चार्जिङ स्टेशन रहेको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको साझाको पुल्चोक र बल्खु कार्यालयमा निर्माण गरेको चार्जिङ स्टेशनबाट हाल सञ्चालनमा रहेका तीन वटा बसमा चार्ज गरिएको साझाले जनाएको छ ।
निजीमा चार्जिङ हुँदैन
सञ्चालक समिति सदस्य तुलाधर साझाका विद्युतीय बस निजी कम्पनीले निर्माण गरेका चार्जिङ स्टेशनमा चार्ज नै नहुने बताउँछन् । ‘निजी कम्पनीले बनाएका चार्जिङ स्टेशन हामीलाई प्रयोग भएनन्, साना गाडीका लागि बनाईएको स्टेशनबाट हाम्रो ठूला गाडीहरु चार्ज हुँदैनन्, ४० वटा एकै स्थानमा चार्ज गर्ने स्थान नहुँदा बस सञ्चालन भएनन्’, उनले भने ।
साझाका गाडीलाई चिनियाँ चार्जर चाहिने भन्दै अन्य कम्पनीले निर्माण गरेको चार्जिङ स्टेशनमा चार्ज नभएको उनको भनाई छ । २० चार्जिङ स्टेशन साझा यातायातले नै बनाउने उनले बताए । ‘हामीले सुरुवाती चरणमा २० वटा चार्जर ल्याएका छौं, सरकारले जग्गा उपलब्ध गराए हामी चार्जिङ स्टेशन बनाइहाल्छौं’, उनले भने ।
काठमाडौं उपत्यकामा सरकारले आवश्यक जग्गा उपलब्ध नगराए पोखरामा विद्युतीय बस सञ्चालन गर्ने उनको भनाई छ । ‘हाम्रो योजना काठमाडौं उपत्यकामा सञ्चालन गर्ने हो, सरकारले जग्गा दिन सक्दौनौं भन्यो भने हामी उपत्यका बाहिर जान्छौं, पोखरा महानगरले हामी कहाँ आउनु भनेको छ, यता भएन भने उता पनि जान सक्छौं’, उनले भने ।