काठमाडौं । ग्रन्थ इलेक्ट्रिक भेइकलले एफडी मोटर्स नेपाल ब्राण्डको स्कुटर उत्पादनको तयारी थालेको छ । कम्पनीले नेपालमै एसेम्बल गरेर ग्रन्थ ब्राण्डका इभी स्कुटर उत्पादनको तयारी थालेको हो ।
कम्पनीले आगामी वर्षको बैशाखदेखि ईभी स्कुटर उत्पादन गर्ने तयारीका साथ काम गरिरहेको बताएको छ । भैरहवामा एसेम्बल प्लान्ट जडान गर्ने काम सम्पन्न भएपछि सो ठाउँमा ग्रन्थ ईभी स्कुटरको उत्पादन सुरु हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजन ढुंगेलले बताए ।
उनका अनुसार कम्पनीले पहिलो चरणमा कम्पनीले चीनबाट तयारी ईभी आयात गरेर बिक्री गर्ने र एसेम्बल प्लान्ट तयार भएपछि नेपालमै स्कुटर उत्पादन गर्ने तयारी भइरहेको बताए ।
कम्पनीका अनुसार नेपालै उत्पादन हुने भनिएको ग्रन्थ ईभीका दुइटा मोडल छन् । उक्त मोडल ‘एफ फाइभ’ र ‘एफ फाइभ ए’ हुन् । कम्पनीले एफ फाइभको २ लाख ६० हजार र एफ फायब एको २ लाख ९० हजार रुपैयाँभन्दा कम मूल्य तोकेको छ । बजारमा उपलब्ध अन्य स्कुटर भन्दा ग्रन्थ ईभी एक लाख सस्तो रहेको कम्पनीको भनाइ छ ।
सीईओ ढुंगेलका अनुसार ग्रन्थ इलेक्ट्रिक स्कुटर आगामी वैशाखको १५ देखि बुकिङ खुल्ला भइ बिक्री हुन सुरु हुनेछ । ‘यो स्कुटर बजारमा नआए पनि धेरैले चासो देखाएका छन्, बुकिङको लागि विभिन्न कम्पनी तथा व्यक्तिहरूले कुरा गरिरहनु भएको छ,’ उनले भने ।
नेपालमा पाइने अन्य स्कुटरहरु भन्दा सस्तो मूल्यमा गुणस्तरीय विद्युतीय स्कुटर उत्पादन गर्ने तयारीमा रहेको सो कम्पनीका स्कुटर बैशाखदेखि सस्तो मूल्यमा पाइनेछ ।
१० करोडमा एसेम्बल प्लान्ट
कम्पनीले भैरहवामा इलेक्ट्रिक स्कुटरको एसेम्बल प्लान्ट स्थापना गर्दैछ । सो प्लान्टको निर्माणको काम पनि अन्तिम चरणमा पुगेको सीईओ ढुंगेलले बताए ।
कम्पनीले उक्त एसेम्बल प्लान्ट निर्माणको लागत ५ करोड रुपैयाँ लाग्ने अनुमान गरे पनि काम सम्पन्न हुँदासम्म १० करोड रुपैयाँ लागत लाग्ने बताइएको छ ।
उनका अनुसार सो इभी स्कुटरमा प्रयोग हुने पार्टपुर्जाहरु चीनबाट आयात गरिनेछ । कम्पनीले इभीमा जडान हुने ब्याट्री, मोटर लगायतका अन्य पार्टहरू अन्य भेन्चरहरुबाट ल्याउने योजना बनाएको छ । भैरहवामा इलेक्ट्रिक स्कुटरको एसेम्बल प्लान्ट सञ्चालन आएपछि दैनिक २०/२५ वटा इभी तयार हुनेछन् ।
भैरहवामा निर्माणाधीन प्लान्टबाट वार्षिक १० हजार इभी स्कुटरको उत्पादन गर्न सकिने ढुङ्गेलको दाबी छ ।
मूल्य नबढाउने
केही समयअघि विदेशी उत्पादक तथा तिनका वितरकले विद्युतीय स्कुटर ग्रन्थको मूल्य बढाउन दवाव दिएको भन्दै कम्पनीले विज्ञप्ति नै जारी गरेको थियो । विदेशी स्कुटकर उत्पादकहरुले ग्रन्थ ईभीको मूल्य कम भएको र त्यसलाई बढाउन दबाब दिएको ढुंगेलले बताए ।
आफ्नो स्कुटरहरूको मूल्य अनुसार ग्रन्थ ईभीको मूल्य नराखे उद्योगमा गा¥हो हुने भन्दै घुमाउरो पारामा घम्की दिइरहेको र विशेष गरी बैंकमा सञ्चालक रहेका व्यक्तिको स्कुटर कम्पनीबाटै दबाब आएको कम्पनीले विज्ञप्ति नै जारी गरेको थियो । तर, विदेशी उत्पादक तथा तिनका वितरकले दबाब दिए पनि ग्रन्थ ईभीका मूल्य नबढाउने ढुंगेलले बताए । मूल्य बढाउनु पर्याे भन्दै दुई कम्पनीबाट दबाब आएको ढुङ्गेलको भनाइ छ ।
पहिलो चरणमा स्कुटर काठमाडौंमा बिक्री हुनेछ भने त्यसपछि उपत्यका बाहिर पनि शाखा विस्तार गर्दै बिक्री गर्ने उनले बताए ।
यस्ता छन् विशेषता
अहिले ग्रन्थ स्कुटरको विषयमा धेरैले चासो राखेका छन् । ग्रन्थले बनाउने विद्युतीय स्कुटरमा साइड ड्राइभ मोटर प्रयोग गरिएको छ । यो मोटरका कारण उकालो ओरालोमा स्कुटर सजिलै गुडाउन सकिने कम्पनीको दाबी छ ।
अन्य स्कुटरहरुमा सामान्यतया हब मोटर प्रयोग गरिएको हुन्छ । यो प्लेन एरिया गुड्न सजिलो सक्छ । यो स्कुटरमा लिथिमय आइरन फस्पेट ब्याट्री प्रयोग गरिएको छ । यो ब्याट्रीको रेञ्ज बढी दिन्छ । ब्याट्री र मोटरमा ३ वर्ष वारेन्टी पाइनेछ ।
४ देखि साढे ४ घण्टामा उक्त स्कुटर फुल चार्ज हुनेछ भने अधिकतम रेञ्ज ११० किलोमिटर दिनेछ । यसमा ब्याट्री ब्रेक रिजेनेरेटेड सिस्टम प्रयोग गरिएको छ । यसले गर्दा ब्रेक हान्दा खर्च भएको शक्तिले फेरि ब्याट्रीमा आएर रिचार्ज हुन्छ, जसले गर्दा रेञ्ज बढी दिनेछ । स्कुटरमा फास्ट चार्जर प्रविधि पनि राखिएको छ ।
राम्रो र पावरफुल पफर्मेन्स पनि हुन्छ । पर्मानेन्ट म्यागनेट सिङ्क्रोनाइजेसन मोटर प्रविधिमा आधारित साइड ड्राइभ मोटर प्रविधि टेस्लाले समेत प्रयोग गर्ने गरेको ढुंगलले बताउँछन् । उनका अनुसार यसमा प्रयोग भएका विशेषताहरु नेपालमा उपलब्ध स्कुटरमा पनि छैन ।