मर्जरपश्चात् सिभिलका ग्राहकलाई हिमालयन बैंकमा सास्ती

<p>काठमाडौं । मर्जरपश्चात् हिमालयन बैंकको डिजिटल कारोबारमा अभ्यस्त नहुँदा साविक सिभिल बैंकका ग्राहकले सास्ति खेप्नु परेको छ । हिमालयन बैंकसँग गाभिएपछि सिभिल बैंकका ग्राहकहरुलाई डिजिटल कारोबारमा सकस परेको हो । साविक सिभिल बैंकका एक कर्मचारीले हिमालयन बैंकको डिजिटल कारोबार प्रयोग गर्न सकस परेको बताए । साविकको सिभिल बैंकको मोबाइल एप मर्जर पश्चात् बन्द भइसकेको छ [&hellip;]</p>

काठमाडौं । मर्जरपश्चात् हिमालयन बैंकको डिजिटल कारोबारमा अभ्यस्त नहुँदा साविक सिभिल बैंकका ग्राहकले सास्ति खेप्नु परेको छ । हिमालयन बैंकसँग गाभिएपछि सिभिल बैंकका ग्राहकहरुलाई डिजिटल कारोबारमा सकस परेको हो ।

साविक सिभिल बैंकका एक कर्मचारीले हिमालयन बैंकको डिजिटल कारोबार प्रयोग गर्न सकस परेको बताए । साविकको सिभिल बैंकको मोबाइल एप मर्जर पश्चात् बन्द भइसकेको छ । उक्त एप प्रयोग गरिरहेका ग्राहकहरुलाई हिमालयन बैंकको मोबाइल एप प्रयोग गर्न भने सकस परेको बैंकका एक कर्मचारीले विकासन्युसँग बताए ।

‘सिभिल बैंकको एप बन्द भएपछि ग्राहकहरुले हिमालयन बैंकको एप चलाउनुपर्छ, सिभिल बैंकका ग्राहकलाई हिमालयन मोबाइल बैंकिङ्ग एप चलाउन सकस भयो, फरक सफ्टवेयर भएपछि ग्राहकलाइ चलाउन सकस पर्याे,’ उनले भने ।

साविक सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले डिजिटल बैंकिङ्गमा जोड दिएका थिए । उनले डिजिटल बैंकिङ्गमा जोडबल गरेका कारण मोबाइल एप प्रयोगकर्ता १ लाख भन्दा बढी थिए । जसका कारण उनले १ वर्षको अवधिमा ५० अर्बको निक्षेपलाइ ९० अर्ब पुर्याउन सफल भएका थिए ।

तर, अहिले हिमालयन बैंकको एप प्रयोग गर्न भने झण्झट रहेको एक कर्मचारीले बताए । ‘सिभिल बैंकका कर्मचारीदेखि ग्राहकहरु डिजिटल बैंकमा अभ्यस्त थिए, बैंकले डिजिटल बैंकिङ्गलाई जोड दिएपछि ५० अर्बको निक्षेप ९० अर्ब पुगेको थियो, ११ सय जना कर्मचारीबाट ९ सयमा झारेको थियो, डिजिटल बैंकिङ्गको अभ्यासले सम्भव भएको हो,’ उनले भने ।

हिमालयन बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) उज्जव राजभण्डारी मर्जरपश्चात् समस्या आएको भएपनि सुधार गरिरहेको बताउँछन् । सुरुमा सिस्टम व्यवस्थापन गर्नुपर्ने भएकाले ग्राहकलाई समस्या परेको हुन सक्ने उनको भनाइ छ ।

‘साविक सिभिल बैंकको वेवसाइट सर्च गर्दा स्वतः हिमालयन बैंकको वेभसाइट खुल्छ, सिस्टम मिलाउँदा एक/दुई दिन गाह्रो परेको हुन सक्छ, चेक क्लियरिङमा समस्या समाधान भइसक्यो, सिस्टम फरक हुँदा समस्या परेको हो,’ उनले भने ।

हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एपमा इमेल र फोन नम्बर अनिवार्य राख्नुपर्ने भएकाले साविक सिभिल बैंकका ग्राहकहरुलाई समस्या आएको उनको भनाइ छ । मोबाइल बैंकिङ्गमा देखिएको समस्या आजदेखि समाधान हुने उनले बताए ।

‘हाम्रो मोबाइल बैंकिङ्ग एपमा फोन नम्बर र इमेल अनिवार्य चाहिन्छ, इन्टरनेट बैंक पनि माइग्रेट गरिरसक्यो, पहिला पनि ३/४ हजार एकाउन्टको मोबाइल बैंकिङ्ग चलेको थियो तर, नमिलेकोहरुको आजदेखि मोबाइल बैंकिङ्ग समस्या समाधान हुन्छ,’ उनले भने ।

साविक सिभिल बैंक र हिमालयन बैंकमा काम गर्ने सिस्टम फरक भएकाले शाखा कार्यालयमा ग्राहकहरुलाई सहज ढंगबाट सेवा दिने गरी निर्देशन पठाइसकेको उनले जानकारी दिए । ‘नयाँ आएका हिमालयन बैंकको शाखा कार्यालयलाई पूर्ण अधिकार दिइएको छ, एकदुई दिन समस्या आएको हो, आइतबारदेखि कुनै पनि समस्या आउँदैन,’ उनले भने ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी फागुन १२ गतेदेखि एकीकृत कारोबार गरेको थियो । हिमालयन बैंकले सिभिललाई प्राप्ति गरेर हिमालयन बैंकको नामबाट एकीकृत कारोबार गरेको हो ।

बैंकले आफैले विकास गरेको हिमालयन मोबाइल बैंकिङ्ग (एचएमबि) एप मार्फत् ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Share News